देख्ता सामान्य लागे पनि खाडल देखेपछि एक्कासि कहालिन्छु । आङ एक्कासि सिरिङ्ग गरेर आउँछ । जीउ लगलग काम्न थाल्छ । मनस्तापभरि ऐंठनका गाँठा र गिर्खाहरू रोडा बनेर दरालिन थाल्छन् । स्वभाविक रूपले स्थिर हुँदै आएका शरीरका रौंहरू समेत डरले, त्रासले दुम्सीका काँडाजस्तै ठाडा हुनथाल्छन् । सकस, विषाद र विभ्रमका सहस्र धुमकेतुहरूले छपक्क छोप्तै जान थालेको सघन अनुभूतिले उथलपुथल हुनेगरी हल्लाइरहन पुग्छ मानसिकता ।
अहिले अनुभूत गर्दैछु खाडलको आत्मघाती अभिशापमा वालवयदेखि नै निसासिने गरी गिजलिन पुगेको रहेछु । ताते गरेको मझेरी, बामे सरेको दलान, आड लागेको पेटी, बुर्कुसी मारेको आँगन, पछारिन पुगेको गल्ली यी सबै खाडल संस्कृतिका उपोद्यात भएर जीवनको उद्देश्य, सार र मूल्यलाई रसातल पुर्याउने सुरले घेर्दै आएका रहेछन् । त्यसैको वृत्तमा निरुद्देश्य, निराकार हुरीको पतकरजस्तै बनेर फनफनी नाच्तै, घुम्दै आएको रहेछु ।
म अदनु ठेट्नो ! यस्ता जीवनोपयोगी कुराहरू मैले वालवयमा मात्र होइन बयस्क र बूढो हुनथाल्दा समेत बुझ्न सकेको रहेनछु । बुझ्ने चेतना पनि विकसित हुन सकेको थिएन । चेष्टा पनि गरिन । बुझ्न सकिने खाले संस्कार र सत्संग कतै भेटेको पनि थिइनँ । कुनै सुसंस्कृत, शिक्षित परिवारमा परवरिश भएको पनि थिएन । समाजमा, संस्कारमा, अभिभावकको संचेतनामा जेजे कुराहरू आरुढ भएर गतिशील हुँदै आएका थिए त्यसैको पार्श्वछायामा उभिएर हिन्हिनाउँदै, हल्लिँदै अघि बढेँ । देखेका, सुनेका र बुझेका कुराहरूको गहिरो छाप पर्दै गयो । म त्यसैको पुच्छर समाएर जिजीविषाको वैतरणी तर्दै मोक्ष हुने तारतम्यतिर लाग्दै गएँ ।
त्यो बाटो हिँड्दा हिरिकहिरिक गरेरै भए पनि बाँच्न चाहिँ सकिने तर शिर उठाएर, छाती तानेर, ताल ठोकेर मनमौजी किसिमले भने नसकिने रहेछ ।
सँधै आशामुखी हुँदै परावलम्बित भएर बाच्नु पनि के बाँच्नु ! त्यस्तो बचाइ पनि बचाइ हुन्छ कहीँ ?
सार्थक बचाइका सुखद् पहेलीहरूसंग अनायास जमकाभेट हुनपुगेपछि झसङ्ग हुनपुग्छु । मन एकतमासको भएर अतालिन थाल्छ ।
कस्तो निस्प्रयोजन, निरर्थक जीवन बाँचिएछ हगि !
