यतिखेर कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
खास यस्तै खालको किताब पढ्नुपर्छ भन्ने मान्यता छैन । जे भेटिन्छ त्यही पढिरहेको हुन्छु । कहिले साहित्यको किताब भेट्छु, कहिले इतिहास, समाजशास्त्र र राजनीतिको । एउटा कुराचाहिँ नेपालभन्दा बाहिर रहेकाले नेपाली भाषामा लेखिएको नेपाली साहित्यको पुस्तक छिट्टै भेट्न नसकिंदो रहेछ । त्यसैले पछिल्लो समयमा नेपाली साहित्यको रुचि चाहिँ अनलाइन पत्रिकाहरुले शनिबार प्रकाशन गर्ने साहित्यिक स्तम्भहरुबाट पूरा गर्छु । त्योसँगै स्वतन्त्र अमेरिकी बजारमा लगानीकर्ताहरुले कसरी लगानी गर्छन्् र उत्पादन प्रणालीमा व्यक्तिगत लगानीकर्ताको हैसियतमा मान्छेहरु कसरी लाभान्वित हुन्छन् – त्यो विषय पनि मेरो रुचिमा परेको छ । त्यस्तो किताबहरु पनि म उत्तिकै पढिरहेको छु । ठ्याक्कै भन्नुपर्दा अहिले मेरो हातमा ईज्वेल विल्किन्सन, जो पुलिट्जर पुरस्कार विजेता लेखिका पनि हुन, उनको Caste; The Origins of Our Discontents पढिरहेको छु । Castte अर्थात जाति प्रथा भन्ने वित्तिकै हामीले जातीय रुपमा हुने छुवाछुत र अर्घेलो बुझ्छौं । अमेरिकामा पनि रङ्गको आधारमा लगभग त्यस्तै खालको व्यवहार हुन्छ । यो कितावले अमेरिकामा त्यो किन भयो भनेर बुझ्न मद्दत गरिरहेको छ ।
नेपाली, अंग्रेजी र हिन्दी भाषाका मनपर्ने एक एक वटा पुस्तकको नाम लिनुपर्दा ?
नेपाली भाषामा लेखिएका सयौं किताब पढियो । एउटै मात्र भन्नुपर्दा चैं पारिजातको शिरीषको फूल । भाषाको बुनोटका हिसाबले पारिजातको शिरीषको फूल बेजोड लाग्छ । अनिंदो पहाडसँगै पनि मन परको किताब हो । त्यो बाहेक अरु पनि थुप्रै किताब छन् मन परेको तर एउटा मात्र भन्नुपर्दा शिरीषको फूल सम्झिएँ । अंग्रेजी भाषामा लेखिएको किताबमा चैं अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको Dreams From My Father। हिन्दी भाषाका किताब धेरै पढेको छैन, तर एउटा किताब मन परेको थियो – विभुतिभुषण बन्दोपाध्यको अपराजितो ।
तपाईंको लागि लेखपढको उपयुक्त समय कुन हो ?
खासै यो समय भन्ने छैन । तर एकान्त र आफ्नो सोचाइ भित्र आफै रमाउन पाउने परिवेश भयो भने लेखनका लागि मलाई सबैभन्दा उपयुक्त लाग्छ । पढ्नका लागि चैं बिहानको समय अत्यन्त मन पराउँछु । बिहान जे पढेको हो, दिमाग पुरा बसेको जस्तो लाग्छ ।
साहित्यका विविध विधामध्ये अलि शक्तिशाली विधा तपाईंलाई के लाग्छ ?
