अचानक सम्झना बर्सन्छ । सम्झनाका आकाश बादलरहित भए पनि बर्सिएको सम्झनामा मन छर्छराउँछ । सम्झना बर्संदा सम्झनाको वर्षात् भन्न मन लाग्छ । सम्झनाका वर्षात्मा भिज्दा स्फूर्ति साटिन्छ । त्यस स्फूर्तिमा समययात्राको छाप देखिन्छ । यसमा उनको जिज्ञासा सहायक भएको छ । जिज्ञासाका आँखाभरि म सत्य र स्पष्ट भएर छरिन चाहन्छु । मेरा सामुन्नेमा आफन्तीहरूका सद्व्यवहार र दुव्र्यवहारको प्रतिबिम्ब बस्तछ । ती प्रतिबिम्बसँगसँगै उर्लिएको मनको स्वाद बेग्लै छ । म त्यो स्वाद उनीसँग साट्न उत्प्रेरित हुन्छु । त्यस उत्प्रेरणाभित्र जीवन अनुभवको खास्टो ओढेर सम्झनाको वर्षात्मा समय भिजिरहन्छ । अनि स्मृतिमा लहड नभई यथार्थको भक्कानो फुट्छ । भक्काना भरिँदा र पीडा थिल्थिलाउँदा आङ नै जुरुङ्ग हुन्छ । वर्तमानमा समयको तरङ्गलाई छोप्न समयको धारलाई समाउन सजिलो छैन, र पनि सम्झनाको वर्षात्मा भिजेको मन उनीसँग निर्धक्क हराउन रुचाएको छ ।
आँखाभरि सपना दगुर्छ । सपना समाउन सजिलो छैन । सपनाको बेग र स्मृतिको बेग नमिले पनि सपना समाउन उत्साह साटिन्छ । सपना सँगालेर वर्तमानको रेखा भविष्य भनिन्छ र स्मृति सँगालेर वर्तमानको रेखा विगत भनिन्छ । सपना भविष्य हो, यसका मोहमा निद्रालु याद हुन्छ । स्मृति विगत हो, यसका जरामा मुटु बचाउँदै जीव जीजिविषामा हेलिएका क्षणहरू रहेका हुन्छन् । मुटु फुटाएर बचाइमा हेलिएका क्षणहरू भ्यागुताझैं फुत्तफुत्त उफ्रेर सम्झनाको वर्षात्मा रमाउन खोज्छन् । त्यतिखेर पीर लुकाएर हाँसेका अवस्थाहरू, मर्म छोपेर मुस्कुराएका परिस्थितिहरू र पेट काटेर सफल पारिएका कार्यहरू मुखामुख गर्छन् । जीवन काट्न सजिलै भए पनि बाँच्न त कठिन रहेछ । जीवन भोग्न सजिलै भए पनि भन्न त अप्ठेरो रहेछ । कस्तो अप्ठेरो रहेछ ए ! यथार्थमा लेखिन पनि ! पसिनाहरू रङ बन्दैनन् न त मसी नै । तर परिस्थितिहरूसँगै गाँसिएको जीवनकथा सम्झनाले भिजाउँदा पसिनापसिना भएर व्यङ्ग्य गर्दछ । अभावका दपेटाइहरू, हेयताका लपेटाहरू र परिस्थितिका चपेटाहरूमा मन हराउँछ र वर्तमानसँग साटिन रुचाउँदैन । मन आँखाभरि सर्लक्क पोखिन खोज्छ, मनमस्तिष्कभरि स्पष्ट लेखिन खोज्छ र हृदयभरि टमक्कै भरिन खोज्छ तर यथार्थ लहडजस्तो सजिलो छैन । मनका बिम्बहरू सजिला छैनन् र प्रतिबिम्ब साट्न अप्ठेरो छ ।
