नेपाली साहित्यको इतिहास हेर्दा समालोचनामा कलम चलाउने महिला हस्ताक्षरहरु निकै कम छन् । समालोचनामा लागि परेका महिला स्रष्टाहरुमध्येको एक नाम हो डा. विन्दु शर्मा । उहाँ समालोचनामा मात्र नभएर कथा, कविता तथा गजलका क्षेत्रमा समेत कलम चलाउँदै आउनुभएका शर्मा प्राध्यापनमा समेत संलग्न हुनुहुन्छ । उहाँको पहिलो कृति गीति नाट्य परम्परामा राष्ट्रकवि घिमिरे थियो । त्यसपछि उहाँको आधारभूत नेपाली समालोचना कृति प्रकाशित भयो । उहाँले ‘नेपाली गीति नाटकका प्रवृत्ति’ विषयमा विद्यावारिधि गर्नुभएको छ । गीति नाटक : स्वरुप र प्रवृत्ति, नेपाली समालोचनाका नवीन आयाम, समकालीन नेपाली कवितामा समावेशीकरण, ओकल दोकल पीपल पात कवितासंग्रह आदि प्रकाशित कृतिहरु हुन् । प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित पुस्तक समकालीन प्रगतिवादी कथाको उहाँले सम्पादन गर्नुभयो । अन्य थुप्रै कृतिहरुको सम्पादन समेत गरि सक्नुभएका डा. विन्दु शर्मा धेरै पढ्ने साहित्यकारहरुमध्ये पनि पर्छिन् । पढ्न पाउँदा रमाउने उहाँसँग जनमतले पुस्तक र पढ्ने प्रवृत्तिको सेरोफेरोमा रहेर गरेको कुराकानी ।
यतिखेर कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
अहिले म राजेन्द्रमान डङ्गोलको नियात्रा पैतलामा हिउँ आँखामा हिमाल पढिरहेकी छु । जतिपटक पढ्यो उतिपटक पाठकलाई हार्दिकतापूर्वक सम्बन्धित स्थानको सामाजिक, सांस्कृतिक र आर्थिक विशिष्टताको गहनबोधसहितको रोमाञ्चक अनुभूति गराउँछ यस कृतिले ।
नेपाली, अंग्रेजी र हिन्दी भाषाका मनपर्ने एक एक वटा पुस्तकको नाम लिनुपर्दा ?
अविरल बग्दछ इन्द्रावती, द गुड अर्थ ।
तपाईंको लागि लेखपढको उपयुक्त समय कुन हो ?
घर र जागिरको कामबाट फुर्सद मिलेपछि पढ्ने भएकाले यही भनेर निश्चित समय छुट्याइँदैन । साहित्यका पुस्तक धेरैजसो क्याम्पस जाँदा बसमा पढेकी छु ।
साहित्यका विविध विधामध्ये अलि शक्तिशाली विधा तपाईंलाई के लाग्छ ?
मलाई कविताविधा सबभन्दा शक्तिशाली लाग्छ । जीवन भोगाइलाई भावमय, जनजीवनलाई विम्बात्मक र संकेन्दृत विचारलाई काव्यिक मुखरतासहित प्रस्तुत गर्न सक्नु नै यसको महत्त्वपूर्ण पक्ष हो ।
सानोमा कस्ता पुस्तकहरु पढ्न पाउनु भयो ?
सानामा पाठ्यपुस्तक बाहेक अरु किताब त देख्नै पाइएन ।
कस्ता पुस्तकहरु पढ्न बढी मनपथ्र्यो ?
यथार्थवादी किताब बढी मन पर्छन् ।
तपाईं कुन उमेर समूहमा बढी पढ्नु भयो ?
स्नातक तह पढ्दासम्म किताब किनेर पढ्नु पर्छ भन्ने संस्कार र किन्ने पैसा पनि थिएन । एम.ए पढ्न थालेपछि मात्र गहन पठन सुरु गरेकी हुँ ।
धेरैपटक दोहोर्याएर पढेका पुस्तकहरु कुन कुन हुन् ?
शिरीषको फूल, घुम्ने मेचमाथि अन्धो मान्छे, घामका पाइला, एब्स्ट्र्याक चिन्तन प्याज आदि । पारिजात, मदनमणि, मनु ब्राजाकी, राजबका कथा बढी मनपर्छ ।
शिरीषको फूल र एब्स्टर्याक चिन्तन प्याज नबुझेर दोहोर्याएकी हुँ भने अरुचाहिँ नेपाली ग्रामीण जनजीवनका सूक्ष्मताको आकर्षक अभिव्यक्तिका कारण बढी पढिएका हुन् ।
दोहोर्याएर पढ्नुका कारण खासमा के थियो ?
