जनमत वाङ्मय प्रतिष्ठानले शनिबार राजधानीमा साहित्यकार किशोर पहाडी र फूलमान वललाई सम्मान गरेको छ ।
नेपाली भाषा साहित्य र वाङ्मयमा पुर्याउनु भएको योगदान बापत पहाडीलाई गणेश-खिलकुमारी दुवाल-जनमत सम्मान र वललाई जनमत-ज्ञानरत्न/ मङ्गलतारा राष्ट्रिय सम्मानद्वारा सम्मानित गरिएको हो ।
वरिष्ठ साहित्यकार रोचक घिमिरे, प्रतिष्ठानका अध्यक्ष मोहन दुवाल, राजभाई प्रधान, प्रेम श्रेष्ठ, सिद्धिबहादुर कर्माचार्य, दियेशरत्न शाक्य लगायतले पहाडी र वललाई दोसल्ला, सम्मान पत्र, खादा र नगद अर्पण गर्नु भयो ।
कविहरु दियेशरत्न शाक्य, चेतनाथ धमला, रामसुन्दर देउजा लगायतले कवितावाचन गर्नु भएको थियो।
प्रतिष्ठानले नेपाली भाषा र साहित्यको प्रबर्द्धनका लागि पुस्तकालय निर्माण, स्रष्टा सम्मानका साथ साथै “जनमत” साहित्यक मासिक निरन्तर प्रकाशन गर्दै आएको र हाल ३ सय ३० ओैँ अङ्क प्रकाशन भइसकेको अध्यक्ष दुवालले बताउनु भयो ।