नेपाली कविताको पछिल्लो चरण उत्तरवर्ती नेपाली कविता अर्थात् आजको समकालीन नेपाली कविता हो र यी कवितामा प्रतिबिम्बित अन्तर्विषयकताको विश्लेषण यहाँ गरिएको छ । यस क्रममा पछिल्लो समयका अन्तर्विषयकता भएका केही कवितालाई प्रतिनिधि रुपमा चयन गरिएको छ । अन्तर्विषयकताको सैद्धान्तिक अवधारणाको सङ्क्षिप्त निरुपणका साथै आजका नेपाली कवितामा अन्तर्विषयक पठनीयता कस्तो छ भन्ने कुरा देखाइएको छ । समकालीन नेपाली कविताको अन्तर्विषयक पठन र विश्लेषणका क्रममा अन्तर्विषयका क्षेत्रहरु धेरै भए पनि मूलत: संस्कृतिपरक र समाजशास्त्रपरक पठनका दृष्टिले आजका नेपाली कविता बढी प्रभावपूर्ण र पठनीयसमेत देखिएकाले यिनै पक्षहरुको अन्तर्विषयक पठन–विश्लेषण गरी निष्कर्ष प्रस्तुत गरिन्छ ।
अन्तर्विषयकता
ज्ञानविज्ञानका अनेकौँ विषयक्षेत्र मध्ये कुनै एउटा विषय, साहित्यिक विधा आदिका रचनामा कुनै अर्को विषयको अन्तर्घुलन भएको देख्न सकिन्छ । यसरी अन्तर्घुलन वा अन्तर्गर्भित हुँदा विशेषत: साहित्यमा अन्तर्विषयकता हुन्छ । आजको साहित्य कोरा साहित्य मात्र छैन, यसभित्र अनेकौँ विषयहरु आएका छन् । आजको साहित्यमा समाजशास्त्र, मानवशास्त्र, इतिहास, संस्कृति, कला, विज्ञानप्रविधि, आमसञ्चार, राजनीति, अर्थशास्त्र, पर्यावरण विज्ञान, पत्रकारिता, भूगोल, गणित आदि धेरै विषयहरु आएका छन् । यस्ता विषयको प्रविष्टिले साहित्यलाई बहुविषयकतातिर उन्मुख बनाएको छ । तसर्थ आजको साहित्य बुझ्न तत्तत् विषयको ज्ञान हुनु आवश्यक छ । साहित्येतर विषयहरुले साहित्यिक रचना वा कृतिहरुमा प्रविष्टि पाउनु वा साहित्यमा इतर विषयहरुको प्रविष्टि अन्तर्विषयकता हो र अन्तर्विषयक समालोचना पद्धतिका आधारमा कृतिहरुमा अन्तर्विषयकताको विश्लेषण अन्तर्विषयक पठन हो । अन्तर्विषयक पठन बहुलतापरक पद्धति भए पनि बहुविषयकता र अन्तर्विषयकतामा भिन्नता छ । साहित्यिक कृति वा रचनामा इतर विषयहरुको अन्तर्मिश्रण बहुविषयकता हो भने अन्तर्घुलनचाहिँ अन्तर्विषयकता हो । अन्तर्मिश्रणमा एउटा विषयभित्र अर्को विषयको मिश्रणलाई छुट्याउन सकिन्छ भने अन्तर्विषयमा एउटा विषयभित्र अर्को विषय अन्तर्घुलित हुने भएकाले छुट्याउन सकिँदैन । तसर्थ अन्तर्विषयकतालाई विपठनका रुपमा पनि मानिन्छ । साहित्यिक कृति वा रचनामा अन्तर्विषयकता कसरी देखिन्छ ? यहाँनेर यस प्रश्नलाई गम्भीर रुपमा मनन गरेर हेर्नुपर्ने हुन्छ । साहित्यले