नेपाल प्रज्ञा प्रतिष्ठानले साहित्यिक पत्रकारद्वय मोहन दुवाल र वीरबहादुर चन्दलाई क्रमशः ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार’ र ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ प्रदान गर्ने घोषणा गरेको छ। प्रतिष्ठानले २०८० सालमा पहिलो पटक स्थापना गरेको यस पुरस्कार २०८१ को विजेता दुवाल र चन्द घोषित हुनुभएको हो ।
चार दशकभन्दा बढी समयदेखि साहित्यिक पत्रकारितामा सक्रिय दुवालले काभ्रेबाट प्रकाशित हुने नेपाली भाषाको साहित्यिक पत्रिका ‘जनमत’को प्रधान सम्पादकको भूमिका निर्वाह गर्दै आउनुभएको छ । ४० वर्षको अवधिमा ‘जनमत’ले ३३० अङ्क प्रकाशित गरिसकेको छ। दुवाल जनमत वाङ्मय प्रतिष्ठान तथा नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष पनि हुनुहुन्छ । उहाँको बहुआयामिक योगदानलाई पुरस्कारले सम्मान गरेको हो।
यसैगरी, तीसको दशकदेखि साहित्यिक पत्रकारितामा संलग्न वीरबहादुर चन्द ‘विश्राम’ले कञ्चनपुरबाट प्रकाशित डोट्याली भाषाको साहित्यिक मासिक ‘गुगुल्डी’को प्रधान सम्पादन गर्दै आउनुभएको छ । २८ वर्षको यात्रामा ‘गुगुल्डी’ले ३३१ अङ्क प्रकाशित गरिसकेको छ। चन्द गुगुल्डी वाङ्मय प्रतिष्ठानका अध्यक्ष पनि हुनुहुन्छ । उहाँ साहित्यिक सर्जक र सांस्कृतिक सङ्गठकको भूमिकामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ ।
प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको अध्यक्षतामा बसेको बैठकले पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। कुलपति राईले साहित्यिक पत्रकारिता प्राज्ञिक पत्रकारिता भएको र यसले भाषासेवी तथा सर्जकलाई बौद्धिक खुराक प्रदान गर्ने उल्लेख गर्दै प्राज्ञिक र सांस्कृतिक सत्ता निर्माणमा साहित्यिक पत्रकारको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभएको थियो।
प्रत्येक पुरस्कारको राशि (पचास हजार) रुपैयाँ रहेको छ। प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीद्वारा जारी विज्ञप्तिमा यो जानकारी दिइएको छ।