जर्ज आर्वेलले भनेका थिए कि कुनै विचार र सिद्धान्तहरु यति मूर्खतापूर्ण हुन्छन् कि जसलाई विद्वान्हरुले मात्रै विश्वास गर्दछन् ।
कस्तो कटुसत्य जुन हाम्रो समाजमा नग्नतापूर्वक प्रयोगासन्न छ ।
हो यतिबेला म उनको विचारले पग्लिएको छु, उनले लेखेका उपन्यासहरु (एनिमल फार्म र नाइन्टिन एट्टी फोर) भन्दा पनि राजनैतिक समालोचना र बलिया आलोचनाहरुबाट द्रवित छु । भारतमा जन्मेका आर्वेल जसले सघन राजनीतिको दलदलमा नफसे पनि लण्डन बसेर जसरी समकालीन विश्व राजनीतिलाई निहारे त्यसको बिम्बिकरण म आजको नेपालमा देखिरहेको छु ।
विश्व राजनीतिमा चीन र भारतको ध्रुव अलग होला, सोभियत रुस र अमेरिकाको वैचारिक सीमा रेखाहरु अलग होलान्, उत्तर कोरिया र दक्षिण कोरियाका आदर्शका लक्ष्मण रेखाहरु छोइनसक्नु फरक होलान् । त्यसैको बाछिटाले काठमाडौं सिंहदरबारदेखि कोटेश्वर र बालकोटदेखि पेरिसडाँडा गरमागरम हुन्थे । आर्वेलले भनेको त्यही समकालीन राजनीतिमा हुने मूर्खताको पराकाष्ठाका सीमान्त प्रयोगहरु नेपालका तथाकथित मूर्ख विद्वानहरुका प्रस्तुतिमा प्रकटीकरण हुन्थे ।
त्यसैले त अमेरिकाले अपानवायु छोड्दा बेलायत र पश्चिमाहरुलाई गन्हाउँदैन सायद । गन्हाउँछ रसिया, चीन र उत्तर कोरियालाई ।
पुटिनको वान्ता बास्नादार भइदिन्छ चीन, कोरिया र इरानलाई ।
उस्तै सिरिया र उत्तर कोरियाका मानव हताहतीमा रसियाको टाउको दुख्दैन । दुख्छ अमेरिकाको र कोलाहल मच्चिन्छ संसारभर ।
मरेका र मारिएका श्रीलङ्का, अफगानिस्तान र इराकका निहत्थाहरुको आँसुले खै रसियाको बाल झरेको ? खै अमेरिकी राजनैतिक मूर्खतामा मानवाधिकारको खिचडी पाकेको ?
प्रश्नहरु प्रश्नका लागि मात्र छन्, यतिबेला । किनकि विचार र सिद्धान्तका मूर्खतापूर्ण क्रियाकलापले नै तथाकथित विद्वानहरुको झुट र तिलस्मी विश्वासले दुनियाँलाई भ्रामरीको दशामा फसाइरहेको छ । मेरा प्रश्नका उत्तरहरु कहाँ खोज्नु ?
अपराध र दुष्कर्म गरेर मरेका मान्छेका आत्मा प्रेत रुपमा भड्किरहन्छ र त्यसले पछिल्ला पुस्ताहरुलाई परोक्ष रुपमा सताइरहन्छ भन्ने आदिम विश्वास आजसम्म छ र त्यो बिम्ब हाम्रो राजनीतिमा देखिरहेकै छ । शकुनी महाभारतका खल पात्र हुन् तर हरेक युगमा, हरेक सत्तामा शकुनीको नव संस्करण देखिन्छ । जस्तो नेपालको राजनीतिमा परिवारवाद, वंशवाद, नश्लवादको रुपमा शकुनी संस्करणको जीवित अवतारहरु छन् । पदस्थहरु दुर्योधन र घेराहरु शकुनीको रुपमा चित्रित छन् चाहे श्रीमतीजीहरु हुन् वा श्रीमान्हरु, छोरा छोरीहरु हुन् वा साला, सालीहरु नै किन नहुन् । सायद दुर्योधनको आत्माले हाम्रा सत्तासिनहरुलाई मतिभ्रम बनाइदिदो हो र तिनका मतियारहरुकै रुपमा सल्लाहकारहरु किंवा श्रीमतीजीहरु, छोरा छोरीहरुमा शकुनी आत्मा पसेर भड्काइरहँदो हो र नै लोकतन्त्रको यो लज्जशरणम्को दुर्गति भैरहँदो हो ।