आतेस लागे आउँछ सम्झँदा पनि ।
खासमा भन्ने हो भने मलाई खाडलमा हालेर पुरपार पार्न उद्यत हुने पहिलो पराक्रमी संसाधन रहेछ मेकालेको शिक्षा पद्धति ।
मेरा बा, हजुर्बा तागाधारी सनातनी सम्प्रदायका अगुवाव्यक्ति भए पनि धार्मिक मनोवृतिका गृहस्थ मानिस । कर्मकाण्डका लम्बरी उपाशक । त्यो पेसा सुहाउँदो अध्ययन अध्यापन गर्दै आउनु भएको हुनाले पनि जीवन धान्न उहाँहरूलाई धौ, धौ परेन । खोले फाँडो खाएर पनि सहज किसिमले जीवीकोपार्जन गदै आउनु भयो । अड्को फड्को जोतिष विद्याको धूप हालेर गर्जो टार्न त्यति गाह्रो पर्ने कुरा पनि परेन । अध्ययनका यी दुवै प्रकृया, पद्धतिहरू सामान्य काँटका भए पनि स्वावलम्बी किसिमका थिए । त्यसको प्रभाव, शक्ति, तेज र चातुर्यको बलमा कुनै पनि कालखण्डमा कुनै पनि भूगोलमा उभिएर गाँस, बासको जोहो सहजै गर्न सक्नुहुन्थ्यो ।
त्यो शिक्षामा जीवनोपयोगी सार र महत्व बेसी मौजुद हुँदा त्यसको बलमा परिवार चलाउन त्यति गाह्रो परेन ।
उहाँहरूले बिताउनु भएको कालखण्ड राजनैतिक उहापोहको कालखण्ड थियो । परम्परावादी सोचको विराशतलाई भत्काएर नवनिर्माणको जगमा देशलाई अघिबढाउने नीति निर्माणको कालखण्ड थियो । मेकालेको भाङ्ग्रो ओढेर देशले अग्रगमनकालागि दूरगामी छलाङ मार्न पाइला फट्याइ सकेको थियो ।
प्रतिरोध गर्ने सामर्थ्य, शक्ति र दृष्टिकोण थिएन उहाँहरूमा ।
त्यसको प्रभाव पनि पर्यो ।
आफ्ना समकालीन सहपाठीहरू अड्डा, अदालतमा झुण्डिएर अलवल्य धनराशिका अधिपति हुँदै गएका प्रत्यक्ष देख्तै, भोग्दै आउनु भएको थियो । त्यस किसिमको जीवन पद्धति आफूले भोग्न नसके पनि आफ्ना सन्ततिहरूले भोगुन भन्ने तिर्सनाको धेरथोर सिकार उहाँहरू पनि हुँदै आउनु भयो । त्यसै खाले बिकार मनको अतल गहिर्याइमा काइ जमेर बसेको पनि हुँदो हो । त्यहाँ पुग्ने बाटोको मन्त्रदान मेकालेले विधि निर्मातालाई दिइसकेको थियो । त्यसको प्रभावले गर्दा पनि सीपमुलक शिक्षा ग्रहण गरेर सन्ततिहरू स्वालम्बी बाटोमा सहजै हिँड्न सकुन् भन्नुको साटो नजिकै खोलिएको पाठशालामा लगेर भर्ना गरिदिनु भयो ।
तेह्र वर्षसम्म टुप्पी ठाडो पारेर मैले त्यहाँ बिताएँ । शिक्षित समुदायको अभाव भएको समय भएको हुनाले एउटा निर्दोष विद्यालयको आँखामा छारो हालेर बातिन पुगेँ । त्यो शिक्षाको परिणति पनि अरूको आँखामा निर्लज्ज छारो हालेर निर्धक्क उग्राउनु नै थियो । शोक, सन्ताप विना त्यही जङ्घी दीक्षाको बुइ चढेर चौँतीस वर्षसम्म निर्दोष वालवालिकाको आँखामा छारो हालेर डुक्रिइ रहेँ । त्यसको अन्तर्यमा रहेको सारभूत कुरा थाहा पाइसकेपछि अहिले घोर विषाद र पश्चातापले सबै खाले मांशपेसीहरू लल्याकलुलुक हुन थालिरहेका छन् ।