मेरो लागि त कविता सबैभन्दा शक्तिशाली विधा हो । साहित्यमा कविताको गहिरो भाव बुझ्न सक्नु र त्यसका रङ्गहरुलाई भित्र मनमा लिन सक्नु उत्कृष्ट सिर्जनशील क्षमताको संकेत हो । कम मान्छेले मात्र गर्न सक्छन् यस्तो आराधना । यस्तो गर्नका लागि साँच्चै कविताको आराधना गर्न सक्ने क्षमता व्यक्तिमा हुनुपर्छ । साहित्यका अरु विधा पनि उत्तिकै शक्तिशाली हुन्छन् । खासमा चैँ व्यक्तिलाई आफ्नो अभिव्यक्ति कुन विधामा बढी भएको छ, वा आफ्नोपन साहित्यको कुन विधामा बढी प्रतिबिम्बित भएको देख्छ भन्ने मूल कुरा हुने रहेछ साहित्यको विधागत प्राथमिकता हेर्दाखेरी ।
सानोमा कस्ता पुस्तकहरू पढ्न पाउनु भयो ?
गोरखाको एउटा सानो गाउँ घ्याल्चोकमा हुर्केको, पढेको र बढेको म । पुस्तकालयको कल्पना बाह्र हात परसम्म पनि थिएन । कक्षा १० पढ्दासम्म कक्षामा नियमित पढ्नुपर्ने बाहेक अतिरिक्त कुनै पनि किताब उपलब्ध थिएन । तर गाउँमा एसएलसी पास गरिसकेका सिनियरहरुले पढ्ने किताब, खासगरी चाइनिज र रसियन सहित्यका किताव अलिअलि भेटिन्थे, भित्री सर्कुलेसन हुन्थ्यो त्यस्ता कितावहरु । सायद फ्रीमा उपलब्ध भएर होला । स्कुलको टेक्स्ट बाहेक मैले पढेको पहिलो किताब तिनै थिए । एसएलसी जाँच दिएर बसेको खाली समयमा पढेको । जस्तो म्याक्सिम गोर्कीको आमा, मिखायल सोलोखोभको दुनका कथाहरु । केही चिनिया क्रान्तिका कथा । खगेन्द्र संग्रौलाका कथासंग्रहहरु । पछि काठमाडौ छिरेपछि फराकिलो भयो मेरो पढ्ने भूगोल । पुस्तकालय जान पाइयो, अरु किताबहरु माथिको स्वाद पाइयो ।
कस्ता पुस्तकहरू पढ्न बढी मनपथ्र्यो ?
सुरु सुरुमा आख्यान र कविता । त्यस्ता कितावका पात्र र घटनाक्रमहरुले मेरो कल्पनाको संसारलाई फराकिलो पाथ्र्यो । पछि राजनीतिक र सामाजिक विषयका कितावतिर रुचि जाग्यो । जीवन र जगत्लाई बुझ्दैजाँदा रुचि पनि फेरिएको होला जस्तो लाग्छ ।
तपाईं कुन उमेर समूहमा बढी पढ्नु भयो ?
२० देखि ३० वर्षको हाराहारीको समयमा सबैभन्दा धेरै पढें । त्यो समयमा नेपाली साहित्यका प्राय भेटिए जति किताव पढें हुँला । त्यसमा पनि कविता मेरो विशेष रुचिमा थियो । बीचमा सक्रिय पत्रकारितामा रहँदा पेशाको माग अनुसार पढियो रुचि भन्दा पनि । त्यसपछि अध्ययनको क्रममा यता आएपछिको दुई वर्ष पनि अलि पढें – त्यो चैं कोर्षका किताव ।
धेरै पटक दोहोर्याएर पढेका पुस्तकहरू कुन कुन हुन् ?
शिरीषको फूल । सम्भवत: पारिजातका सबै किताबहरु दोहोर्याएर पढेका किताब मध्ये पर्छन् । त्यसबाहेक मदन रेग्मीका कविता पनि त्यस्तैमा पर्छ । र बिपी कोइरालाको तीन घुम्ती ।
दोहोर्याएर पढ्नुका कारण खासमा के थियो ?
सायद ती किताबहरुमा मेरो पन झल्किएको अभिव्यक्ति पाएँ हुँला । म आफूलाई जस्तो भाषामा अभिव्यक्त गर्न चाहन्थे त्यो तरिकाको अभिव्यक्ति सायद ती किताबका भाष्यमा मैले फेला पारें हुँला । त्यसैले ती पुस्तकहरु मेरो दोहोरिने किताबभित्र परे ।
ती पुस्तकहरूमा असाध्यै मन परेको पक्ष के हुन् ?