इमान सभ्यताको सत्य भए पनि पीडैपीडाले रङ्गिएको छ । पीडाको रुनझुन, रङ र अस्मितामा बचाइको चमक जिउँदो बन्छ । त्यसैले इमानको पीडाभरि खुसी भरिन्छ । इमानका मर्महरूमा स्वाभिमान मुस्कुराउँछ । इमानको आकाङ्क्षामा पसिनाको विश्वास मर्दैन । इमानका यात्राहरूमा जीवनको अस्मिता चम्कन्छ । इमानका ज्वारहरू अहम्का तुष्टि होइनन् । इमानमा जीवनबोध गर्न लगनशील र परिश्रमले भरिएको अठोट चाहिन्छ । मानवचेतना र सभ्यताको अर्थ उज्ज्वल बन्न इमानको पौरख चम्कनुपर्छ । इमानमा पीडा बिर्सने र इमानको अस्मितामा स्वाभिमान पढ्ने साहस थोरैमा मात्र हुन्छ । त्यसैले त म इमानका शब्दहरूमा आफ्नो ज्यालादारी पौरख नापजोख गर्दैै छु । आफ्नो अनुहारको प्रतिबिम्ब हेरेर दारीको अनुप्रास मिलाउने रहर लेखनमा अर्थयुक्त बन्दैन । मात्र सम्झनाको वर्षात्मा भिजेको मन उनीसँग साट्न खोज्दा आफ्ना प्रस्तावनालाई प्रस्तुत मात्र गरेको हुँ । इमान र वर्तमानको पीडा मुखामुख गरेर प्रश्न सोध्छन्, उनीसँग जीवनयात्रा साट्न सजिलो छ त ? म रनभुल्ल पर्दै अचानकको संयोग भन्न रुचाउँछु ।
ईश्वरको विश्वास ममा छैन तर संस्कारको छाप भने छ । ईश्वरले मानवबचाइ दुःखसुखपूर्ण बनाउँछ भन्ने भ्रमले मानवमेधा विषालु भएको छ । भाग्यको खास्टो ओढेर लीलामा मुस्कुराएका ईश्वरअवतारले मान्छे भ्रमराज्यमा विचरण गरिरहेको छ । यस भ्रमलाई च्यातेर मानवको कार्य, पसिना, परिश्रम र मिहेनत नै जीवन ऊर्जा र दुःखसुखको यात्रा हो भन्ने कुरो अझै स्पष्ट भएको छैन । यसलाई हुर्काउन मानवबस्तीमा सङ्घर्ष पनि नभएका होइनन् । यस सङ्घर्षमा मानवकै कार्यले पीडा उमारेको छ । मानवबाटै मानव डसिएको छ, हेपिएको छ र पछारिएको छ । मानवकै मेधाले मानवयात्रामा बाधा पारेको छ । यस सामाजिक अन्तक्र्रियामा विच्केर प्राकृतिक पीडामा ईश्वरको अर्थ पोत्नु उपयुक्त होइन । यात्राका प्रत्येक स्पन्दनमा यथार्थलाई उभ्याउन सजिलो छैन । सङ्घर्षको यात्रा पीडाबाट पृथक् हुँदैन । व्यक्तिव्यक्तिका मर्महरू, पीडाहरू र वास्तविकताहरू नै समूहका गीत बन्छन् । त्यसैले त म समयलाई समाएर जीवनगीत गाउन रुचाउँछु ।
उफ् ! के भनूँ ? छातिभरि वर्तमान भरिन्छ । वर्तमानमा सम्बोधनकी उनी साहित्यसंसारमा प्रश्न बन्छिन् । अनि, मन वर्तमानको पीडामा साटिन खोज्छ तर सम्झनाको वर्षात् विगततिरै लहरिएको छ । मेरा अगाडि मेरो विगत अप्ठेरो, कहालीलाग्दो, उराठ पहरोझैं बसेको छ । मैले यस पहराको कथा उनीलाई थुपै्र पटक सुनाइसकेँ । त्यसमा आफ्नो अर्थ थुप्रै पटक बिम्बित गरिसकेँ तर पनि पहराको छेउटुप्पो भेटिएको छैन । पहराको अर्थ स्वाभिमान पनि हो, भण्डार पनि हो र उजाडको विपर्यास पनि हो । विगत भनिए पनि यो पहाड वर्तमानहरूको कथा हो । वर्तमानसित साटिएको ममता र तिरस्कार हो । यसैले जति भने पनि, पोखे पनि मनको पेटारो रित्तिएको छैन । मेरो जीवनयात्राको बकबक उनीभित्र कस्तो प्रतिबिम्बमा लेखिदै छ कुन्नि ? मलाई त्यसको चासो भएर पनि खाँचो भने छैन ।