हुन त संसारमा आफूलाई हेर्ने परिभाषाले अर्कालाई देख्दो रहेनछ । त्यसैले त सियाञ्जेनमा मारिएका रोहिङ्ग्याहरुको आँसु चीनले देख्दैन तर संयुक्त राष्ट्रसंघले देख्छ । त्यही संस्थाले सिरियाको आहट वा आर्मेनियाको ध्वंश देख्दैन अनि ती अबोधहरुले धिक्कारिरहेछन् चीनको सम्वृद्धिलाई र धिक्कारिरहेका छन् भुटानबाट निकालिएका नेपालीभाषीहरुले गुलाम संयुक्त राष्ट्रसंघको तथाकथित मानवाधिकारको घोषणापत्रलाई ।
जसरी संयुक्त राष्ट्रसंघका आदर्शहरुको खोलमा बेरिएर आफ्नै घरभित्र गन्हाइरहेका छन् आर्मेनियालीहरु उसैगरी घाना वा बुर्निनाफासोमा आवाज उठ्न सक्दैन दानवीय बर्बरताको र कायरहरुको सैनिक घेराबाटै चुनौती छ मानवतालाई । त्यहाँ बोल्न सक्दैनन् मानवाधिकारका ठेकेदारहरु ।
उसो त आर्वेलले भनेका छन् कि “विश्वव्यापी झुटको समयमा सत्य बोल्नु पनि क्रान्तिकारी कार्य हो ।”
अब झुट पनि सत्यको निकट नभएर कसको निकट भन्ने सवालहरु हुने रहेछन् । ठीक यस्तै परिदृश्य नेपाली राजनीतिको भ्रमजालमा बेरिएको छ । प्रजातन्त्रका मसिहाहरु साम्यवादका पहरेदारहरुको पोल्टामा छन् र साम्यवादका प्रवक्ताहरु घोर दक्षिणपन्थका स्पन्दनमा धड्किदै बाँचिरहेको अनौठो इतिहास नेपाली राजनीतिको यो दशकलाई भावी पुस्ताले परिहासपूर्ण मान्ने नै छन् । चरम क्रान्तिकारिताको युद्ध खेपेर आएका साम्यवादी चेतलाई दक्षिणपन्थी र प्रजातन्त्रवादीहरुले मलजल उर्जा थपेर हुर्काएको स्वाथ्र्यप्रेरित र सत्तामुखी नग्नता र साम्यवादको धङधङीलाई सत्तालिप्साको उन्मत्त प्यासले दक्षिणको गोड्धुवामा चढाएको परिदृष्यले इतिहास पनि आँसु चुहाएर रुनेछ ।
हिँजडाहरुको मायाजालबाट गुज्रिउञ्ज्याल निकासको कुनै गुञ्जायस रहने छैन । हिँजडा प्रत्येक दलका नेतृत्वहरुको बिम्ब हो र तिनका तलुवाको धुलोलाई प्रसाद मान्ने कार्यकर्ताहरुको पनि । समकालीन नेपाली राजनीतिक दलका कार्यकर्ताहरु आर्वेलले भनेजस्तै यति मूर्ख छन् कि जसले आफ्नो बाटो र उमेर छेकिरहेका छन् तिनैको पछि दगुरिरहेका छन् । आजका कार्यकर्ताहरु जसले न देउवाको विकल्प देख्छन् र दिन्छन् न ओलीको नै । उस्तै विकल्पहीन बनाइरहेका छन् प्रचण्ड र नेपाललाई पनि । पछिल्लो पुस्ताकाहरुमा समग्र युगलाई हाँक्ने र देशलाई केन्द्रिकृत नेतृत्व गर्ने दम र हैसियत देखिएन ।त्यसैले म्याद गुज्रिएकाहरु परिवाद र नातावादको तुरुप चलाइरहँदा पनि चुनौती दिने हैसियतमा कोही नव पुस्ताका तथाकथितहरु भएनन् ।
आफूलाई पछिल्लो पुस्ता भन्नेहरु दौरा समाएर, किचेन क्याविनेट चलाएर, भजनमण्डलीमा रमाएरै व्यस्त र मस्त छन् । उनीहरुलाई लागिरहेको छ पार्टी अध्यक्ष बन्नु भनेको पार्टी खरिद गर्नु हो र निर्वाचनमा टिकट बिक्री गरेर कम्पनी चलाउनु हो । भैरहेको छ र देखिरहेको सत्य नै यही हो । देशभर जरा फिजिएको कम्पनीको कार्यकारी प्रमुख बनेर हाकाहाकी टिकट बिक्री गर्ने हैसियतमा पुग्न पनि त दर्विलै हिम्मत चालिएला र छल, बल, कर सबै हतियार चलाउन सक्नु पनि पर्ने भएकाले त्यो अवस्थासम्म फेर समाएर लौरो समाएर आएकाहरुमा नहुन पनि सक्दछ, भनिएका पछिल्लो पुस्ता र उमेरले सीमा कटिसकेकाहरु आफू विकल्प बन्नुभन्दा लौरो टेकाएर पनि, झाक्री बसाएर पनि अघिल्लै पुस्ताको गोटी र तुरुप बन्नु नै श्रेयस्कर ठानिरहेका छन् ।
