पूर्वी नेपालको प्रतिष्ठित बौद्धिक मेला ‘कला साहित्य उत्सव’ आगामी फागुन १४, १५ र १६ गते मेचीनगरको काँकडभिट्टामा आयोजना हुने भएको छ ।
‘रिडर्स झापा’को नेतृत्वमा स्थानीय संस्था देही आर्ट र परिवर्तन थिएटरको सहकार्यमा हुन लागेको उत्सव यस पटक ‘पर्यावरण विमर्श’ विषयमा केन्द्रित रहने शनिबार पत्रकार भेटघाटमा आयोजकले जनाएको छ । कोभिड महामारी र आर्थिक मन्दीका कारण ६ वर्षपछि हुन लागेको उत्सवमा विद्वत् प्रवचन, अन्तरक्रिया, चित्रकला प्रदर्शनी, फोटो प्रदर्शनी र संगीतात्मक प्रस्तुति समावेश रहने आयोजक संस्थाका अध्यक्ष शैलेश दाहालले जनाए । ‘हावा, पानी, जमिन, खाना र जीवनसँग सम्बन्धित पर्यावरणीय मुद्दाहरू उत्सवका प्रमुख विषयवस्तु हुनेछन्’, उनले भने ।
उत्सवमा नेपालका चर्चित वैज्ञानिक तथा पर्यावरणविद् उत्तमबाबु श्रेष्ठले ‘पर्यावरणीय संकट र नेपाल’ विषयमा उद्घाटन मन्तव्य दिनेछन् । साथै, भारतको लद्दाख क्षेत्रका संरक्षण अभियन्ता सोनम वाङ्चुक, पर्यावरणीय विषयमा गहन अध्ययन गरेका वैज्ञानिक देवल देब, जनस्वास्थ्यविद् डा. अरुणा उप्रेती, कृषिविज्ञ कृष्णप्रसाद पौडेल, भूगोलविद् सबिन निङ्लेखु, कथाकार तथा समालोचक अर्चना थापा, फिल्म निर्देशक मीन भाम तथा संगीतकर्मी झुमा लिम्बुजस्ता ख्यातिप्राप्त व्यक्तित्वहरूको उपस्थिति रहनेछ ।
कार्यक्रम संयोजक सागर शिवाकोटीका अनुसार स्थानीय पर्यावरण संरक्षण अभियन्ता, शिक्षक, विद्यार्थी, कृषक तथा आमनागरिकलाई कार्यक्रममा सहभागी गराउने विशेष योजना छ । यस क्रममा मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका देवेन्द्र खरेल, हात्ती संरक्षणका अभियन्ता शंकर लुइँटेललगायतका अभियन्ताको विशेष भूमिका रहनेछ ।