२०७१ चैतमा भएको जनमतको वार्षिकोत्सव कार्यक्रममा आफै इच्छाएर बनेपा आइपुगेका चित्रकार तथा कवि नरोत्तमदास श्रेष्ठ जनमतको दिनभरको कार्यक्रममा छोरा बुहारीसँगै रमाइदिँदाको क्षण झलझली सम्झनामा आइरहन्छ । पुल्चोकस्थित उनको घरमा पुगिरहन्थेँ म । म पुग्दा कविता सुनाउने रहर फुकाउने गर्थे । नेपाल र नेपाली दुवै भाषामा उनी कविता सुनाउने गर्दथे । मेरा कविता पनि सुन्ने चाहना राख्दा म कविता सुनाउने गर्थें । आफ्नै धुनमा मस्त यिनी पाँच वर्षको बाल्यकालमा उडिरहेको चङ्गा लेखेवापत आफ्नै पिताबाट स्याबासी र प्रेरणा पाएर कलाकार भएको प्रसङ्ग यिनी सुनाउने गर्थे । पछिल्लो समयसम्म नै यिनले मनको धोको फुकाएर कविता लेखे, चित्र कोरे । कवितासङ्ग्रहको विमोचन गरेर, चित्रकलाको एक व्यक्ति प्रदर्शनी गरेर पनि यिनले आफूलाई सार्वजनिक गरे । अति व्यस्त न्यूरोडको विशालबजारका व्यापारी । यिनी मुद्रा संग्रहकर्ताका रुपमा पनि विख्यात छन् ।
सिर्जनाका मनोरम फाँटहरुमा आफ्ना साहित्य, कलाका हरफहरु पनि चढाएर जीवन्त रहन रुचाउने नरोत्तमदास श्रेष्ठ आफूलाई कहिल्यै पनि सस्तो प्रचारमा रम्न दिएर कवि र चित्रकार हुन रुचाएनन् । प्रचारप्रसारमा आउन संकोच मान्ने तर आफ्नो मनले खाएको साथीमित्रलाई आफूले सिर्जना गरेका चित्र र कविताहरु देखाउन र सुनाउन पाउँदा दङदास पर्ने गर्थे । कलाको क्षेत्रमा काठमाडौं आर्ट ग्यालरी स्थापना गरेर आफ्नो कला मोह राष्ट्रलाई देखाइसकेका यिनले कलाकार तथा साहित्यकारहरुको सम्झनाको लागिनरोत्तमदास–इन्दिरा श्रेष्ठ गुठीकोस्थापना गरेका थिए । २०५३ सालमा स्थापित उक्त गुठीलेजनमत मासिकको उच्च मूल्यांकन गरी सम्पादन गरेवापत रु. ५०,०००।– नगदसहित प्रदान गरेर मलाई सम्मान गरी मेरो सिर्जनात्मकतामा ऊर्जा थपिदिएको मलाई याद छ ।पछि उक्त सम्मानको राशी रु. ७५,००१।– बनाइएको थियो ।
वि.सं. १९७८ जेठ महिनामा काठमाडौंको झोछेँमा पिता भगवानदास र माता जनकमायाको कोखबाट नरोत्तमदास श्रेष्ठको जन्म भएको हो । महाकवि लक्ष्मीप्रसाद देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठ, कलाकार चन्द्रमान मास्के, विद्वान् रामप्रसाद मानन्धरजस्ता हस्तीहरुकै आशीर्वाद प्राप्त गरेका यिनले सत्यमोहन जोशीजस्तै देशका थुप्रै हस्तीहरुसँग कक्षा साथी भएर शिक्षा प्राप्त गरेका हुन् । व्यापारी कुलमा जन्मेका नरोत्तमदास श्रेष्ठले जीवनका धेरै क्षणहरु व्यापार–व्यवसायमा लगाएका छन् तर पनि यिनको सूक्ष्म अध्ययन र ज्ञान चेतनाले गर्दा कला सिर्जना र साहित्य सिर्जनामा आफूले दिन सकिने समय दिएको देखिन्छ ।यिनी भौतिक सुखमा मात्र रमाएनन्, त्यसैले त यिनको नाम स्मरण गर्न लायकको छ । यसै सन्दर्भमा यिनले लेखेका छन् –“सम्पन्नता के हो ?के भौतिकरुपले सम्पन्न र वैभवशाली भइसकेपछि मान्छे सबल र सामथ्र्य भयो त ? मान्छेमा वैभवता छ भनेको के हो ? सम्पन्नता र वैभवताको अर्थ पनि हेराइअनुसार फरक फरक हुन्छ । मेरो आफ्नो दृष्टि र परिभाषामा मान्छे सम्पन्नतामा रम्नु भनेको सिर्जनामुखी विचार र चिन्तनमा समाहित हुनु हो । जब मान्छेका मन र आँखाभित्र ढकमक्क सिर्जना झुल्छन्, फुलाउन खोज्छन् र सिर्जनामा रम्न साहस देखाउँछन् तब मान्छे बलियो, सम्पन्न र वैभवशाली हुन्छन् । यही नै मेरो मान्छेमाथिको मूल्याङ्कन रह्यो ।”