इतर विषयलाई ग्रहण गर्दा अन्तर्विषयकता हुन्छ भने त्यस किसिमको अन्तर्विषयक कृति वा रचनाको विश्लेषण गर्दा समालोचकमा पनि त्यस विषयको ज्ञान हुनु आवश्यक छ । ‘विशेषत: साहित्यमा समाजशास्त्र, संस्कृति, अर्थशास्त्र, इतिहास, मनोविज्ञान, विज्ञानप्रविधि, आमसञ्चार आदि विषयको राम्रो प्रभाव देखिएको छ । साहित्यमा देखिएको यस किसिमको अन्तर्घुलनले साहित्यलाई फराकिलो बनाउँछ’ (बचविन्डर, सन् १९९१ : ५०) । यसबाट समालोचना पद्धतिका आयामहरु पनि फराकिला हुन्छन् । अन्तर्विषयकताका आधारमा वा अन्तर्विषयक समालोचना पद्धतिका आधारमा साहित्यलाई हेर्दा वा विश्लेषण गर्दा अन्तर्विषयक पठन हुन्छ । यसलाई पछिल्लो समयमा विश्वसाहित्य अर्थात् पाश्चात्य साहित्यमा विकसित समालोचना पद्धतिका रुपमा पनि मानिन्छ । साहित्यलाई समाजशास्त्रीय आँखाले हेरियो भने त्यो समाजपरक समालोचना हुन्छ, मनोविज्ञानका आँखाले हेरिएमा मनोविज्ञानपरक समालोचना हुन्छ, नीतिशास्त्रका आँखाले हेरियो भने नीतिपरक समालोचना हुन्छ, जीवनीका आँखाले हेरियो भने जीवनीपरक समालोचना हुन्छ, आद्यरुपका दृष्टिले हेरियो भने आदिमतापरक समालोचना हुन्छ र भाषाशास्त्रका दृष्टिले हेरियो भने भाषापरक वा रुपपरक समालोचना हुन्छ आदि । उपर्युक्त सबै विषय र दृष्टिकोण तथा ज्ञानविज्ञानका यावत् विषयहरु साहित्येतर हुन् । यस्ता साहित्येतर यावत् विषयहरुका आधारमा सङ्कथन/कृति/पाठ/रचनालाई हेर्दा तत्तत् विषयका समालोचना पद्धतिको विकास भएको छ । यी र यस्तै समालोचना पद्धतिका अतिरिक्त अन्य कतिपय विषय क्षेत्रहरुका आधारमा पनि कुनै सङ्कथनलाई हेर्न सकिन्छ । यस्ता सबै अध्ययन र पठनहरु अन्तर्विषयक हुन्छन् ।
आजका नेपाली कवितामा अन्तर्विषयक पठनीयता
आजका कविता, समकालीन कविता वा उत्तरवर्ती नेपाली कवितामा बहुअन्तर्विषयकता पाइन्छ भन्ने कुरा स्पष्ट भइसकेको छ । आजका नेपाली कवितामा पाइने अन्तर्विषयक क्षेत्रहरु धेरै छन् । आजका नेपाली कविहरुमा बहुविषयक ज्ञान प्रशस्त रहेको देखिन्छ र तिनले आफ्ना बहुविषयक ज्ञानलाई कवितामा उपयोग गरेका छन् । अनेक विषयको ज्ञान भएका कविहरुले आफ्ना कवितामा ती विषयहरु कवितामा अन्तर्घुलन गराउँदा ती कवितामा बहुविषयक पठनीयता हुनु नेपाली कविताको शक्ति पनि हो । उत्तरवर्ती नेपाली कवितामा सांस्कृतिक र समाजशास्त्रीय विषयक पठनीयता केही बढी देखिन्छ । समकालीन नेपाली कविताका यी अन्तर्विषयक पठनीयतालाई यसप्रकार साक्ष्यहरुद्वारा पुष्टि गरिन्छ :
