सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय देवेन्द्र दाहालको प्रमुख आतिथ्यतामा ‘सम्मान तथा अक्षलोक लोकार्पण’ कार्यक्रम सम्पन्न गरेको छ। नेपाली साहित्यकाे समालोचक प्रा.डा. दयाराम श्रेष्ठको विशिष्ट आतिथ्य रहेको उक्त कार्यक्रम केन्द्रका अध्यक्ष ई. स्वजन स्वराज शाक्यको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा स्व. प्रा. सिद्धिश्वरमान श्रेष्ठको पुण्यस्मृतिमा साहित्य, कला, संगीत, स्वास्थ्य, शिक्षा र समाजसेवामा विशिष्ट योगदान गर्ने विविध क्षेत्रका व्यक्तित्वहरूलाई नगदसहित विभिन्न सम्मान तथा पुरस्कार प्रदान गरिएकाे थियाे ।
‘सिद्धिश्वरमान—चन्द्रविष्णु अन्तर्राष्ट्रिय सामाजिक योगदान पुरस्कार’ बीस हजार सहित बेल्जियमका रोजर द ग्रुनलाइ प्रदान गरिएकाे थियाे । त्यसैगरी ‘सिद्धिश्वरमान—महेश्वरमान श्रेष्ठ उत्कृष्ट प्राध्यापक उत्प्रेरणा पुरस्कार’ बीस हजार सहित प्रा. डा. भानुचन्द्र बज्राचार्यलाइ ‘सिद्धिश्वरमान—मिलनमुक्ति उत्कृष्ट साहित्य साधना पुरस्कार’ एघार हजार एक सय एघार सहित साहित्यकार लालबहादुर भुजेललाइ, ‘सिद्धिश्वरमान—विष्णुकुमार अग्रवाल उत्कृष्ट साना उद्यमी पुरस्कार’ एघार हजार एक सय एघार सहित निष्ठा कायस्थ (दिदीबहिनी क्रियसन्स)लाइ प्रदान गरिएकाे छ ।

‘स्वास्थ्य साधना’को लागि डा. भगवान कोइराला, ‘साहित्य साधक सम्मान’का लागी श्री राम विनय ‘बालसाहित्य सम्पादन सम्मान’ (मरणोपरान्त) का लागी स्व. विनय कसजु ‘शिक्षा रत्न सम्मान’ का लागी प्रा. डा. हृदयरत्न बज्राचार्य ‘सूचना तथा साहित्य साधक सम्मान’ का लागी श्री प्रविण जोशी ‘सङ्गीत साधक सम्मान’का लागी श्री राजु सिंह ‘अक्षलोक रत्न सम्मान’ का लागी प्रा. उपेन्द्रबहादुर कार्की ‘साहित्य रत्न सम्मान’ का लागी श्रीमती हिरण्यकुमारी पाठक सम्मानित हुनुभएकाे छ ।
‘युगल साहित्य साधक’को रूपमा साहित्यकार जोडी लक्ष्मी माली र स्नेह सायमी सम्मानित हुनुभयाे भने, ‘नेपाल भाषा साहित्य’मा योगदानको लागि रेवती राजभण्डारी र नरेन्द्रबहादुर श्रेष्ठलाई ‘सँझ्या सम्मान’ प्रदान गरिएकाे थियाे ।
साहित्यको प्रवर्द्धन गर्ने संस्थागत योगदानको कदरस्वरूप साहित्यिक पत्रकार संघ र भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान लाई ‘उत्प्रेरणामूलक साहित्यिक संस्था सम्मान’ प्रदान गरिएको थियो।
कार्यक्रमको एक विशेष खण्डमा, नेपाली साहित्य क्षेत्रमा चार दशकभन्दा बढी समयदेखि स्थायी उपस्थिति जमाएको ‘अक्षलोक साहित्यिक पत्रिका’ को ६८औं अंक सार्वजनिक रूपमा लोकार्पण गरिएको थियो।
समारोहलाई सम्बोधन गर्दै मन्त्री देवेन्द्र दाहालले सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विशिष्ट प्रतिभाहरूलाई सम्मान गरेर नेपाली समाजमा सकारात्मक ऊर्जा भरेको बताउनुभयो। “सम्मान पाउनेले अझ उत्कृष्ट कार्य गर्न प्रेरणा पाउँछन्,” मन्त्री दाहालले भन्नुभयो।
सम्मानित व्यक्तित्वहरूको तर्फबाट बोल्दै डा. भगवान कोइरालाले यस किसिमको कदरले समाजमा योगदान दिने कार्यलाई अझ बल मिल्ने भन्दै आयोजक संस्था र यसका समर्पित सदस्यहरूलाई आभार प्रकट गर्नुभयो।
कार्यक्रममा केन्द्रको संक्षिप्त परिचय संरक्षक तथा अर्थशास्त्री डा. सावित्री श्रेष्ठले दिनुभयो। कार्यक्रम सञ्चालकको भूमिका डा. चन्द्रबहादुर केसी र सञ्चार विशेषज्ञ स्वर्णिमा श्रेष्ठले संयुक्त रूपमा निर्वाह गर्नुभएकाे थियाे ।
यो कार्यक्रमले सिद्धिश्वरमान श्रेष्ठको योगदानलाई स्मरण गर्नुका साथै वर्तमान पुस्ताका सिर्जनशील र सेवा भावनाले ओतप्रोत व्यक्तित्वहरूको कदर गर्दै साहित्य र समाजप्रतिको उत्तरदायित्वप्रति सचेतना थपिदिएको छ।