जीवन निरर्थक किसिमले पो भोग्न पुगिएछ भन्ने हीनतावोधले गाँज्दै लगिरहेको छ । पढेको छु भनेर जतिसुकै फाइँफुटी लगाएर हिँडे पनि जीवनवोधी कुरा त तातो छारो केही सिकिएकै पो रहेनछ । डोको, नाम्लो बुन्न मात्र सिकिएको पनि भए अहिले त्यही सीपको माध्यमले जीविकोपार्जन गर्न सकिने थियो । पढेर जान्ने महत्वाकाङ्क्षामा हुन्हुनाउँदै हिँडेँ । बुझेर ल्याउँदा नराम्ररी पढ्नै सकिएको रहेछ । न त स्वाबलम्बी हुने सीपमुलक कुनै ज्ञान सिक्ने चेष्टा गरिएछ । जति पढाइको अहङ्कार थियो त्यसले त सिन्को, सुतरी भाँच्न सक्ने रहेनछ ।
यस्तो निस्सार जीवन बूढ्यौलीमा लम्पसार परेर अगाडि तेर्सिन आएपछि एक्कासि झसङ्ग हुनपुग्छु । संचेतनाका सबै खाले धमनीहरू खज्मजिएर एकै ठाउँमा खुम्चिन पुग्छन् । अनि लाग्छ मेकालेको शिक्षा पद्धति अनुसार पढेका ज्ञानले दिशावोध गराएर अगाडि बढ्न उत्प्रेरित गर्नुको साटो उल्टै खाडलमा सिन्की खाँदै झैँ खाँध्न पो पुगेको रहेछ ।
कृषि मेरो परम्परागत पेसा थियो । गतिलो नभए पनि पैतृक विराशतबाट हस्तान्तरण हुँदै आएका खोरिया हक, भोग, अधिकारमा पर्याप्त थिए । गोठभरि गाई, भैँसीको जेर थिए । खोरभरि बाख्रा थिए । करेसामा नै छेलोखेलो चरन थियो । खर्क छाम्दै गाई गोठ हप्ता, हप्तामा सार्दै जान्थ्यौँ । बारी मल्न त्यति गाह्रो थिएन । मल पुगेपछि बाली पनि पर्याप्त हुने गर्दथ्यो । त्यसको बलमा गृहस्थ चलाउन त्यति असजिलो पर्दैनथ्यो ।
विकास गाउँमा भित्रिन थालेपछि उन्नतजातका बिउ, बिजन पनि गाउँ पस्तै गयो । कृषि क्रान्तिको विगुल सिंहदरवारले फुकिसकेको थियो । त्यसको तरङ र झङ्कार मेरो घरभित्र पनि छिर्यो । अलिकति रसायनिक मल हाल्दा उब्जनी दोब्बर हुने देखेपछि त्यसको प्रभावबाट अछुतो रहने कुरा पनि भएन । एकथान खसी बेचेर दुई कोस परको सदरमुकामबाट हजुरबाले एक बोरा रसायनिक मल ल्याउनु भयो । पानी परेपछि हारालुछ गर्दै हामीले मकैमा हाल्यौँ ।
त्यो साल उल्कै फल्यो मकै ।
त्यो भन्दा पनि बेसी फलाउने तिर्सनाले गर्दा अर्को साल दुई बोह्रा ल्याउनु भयो खोरका बाख्रा पनि दुई थान घटे ।
बाख्राहरू घट्तै गए । बाख्रापछि गाईको पालो आयो । जजमानी पेसा भएको हुनाले गाईले निकै धान्यो । वेलावेला दान आउने हुनाले त्यसको त्यति सन्ताप पनि भएझैँ लागेन । दानमै आए पनि त्यो अनिश्चित थियो । मान्छे नमरी हतपत कोही जजमान गाई दान दिँदा पनि दिँदैनथे । घट्ने क्रम यथावत थियो । हुँदाहुँदा गोठ पनि रित्तियो । भैंसीहरू पनि घटे । रासायनिक मलको प्रतापले गर्दा बारी पनि किटिँदै गयो । रासायनिक मल हाले फल्ने र रासायनिक मल कम हुनासाथ पँहेलपुर भएर सुक्ने व्यथाले गाँज्दै लग्यो । उत्पादन क्षमता वर्षौनी घट्तै गयो । अहिले बारी त छ तर उब्जनी छैन । भएका खोरिया पनि पर्तीमा परिणत हुँदै गएका छन् । घर, गोठ, घुर्यान समेत बञ्जर भूमिमा परिणत हुँदै जान थालेका छन् ।
बेसाहा घर भित्र पस्नथालेपछि धेरै कुराहरू मसाङ्गि्रँदै गए । बिउ, बिजनको समस्याले पनि गोर्ख्याउँदै गयो ।