पुस्तकले पाठकलाई आफूसँग बाँध्ने भनेकै त्यसका पात्र र परिवेशको जीवन्तताले हो । अहिले पनि बजारतिर अस्वाभाविक रुपले कपाल छोट्याएकी र छिनिएको कम्मर भएकी युवती देख्दा सकमबरीको झल्को आउँछ । रहस्यमयी आँखा भएकी उन्मुक्त किशोरी देख्दा पारिभाषित आँखाकी बिज्जीको जीवनको वीभत्सता परिकल्पना गरेर कहालिन्छु । भाँचिएको छाता ओडेर झरीमा रुझ्दै हिँडेकी महिलामा माइतघर उपन्यासकी सानीको जस्तो कारुणिक जीवनकथाको अनुमान गर्छु । म वीरगन्ज गएकी छैनँ र रेल पनि चढेकी छैन तर घामका पाइलाहरु पढेपछि त्यहाँ वर्णन गरिएको तत्कालीन वीरगन्ज, त्यहाँको रेलस्टेसन, रेलको आवाज यस्तो थियो होला भन्ने एउटा स्पष्ट बिम्ब मस्तिष्कमा आउँछ ।
पुस्तक पढिरहँदा त्यसका पात्र, लेखक र परिवेशले कतिको पछ्याँउछ ?
अत्यन्त प्रभावित गरेका साहित्यिक सन्दर्भले मलाई हरक्षण लखेटिरहेका हुन्छन् ।
तपाईंको विचार पढ्नु केका लागि हो ?
सचेतना अभिवृद्धिका लागि विचार पढ्ने हो ।
कस्ता पुस्तकले जीवनमा बढी सघाए ?
साहित्यका पुस्तकले नै मलाई समाज र संस्कृतिको वास्तविकतासँगै जनजीवनका कठिनता बुझ्न सघाए ।
पाठकलाई १० वटा पुस्तक पढ्नको लागि सिफारिस गर्नुपर्दा ?
शिरीषको फूल, अनिँदो पहाडसँगै, ग्याँस च्याम्बरको मृत्यु, जनजीवनका जीवनगाथा, इरफान अली, सोह्र साँझ, घुम्ने मेचमाथि अन्धो मान्छे, क्यापिटल हिल, उपल्लो थलो, निर्बन्ध ।
तपाईंसँग कति जति पुस्तकहरुको कलेक्सन होला ?
हे हे गनेको छैन त । तर पाँच हजार जति होलान् कि ?
पढ्न चाहेर पनि पढ्न नपाएका कुनै पुस्तक ?
पढ्न चाहेर पनि पढ्न नपाएका भन्दा पनि नसकेका चाहिँ वार एन्ड पिस, क्राइम एन्ड पनिसमन्ट, वन हन्ड्रेड इयर्स अफ सोलिच्युड ।
मनपरेका ५ जना स्वदेशी र विदेशी लेखकहरुको नाम लिनुपर्दा ?
पारिजात, शंकर लामिछाने, रमेश विकल, भूपि शेरचन, मनु ब्राजाकी, म्याक्सिम गोर्की, पाब्लो नेरुदा, ग्याब्रियल मिस्त्राल, टोनी मोरिसन, अवतारसिंह पास, सआदत हसन मन्टो ।
अध्ययन र लेखाई बाहेकका रुचिहरु के छन् ?
घुम्ने, सिनेमा हेर्ने, गीत सुन्ने ।
नयाँ पुस्तालाई नपढी नहुने पुस्तकको रुपमा कुन–कुन पुस्तकहरु सिफारिश गर्नुहुन्छ ?
चोर, घामका पाइला, अनिदो पहाडसँगै, एब्स्ट्र्याक्ट चिन्तन : प्याज, शोकमग्न यात्री, अविरल बग्दछ इन्द्रावती, सोह्र साँझ, ओक्कल दोक्कल पिपल पात, प्रिय मौनता ।
तपाईंको पछिल्लो साहित्यिक योजनाहरु के–के छन् ?
तीनओटा अनुसन्धानका काम सक्नुपर्ने छ । समय व्यवस्थापन गर्न सकियो भने यो वर्ष कथासङ्ग्रह तयार गर्ने योजनामा छु ।
स्रष्टा र सिर्जनाको सम्बन्धलाई तपाईं कसरी हेर्नुहुन्छ ?
बाहिरी रुपमा सिर्जना र स्रष्टा फरक देखिएलान् तर स्रष्टाको चिन्तन, विचार, दृष्टिकोण नै सिर्जनामा आउने हो । त्यसैले स्रष्टा र सिर्जना अन्योन्याश्रित हुन्छन् ।
तपाईंको जीवनमा सानैदेखि कोही रोल मोडेल छ, जसले जीवन यात्रामा निरन्तर सकारात्मक प्रेरणा दिएको होस् ?
त्यस्तो एउटा रोल मोडल त कोही छैन तर धेरै मान्छेबाट मनमा एउटा मोडलको बिम्ब बनेको छ । त्यसमा योगमाया, पारिजात, सआदत हसन मन्टो, ग्याब्रियल मिस्त्राल, सोनामसाथी, पाब्लो नेरुदा, मुकुन्द न्यौपाने आदिको वैचारिकता, सङ्घर्ष, सिर्जनात्मकता आदिको आंशिक छवि भने मभित्र उँचो बनेर बसेको छ ।