नेपाल भाषाको आधुनिक गद्य कविताका अग्रज पूर्ण वैद्यबारे लेखिएको स्मृतिग्रन्थ ‘कवि पूर्ण वैद्य झीगु मिखाय्’ शनिबार लोकार्पण गरिएको छ । पुस्तकमा नेपाल भाषाका वरिष्ठ निबन्धकारसमेत रहेका वैद्यको जीवनी, सम्झना, समालोचना र अन्तर्वार्ता समावेश गरिएको छ । कवि वैद्यका शिष्य रहेकी जानकी रघुवंशीले यसको संकलन र सम्पादन गरेकी हुन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, कवि वैद्यका पत्नी मीरा शाक्य वैद्य, प्राज्ञ लक्ष्मी माली तथा साहित्यकार मोतीलक्ष्मी शाक्यले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका थिए । लोकार्पण कार्यक्रम भने रघुवंशी र शाक्यसँगै कवि वैद्यका अरू शिष्य मनदेवी ताम्राकार र प्रतिसरा सायमिको आयोजनामा भएको थियो ।
वैद्यले नेपाल भाषामा लेखेका कविता नेपाली र अंग्रेजीमा पनि अनुवादित छन् । श्रेष्ठ सिरपाः दुईपल्ट प्राप्त गरेका वैद्यको २०७८ मा निधन भएको थियो । त्यस कार्यक्रमका अवसरमा पत्रकार सुरेशकिरण मानन्धरले यस पुस्तकको माध्यमबाट कवि वैद्यबारे अझ बढी जानकारी प्राप्त गर्न मदत पुग्ने बताए ।