सडकले अलिक पर सा¥यो
कसैले
अझ दुई बल्ड्याङ पल्टाएर
बस्न मिल्ने पा¥यो
यता पल्टायो, पल्टिदिन्छ
उता गुल्टायो, गुल्टिदिन्छ
एयरपोर्टछेउको
यही ढुङ्गामा टुसुक्क बसेको छु
कुन्नि के नामकी
यी दिदीले पकाएको चिया
सुरुप्प–सुरुप्प पिउँदै छु
यी दिदीको चियापसलछेउमा बसेर
के सोच्दो होला यो ढुङ्गो ?
यसका रहर के होलान् ?
इच्छाहरू के होलान् ?
होलान् कि नहोलान् ?
आँगन छाड्ने बेलाको
आमाको बोली हार्न नसकेर
यतैकतैको अर्को महान् ढुङ्गोलाई
तीन चक्कर मारेर आएको छु भर्खर
त्यसले
मेरी आमाको शिरको हिमालभन्दा
अग्लो त्रास
बुझ्यो कि बुझेन होला ?
भुइँचालोले
घक्रक्क घुँडा टेकेको
बूढो घरको बलो तान्दै
केही नभएझैँ गरी
‘जा, जा स्वाङ नपार्
पुगेसि खबर गर्नू’ भनेथे बाले
पछि भक्कानिए कि ?
देउरालीमा
मैले सात चोटि ‘जान्छु है त’ भन्दा पनि
‘हस्’ भन्न नसकेर
टोल्हाएकी थिइन् उनी
आँसुको थैलो
त्यतै रित्याइन् कि साँचेर फर्किन् कुन्नि ?
परदेशमा
पकाएर खान पाइने हो, हैन
यी गुन्द्रुक र सिन्की पनि ढुसी पर्लान्
यी माया र ममताहरू पनि बासी पल्टेलान्
चिया रित्याएर उठ्छु भन्यो,
तल्तिरै तानिरहन्छ ढुङ्गो
थचार्न खोज्छ जमिनमा
कहिल्यै फर्केर आउँदैन जस्तो गरी
लडिबुडी गराउन खोज्छ माटोमा
केही वर्षपछि
आकाशमार्गबाट खुत्रुक्क झरेर
यही सडकको किनारैकिनार
लुरूलुरू फर्कनु छ– आफ्नै खुट्टामा
थपक्क बसेर
एयरपोर्टछेउको यही ढुङ्गोमा
यिनै दिदीले पकाएको चिया
सुरुप्प–सुरुप्प पिउनु छ
आफ्नु त
रहर भने पनि,
इच्छा भने पनि
यत्ति हो !