२०२९ असार १५, खरेल थोक, काभ्रेमा जन्मेकी कवि/समालोचकका रूपमा सक्रियता देखाउँदै आएकी डा. गीता त्रिपाठी पछिल्लो समयका चर्चित लेखिका हुन् । यिनी धेरै विधामा सिर्जना गर्दै आएकी भए तापनि कवितामा विशेष मन राख्दै आएकी कवि हुन् । २०४५ मा ‘स्वच्छता’ कविता ‘बिरुवा’ मासिकमा प्रकाशित गराएर साहित्यिक जगत्मा देखा पर्दै आएकी यिनी कविता–कर्ममा सबभन्दा सक्रिय देखिएका छन् । पुस्ताकार रूपमा यिनका प्रकाशित कविता सङ्ग्रहहरुमा नृशंस पर्खालहरू(२०६५) र सिमलको गीत (२०७२) छन् । गीतहरू पनि लेख्दै आएका यिनका गीत सङ्ग्रहमा थुँगा: वन फूलका(२०६१) मा प्रकाशित भएको हो । केही गीति एल्बम पनि यिनका प्रकाशित छन् ।बहु भाषी उखान–टुक्का सङ्ग्रह यिनले सम्पादन गरेका कृतिहरूमध्ये महत्त्वपूर्ण कृति हो ।समालोचना कृतिमा दृष्टि विचरण(२०६६), कृति विश्लेषण : प्रायोगिक आयाम (२०६७),नेपाली नियात्रा: सिद्धान्त र प्रयोग आदि छन् । र साथै यिनका म एक्लो र उदासजस्तै(२०७०) मा प्रकाशित निबन्ध सङ्ग्रह हो । नेपाली कवितामा पर्यावरणीय चेतनामा यिनले विद्यावारिधि गरेको देखिन्छ । यिनी ‘प्राज्ञ’ पनि बने । सङ्घर्षबाट सिकेर आफूलाई सबल बनाउँदै आएकी यिनी साहित्यलाई ‘जीवनका भोगाइ र अनुभवहरूको कलात्मक अनुवाद, जिउने प्रेरणाको सर्वनाम’ ठान्छिन् ।जनमत कविता भाग १ र २ का पनि सम्पादक रहेकी यिनी जीवनका भोगाई र अनुभवहरूको कलात्मक अनुवाद, जिउने प्रेरणाको सर्वनामका रूपमा साहित्यलाई परिभाषित गर्न रुचाउँछन् ।
साहित्य नीलो आकाश हो, हरियो धर्ती हो र सङ्लो पानी हो । यसमा मनका बादलहरू, धुलोहरू र दूषित पदार्थहरूलाई पनि शुद्ध पार्न सक्ने आन्तरिक सौन्दर्य हुन्छ ।
तपाईँको साहित्य लेखनको थालनी कसरी भयो ? कृपया बताइदिनुहुन्छ कि ?
हुन त हरेक कामको एउटा आरम्भ हुन्छ । तर मेरो साहित्य–यात्राको आरम्भको स्पष्ट चित्र मसँग छैन । गाउँमा जन्मिएँ, हुर्किएँ । कविता, गीत के हुन् ? थाहा नहुँदादेखि नै त्यसको अनुरागी भएँ । विद्यालयमा हुने स्वागत समारोह, बिदाइ समारोह, सरस्वती पूजा जस्ता अवसरहरूमा आफ्ना रचना सुनाउँथेँ । पछि साथीहरूले आफ्ना चिठीहरू पनि कलात्मक पाराले लेख्न लगाए । म धेरै नबोल्ने र प्रतिकार पनि नगर्ने स्वभावकी थिएँ भन्ने कुरा कहिलेकाहीँ प्रसङ्ग उठ्दा आमाले भन्ने गर्नुहुन्थ्यो । साहित्यका प्रश्नहरूको उत्तर आफ्नो तहभन्दा धेरै माथिल्लो स्तरले लेख्थेँ भन्ने कुरा गुरुहरू खुसी हुँदै सुनाउनुहुन्थ्यो । कक्षा ७ मा पढ्दा बेलुर प्रतिज्ञा शीर्षकका दुई खण्डकाव्यहरू सर्जककै हातबाट पुरस्कार स्वरूप पाएँ र पढ्दा सबै नबुझे पनि आनन्द लाग्यो । केही कुराले लेखूँ–लेखूँ बनाउँथ्यो, लेख्थेँ र लाजले च्यात्थेँ पनि । यसो हुनुमा त्यति बेला साहित्यिक वातावरण नपाउनु हो जस्तो लाग्छ । मसँग हुर्किरहेका मेरो एकान्त प्रियता, प्राकृतिक सान्निध्य र अन्त:प्रेरणाले यिनै पृष्ठभूमिमा नजानिँदो किसिमले साहित्य लेखनको गोरेटो तयार पारिसकेछ पत्तै भएन ।
साहित्यको सिर्जना गर्ने भावना र प्रेरणा कसरी र को–बाट प्राप्त गर्नुभयो ?
