नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति, वरिष्ठ कवि तथा गीतकार भूपाल राईकृत नवीनतम निबन्ध सङ्ग्रह ‘शब्द सायारेम’ प्रज्ञा डबलीमा लोकार्पण भएको थियो ।
प्रज्ञा-प्रतिष्ठानको प्रज्ञा डबलीमा आयोजित कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर, प्रसिद्ध लेखक खगेन्द्र सङ्ग्रौला ,समाज शास्त्री डा.डम्बर चेम्जोङ, इतिहासविद् भोगिराज चाम्लिङ र साहित्यकार कुमारी लामाले उक्त कृतिको सामूहिक लोकार्पण गर्नुभएको थियो।’शब्द सायारेम’ उत्पीडन र दमनविरुद्ध रचिएको एक वैचारिक निबन्ध सङ्ग्रह हो।
कुलपति भूपाल राईले कार्यक्रमका वक्ता र उपस्थित व्यक्तिलाई विशेष आभार व्यक्त गर्दै ‘शब्द सायारेम’ कवि तथा चित्रकार अर्जुन खालिङको निधनपछि लेखिएका संस्मरणात्मक आलेखहरूको सङ्ग्रह भएको बताउनु भएको थियो।उहाँले सायारेमको अर्थ ढलेको शिर उठाउनी हो ।तैपनि सामाजिक ,सांस्कृतिक र राजनीतिक रूपमा ढलेको स्वत्वलाई उठाउनु अनिवार्य रहेको बताउनु भएको थियो ।`शब्द सायारेम´बाट निबन्धकारको परिचय बनाउनु भएका कुलपति राईलाई विश्लेषक खगेन्द्र सङ्ग्रौलाले ‘तानासाहलाई प्रश्न गर्ने बहुला’ को संज्ञा दिँदै बागी विचार सिर्जना गरेर भाषिक सांस्कृतिक दमनविरुद्ध सभ्यताको खोजी र नयाँ विकासको आधार स्तम्भ खडा गर्न सफल रहेको बताउनुभएको थियो ।सङ्ग्रौलाले कृतिमा कोलम्बस र पृथ्वीनारायण शाहबारे जे जस्ता प्रश्नहरू गरिएका छन् ।ती सबै निर्भय र साहसिक लेखन भएको बताउनु भएको थियो ।
अध्यक्ष डा.गोपाल ठाकुरले ‘तपाईंको पहाड घर कहाँ हो?’ शीर्षकको निबन्धलाई गैर मधेसीबाट मधेसी समुदायमाथि भएको दमनको यथार्थ चित्रण भएको बताउनु भएको थियो ।उहाँले यस निबन्धलाई दृष्टिविहीनका लागि आँखा दानसँग तुलना गर्दै नेपाली भाषाको महत्त्व र भाषाका कारण नेपालभित्रै अ नेपाली हुनुपर्ने अवस्थालाई तोड्नुपर्नेमा जोड दिँदै कृति त्यस भाष्यविरुद्ध रहेको बताउनु भएको थियो ।समाज शास्त्री डा. डम्बर चेम्जोङले कृतिको साजसज्जा बारे प्रशंसा गर्दै, सामाजिक इतिहास र शब्दको महत्त्वबारे प्रकाश पार्नुभएको थियो । उहाँले कुलपति राईको लेखनमा पुर्खाहरूको स्मृति ,जीवनको ऐतिहासिकता र वैचारिक पक्षको सबल चित्रण रहेको बताउनु भएको थियो ।
इतिहासविद् भोगिराज चाम्लिङले ‘पहाड घर कहाँ हो?’ निबन्धमा नेपाली समाजको सिङ्गो चित्रण भएको बताउनु भएको थियो । उहाँले कुलपति राईको स्वभाव र निबन्ध लेखन शैलीलाई किराँतीहरूको साकेला नाचसँग तुलना गर्दै उत्कृष्ट कृति भएको बताउनुभएको थियो ।
साहित्यकार कुमारी लामाले कुलपति राईका कविताले इतिहास खोज्न प्रेरित गरे जस्तै ‘शब्द सायारेम’ विचार र भावनाको जब्बर निबन्ध सङ्ग्रह भएको बताउनुभएको थियो । उहाँले यसमा रैथाने ज्ञान प्रणाली, पर्यावरण र जीवन पद्धतिसँग कृति एकाकार रहेको बताउनु भएको थियो ।