‘वर्तमान कविता समूह’ ले प्रणय दिवसको अवसरमा ‘प्रेमको आदिम गीत’ लाेकार्पण तथा विशेष कविता वाचन कार्यक्रम आयोजना गरेकाे छ।
कार्यक्रममा एघार कवि विधान आचार्य, भीष्म उप्रेती, टङ्क उप्रेती, रमी प्रिया, सुमन थापा संगम, दिलकुमारी डङ्गोल, धीरकुमार श्रेष्ठ, चन्द्रबहादुर लामा, सन्जय सुमन, विश्व सिग्देल, र ईश्वर थोकरको संयुक्त रूपमा प्रेम कवितासङ्ग्रह अङ्ग्रेजी अनुवादसहित ‘प्रेमको आदिम गीत’ लाेकार्पण भएकाे छ।
यस संग्रहका कविताहरूले प्रेमका विभिन्न आयामहरू- आकांक्षा, आवेग, स्मृति, विछोड, र भावनात्मक गहिराइ प्रस्तुत गरेका छन्। केही कवितामा प्रेमको गहन भावलाई व्यक्त गर्न प्रकृतिलाई रूपकका रूपमा प्रयोग गरिएको छ, जहाँ नदी, महासागर, र ऋतुलाई प्रेमका अभिव्यक्तिको रूपमा चित्रण गरिएको छ।
केही कविताले भने दार्शनिक दृष्टिकोण प्रस्तुत गर्दै प्रेमलाई अस्तित्व, समय, र मानव भावनासँग जोडेर व्याख्या गरेका छन्। विविध कवि स्वरहरूले प्रेमको मिलन र विछोड कलात्मक ढङ्गले प्रस्तुत गरेका छन्।
कार्यक्रममा लाेकार्पित कृतिका कविहरूसँगै रामगोपाल आशुतोष, किशोर पहाडी, स्नेह सायमी, रजनीमिला, लक्ष्मी माली, विणा नेम्कुल, नानीबाबा अधिकारी, गोविन्द नेपाल, श्रीओम श्रेष्ठ रोदन लगायतका कविले प्रणय कविता वाचन गरेका थिए।