खासगरी शिरीषको फूलभित्र जुन दार्शनिक पाटो छ – बेमेल जीवनको, मानवजीवनको अस्तित्वबादी पक्षलाई जसरी उतार्न खोजिएको छ, त्यसमा सायद मैले मेरो तन्नेरी उमेरको आफ्नै जिन्दगीको अर्थहीन जस्तो लाग्ने अर्थहरु, निस्सार भोगाईका केही आवाजहरुलाई पाएँ । जुन मलाई आफ्नै जस्तो पनि लाग्थ्यो । वा त्यो धरै पटक पढेर पनि हुन सक्छ, मैले आफूलाई पनि त्यसरी नै परिभाषित गर्न थालें । जे होस, जिन्दगीको यस्तो खालको धारणाले मलाई छोएर हुनसक्छ, मान्छे भित्रका बेमेल र असंगत पनहरु मेरा नजिकका पन थिए त्यो बेला । अहिले पनि मेरा सिर्जनाको केन्द्रमा म त्यस्तै पन देख्छु ।
पुस्तक पढिरहँदा त्यसका पात्र, लेखक र परिवेशले कतिको पछ्याँउछ ?
एकदम पछ्याउँछ नि । जस्तो बीपी कोइरालाको आत्मवृत्तान्त पढेपछि मलाइ लाग्यो – ओहो, २० वर्षको उमेरमा बिपी राजनीतिको त्यत्रो उचाईमा पुग्न सक्छन् । गर्ने हो भने नसकिने के नै रहेछ र भन्ने मलाई पर्यो । गर्ने हो भने आफ्नो रुचिको क्षेत्रमा सफलता हात पर्न सकिन्छ भन्ने आत्मविश्वास दियो त्यो कितावले । खासमा कितावको शक्ति भनेकै पाठकलाई सही काम गर्न, पाठकको रुचिको क्षेत्रमा थप काम गर्न प्रोत्साहन दिने त हो नि ।
तपाईंको विचार पढ्नु केका लागि हो ?
किताब पढ्नुका थुप्रै आयामहरु देख्छु म । एउटा, ज्ञान आर्जन, अर्को भइराखेको तपाईंको चेतना र तपाईलाई लागेको विचारमाथि पुनर्पुष्टि, केही काम गर्न वा नगर्नका लागि प्रोत्साहन, वा नयाँ विचार प्राप्त गर्न, वा कुनै विषयमाथि थप अनुसन्धान जानकारीका लागि । यसरी हेर्दा फरक फरक किताव पढाईका फरक फरक प्रभाव र महत्व हुन्छ । मान्छेले आफ्नो समयमा भोगेको, अनुसन्धान गरेको, देखेको वा सामाजिक सांस्कृतिक, आर्थिक राजनीतिक घटनाहरुको एक खालको अभिव्यक्ति त हुन किताव भनेका जुन विधामा लेखिए पनि । त्यसैले कुनै पनि समयलाई बुझ्नका लागि किताबै पढ्नुपर्यो नि ।
कस्ता पुस्तकले जीवनमा बढी सघाए ?
किताबहरु मेरो जीवको टेक्ने हाँगो र समाउने लौरो हुन् । सानै उमेरदेखि ममा एकखालको जिज्ञासा थियो – संसार कसरी चल्छ ? वा राजनीतिक नेतृत्वमा रहेकाहरुको डिसिजन प्रक्रियालाई केले प्रभाव पार्छ ? वा किन मानव सभ्यताको एउटा पाटो त्यतिविधि शक्तिशाली बन्न सक्छ जब अर्को सभ्यता कहाँ हो कहाँ भूईंमै हुन्छ प्रविधि र विकासका हिसावले । कितावहरुले नै मलाई ती कुराहरुको हेक्का दिए ।
पाठकलाई १० वटा पुस्तक पढ्नको लागि सिफारिस गर्नुपर्दा ?
