हामी मध्य कतिपयलाई लाग्न सक्छ सम्पत्ति भनेको केवल धन हो । धन मध्यमा पनि रुपैयाँ पैसा, जग्गा जमिन ,उद्योग कलकारखाना, गाडीमोटर आदि इत्यादी हो । हामी यसैलाई धन भन्ने गर्दछौं । वास्तवमा यी बस्तुहरु धन होइनन् । यी बस्तु त जीवन धान्नका लागि बनाईएका भौतिक साधन मात्र हुन । जीवन गुजाराका लागि अपनाइएका सामग्री वा उपकरणमात्र हुन । यस्ता बस्तुहरु कुनै समयमा नष्ट भएर वा खर्च भएर पनि जान्छन । आफ्नो जीवनमा यदि खर्च भएर गएनन् भने आफ्नो शेष पछि नामसारी भएर जान्छन अनि अर्कैका हुन्छन । आफ्नो जीवनछँदै नष्ट भएर जाने र जीवनको अन्त्य पछि नामसारी भएर जाने बस्तु तपाईका सम्पत्ति कसरी हुन सक्छन ? यस्ता भौतिक सम्पत्तिले कहिले आफैलाई धोखा दिन्छन । तपाईसंग भएको रुपैयाँ कहिले काँही बेकाममा खर्च हुनजान्छ । राखेको ठाउँबाट खस्न वा हराउन सक्छ । चोरीहारी हुन सक्छ । कहिले प्राकृति प्रकोपमा परेर आगोले खरानी बनाउन सक्छ । बाढीले बगाउन सक्छ । जब तपाईको साथमा रहेको वस्तु तपाईले नचाहेर पनि हराउँछ , खस्छ ,चोरीहुन्छ वा खरानी हुन्छ भने त्यो रुपैयाँ तपाईको धन कसरी भयो ? जग्गा जमिन सुख्खा परेर बाँझो रहन सक्छ । खेतबारीको बालिनाली हावा हुरी वा असिनापानीले नष्ट हुन सक्छ । बाढी आएर बगाउन सक्छ । कुनै चौपायाले खाएर स्वाहा हुनसक्छ । बाढी पहिरोको कारणले जमिन नष्ट हुनसक्छ । जुनसुकै कारणबाट भए पनि जग्गा जमिन क्षय हुन सक्छ । त्यो क्षय हुने सम्पत्ति वा धन तपाईको कसरी हुन सक्छ ?जीवनभर केही भएन भने पनि एकछिन मानिलिनुस तपाईको जीवन पश्चात अर्कैमा नाममा नामसारी भएर जान्छ । त्यो नामसारी हुने सम्पत्ति तपाईको कसरी हुन सक्छ ? उद्योग कलकारखाना कच्चा पदार्थको अभावमा बन्द हुन सक्छन् । मजदूर वा मालिक खराव भएर पनि बन्द हुनसक्छ । कहिले काँही आगलागी भएर बन्द भएका घटनाहरु हामीले सुन्ने गर्र्छाै त्यसबाट पनि क्षति हुन जान्छ ।
तपाईको जीवनभर सबुत रहेछ भने तपाईको जीवनलिला समाप्त भएको दुई हप्ता पनि नवित्दै अर्कैका नाममा नामसारी भएर जान्छ । जुनसुकै कारणबाट भए पनि बन्द हुने र नामसारी हुने बस्तु तपाईको सम्पत्ति कसरी हुन सक्छ ? गाडी मोटरको धेरै कुरा राख्नु पर्दछ जस्तो लाग्दैन । किनकी यसबाट हुने दुर्घटना र क्षतिको कुराले धेरैलाई प्रष्ट पारी सकेको छ । यस्ता सम्पत्तिलाई तपाई आफ्नो कसरी भनि रहनु भएको छ ? यो नै आश्चर्यको कुरा हो । जव तपाईको हातमा रहन्न तपाई त्यही बस्तु मेरो भनेर मुसारी रहनु भएको छ । मेरोको जपना गरिरहनु भएको छ ?