तपाईंलाई लाग्ला उनी को हुन् ? उनी त मेरी गफकी साथी हुन् । दुःख–सुखका क्षणमा सर्लक्क मन ओछ्याएर मर्म बिर्सने साथी हुन् । उनी हृदयका उत्ताल छालमा मनको बात सुनेर मख्ख छन् कि छैनन्, सोच्नै पाएको छैन । समय अनुकूल छ कि छैन कुन्नि उनीसँगको गफ ? तर पनि म अर्थ भए पनि आफ्नो बकबकलाई छोप्न सकेको छैन । सायद उनका मानसबिम्बभरि एउटा उराठलाग्दो पहाडमा धस्किएका पहिरोजस्तो पो छ कि ! ठीकै छ, आफ्नो अनुहारको प्रतिबिम्ब यसरी नै कोरियोस् । उनका साथमा म बकपत्रलाई साहित्यिक उच्चता सम्झेर गौरवको फेटा गुथ्न उत्सुक छ ।
ऊ भनिएको औंलोजस्तो सम्बन्ध र टाढाका स्थितिलाई लेख्न अप्ठेरो छ । अप्ठेरोमा नै मन भरिन्छ र पोखिन्छ । पोखिएको मन सम्हाल्न सजिलो छैन । पोखिएको मनसित पीडा बगेको छ । पीडामा मर्म लहरिएको छ । विवशतामा आँसुको मोल आँसुमा भर्न पनि उनीसँग साटिएको होइन । विवशता बुझ्न त सहयोगी मन चाहिन्छ । सहयोगी मन सफल सिर्जनाभन्दा पनि उत्तम हुन्छ । सहयोगी मनले दुःखान्त बिर्साउँछ । त्यसैले विवशताको आँसु सहयोगी हातहरूले पुछ्छन् । मर्महरू बाँड्न पनि सहृदयी मन नै चाहिन्छ । मर्महरूका माझमा प्रगाढ ममता फक्रियो भने नै त अर्थ हुन्छ काँडाहरूको माझमा फूलको आभा उज्यालो भएझैं । यस्तै भावमा हराउँदा लेख्न मन लाग्छ – मुटुको ढुकढुकीमा जीवन सार्थक हुन्छ । थुप्रै उमङ्गहरूले सहयोगमा फुल्न पाउँछन् । वसन्तका उत्साह, शिशिरका उमङ्ग नै सहयोगका स्पन्दन हुन् ।
एउटा अप्ठेरो बिर्सेर उनीसँग विगत लिएर वर्षात्झैं बर्सन मन छ । उनीसँग हिउँदको घामझैं बस्न मन छ तर अर्थहरू दूषित भएका छन् । दूषित आँखामा सँगालिएका दूषित अर्थका कारण हामीबीचमा पर्खाल बढ्दै छ । पर्खाल लगाउन मानिसहरू सक्रिय भएका छन् । उनीहरूका सिर्जनशील हातहरू किन यति विषालु भएका हुन् ? बरु ती हातहरू आफ्नो नैतिक आदर्श र सत्यताको पर्खाल ठड्याउन जुटेमा नै सार्थक बन्छन् । सार्थक यात्रा हिँड्दा नै अर्थ भरिन्छ । अपशोच त यसमा छ ती हातहरू त साटिएको ममताको क्यानभासमा कालो पोत्न पो क्रियाशील छन् । नीलो आकाशमा क्रमशः भरिएको बादलजस्तो वर्तमान भएर रोपिएको छ ।
