नेपाली वाङ्मयमा बुद्धिनारायणको अलग्ग पहिचान छ । उनी नेपालको राष्ट्र राष्ट्रिय एकता राष्ट्रिय अखण्डता स्वाभीमानका पक्षमा अटल छन् । यसै उद्देश्यबाट प्रेरित भएर उनीसृजना गर्छन् उनको सृजना मूलतः नेपाली भाषामा हुन्छ । प्राविधिक विषयमा अत्यन्त सुन्दर र सुरुचिपूर्ण रुपमा प्रस्तुत गर्ने उनको लेखकीय कुशलता छ बस्तु निष्ठ लेखन उनको वैशिष्ट्य हो उनको नेपालको सिमानाले मदन पुरस्कार प्राप्त गरेको थियो । यसैक्रममा जंगे बुद्धे नामक उनको आत्मपरक कृति प्रकाशनमा आएको छ । यही सेरोफेरोमा बुद्धिनारायण र उनको कृतित्वको परिचय यहाँ प्रस्तुत गरिन्छ –
बुद्धि नै हुन् । उनी यस्ता बुद्धि जो आदर्शको एक उदाहरण हुन चाहन्छन् । गौरव राष्ट्र गौरव । त्यो गौरवता उनको एउटा स्वायत्तता हो । यही स्वायत्तताको छाता उनले ओडेका छन् । स्वायत्तता उनको निजीपन हो । हो, यो स्वायत्तता स्वतन्त्रता हो । त्यो स्वतन्त्रता कुनै लाभको लागि होइन । लोभको लागि होइन । सगरमाथाको काख । विश्वको उच्च स्तम्भ उनले नापे । मेची नापे । महाकाली नापे । नेपाल नाप्न उनी मेची–महाकाली पुगे । हामी नेपाल नाप्न चाहन्छौँ, मुखले । उनले कर्मले नापे । धर्मले नापे । मर्म लिएर नापे । नेपाल चिनाए । नेपाली चिनाए ।
उनको उद्देश्य विशाल थियो । त्यो विशालता उच्चताको सूक्ष्मताको थियो । जसको अपनत्व उनैमा थियो । भन्छन् – कविर तिमी जन्मदा रुन्छौ अरु हाँस्छन् । तिमी मर्दा हाँस्छौ अरु रुन्छन् । उसको मरण यही सर्वभौम सत्यमा आधारित हुन्छ, किनभने उनले केही दिएका छन् हामीले केही लिन सक्नुपर्छ । जान्नुपर्छ । ऊ एक सिन्धु हो । बिन्दु नै सिन्धु । जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बीँड । स्वाभिमानी राष्ट्रवादीहरुको यही सिन्धु । नजान्नेलाई खुर्पाको बिँड । सुगन्ध र महिमामय ।
बुद्ध भन्छन् – सांसारिक धन, सम्पत्ति अनित्य छन्, आसक्त नहोऊ । यो कुरा उनले बुझेअनि शंकराचार्यले भनेझैँ सत्ता, धन, यौवन, क्षण भरमै नास हुन्छन् भन्ने कुरामा मनन गरे । राष्ट्रले गर्नुपर्ने काम उनी एक्लैले गरे । नेपालमा गरे । विदेशमा गरे । केही पाउन गरेनन् । भौतिक रुपमा गरेनन् । भौतिक रुपमा गरेनन् अत्त्यमा सन्तोषका लागि गरे ।न श्रोत न सुविधा । न सत्ता न शक्ति । न धन न ऐश्वर्य । नप्रमाद हो, उनी आफैँमा केन्द्रीय भए । एकलव्य भए । इमान्दारितासाथ माटो लिएर मुटु छोए । आत्मालाई साक्षी राखेर अघि बढे । अर्जुन दृष्टि नेपालको सिमाना । यो समाजशास्त्रको विशिष्ट कृति । नेपाली वाङ्मयमा लेखिएका कृतिमध्ये आफ्नै विशिष्टता बोक्ने कृति ।
भन्नेहरु भन्छन् – उनी सीमाविज्ञ हुन् । म भन्छु उनी सीमाशास्त्री हुन् । सीमा अध्येता हुन् । नेपाली जगतमा सीमाको एउटा प्राज्ञ । एउटा स्थितप्राज्ञ सरह । म त अझ यसो भन्छु – सिमानामा नै विद्यावारिधी सरह । सीमा भन्नु कुनै एउटा नापोको कुरा मात्र होइन । त्यहाँ राजनीति जरुरी हुन्छ । भूगोलको हुन्छ । इतिहासको त्यत्तिकै । कल्पनाशीलताको ठाउँ रहन्छ । म भन्छु मुलतः त्यसमा एउटा वस्तु निष्ठताको आवश्यकता पर्छ । प्रस्तुतिमा सत्यता, दृढता, इमान्दारिता ।