संस्कृतिपरक अन्तर्विषयकता
संस्कृतिका बारेमा अध्ययन गर्ने शास्त्र नै सामान्य अर्थमा संस्कृतिशास्त्र वा सांस्कृतिक अध्ययन हो । कुनै राष्ट्र वा जातिको सामाजिक जीवन, राजनीति, अर्थव्यवस्था आदिमा प्रतिबिम्बित हुने र तिनका कलाकौशल, बौद्धिक विकास आदिमा प्रकट हुने सम्पूर्ण क्रियाकलापको परिष्कृत रुप संस्कृति हो र यो सामान्य कोशीय अर्थ हो । विशिष्ट र पारिभाषिक अर्थ भने यसको विस्तृत छ । धेरै समयदेखि देशकाल सापेक्ष भई आन्तरिक, वैचारिक तथा परम्परागत धारणाका रुपमा विकसित हुँदै आएको र आचारविचार, रहनसहन आदिका माध्यमले कुनै राष्ट्र, समाज, जाति आदिको स्वरुप छुट्टिने यावत् मान्यता, भावना, चिन्तन, मनन, भौतिक अभिव्यक्तिहरु समेतको समूह वा साधनलाई संस्कृतिका रुपमा मानिन्छ । संस्कृति साहित्येतर विषय हो र संस्कृतिका आधारमा साहित्यिक सङ्कथनको विश्लेषण गर्दा सांस्कृतिक समालोचना हुन्छ भने संस्कृतिका यावत् विषय कवितामा कसरी अन्तर्घुलित भएका छन् भनेर विवेचना गर्दा कविताको सांस्कृतिक पठन हुन्छ । समकालीन नेपाली कवितामा सांस्कृतिक पठनीयताका विविध स्वरुप देखापर्छन् । मूलत: स्थापित संस्कृति र निर्मित संस्कृतिका साथै हिन्दूधर्म र लोकसंस्कृति, सांस्कृतिक विभञ्जन, जातीय संस्कृति, तान्त्रिक संस्कृति, भौगोलिक संस्कृति आदि विविध स्वरुपहरु समकालीन नेपाली कविताको सांस्कृतिक पठनका विषय हुन् । समकालीन नेपाली कविताको सांस्कृतिक पठनका केही साक्ष्य र तिनका व्याख्या यसप्रकार छन् :
(१)आजकल साँझमा त्यहाँ
मादलहरु बज्छन् कि बज्दैनन् ?
मारुनी नाच हुन्छ कि हुँदैन ?
देउसे र भैलेहरु तिहारमा आउँछन् कि आउँदैनन् ?
– पवन आलोक (मेरो कुलुङ्गा, पवन आलोकका
केही कविता, पृ. ३३)
(२)अचेल यो बेला
दौँतरी उराङपाडा नाचौँ/च्याङ्वा डम्पूm नाचौँ
लाफा घुर्रा नाचौँ/यावाची साकेला नाचौँ
– सगुन सुसारा (जिवाखादा ल्होत्सोम्पालाई,
माङफुनको कायाकल्प, पृ. २१)
(३)तिमीलाई मन पर्नेछन्
मारुनी नाच, सोरठी र भजन चुड्काहरु
तिमी सुन्ने छौ
पञ्चैबाजा र सारङ्गीमा नेपाली हृदयका तानपुरा
– रेशमविरही घिमिरे (तिम्रो यात्रा हाम्रा चिसा
सपना, थालथालमा सपना, पृ. ७८)
(४)आऊ साथी ! अब सुरुवाल सुर्केर घुँडामाथि
घुङरिङ बनाऔँ र ज्ञानले चार किल्ला बाधौँ
यसरी कि आकाश बाधौँ धर्ती बाँधौँ
हावा बाधौँ पानी बाँधौँ जिन्दगी बाँधौँ ।