सुरुमा लेख्दा साहित्य सेवाका लागि हुन्छ भनेर लेखेको होइन । मनले जुन संवेदना पोख्न चाह्यो त्यो निजी अनुभूतिलाई कलमले साथ दियो । रेडियो नेपाल नै गीत, कविता, कथा, नाटक जस्ता साहित्यिक विधासँग साक्षात्कार गराउने प्रमुख माध्यम थियो । साहित्य संसार कार्यक्रम नछुटाईकन सुन्थेँ । खुसी र पीडा दुवै क्षणमा कवितात्मक पङ्क्तिहरू स्वतः निस्कन्थे, किन, मलाई थाहा थिएन । त्यसैले बाल्यकालमा मेरो साहित्यतर्फको आकर्षण वैयक्तिक नै हो । कक्षा १० सम्म पढ्दा मैले थुप्रै गीत, कविता लेखिसकेकी भए पनि मैले बुबा आमालाई सुनाउने परिस्थिति पाइनँ । आई.ए. पढ्दापढ्दै जब बिहे भयो, त्यसपछि श्रीमान्बाट राम्रो श्रोताका रूपमा सहयोग र हौसला पाएँ । बी.ए. पढ्दा साथीहरूले हौस्याए । एम.ए. पढ्दा पद्मकन्या कलेज नेपाली विभागका आदरणीय गुरुहरूले साहित्य सेवाको भावनाले लेखिनुपर्छ भन्ने चेतना जगाइदिनुभयो । यसै क्रममा विभिन्न साहित्यिक कार्यक्रमहरूमा सहभागी हुने अवसर पाएँ । पुरस्कारहरू प्राप्त भयो । अग्रज वरिष्ठ कवि–कवयित्रीहरूसँगको सामीप्यले एउटा मीठो उत्साह थपिदिएको छ । समकालीन साहित्यकार मित्रहरूको जोसले थप प्रेरणा प्राप्त भइरहेको छ ।
साहित्य सेवामा निरन्तर रूपमा लागिरहनुभएकी तपाईँ यसबाट कतिको सन्तुष्ट हुनुहुन्छ ? कृपया बताइदिनुहोस् ।
यो प्रश्नको उत्तर दिन अलि नहतारिऊँ कि जस्तो लाग्दै छ । म त भर्खरै यसको स्वाद चिन्दै छु । अहिले नै सन्तुष्ट भएँ या भइनँ भने भने मेरो साहित्यिक यात्राको गन्तव्यमा पहिरो जान सक्छ । साहित्य एउटा साधना हो, सङ्घर्षपूर्ण क्षणको सच्चा मित्र हो साहित्य मेरा लागि । त्यसैले व्यक्तिगत अनुभूतिगत तहमा म यसभित्र गुनासा पोख्न सक्छु, रुन सक्छु, खुसी भएर पग्लन सक्छु, रिसाएर जम्न सक्छु, तर तपाईँले सोध्नुभएको सन्तुष्टिको उत्तर यो हो जस्तो मलाई लाग्दैन । भौतिक वा बाह्य सन्तुष्टिको कुरा बाह्य संसार नै जानोस् किनकि त्यसको पछि लाग्यो भने साहित्य सच्चा साहित्य हुन सक्दैन । आन्तरिक रूपमा म सन्तुष्टिकै लागि साहित्य लेख्छु भन्ने मलाई लाग्छ । मेरो त्यस्तो ठुलो महत्त्वाकाङ्क्षा छैन । म चाहन्छु मैले जन्माएका रचनाहरू पाठकका लागि रुचिपूर्ण हुन सकुन् । अँ, बरु समय सीमाको कारणले भावनाहरूलाई कैद गर्नुपर्दाको बाध्यतासँग भने म असन्तुष्ट हुन्छु, कहिलेकाहीँ आफैसँग, आफ्नो परिवेशसँग ।
नेपाली साहित्यमा महिला लेखिकाहरूको भूमिका र अग्रसरता सम्बन्धमा तपाईँ कस्तो धारणा राख्नुहुन्छ ?