एक दिन डायरीमा लेखेथेँ– नेपालमा एक मात्र नेपाली । आफ्नो फाँटका विशिष्ट बुद्धिका नारायण । कताकता संकोच लाग्यो । एउटा किताब फेला प¥यो । विश्व महामानव वीपी कोइराला । मैले सम्झेँ यो कुरालाई उनको दृढता, लगनशीलता र तथ्यको प्रस्तुति वस्तुनिष्ठताजस्ता कुराले यो भन्न मलाई संकोच लागने । उनी आफ्नै प्रकारले एक निष्ठ । बाबुराम आचार्यको एक निष्ठता । योगी नरहरिनाथको एक निष्ठता जस्तै एक निष्ठता । उनका गुरुहरु यस्तै तपस्वी भए । (न लाभ, न लोभ, न कमाउ)
उनी किन लगनशील बने ? प्रश्न उठिरह्यो । यो न प्रायोजन हो, न विज्ञापन न प्रचार । यो कछुवा ताल । उनी खरायोको दौडमा लागेनन् अरु जस्तो छरिएनन् । उनी केन्द्रिकृत बने । केन्द्रियता उनमा देखाप¥यो त्यो केन्द्रियतामा उभिए । त्यो केन्द्रियता उनको माटोमा आयो । माटो भन्नु राष्ट्रियता हो । रुपचन्द्र भन्थे बरु– ढुङ्गो नै माटो हो माटो नै ढुङ्गो हो । दुई ढुङ्गाबीचको तरुललाई उनले राम्रोसंग चिने ।
यसैले देवकोटाले भनेका होलान्–
माटो हो हुनता तथापि गहिरा आँखा हुने सज्जन
दाना सुन्दर स्वर्णमा झलझली देख्लान गुडेका कर्ण ।
हो, पनि उनको यो कृति त्यसै त्यसै राष्ट्रियतामा सघन÷गहिरो जगमग । उच्चो । गहिरो । लामो । सामान्य रुपमा पग्रेल्न नसकिने । बुझ्न नसकिने । लाग्छ– यो यही हो सामान्य व्यक्तिले यसलाई कसरी मूल्यांकन गर्ला ? कमल दीक्षित भन्छन्– मपुगुमा आएका कृतिहरुमध्ये एउटा विशिष्ट कृति हो । उनी त थप्ने गर्दछन् कत्रो निषेधको बीचमा यो कृति अत्यन्त उच्च मूल्यांकित भएको हो । राष्ट्रको गौरव । कसैले यसलाई भूगोलको पार्ट भन्ला । कसैले इतिहासको । कसैले राजनीतिको । कसैले विज्ञान र प्रविधिको । म त्यस कुरामा अल्मलिन चाहन्न । मचाँहि देवकोटाले भने झैँ नेपाल सुन्दर, शान्त, विशाल भन्न पुग्छु । यसको नापोको रुपमा यसलाई लिन चाहन्छु । यसलाई कसी खोज्ने हौँला हामी । यसलाई कसी नै चाहिदैन, यो आफैँ दागबिहीन छ । देवकोटा भन्छन्– ‘के श्रृंगार गुलाफलाई कमलैलाई म धोउँ किन ?’ यस कृतिले नेपालको राष्ट्रियताको एउटा पक्षमा अन्धाको आँखा खोलेको छ । बहिरालाई कान दिएको छ । नबोल्नेलाई बोली दिएको छ । सांकेतिक रुपमा थुप्रै कुरा भनिरहेको छ । हो पनि । न लटपट् । न खटपट । सम्पूर्ण नेपालीपन ।
नेपालीयता नेपाली मन । कत्रो विश्वास । कति इमान्दारिता । कत्रो लगनशीलता आ हा हा हा ……. । मलाई प्रशंसा गर्न मन लाग्छ । बेलाबेलामा चाँहि इष्र्या पनि लाग्ने गर्छ । आफू वामन भएकोमा कता कता च्वास्स घोच्छ । गौरीशंकरको नजिक चुचुरा उठ्छन् अरु वामन । सायद देवकोटाले यही नै भनेका हुन् ।
धेरै धेरै सीमामा काम गर्ने, नापीमा काम गर्नेहरु होलान् । धेरै पढेका पनि होलान् । ठूला दर्जाका होलान्, तर तिनीहरुको कुनै देन यहाँ छैन । हज्जारै हज्जार विदेश बसे अरु नगर पसे । तर उनी गाउँको रुचि लिन्छन् । गाउँ त श्रृष्टिको सुरुवात न हो । यो सबै कुराको मूल हो । जननी र जन्मभूमिलाई स्वर्ग सरह मान्ने । हो, हामीमा ज्ञान प्रशस्त छ । ज्ञानको गंगा बगिरहेको छ । हामी विदेशीका सन्दर्भहरु लिएर इन्टरनेट समात्ने गर्छौ तर हामीमध्येमा साह्रै थोरै पक्डने गर्छौ । यो पक्कड आफ्नै पक्कड हो । अर्थात् देशको माटोबाट । मुटुबाट उब्जिएको आफ्नै मौलिक प्रस्तुति, यो कम्ती महत्वपूर्ण छैन ।