पहिले आमा बाली भित्र्याउनासाथ त्यसमध्ये राम्रो उत्पादन भएको अन्न केलाई, सुकाई गाग्रामा हालेर बुइँगलमा लगेर राख्नुहुन्थ्यो । बिउको कहिल्यै अभाव भएको महसुस हुन्न्थ्यो । अहिले सुकाई, केलाई राख्ता पनि राखेको बिउ समयमा उम्रँदैन । उम्रे पनि साविकजस्तै फल्दैन । फले पनि खान योग्य हुँदैन । खाँदा अन्न खाएझैँ नलागेर केवल भुस खाएझैँ लाग्न थाल्दछ ।
हाइब्रिडको सेसन्तरले गाँज्दलै लगेको छ गाउँलाई । स्थानीय प्रजातिका सबै खाले बिउ, बिजन समाप्त भइसकेका छन् । वासलात रित्तो हुँदै गइरहेको छ । परनिर्भरताले दिनानुदिन गाँज्दै लगिरहेको छ । सुका, मोहरमा पाइने बिउ सय, पचास नहाली आउँदैन ।
अनि लाग्छ मलाई खाडलमा हालेर रसातल पुर्याउन खोज्ने अर्को छेसाहा तत्व हरितक्रान्तिको हाइब्रिडे प्रविधि पनि रहेछ ।
विकासले गाउँ, शहर छोप्तै लगेपछि औषधि विज्ञानको उपादान ठानिएको एलोपैथी सर्वत्र व्याप्त हुन थाल्यो । सामान्य भन्दा सामान्य रुघा खोकी ज्वरोमा पनि निशङ्कोच ट्याब्लेट खाने बानी विकास हुँदै गयो । रोग निदानका असली आधार भए पनि बारी, करेसामा पाइने जरा, बुटा खान लाज मान्ने परम्परा विकसित हुँदै गयो र खाँदा रोग निदानै नहुने भए पनि नक्कली औषधिमा शरणागत हुनपुग्यौँ । परम्परागत प्रविधिका जडिबुटीहरू उपेक्षा र तिरस्कारका पर्याय बन्न पुगे ।
एलोपैथी प्रविधिले रोग निदान हुनु भन्दा पनि अरू नयाँ, नयाँ रोगहरू बल्झाउन थाले । नयाँ किसिमका रोगहरूको प्रादुर्भावले गर्दा रोग निदानका प्राकृतिक अर्थात वनस्पति संसाधनहरू ओझलमा पर्दै गए । र बिरामीहरू अहिले तातो तावमाथिको आलो माछाजस्तै भएर छट्पटाउन थालिरहेका छन् ।
एलोपैथीको आगमनसँगै भित्रिएको विभ्रमको सञ्जालले कज्याउँदै लगेको छ सबैको चेतना ।
कसाइ नै भए पनि डाक्टर ईश्वर बनेका छन् र कुम्भीपाक नै भए पनि अस्पताल मन्दिर ।
जति कमाए पनि, जति जमाए पनि सञ्चित जेथो कालान्तरमा हाम पारेर अजीर्ण हुनेगरी डकार्ने पनि डाक्टर र अस्पताल बन्दै जान थालेका छन् ।
शरीरमा प्रतिरोधात्मक क्षमता भएको अचम्मको औतारी शक्ति हुने गर्दछ भन्नुहुन्थ्यो हजुर्बा । नलीखुट्टाको हाडै देखिने गरी कुकुरले चोक्टो निकालेर टोकेको घाउमा वनमारा झार माडेर त्यसको झोल हालेकै भरमा बिसेक पारीदिनु भएको थियो मेरो । त्यति ठूलो एकबित्ताको घाउ वनमाराको झोलकै भरमा केही दिनपछि नपाकी टिटानस नभइ बिसेक पनि भयो ।
अहिले सामान्य चोट पटक लागे जबर्जस्ती कडा भन्दा कडा एन्टिवायोटिकको बीष पान ग्रहण गर्न लगाइन्छ । एउटा मात्रै नभएर सात थरीका । त्यति गर्दा पनि निको नभए चिरफार गरिन्छ । तत्पश्चात सद्दे मानिस ओषतीमुलो गरेर घर फकर्कँदा खँजाहा भएर फर्किने गर्छ ।
एलोपैथीको सवभन्दा ठूलो चमत्कारी वरदान नै यही बन्न पुगिरहेको छ ।
एन्टिवायोटिकको रसायन पेटभित्र छिरेपछि हतपत कुनै औषधिले नछुने नजीर स्थापित हुँदै गइरहेको छ । यसको ज्यानमारा प्रवृतिले मानव समुदायलाई खँगार्दै लगिरहेको छ ।
आयुर्वैदिक चिकित्सा प्रणालीका अन्वेषक डा. राजीव दीक्षित र डा. विश्वजीत रायचौधरीको संम्भाषण सुनेपछि अपठित भए पनि मेरो हजुर्बाले अपनाउँदै आउनु भएको आयुर्वैदिक पद्धति सही र अहिलेको एलोपैथी पद्धति नक्कली लाग्दै जान थालेको छ ।