ऐनामा अनुहार हेरेर जीवन बुझ्न सकिँदैन । अनुहार पढ्न अनुहारमा नै केन्द्रित हुनुपर्छ । भन्नेहरूले जे भने पनि आफ्नो कथा आफ्नै हो । बुझ्नेले बुझ्न चाहेन भने जति तस्वीर खिचाए पनि, मन खोले पनि त्यसको अर्थ रहँदैन । समयको बाँधलाई भत्काउन अठोट चाहिन्छ । अठोट सजिलो छैन र हँुदैन पनि । अठोटमा त्याग हुन्छ । त्यागमा पराजय होइन सन्तोष भरिएको हुन्छ । सन्तोषका ओठहरू सिर्जनात्मक हातमा फक्रन्छन् । अनि जीवनमा अर्थको मुस्कान साटिन्छ । अर्थमा पाइन लगाउन जे जसो गरे पनि म जीवनकथा लेखिएको हुँ । फेरि कथा जतिपटक भनिए पनि सङ्क्षेपमा भने यही हो –
आमाको अनुहार सम्झ“दा
आ“खामा गा“ठो पर्छ
बाबाको अनुहार सम्झ“दा
आ“खामा फाटो पर्छ
खोई कसरी बिर्सने हो
तिहारमा बैनीको अनुहार
प्रत्येक सयपत्रीको सुकुमार थु“गामा
आ“सुको टाटो पर्छ ।
ओहो ! कथामा पीडा छ । आफ्नै भोगाइ पनि कति छिटो कथा भएछन् है । आफ्नै यात्रामा जीवनबोध भएर हराउँदा मन छक्क पर्छ । यात्राको घामछायाँले दगल्चाएको मुटुको बोललाई स्मृति गर्दा पनि भावुकता भरिन्छ । भावुक हृदयमा लेखिने भावुक क्षणलाई सम्झनाका तरेलीमा उनीसँग साट्दा मन हलुङ्गिएको छ । वर्तमान हलुङ्गो मन लिएर आँखाको नानीभित्र बस्न चाहन्छ । अनि थुप्रै बिम्ब–प्रतिबिम्बका कथाहरू, आँखामा नअटाएका भावहरू छरपस्ट भएर जीवन–तरेलीमा तरङ्गिन खोज्छन् । तरङ्गका छालहरूको गति तलमाथि भएर पीडासित हाँसो साट्छ । पीडामा हाँस्न सक्नेले नै जीवनमा सफल कार्य गर्दछ ।
औंसीको अँध्याराले तर्साउँछ । वर्तमानको गति त्यही हो र पनि अँध्यारामा रुमल्लिएको यात्राजस्तो भएको छ । उनीसँग आत्मीयता साट्न चाहेर पनि परिस्थिति मिलेन । प्राप्तिका सन्दर्भ छलफल गर्दा नै ममता टुसाएको हो । ममता हुर्काउन खोज्दा वा आत्मीयतामा मन साट्न खोज्दा उनीलाई लाग्दो हो, म विपरीत संसारमा बढी आकर्षित भएको छु । त्यसो होइन, पटक्कै होइन, मात्र एकान्तमा उच्छवासहरू र पीडाका मर्महरूलाई बिर्सन मात्र कुराकानी बढाएको मेरो मत छ । त्यसैले त म आफ्ना थुप्रै अभाव र पीडाहरूलाई उनीसँग सविस्तार साट्न चाहन्छु । कमजोरी त अर्कै हुन्छ । त्यो आवेग भएर पोखिन्छ, लाज उघारेर मन छरपष्ट हुन्छ र समाजमा बुझ पचाएर डुल्छ ।