यी बस्तुहरु सम्पित्ति होइनन र संग्रह गर्नु हुँदैन भन्न खोजिइको होइन । यसलाई त्यसरी नबुझ्न आग्रह गर्दछु । यी सम्पत्तिहरु तपाईको जीवन गुजाराको लागि उपयोग गरिएका बस्तुहरु मात्र हुन । मानव जीनका लागि अरवौं रुपैया सम्पत्तिको रुपमा हुने भए हजार कमाई नभएकाहरु पनि हजारौं होइन लाखौं छन । त्यसलाई के भन्ने ? मानव जीवनका लागि जग्गा जमिन वा महलहरु सम्पत्तिको रुपमा हो भने जीवनभर एकधुर जमिन र सानो ओत समेत नभएकाहरुले पनि जीवन गुजारा गरेका छन । तपाईको जमिन र तपाईंको घर सम्पत्ति हो अनि नभई नहुने हो भने जीवनभर एक धुर पनि जमिन नभएका र सानो ओत नभएहरुलाई के उपनाम दिने हो ? त्यस्तै उद्योग कलकारखान वा गाडी मोटर नभएकाहरु यो दुनियाँमा कति होलान ? एकछिन कल्पना गरौं । कति जीवनभर साधन प्रयोग नगरेकाहरु जीवन गुजारा गरेको देखेका छौं सुनेका छौं भने कलकारखाना वा गाडी मोटर ठूलो सम्पत्ति भनेर हामीले कसरी भन्ने ?
हाम्रो प्रचलन अनुसार आफ्नो स्वामित्वमा रहेको सम्पित्ति आफ्ना सन्ततिलाई अंशको रुपमा दिने प्रचलन छ । हाम्रो संस्कार अनुसार पहिलो नम्वरमा छोरालाई अंशको रुपमा आफूमा भएको सारा सम्पत्ति बटवारा गरेर दिने चलन छ । छोरा नभएका तर छोरी भएकाहरुले छोरीलाई दिने चलन छ यदि आफ्ना सहोदर छोरा वा छोरी छैनन भने धर्म पुत्र वा पुत्रीभए उसलाई दिनु पर्ने र त्यो पनि भएनभने नजिकको सगोत्रीले पाउने नियम छ । अर्थात यी भौतिक सम्पत्ति जसरी पनि आफ्नो जीवन छँदै वा जीवन पश्चात अरुमा बण्डा भएर जाने वा सबै नामसारी भएर जान्छन । जब नामसारी भएर बण्डा भएर जान्छन भने त्यो सम्पत्ति तपाईको हो भनेर कसरी ढिपी गर्नु हुन्छ ?
तपाई जीवनभर यस्ता भौतिक बस्तु थुपार्न लाग्नु भयो त्यतिवेला तपाईका इष्टमित्र वा बन्धुबान्धव आदिलाई समय दिन सक्नु भएन वा वेवास्ता गर्नु भयो वा जसलाई सम्मान र समय दिनु पर्ने थियो उसलाई दिनु भएन तर तपाई जसलाई सम्पत्ति भनेर आफ्नो सारा समय दिनु भयो त्यो नष्ट भयो वा आफ्नो भोगबाट वा नामबाट स्वामित्वमा रहेन भने तपाईले कहाँ कहाँ समय दिन सक्नु भएन उनीहरुको मन वा उनका छिमिकीले तपाईको मूल्यांकन कसरी गर्छन होला ? तपाईलाई कुन कोटीमा राखेर हेर्छन होला ? तपाई सुन चाँदी गरगहना वा अन्य धनसम्पत्तिको धनी हुन चाहनु हुन्छ वा तपाई इष्ट मित्र वा वा बन्धु वान्धको धनि हुन चाहनु हुन्छ ? यो रोजाई आफ्नो हो । यस्ता कुरामा अरुले बढता भन्नु पनि राम्रो हुँदैन । सुनचाँदी, गरगहना वा जग्गा जमिन, उद्योग वा कारखाना