यो पारिजातको देश हो । यहाँ नारी साहित्यको सुगन्धको कमी छैन । थुप्रै नारी प्रतिभाहरु साहित्यसँग संलग्न छन् । हार्दिकताका साथ असहज परिस्थितिको चेपबाट पनि कलमका डोबहरू बनाउँदै छन् । समाजको विकासको लागि, अन्धविश्वासबाट उज्यालोमा ल्याउनका लागि नारी लेखनको अपरिहार्यता व्यापक रहेको छ । तर नारी साहित्यमा दोस्रो स्रष्टा हुन्छे, पहिलो सिर्जनाको सुखद भविष्यको जिम्मेवारी उठाएकी नारी कर्तव्यबाट भाग्न चाहन्न । सन्तानको लागि निश्चित उमेरसम्म मातृ वात्सल्य अमृत बराबर हुनुहुँदा यो दायित्वबाट बचेको समयलाई पनि विभिन्न अंशमा बाँडेर साहित्य लेखनमा एक अंश छुटाउँछे भने उसले पछि सम्मको निरन्तरतालाई जोडिराख्न सक्छे, नभए नारी हस्ताक्षर दिनमै अस्ताउन पनि सक्छन् । यस्ता कारणले पनि सङ्ख्यात्मक हिसाबले महिला साहित्यिकहरूको कमी देखा परेको हो । अर्कोतर्फ साहित्यिक मूल्यलाई सम्मान गर्न नजान्ने, साहित्यको मर्मलाई नबुझ्ने पारिवारिक चापबाट पनि महिलाहरू चाहेर पनि कुण्ठित हुन पुग्छन् । यदि सकारात्मक परिवेश पाए साहित्यका माध्यमबाट मानवीय मूल्यको स्थापनाका लागि अन्त:प्रेरित सुन्दर भावना दिन लेखिकाहरू सक्षम छन् भन्ने मलाई लाग्छ । तर म चाहन्छु लैङ्गिक भेदविनाको सुन्दर भावनाको प्रकाशन नै आजको साहित्यको अभीष्ट बनोस् ।
तपाईँलाई मनपर्ने स्वदेशी र विदेशी लेखकहरू को–को हुनुहुन्छ ? कृपया बताइदिनुहुन्छ कि ?
मानवीय मूल्यको खोजी गर्ने सबै लेखकहरू मन पर्छ । प्रकृति, मानवता र ईश्वर नै शान्ति स्थापनाको र मानवीय मूल्य स्थापनाको माध्यम हो भन्ने मेरो भित्री आभास छ ।
तपाईँलाई मनपर्ने स्वदेशी र विदेशी लेखकहरू को–को हुनुहुन्छ ? कृपया बताइदिनुहुन्छ कि ?
नेपाली साहित्यको उत्थानका लागि आज धेरै प्रतिष्ठानहरू सरकारीभन्दा पनि व्यक्तिगत तवरबाट लागिपरेका छन् । धेरै कलाप्रेमीहरुको गुनासो छ – सरकारले कला–साहित्यको सम्मान गर्न जानेन । यस्तो अवस्थामा पनि विभिन्न संस्थानको गोष्ठी, सम्मेलनको आयोजना गरी अग्रज र नयाँ पिँढीलाई जोड्ने अवसर प्रदान गरिरहेका छन् । प्रतिभालाई प्रस्फुटन गर्ने अवसर दिनु र त्यसलाई सम्मान गर्नु भनेको ठुलो सद्भाव हो । खास गरी साहित्यकारहरूको अमरत्वको लागि उहाँहरूकै नामबाट खोलिएका थुप्रै प्रतिष्ठानहरूले कमसेकम उहाँहरूको जन्म जयन्ती वा अरू अनुकूल समय जुराएर साहित्यिक क्रियाकलापहरू सञ्चालन गरिरहेका छन् । यो सराहनीय कुरा हो र सभ्य समाजको निर्माणको लक्षण पनि हो । यदि साहित्य समाजको ऐना हो भने त्यो ऐनाभित्र साहित्यकारको स्पष्ट मूल्य र छवि खोज्नु प्रतिष्ठानहरूको दायित्व पनि हुन जान्छ ।
साहित्यिक धाराको कुरा गर्ने हो भने आजको साहित्य वर्तमान भोगाइकै जीवन्त तस्बिर भएर विभिन्न विधामार्फत आइरहेको छ । समसामयिक परिस्थितिले स्रष्टाहरूलाई चिमोटिरहेको छ । त्यसैले युग बोध नै आजको साहित्यिक धारामा बग्ने पानी हो । त्यो धेरै मात्रामा रक्ताम्मे भएको छ ।
तपाईँलाई सधैँ सम्झना रहिरहने कुनै साहित्यिक रोचक घटना भए कृपया झर्को नमानीकन उल्लेख गरिदिनुहोस् ?