जम्मा १० वटा मात्रै छान्ने काम अलि गाह्रो हो । यति नै बेला चैं मैले यी नामहरु सम्झिएँ विना अर्डर : पारिजातको शिरीषको फूल, अनिदो पहाडसँगै, बाराक ओबामाको Dreams From My Father ,नेल्सन मण्डेलाको अटोवायोग्राफी Long Walk to Freedom , बिपी कोइरालाको आत्मवृत्तान्त, हर्क गुरुङको मैले देखेको नेपाल, नयनराज पाण्डेको उलार र लू, मञ्जुश्री थापाको Forget Kathmandu ,ज्यारेड डायमन्डको Gun Germs and Steel ,िड्यारन एसमोग्लु र जेम्स रोविन्सको Why Nations Fail ईश्वर बल्लभका कविता, आई बि राईको आज रमिता छ, र अरु कथाहरु, विजय मल्ल र गोविन्दा गोठालेका कितावहरु, धच गोतामे र धु्रवचन्द्र गौतमका किताव, James Orwellsf] Animal Farm / 1984 ।
तपाईंसँग कति जति पुस्तकहरूको कलेक्सन होला ?
किताबको संख्या यति नै भन्नुभन्दा पनि पढेका किताव कति अर्थपूर्ण रहे, ज्ञान आर्जनमा तिनले कति सहयोग गरे भन्ने मूल कुरा हो । नयाँ सोच बनाउन कित उत्प्रेरित गरे, कुनै काम गर्न वा नगर्नका लागि मलाई किताबले कति बल दियो भन्ने मलाई बढी महत्व लाग्छ । थात थलो छोड्दै हिँड्नुपर्दा किताव संकलनको रुचि व्यवहारिक हुन सकेन मेरो लागि । त्यसबाहेक, पछिल्लो समयमा त धेरै किताबहरु डिजिटल फम्र्याटमा पढेको छु कम्प्युटर वा किण्डलमा । ती कितावहरु किण्डलभित्रै हुन्छन्, चाहिएको बेला फाइल खोल्यो, नत्र त्यहीं बन्द भएर बसेका हुन्छन् ।
पढ्न चाहेर पनि पढ्न नपाएका कुनै पुस्तक ?
मलाई पछिल्लो समय पढ्न मन लागेको किताव हो सरदार भीमबहादुर पाँडेको त्यसबखतको नेपाल । त्यस्तै नेपालको आर्थिक इतिहासका बारेमा पनि पढ्न मन छ, तर नेपाल बाहिर रहेकोले ती कितावहरु सजिल्यै उपलब्ध हुन सकेको छैन ।
मनपरेका ५ जना स्वदेशी र विदेशी लेखकहरुको नाम लिनुपर्दा ?
नेपाली लेखकहरु धेरै छन् । ती मध्ये पारिजात, ईश्वरबल्लभ, मोहन कोइराला, मदन रेग्मी, श्रवण मुकारुङ, विमला तुम्खेवा, नयनराज पाण्डे, नारायण वाग्ले, बुद्धिसागर ।
नेपाली भाषा इतरका लेखकहरुमा अहिले George Orwlle को मात्र नाम लिउँ । किनभने भाषिक हिसावले कुन लेखकको लेखनी अब्बल भन्ने हिम्मत म गर्दिन् ।
अध्ययन र लेखाई बाहेकका रुचिहरू के छन् ?
पछिल्लो समय म निजी लगानीकर्ताहरु र खुला बजारको अर्थतन्त्रको सम्बन्ध, खुद्रा लगानीकर्ताहरुको लगानीका बारेमा अलिक रुचिले पढिरहेको छु ।
नयाँ पुस्तालाई नपढी नहुने पुस्तकको रूपमा कुन–कुन पुस्तकहरू सिफारिश गर्नुहुन्छ ?
