गजल १
यता हेर्यो यतै मेरा नजर्मा राम प्यारा छन्,
उता हेर्यो उतै मेरा नजर्मा राम प्यारा छन् ।।
यसो भन्छौ त फल्फुल्मा, उसो भन्छौ त जल्थल्मा,
जता हेर्यो उतै मेरा, नजर्मा राम प्यारा छन् ।।
त्रिलोक् चौधै भवन् माहाँ प्रभु ब्यापक् जहाँ ताँहाँ,
कहाँ सम्मन् भनू यांहाँ, सबैमा राम प्यारा छन् ।।
रसीलो रामको नाऊँ भजन् तिन्को सधैं गांऊँ,
दरस्मो हर्बखत् पाऊँ दयालू राम प्यारा छन् ।।
पियारा भै हरी मेरा सधैं मन्मा गरुन् डेरा,
सबै सन्सारले भन्छन् र मोतीराम प्यारा छन् ।।५।।
गजल २
यस्बखत्मा प्रीति गर्नू जालमा फस्नू नहो,
आसमा पर्नू त चोखा धारमा बस्नू नहो ।।
हेरिंदैमा मन्पनी हज्जार टुक्रा ह्वैदिने,
सान गर्नू ता कटारी छातिमा धस्नू नहो ।।
आँखिभौं जोरेर हेरी क्यै नबोली तेस्घरी,
हात गाला लाइ हास्नू, बज्र को खस्नू नहो ।।
एक् त आँखा के भनू त्यै माथि गाजल् लाउनू,
विष् लिई तर्वारका झन् धारमा धस्नू नहो ।।
एक् त आफै हेर त्यो कम्मर्छिने झैं देखिने,
बाधनू तेस्लाइ झन्, निर्धो भनी कस्नू नहो ।।
प्रीति गर्नू ता कता हो नाम सुन्दैमा पनी,
झर्किनू यस्तोरि तिन्ले सर्पको डस्नू नहो ।।
आज मोतीलाई हेरी हेरि यस्ले मन्हरी,
जानू तिन्का पास आगोमा गई पस्नू नहो ।।७।।
गजल ३
यि सानै उमेर्देखि मन् हर्न लागे,
यिनै सुन्दरीले जुलुम् गर्न लागे ।।
कहाँ सम्मको आँट लौ हेर तिन्को,
रिसायेर आँखा पनी तर्न लागे ।।
सुनीस् मन् मुनीञा बडो होस राखेस्,
फिजायेर जाल् कागुनो छर्न लागे ।।
यकै पल्ट आँखा घुमाई दिनाले,
कती डर्न लागे, कती मर्न लागे ।।
जसै गै म पर्खन्छु, हाँसेर भन्छिन्,
यि ऐले भने पेचमा पर्न लागे ।।
बिराना र आफ्ना नराम्रा र राम्रा,
सबै सुन्दरीका अघी सर्न लागे ।।
अघी पर्न सक्तीन है मो हरीका, नजर्देखि मोती पनी झर्न लागे ।।७।।
गजल ४
फाहा घसेर बादरा हज्जार लगाये,
बिन्ती छ बिन्ति सुन्दरी मिस्सी न लगाये ।।
ठट्टा गर्यौ त बेस् गर्यौ हुन्छ सहन्छु,
मैले पनी गरेँ भने तिम्ले न रिसाये ।।
बाजा बजाउ सुन्दछु एक्मन् दिई हरी,
मोती भनेर कोइ् गजल् गीत न गाये ।।३।।