बनाउन हुँदैन भन्ने आशय पनि होइन । चाहिंदो मात्रामा आवश्यक्तानुसार सामग्री राख्नु नराम्रो होइन । तपाईले निकै सम्पत्ति थुपार्नु भएकोछ तर तरपाईको सन्तानले त्यसको जगेर्ना गर्न सकेन भने तपाईको जीवनमै त्यो स्वाहा भएको हुने छ । यस्ता कैयौं उदाहरणहरु छन । बाबुले कमाएको समत्तिले छोरा छोरीहरु मात्तिएको उदाहरणमा कमी छैन । जव छोरा छोरीमा मात लाग्छ तव बाबुले कमाएको सम्पत्ति स्वाहा हुन लामो समय लाग्दैन । त्यतिमात्र होइन आफूले कमाएको सम्पत्ति आफ्नै मति बिग्रियो भने आफूले स्वाहा पारेका उदाहरण पनि देखिएको र सुनिएका छन नै । अर्थात भौतिक सम्पत्ति जसरी पनि नष्ट हुन्छ । हजार उपाय अपनाउँदा पनि नरोकिएका उदाहरण कतिछन कतिछन । उसो भए के हो त मानवका लागि ठूलो सम्पत्ति ? यो चासोको विषय हो । यहिंनेर जीवनको रहस्य जान्न आवश्यक छ ।
तपाई चाहे करोडको चाहे अवरको सम्पत्तिको मालिक बन्नुस त्यसका साथमा तपाईंसंग वा तपाईका सन्तानसंग नैतिकता छैन भने त्यो सम्पत्ति कताबाट सकिदै जान्छ तपाई आफैलाई थाह नहुन सक्छ । नैतिकताले तपाईको सम्पत्तिको जगेर्ना पनि हुन्छ अनि तपाईको नैतिकता तपाईको जीवन पश्चात समाजमा रहिरहन्छ साथै यो नैतिकता कसैकालागि उदाहरणीय वा प्रेरणाको स्रोत पनि बन्न सक्छ अनि कसैका नाममा नामसारी भएर जाँदैन । जसले जति कोशिस गरे पनि यो नष्ट हुँदैन । न त अरुले हरण गर्न सक्छ न बाढीले बगाएर लैजान सक्छ । तपाईको राम्रो आचरण वा नैतिककताको चर्चा सत्जनहरुले सदादिन गरिरहन्छन । तपाई छापामा जानेसम्मको क्षमतावान र नैतिकवान हुनुहुन्छ भने तपाईको जीवन पश्चात पनि त्यो लिपिमा रहन सक्छ । लिपिमा रहने सम्पित्ति वास्तविक सम्पत्ति हो । खाशमा यो हो मानव जीवनको सम्पत्ति भनेको । जुन भौतिक शरीर नष्टभएर गए पनि न त यो सन्तानमा अंशको नाममा बटवारा गर्नु पर्छ न त यो नामसारी हुन्छ नत यो कसैले चोर्ने हर्ने वा बाढी पहिरोले नोक्सान गर्ने हुन्छ । जीवनमा नैतिकवान बन्न नसक्नेहरु जन्मन्छन मर्छन तर उनीहरुको वारेमा कहिल्यै कहीं चर्चा हुँदैन । धनका धनी र मनका धनीहरुमा यही फरक हुन्छ । धनका धनी र विद्याका धनीमा निकै फरक हुन्छ । विद्याका धनीहरुमा विवेक हुन्छ । विवेकका धनीहरुमा नैतिकता हुन्छ । नैतिकवानहरुको सम्पत्ति न खोलाले खान्छ न अग्निेले डढाउँछ । नैतिकवान असल चरित्रबाट मात्र निर्माण हुन्छ । तपाईंको अमूल्य सम्पत्ति तपाईको चरित्र हो । चरित्र जोगाउन नसक्नेहरुले कुनै पनि भौतिक सम्पत्ति जोगाउन सक्दैनन् । चेतनाभया !