नेपालको इतिहास बुझ्न इतिहास शिरोमणि बाबुराम आचार्यको अब यस्तो कहिल्यै नहोस् । संसार बुझ्नका लागि नपढी नहुने थुप्रै किताब हुन्छन् । तीमध्ये मलाई मनपरेको चैं Jared Diamond sf] Gun Germs and Steel। संसारको विकासको जुन रुप छ आज, जुन आर्थिक राजनीतिक प्रणालीलाई हामी अव्वल मान्छौं, यो किन भयो भन्ने कुराको जवाफ दिन्छ त्यसले ।
त्यसपछि अर्को एउटा चाहिं अमेरिकी राष्ट्रपति ओबामाको पछिल्लो किताब – – A Promised Land । संसारको शक्तिशाली देश अमेरिकाको प्रत्येक नीतिले संसारको आर्थिक सामाजिक राजनीतिक वातावरणलाई प्रभाव पार्छ । त्यस्तो नीति बन्दा कंग्रेसमा वा ह्वाइटहाउसमा के हुन्छ, त्यो वरिपरि को मान्छे, कस्तो प्रक्रियाले प्रभाव पारिरहेको हुन्छ भन्ने जान्न यदि मन छ भने यो साँच्चै उपयोगी छ । त्यस्तै नेपाल जान्नका हर्क गुरुङको किताब पनि पढ्नु पर्छ जस्तो लाग्छ । र अन्तमा एउटा थपें, हामी प्रजातान्त्रिक देश भएर पनि किन प्रजातान्त्रिक हुन सकिरहेका छैनौं ? किन हाम्रो नेतृत्वमा त्यस्तो व्यवहार देखिंदैन, के को अभाव छ त्यो संस्कार नबन्नुमा भन्ने सिक्नका लागि जर्ज अर्वेलका किताब सम्झन्छु ।
तपाईंको पछिल्लो साहित्यिक योजनाहरू के–के छन् ?
साहित्यभन्दा पनि नेपाल छोड्नु अघि मैले वाचा गरेको एउटा प्रोजेक्ट थियो जहाँ मैले यात्रा गरेको नेपाल, भर्खर गणतन्त्र आउँदाको बखतको नेपाललाई डकुमेण्ट गर्न थालेको थिएँ । त्यो काम पुरा गर्नु छ । काम अत्यन्तै धीमा गतिमा चलिरहेको छ ।
स्रष्टा र सिर्जनाको सम्बन्धलाई तपाईं कसरी हेर्नुहुन्छ?
स्रष्टाको सामाजिक–आर्थिक चेतना सृजनामा अभिव्यक्त भएको हुन्छ । त्यसैले त्यो स्रष्टाको परिवेश, कस्तो सामाजिक–आर्थिक परिवेशबाट हुर्किरहेको छ, उसको सृजनामा त्यो देखिन्छ । तपाई त्रिशुली नदीको आसपासमा हुर्किनुभएको हो भने तपाईंका कथा उपन्यासमा त्यही खोला नदीकोको झल्लो उत्रिन्छ । कर्णाली नदी आसपासबाट हुनुहुन्छ भने त्यही नदी, त्यहीँको सामाजिक–आर्थिक परिवेशको गन्ध छचल्किन्छ । समग्रमा जुन परिवेशको लेखक तपाई हुनुहुन्छ, त्यही कुराको अभिव्यक्ति सिर्जनामा देखिने हुन ।
तपाईंको जीवनमा सानैदेखि कोही रोल मोडेल छ, जसले जीवन यात्रामा निरन्तर सकारात्मक प्रेरणा दिएको होस् ?
विपी कोइरालाको आत्मबृतान्तमा लेखिएका कतिपय घटनाक्रमहरु, म समय समयमा बढी सम्झिन्छु । विपीका ती घटनाक्रमहरु अधिक राजनीतिक थिए, यद्यपि त्यसबाट मैले समाजिक कममा आफूलाई कसरी प्रेरित गर्न सकिन्छ, आफ्नो रुचिको क्षेत्रमा कसरी अघि बढ्न सकिन्छ भन्ने कुरा सिकें जस्तो लाग्छ ।