वैभवले मात्र पगाल्न नसकेका नरोत्तमदास श्रेष्ठ आफै कवि र कलाकार भएकोले उनी कविताको आत्मासँग खेल्छन् र कला सिर्जनामा आत्मविभोर हुन्छन् । त्यसैले त उनी आफ्नो व्यस्त जीवनलाई पन्छाएर पनि काव्य सिर्जनामा र कला सम्प्रेषणमा डुब्न खोज्छन् । झस्केको आवाज उनको पहिलो प्रकाशित कवितासङ्ग्रहको नाम हो । त्यस्तै मैंयासाहेब उनले कोरेको सर्वश्रेष्ठ चित्र हो । उक्त चित्रलाई मन पराएर एकजना स्वीस टेक्निसियनले रु. १५ लाखसम्म दिँदा पनि उनले आफ्नो सिर्जनालाई बेचेनन् । २०४२ सालमा प्रकाशित झस्केको आवाज कवितासङ्ग्रहमा विभिन्न समयमा लेखिएको उनका ६२ वटा कविताहरु सङ्ग्रहित छन् । उक्त कवितासङ्ग्रहबाटउनको दृष्टि र भावधारा बुझ्न केही कवितांश उद्दृत गरेको छु :
के गर्नु धनले खोई पापले आर्जेको भए
पाउन्न शान्ति उसले धेरै धनी भएर के ?
आइपरी विघ्न बाधा छटपटिने बेस्करी,
भोग गर्न पाएर मात्र झन्झटमा परी ।
त्यस्तै देशकै सन्दर्भमा पनि कवितामा यसरी अभिव्यक्ति पोखेका छन्:
आज देश रोएको छ पापीको कुकृत्यले,
भएको छ बद्नामी तस्करीको कुकर्मले
सहन नसकी पीडा भ्रष्टाचार बढ्नाले
पूजा गर्ने देवताको मूर्ति चोरी निकासीले ।
यस्तै–यस्तै भावनाहरुमा यिनका कविता कैद छन् । कवितामा प्रकृति छ, कवितामा देश र जीवन बोल्न खोजेका छन् । त्यसैले भन्न सकिन्छ नरोत्तमदास श्रेष्ठका काव्य अनुभूतिहरु कमजोर छैनन् । जानी नजानी कविता लेख्न पुगेछु भन्दै कवितासङ्ग्रह लिएर जनमानसमा देखापरेका कवि नरोत्तमदास श्रेष्ठको दोस्रो कवितासङ्ग्रहतरङ्गको स्पन्दनप्रकाशित भएको देखिन्छ । यिनै कवि नरोत्तमले जीवनको परिभाषामा शैशवकाललाई निर्मल सौन्दर्य, युवावस्थालाई मनोहर प्रतिबिम्ब, बुढ्यौलीलाई खल्लो स्वाद मानेका छन् । मृत्युलाई यिनी सृष्टिको लाश भन्न मन पराउँछन्। यिनी कवितामा व्यङ्ग्य पोख्न पनि सिपालु छन् :
बिरालो देखेर
मुसाले भन्यो
दाइ ! तिम्रो दाह्रादेखि मलाई औधी डर लाग्छ
बहिनी ! के भनेको त्यस्तो ?
मेरो पञ्जा हेर न कमलो छ !
नरोत्तमदास श्रेष्ठका चिन्तन र भावधाराहरु नापेर भन्न सकिन्छ – यिनको जीवन्तता भनेको नै यिनीद्वारा लेखिएका कविताका हरफहरु र कलाकृतिहरु हुन् । यिनको श्राद्ध होइन परिवारजनले श्रद्धा गरेर यिनीद्वारा सिर्जित गुठी, अप्रकाशित कविताहरु र चित्रकारितालाई संरक्षित गरिदिनुपर्छ । अनि मात्र नरोत्तमले इच्छाएको दृष्टि र मर्म संरक्षित हुने विश्वास गर्न सकिन्छ । यिनी २०७२ वैशाखमा दिवंगत भएको देखिन्छ ।