यो जीवन
एकजोर यात्रा न हो
एउटा उकाली–शून्यमाथि चढेको
अर्को ओराली–शून्यतिर झरेको
शून्यबाट उक्लने क्रममा
हो म क्रमश: रंगीन बनेको हुनसक्छु
पहिचानको पगरीले
अटेसमटेस हुँदै
मलाई यो लाग्न सक्छ
कुनै पनि तौल संयन्त्रले
मापन गर्न नसक्ने
म क्रमश: भारी बनेको छु ।
यो पक्कै हो
आरोह र अवरोहको अनगिन्ती चक्र
फनफनती नघुमाएसम्म
एउटा जीवन बन्दैन
एउटा सादा कागजमा जस्तै
आफ्नै मनमा
किरिङ मिरिङ नकोरिएसम्म
एउटा सपना बन्दैन ।
म पनि यकिनका साथ
यति भन्न सक्छु
अहिले म जुन धर्तीमा छु
त्यो मेरो अस्थायी ठेगाना हो
आफैंलाई हजारौं पल्ट निचोर्दै
कम्प्रेस्ड फाइल जस्तो
सूक्ष्म नबनाएसम्म
शून्य नबनाएसम्म
शायद म यो ब्रम्हाण्डमा
स्थायी टिकिरहन सक्तिनँ ।
लाग्छ जीवन
पहिचानको लागि
‘म’ कार र अरूको आकार बीचको
निरन्तर द्वन्द्व हो
जसको लागि
जति पाइला चाले पनि
जता पाइला चाले पनि
तख्तामाथि तख्ता थपेर
जति बनाए पनि शुन्य माथिको उपार्जन
आखिर शून्यमा नै गर्नु पर्ने रैछ बिसर्जन ।
यस्तो लाग्छ
जीवन, यो धर्तीमा
फगत एउटा शून्य अवतार हो ।
– बनेपा, काभ्रे