रोशन शेरचनद्वारा लिखित निबन्धकृति ‘गल्ली संसार’लाई २०८० सालको उत्तमशान्ति पुरस्कार प्रदान गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो ।
उत्तम कुँवर स्मारक पुरस्कार गुठीद्वारा स्थापित एक लाख राशि र ताम्रपत्रसहितको यो पुरस्कार नेपाली साहित्यमा प्रकाशित गैरआख्यान कृतिमध्ये सर्वश्रेष्ठ कृतिलाई हरेक वर्ष प्रदान गरिन्छ । २०४४ सालबाट यो पुरस्कार प्रदान गर्न थालिएको हो ।
विगतमा यस पुरस्कारबाट लैनसिं वाङदेल, अम्बर गुरुङ, कृष्णचन्द्रसिंह प्रधान, जगदीश घिमिरे, मंजुल, परशु प्रधान, नारायण ढकाल, भूपिन, शारदा शर्मा, इल्या भट्टराई, दुर्गा घिमिरे, झमक घिमिरे, प्रदीप नेपाल, कृष्ण धरावासी, श्रीओम श्रेष्ठ रोदन, रवीन्द्र समीर, देवेन्द्र भट्टराई, कर्ण शाक्य, देवीचन्द्र श्रेष्ठ, निर्मोही व्यास, भीष्म उप्रेती लगायत श्रष्टा पुरस्कृत भइसकेका छन् ।
गुठीका सभापति डा. पार्थिवेश्वरप्रसाद तिमिल्सिनाको सभापतित्व र वरिष्ठ समालोचक डा.वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा श्रष्टा रोशन शेरचन र उनको कृतिबारे लेखक भूपिनले मन्तव्य राखेका थिए । यसअघि स्व. उत्तम कुँवरको व्यक्तित्वबारे देवेन्द्र लोहनीले छोटो चर्चा गरेका थिए ।