अनि सोच्ने गर्छु जिउँदै नर्कको खाडलमा निसासिने गरी हाल्न खोज्ने चाण्डाल प्रविधि एलोपैथी पनि रहेछ ।
सिद्धान्तको आकर्णले विमोहित तुल्याएर मुखमिठ्याई टुप्पी ठड्याउँदै कतै कुर्लेँ, कोर्कोराएँ हुँला ! मान्छे जाति कै परजीवी हुँ म पनि । छैन भनेर कुर्लन त जोगी, सन्यासी भएर देखाउन सक्नु पर्छ । त्यसो गर्न अहिलेसम्म सकेको छैन । जहान, परिवारमा जेलिएको मान्छेसँग केही न केही तिर्सना त हुन्छ नै । ममा पनि होला । छैन भन्दिनँ ।
म कहिल्यै पनि परपीडक राजनैतिक लुछातानीको पिठ्युँमा चढेर कोर्कोराउन सकिनँ । भनौँ जानिनँ ।
जानेर त होइन । आफ्नै करेसा वरिपरिका छिमेकी, नस, नातेदारहरूलाई अनाहक पाखुरा सुर्केर सत्तो सराप गर्दै पासो थापी पछार्न मन नलागेको हुनाले उपेक्षा र खिसीट्युरी सहेरै भए पनि अलग्गै बसेर अक्षरको सान्निध्यमा लट्पटिइ रहेँ । अक्षरले नै मलाई भरोसाको न्यानो अनुभूति दिएर आत्मसन्तुष्ट हुने आधारका पदचापहरू देखाउँदै लगे । अनाहक कुनै निर्दोष प्राणीसँग सिँगौरी खेलेर रगतपच्छे हुने अथवा पार्ने गोरखधन्दा देख्तै दिङमिङ लाग्यो । आफ्ना खिच्चा तिर्सना फलिभूत पार्न निर्दोष, निसहाय मानिसको मानमर्दन गदै मडारिने पैशाचिक प्रवृति प्रति सहमत भएर उसको लोलीमा लोली खाप्तै हिँड्न मन मानेन । अछुतो रहेँ भन्दिनँ तर मुछिएरचाहिँ कतै हिँडिनँ । बरु निछटेर फँकिकएको पगटाजस्तै एकान्तमा बसेर आफ्नै अनुरागमा फत्फताइ रहेँ ।
पछाडि फर्केर हेर्दा लाग्छ जे गरिए छ ठिकै गरिए छ ।
बहुदल, गणतन्त्र, जनतन्त्र, प्रजातन्त्र, समाजवाद, साम्यवाद, राजतन्त्र नग्न पुँजीवादका व्यभिचारी पासा र बल्छी रहेछन् । यी सबै स्थापित अघोरी विचारहरूको अन्तर्यमा निर्दोष र निम्सराहरूको काँधमा चढेर उनीहरूलाई नै हर्काउँदै हिँड्ने, उरालधुराल पार्न लगाउने, आफ्नू स्वार्थ सिद्ध नहोउञ्जेल मारमुङ्ग्रीमा उत्रिने अथवा उतार्ने, आफू उदरसूल हुने गरी हसुर्ने तर आफैँलाई बोकी हिँड्ने भरियालाई भोकभोकै हाँकेर हिँडाएर हिन्हिनाउने परिपाटी जब्बर भएर बसेको हुँदो रहेछ । त्यसको सन्न्पिाती रापले भत्भति पोलेर मानसिकता टट्टाउन थालेपछि सोच्ने गर्छु मलाई खाडलमा हालेर खाँद्न खोज्ने तत्व यो पनि रहेछ । यदि पक्षपातपूर्ण शासकीय प्रणाली सतहमा स्थापित नभइ दिएको भए मजस्ता निछटिएका मान्छेहरू आफ्नै पौरख र पुरुषार्थकको बलमा उभिएर यो दुर्दसाको वैतरणी सहजै र स्वभाविक किसिमले तर्न सक्ने थिए ।
न मनमा कुण्ठ हुन्थ्यो न त मानसिकतामा सन्ताप । न मुटुमा विषाद हुन्थ्यो न त चेतनामा तनाव ।
जति बाँचिन्थ्यो सन्तापहीन भएर बाँचिन्थ्यो । जति उभिइन्थ्यो सहारा विना नै उभिइन्थ्यो । र जति हिँडिन्थ्यो दृष्टिभरि छचल्किएर हिँडिन्थ्यो ।
………… । उनी अर्थात् श्रीमान् ………… । उनी अर्थात् सुश्री ………….. । उनी अर्थात् श्री ………….. ।