१४ मे २००५ मा नर्वे स्वतन्त्र भएको १०० वर्ष पुगेको अवसर पारेर नर्वेजियन राजदूतले एउटा कवि गोष्ठीको आयोजना गर्नुभएको थियो, भैंसेपाटी स्थित उहाँकै निवास स्थानमा । वरिष्ठ कवि ईश्वर वल्लभ, मञ्जुल, भुवन ढुङ्गाना लगायत १३ जना कवि/कवयित्रीको माझमा आफूलाई पाउँदा मलाई खुसी लागिरहेको थियो भने नर्वेको बारेमा त्यहीँ बसेर कविता लेख्नुपर्ने हुँदा कता कता डर पनि लागिरहेको थियो । त्यो दिन आ–आफूले नेपालीमा लेखेका कविता सुनाएर हामी फर्कियौँ । त्यसको ६ महिनापछि गत अक्टोबर २५ मा तिनै कवितालाई नेपाली–अङ्ग्रेजी दुवै भाषामा तयार पारी नर्वे : अनुभूतिहरू शीर्षकमा प्रकाशित भएकोमा उक्त पुस्तकको विमोचन एक समारोहका बिच राजदूत तोरे तोरेङले गर्नुभयो । स्वदेशी तथा विदेशी महत्त्वपूर्ण व्यक्तित्वहरूको जमघट भएको त्यस साँझमा स्रष्टाहरूको तर्फबाट वरिष्ठ कवि मञ्जुलसँगै मैले पनि आफ्नो कविता दुवै भाषामा पढ्नुपर्ने कुराको जानकारी पाएपछि मन ढक्क फुल्यो । यत्तिकैमा महामहिमले पहिला मेरै नाम बोलाउनुभयो । डराइडराई माइक समातेँ र यसो आकाशतिर हेरेँ, जून–तारा कतै देखिएन । निर्धक्क भएर कविता पहिले नेपाली अनि अङ्ग्रेजीमा सुनाएँ । जब ताली बज्यो अनि पो झसङ्ग भएँ र यसो अगाडि हेरेको त ती प्रत्येक उज्याला अनुहारका श्रोताहरू मलाई जून–ताराजस्तै लागे । म त्यो अनुभूतिलाई बार–बार सम्झिएर जोगाइराख्न चाहन्छु ।
तपाईँको पहिलो प्रकाशित रचना कुन हो र तपाईँका प्रकाशित लेख–रचनाहरूमध्ये सबभन्दा मन पर्ने कुन रचना हो ?
जहाँसम्म मलाई सम्झना छ, २०४२ सालतिर प्रकाशित बिरुवा मासिकमा छापिएको कविता स्वच्छता नै प्रकाशनको हिसाबले मेरो पहिलो रचना हो र कृतिगत हिसाबले गीत सङ्ग्रह थुँगा : वन फूलका पहिलो प्रकाशित कृति हो । मन पर्ने विधा कविता हो भने गीत लेख्दाको क्षण पनि कम आनन्ददायी हुँदैन मेरा लागि ।
यस बाहेक तपाईँको साहित्य सम्बन्धमा केही कुरा भन्न बाँकी छ भने बताइदिनुहोस् ।
साहित्य नीलो आकाश हो, हरियो धर्ती हो र सङ्लो पानी हो । यसमा मनका बादलहरू, धूलोहरू र दूषित पदार्थहरूलाई पनि शुद्ध पार्न सक्ने आन्तरिक सौन्दर्य हुन्छ । हामी जो साहित्यमा लागेका छौँ सबै जना पहिले एउटा राम्रो मान्छे हुने कोसिस गरौँ । सेवा र सहयोगको सद्भाव र समझदारीको स्थापना गरौँ र सभ्य समाजको निर्माणमा स्वस्थ विचार राखौँ । त्यसपछि सुन्दर संसार तपाईं हाम्रै हो, मिलेर रचौँला, नयाँ–नयाँ सिर्जनाका शब्द थुँगाहरु ।
(जनमत, पूर्णाङ्क १०७, मङ्सिर २०६२)