यिनै प्रमाणहरुले आर्वेलको कुनै विचार र सिद्धान्तहरु यति मूर्खतापूर्ण हुन्छन् कि जसलाई विद्वानहरुले मात्रै विश्वास गर्दछन् भन्ने तर्क हाम्रो वर्तमानमा नग्न सत्य भएर सावित भएको छ । हर दलका पछिल्ला पुस्ताका पढेलेखेका भनिएका बुद्धिजीवि मानिएका कार्यकर्ताहरु हुक्के, ढोके, बैठकेको तहभन्दा माथि उक्लने साहस बटुल्दैनन् र तिनका असलियत बुद्धिजीविको मूर्खको स्तरभन्दा पर छैन ।
प्रत्येक घर घरमा उमेर पुगेका छोराछोरीहरुको निर्णयविना बाबाहरु कुनै कदम चाल्न सक्दैनन् । “अब त तिमीहरु हुर्किएका छौ, जसो गर्नुपर्छ गर । भविष्य तिमीहरुका लागि हो मैले त धानिदिएको मात्र हो ।” बाबाहरुबाट सन्तानलाई प्रेमपूर्वक घरेलु सत्ता हस्तान्तरणको यो उद्गार हर घरमा सुनिन्छ । तर देशमा नातिपुस्ता सक्षम भइसक्दा पनि तीनपुस्ता अगाडिबाट तगाराहरु तेस्र्याइनु भविष्यमा सम्भावना भएकाहरुलाई राजनीतिबाट टाढा राख्नु र वितृष्णा बनाउँदै लैजानु नै हो ।
चालिसको दशक पछाडिदेखि नेतृत्वमा विचार, चिन्तन कार्यशैलीको एकै धन्दा देखिनु र त्यस्तै पद्धतिको पुच्छर समातेर आफ्नो राजनैतिक भविष्य पर्खिरहनुभन्दा आत्महत्याकारी खतरा केही हुँदैन ।
भ्रष्टाचारका नग्न श्रृङ्खलाका कोलाहल यन्त्रणाबाट नै छोपछाप पारिन्छ । जसरी छोपछाप भए लाउडा, धमिजादेखि वाइड वडीसम्म । ललिता निबासदेखि एनसेलसम्म । मदन–आश्रितको हत्यादेखि दरबार हत्याकाण्डसम्म । उसै सेलाएका छन् । उसै मथ्थराएका छन् । छोपिएका छन् तर डोकाले नै हो । हितोपदेशका कथाहरुलेजस्तै ।
कथाले भन्छ कि कुनै राजा निरोजस्तै सनकको थियो र संसारका अनुपम फेसन उसलाई चाहिन्थ्यो । उसको टाउकामा साना साना सिङ् उम्रिएका थिए । प्रत्येक पटक कपाल कटाएपछि उसले नाइलाई सावधानीपूर्वक मारिदिने गर्दथ्यो किनकि उसले बाहिर गएर राजाको सिंग उम्रिएको छ भनेर हल्ला नगरोस् । एकदिन ढिकी कुटिरहेका अदनाहरु छेउ पुगेर ढिकीको आवाज सुन्यो । ढिकी उफ्रिएको आवाजमा भक््रयङ ट्याङ अमूर्त आवाज आइरहेको थियो तर उसको मनमा आफूभित्र भएको सिङ्को गहिरो मनोविज्ञान थियो । त्यसैले उसले ती ढिकी कुट्नेहरुलाई बन्द गर्न र अब देशमा कहिल्यै ढिकी नचलाउन आदेश दिए ।
हाम्रा नेताहरु उस्तै मनोविज्ञानले ग्रस्त छन् सत्ताको ह्याङ ओभरबाट उत्रिन सकेका छैनन् । सत्ताबाट पर रहने बित्तिकै अनेकौं काण्डहरुको पटाक्षेप हुने डर छ जसरी ती राजा जहाँ गएपनि आफूभित्रको सिङ रहेका कमजोरी सँगै लिएर जान्थे । हाम्रा नेताहरु उसैगरी सधैं देशलाई बन्धकी बनाएर बपौती जस्तै चलाइरहन खोज्छन् । जसरी तिनले देशमा ढिकी कुट्न पनि प्रतिबन्ध लगाइदिएका थिए ।