यो कुनै कल्पना होइन । म साहित्यको विद्यार्थी कल्पना रुचाउँछु । सौन्दर्य त्यतिकै मनपर्छ । तर यो त यथार्थ हो । विज्ञान हो । यसलाई तलमाथि नपारी प्रस्तुत गर्न सक्नुपर्छ, गर्नुपर्छ । अन्यथा दोष हुन्छ । यही कुरालाई महशुस गरेर प्रत्येक मसी प्रत्येक शब्दचित्रको रुपमा प्रस्तुत गरिरहेका छन् । यो कम्ती महत्वपूर्ण कुरा होइन ।
गोर्की भन्ने गर्दथे – लेखन केबल कल्पना होइन । यो त संघर्षको सुख श्रेष्ठ सुख हो । श्रेष्ठ सुख के हो ? त्यो त देशप्रतिको माया ममता हो । देश कसरी चिनिन्छ ? त्यो चाँहि देश छोडे पछि बुझिन्छ । देवकोटा भन्छन् – घर चिन्न घर छोड्नु पर्छ तर जब घर छोड्छौँ घरलाई विर्सनु हुँदैन । श्रेष्ठ जब विदेश पुग्छन्, नेपालबारे आफ्नो विज्ञतालाई समाउन पुग्छन् अनि संझाउन पुग्छन् नेपालीयतालाई । यो नेपालीयतालाई म बुद्धिनारायणीयता भन्छु । त्यो बुद्धिनारायणीयपन । त्यो पन नेपालका अनेकौँ अभिलेखालयहरुमा प्रस्तुत । यस कुरालाई सत्यमोहन जोशी न्यूजिल्याण्डमा हुँदा नेपाल सम्झेको कुरालाई प्रस्तुत गर्दछन् । हो पनि, एउटा व्यक्ति साधना गर्छ, त्यो साधना आफ्नो निवृत्तिपछि पनि गर्छ । जागिरको समयलाई उपयोग गर्दछ कतिले जागिर छोडेपछि पनि गर्दछ । त्यो कतिलाई वरदान हुन्छ । (कतिलाई जागिर अभिमान हुन्छ, कतिलाई त्यो हनिभावना हुन्छ ।) जागिरमा दम्भ÷अहं, तर बुद्धिनारायणले जागिर खाए जीवन बृत्ति । निवृत्त भए । निवृत्त भन्ने के थियो परम्परागत रुपमा ।
अनि उनले अनुसन्धान गरे । लेखनमा मन दिए । त्यसमा के रात के दिन दुवैमा समय लगाए । एउटा गाउँले । एउटा पहाडिया । काठमाडौँको खाल्डोमा पसे । विदेश पुगे तर उनको मन कठ्याङ्ग्रिएन । परम्परागत चाकरी गर्ने स्वभावले झुक्नु परेन । उनको दीर्घसेवाले उनलाई एउटा संकेत ग¥यो । एउटा दृष्टि दियो । त्यो दृष्टिको रुपमा ‘नेपालको सिमाना’ आयो २०५७ मा । यो कुनै कर थिएन । कुनै रहर थिएन । बरु– उनको अन्तहृदयको बाध्यता । हो, बाध्यता नै भन्नुप¥यो । अघि भनिसकेँ– उनी बुद्धिनारायणीय भावनाको बाध्यता जसमा राष्ट्र, राष्ट्रियता र राष्ट्रिय भावनाको अलग पहिचान । हो, यस्तो पहिचान जुन नेपालको अखण्ड गौरवताको प्रतीक ।
रिमालले लेखे–
‘रातो र चन्द्र सूर्य जंङ्गी निशान हाम्रो
हिमाल झैँ अटल झुकेन यो कहिल्यै
लत्रेन यो कहिल्यै जंङ्गी निशान हाम्रो ।
मान्छेहरु थकानमा पर्छन् तर उनी कहिल्यै थकानमा परेनन् । त्यही थकान नहुनुको उदाहरण हो सीमा संग्राम २०६९, नेपाल–भारत–चीन सन्धि २०६६, राष्ट्रिय सुरक्षाका सन्दर्भमा सीमा व्यवस्थापन २०५९, सिमानाको ज्ञान २०६४, नेपाल–भारत सीमावर्ती बाँध २०६६, जन उपयोगका लागि कित्ता नापी २०३८ यस्तै यस्तै । भनिन्छ– तमसोमा ज्यार्तिगमय । उनको यात्राको प्रारम्भ । सीमाको सन्दर्भमा छरपष्टिएका कुरालाई एकत्रित पार्ने । अव्यवस्थित कार्यलाई परिष्कृत गर्ने । संसोधन गर्ने । परिस्कार गर्ने । व्यवस्थित गर्ने कार्य कम्ती परिश्रमसाध्य कुरा होइन । त्यो एउटा अत्यन्त संयमित व्यक्तिले मात्र गर्न सक्दछ । यो यस अर्थमा एउटा सदाचार व्यक्तिले नबोेलेरै सयौँ मनुष्य सुधार्न सक्छ । मनुजबाबु भिश्रले भनेको कुरा सम्झन्छु । उनले एउटा कृति लेखेर हाम्रो चर्म चक्षु खोलिदिएका छन् । यो उपहार देशको सीमा हो । अखण्ड सीमा हो ।