अंशअंशमा हराएर म सिर्जनाको समष्टि व्यक्तित्व बन्छु । यसमा म सिर्जना र सहयोगका हातहरूलाई सम्मान गर्दछु । सिर्जनामा सुन्दरता हुन्छ । त्यो सुन्दरता मानव–सभ्यताका लाथि पथनिर्देश हुन्छ । मानवसभ्यताको उत्कृष्ट प्राप्ति नै सहयोगीपन हो । मानवले मानवका पीडामा उत्सव नमनाई सहयोगको स्पर्श दिँदा नै सभ्यताले गति लिएको हो । सहयोगका लागि त्याग चाहिन्छ । त्यागमा दुष्टता होइन ममता रोप्नुपर्दछ । यो आग्रह होइन न त आदर्श नै । मलाई सहयोग मनपर्छ र सहयोगमा रमाउनेलाई सम्मान गर्न मन लाग्छ । सम्मान र आकर्षण फरक कुरो हो । सम्मानमा ममता हुन्छ भने आकर्षणमा स्वार्थ पनि रहेको हुन्छ । आकर्षण र स्वार्थ क्षणिक हुन्छ तर सहयोग र ममता दीर्घकालीन बन्दछ । ममतामा मन पग्लन्छ तर स्वार्थमा कष्ट हुन्छ । स्वार्थीहरू स्वार्थ छउन्जेल असल देखिन्छन् किनकि एक दिन काग र कोइली छुट्टिनैपर्छ । त्यस्तै सहयोगीहरू टर्रा र ठसन्से पनि हुन सक्छन् तर त्यहाँ स्वार्थ नहुँदा अन्ततः ममता मात्र रहन्छ । ममता र स्वार्थ नछुट्याउँदा नै समाजमा पीडा फुटेको छ, सिर्जना मरेको छ र स्वार्थको घृणा समाजमा फैलिएको छ ।
अनि सपना हुन्छ कि हुँदैन ? जतनले हुर्काएको ममता टुक्रियो भने सम्पूर्ण युग रुन्छ । आँसुले भिजाएको माटो मलिलो हुँदैन । जरुरी रगतले भिजेको माटो उर्बर बन्दैन । समय हिँड्न खोज्नेले युगलाई बिर्सन हुँदैन । युगका जराजरामा वर्तमानको बिम्ब लेख्न सजिलो छैन । सम्झनामा भिज्दा आफ्नो गोरेटोले यसै भन्छ । सम्झनामा हिँड्दा ईख पलाउँछ । ईखले भन्छ – साहस नै यात्रा हो । साहसीको पदचापले नै युग कोर्दछ । युगका आँखामा जीवनयात्रा पढ्न सजिलो छैन । युग दूषित भएर कोपर्छ । दूषित युगलाई सच्याउन कहाँ सजिलो छ र ? जतनले हुर्काएको अठोटमा दूषित रङ्गको धब्बालाई मेट्न पनि समय आउनुपर्छ । समय पीडा भएर नथाकोस् । थुप्रै परिस्थितिका प्रतिकूलतामा जुधेको मन पीडा भएर नपाकोस् ।
आज सहयोगी मनको नकाब च्यातेर लेखिन मन छैन । सहयोग जति नै घातक भए पनि त्यसलाई बिर्सन मिल्दैन भन्ने पक्षमा म छैन । किनकि सहयोग घातक त्यसैबेला मात्र हुन्छ जब स्वार्थको प्रवेश हुन्छ । स्वार्थ परको यात्रा नै आत्मीय हुन्छ । मेरो विगत बचाइ साधक छ तर घातक छैन । उत्साहले हुत्याएको समय केही निराश भए पनि जीवनप्रति नकारात्मक भाव पलाएन । सत्य त्यही हो जो बचाइको यथार्थमा घातक बन्दैन । यसमा पनि शोषकप्रति सहानुभूति राखेको ठहरिएला, पटक्कै त्यसो होइन ।
आ–आफ्नै बचाइ र यात्रामा जीवनबोध गर्नु ठूलो उपलब्धि हो । त्यस उपलब्धिलाई सार्थक पार्न थुप्रै असफलता र कुरूपता भरिएका छन् । के छ र ? ती कुरूपतामा सुन्दरताको रङ पोत्न म उत्सुक छु । उत्सुकताले नै बचाइलाई रसिलो र सार्थक बनाउँदो रहेछ ! होइन र ?