समयले यिनलाई कुनै दिन उठ्नै नसक्ने गरेर पछार्ने छ । देश र दुनियाँको अगाडि मृत्युमय यातना दिने छ । दन्त्यकथाले भन्छ कि ती राजा फेसनका भयङ्कर शौखिन थिए । नयाँ नयाँ फेसन किनेर लगाउने भएकाले जुलाहाहरु नयाँ डिजाइनका फेसनहरु लिएर गइरहन्थे । राजनीति बुझ्ने एक जुलाहा यी राजालाई पाठ सिकाउनुपर्छ भनेर दरबार गए । दरबारमा गएर राजालाई महाराज पाँच लाख रुपैया पर्दछ । संसारमै कसैले नलगाएको अद्भूत सौन्दर्यपूर्ण पोशाक बनाउँछु भन्न थाल्यो । मैले कपडा बनाउने कोठाभित्र कसैलाई नपठाउनु, मैले मगाएका सामानहरु खुरुखुरु पठाइदिनु भन्ने आदेश दिएर ऊ एकान्त कोठाभित्र गयो । यो सामान लेऊ र ऊ सामान लेऊ भनेर हैरान बनायो । पन्ध्रदिन भित्र उसले दरबारबाट ठूलो मात्रामा धनराशी, सुनचाँदी हिरामोती लगिसकेको थियो । पन्ध्रौं दिनको दिन जुलाहाले महाराज पोशाक तयार भयो, राजपटाङ्गिनीमा सबै सभासद्, भारदारहरु तथा राज कर्मचारीलाई उपस्थित गराउन आदेश दिइबक्सियोस् । सबै जनतालाई डबली डबलीबाट ताली र स्वागत गर्न भनिबक्सियोस् । स्वर्गका राजा इन्द्रले पनि लगाउन नपाउने यस्तो पातलो आँखाले पनि देख्न कठिन हुने अद्भूत पोशाक पहिरिएको दिन पैदलै वा रथमा उभिएर सहर परिक्रमा गरिबक्सियोस् भन्यो ।
अन्तत: राजा तयार भए । जुलाहाले सबैको सामु जसले सत्य बोल्दैन झुट बोल्छ जसको मनमा पाप छ त्यसले यो पोशाक देख्दैन भनेर त्राश छरिदियो । राजाका अगाडि किस्तीमा हलुका किसिमले मलमल पोशाक राखेझै हात उठाएर थपक्क राख्यो । राजालाई दिव्य पोशाक पूजा गर्न भन्यो तर किस्तीमा पोशाक थिएन राजाले आफू झूट र पापी सावित हुने डरले पानी पानी भए । पोशाक छैन भन्न सकेनन् । उसले जसो जसो भन्यो त्यसै त्यसै गर्दै गए । राजाका सबै वस्त्र उतारेर नग्न बनाइयो र अद्भूत वस्त्र पहिर्याएको नाटक गरेर नाङ्गै सहर घुमाइयो । वस्त्र लगाउञ्ज्याल जुलाहा साथै थियो र सहर घुमाउन थालेपछि ऊ नगद कुम्ल्याएर फरार भयो । पापी र असत्य भइने डरले राजाको नग्नतामा कसैले बोल्ने हिम्मत गरेनन् । लोभ, पाप र स्वार्थका आडमा राजालाई नङ्ग्याएर खानेहरु सबै राजाको नग्नता पनि बेचिरहे । जसरी अहिलेका नेताका भजन मण्डलीहरुले नेतृत्वका नग्न कुकर्म बेचिरहेका छन् । कथाले थप्छ जब एक बालकको नजिक राजाको नाङ्गो घिनलाग्दो बिद्रुप रुप पुग्यो आमाको पिठ्युँबाटै बालक चिच्यायो “आमा ! आमा ! राजा किनै नाङ्गै हिंडेका ? राजा त नाङ्गै छन् त ।”
त्यतिबेला मात्रै उनको होस् खुल्यो र उनी दरबार फर्किएर चुपचाप आफ्नो मूर्खतामा पश्चाताप गर्दै आत्महत्या गर्न पुगे ।
अहिले सिद्धान्त, विचार, निष्ठा र आदर्श बेचेर नाङ्गै रमाएका नव महाराजहरु देश बलियो भएको दिन र सबैले सत्य बोलेको दिन पश्चातापले जल्नुपर्ने छ र कामना गरौं आत्महत्या गर्नुपूर्व ती सबैको चेत खुलोस् । निष्ठा र आदर्श बेचेर स्वार्थ र पदका लागि नाङ्गै भुतुङै कुदेकाहरुले आत्महत्या गर्ने दिन नआओस् ।
अहिलेलाई आर्वेलको अर्को भनाइ राखेर बिट मार्दछु – “हाम्रो समयमा राजनीतिभन्दा बाहिर रहने भन्ने कुनै चिज हुँदैन । हरेक विषयहरु राजनीतिक विषय हुन् र राजनीति आफैंमा झुट, कपट, मूर्खता, घृणा अनि पागलपनको थुप्रो हो ।”
यतिबेला नेपालका मूर्ख र पाखण्ड राजनीतिज्ञहरुले राजनीतिलाई यस्तै बनाएका छन् ।