– उपेन्द्र सुब्बा (आफ्नै ईश्वरको विरुद्धमा, उद्धृत, समकालीन नेपाली कविताका प्रवृत्ति, पृ. ४३६)
(५)हुम्लाको शिरमा छिरिङको घर छ…
काठमाडौँ क्षेत्रपाटीमा ज्ञान आर्जन गरिरहेको
एक्काईस वर्षे पहिलो वर छ
बाँकेको नेपालगन्जमा विद्याउपार्जन गरिरहेको
उन्नाईस वर्षे दोस्रो
र हुम्लाको सिमिकोटमा मस्तिष्क परिमार्जन गरिरहेको
सोह्र वर्षे तेस्रो वर छ
चिटिक्क परेको मात्र दश वर्षको कान्छो निमा तेन्जिङ
रहरलाग्दो चौथो वर छ
हुम्लाको शिरमा छिरिङको घर छ
जीवनमा उनलाई धेरैको भर छ ।
– प्रल्हाद पोखरेल (हुम्लाको शिरमा,
कुहिराको कम्बल, पृ. ५५)
(६)म पुण्यमती, हिजोकी परम सुन्दरी पुण्यमती
आजको, फोहर दुर्गन्धित ढलमती
धेरै वर्षपहिले म अहिल्याजस्तै सुन्दर थिएँ…
सखारै हावा चल्थ्यो वायुको स्पर्शमा…
सूर्यको पारिलो किरणसँगै
मन्दिरका घण्टहरु गीत गाउँथे
त्यही गीत सुनेर मानिसहरु
मनभरि आनन्दको भकारी भर्थे ।
– सूर्यप्रसाद लाकोजू (म पनौती, मेरो घाम, पृ.२९–३०)
(७)खै ! दशैँ भनौँ या दशा ?
घोर्ले खसी काट्ने रहरहरु अधुरै रहे
गहतेथुम्काको पीपलबोट पनि काटिएछ
खै अब किन गाउँगाउँमा
बाबियो बटुल्ने र सहपाठीहरु मिलेर
रबतभर बाट्ने डोरी अब कहिले बाटिएला ?
ठूलाकान्छा र विष्णु दाइका
रोटेपिङ बनाउने हातहरु थला परेछन्
चचहुई चचहुई गर्दै दोहोरेपिङ खेल्ने दौँतरीहरु
विधवा र विधुर भएको पीठामा थलिएछन् ।
– छविरमण सिलवाल (दशैँ २०६१, मनको
शिबिरबाट, पृ.६७)
उपर्युक्त कवितांशहरु सांस्कृतिक अन्तर्विषयक पठनीयताका दृष्टिले प्रभावपूर्ण देखिन्छन् । परम्परागत धार्मिक, सांस्कृतिक, जातीय संस्कृति, भौगोलिक आञ्चलिक संस्कृति, ग्राम्य लोकसंस्कृति, पछिल्लो समयमा विकसित निर्मित संस्कृति, सांस्कृतिक विभञ्जन आदि सन्दर्भसँग जोडिएर यी कवितांशमा सांस्कृतिक अन्तर्विषयक पठनीयता पाइन्छ । अझ पछिल्लो समयका कवितामा जातीय–जनजातीय सांस्कृतिक पठनीयता बढी देखिन्छ । यसबाट समकालीन नेपाली कविताको एउटा प्रभावपूर्ण स्वर यो पनि हो भन्ने कुरा स्पष्ट हुन्छ । उद्धृत कवितामध्ये पवन आलोकको कविता लोकसांस्कृतिक अन्तर्विषयक पठनीयताका दृष्टिले उल्लेखनीय देखिन्छ । उनको यस कवितांशमा स्थानिक आञ्चलिक संस्कृति कविताभित्रको विषय बनेर आएको छ । मादल बज्नु, मारुनी नाच्नु, तिहारमा देउसेभैलो आउनुजस्ता ग्राम्य लोकसंस्कृति जनाउने पदपदावलीले एकातिर स्थानिक आञ्चलिक संस्कृतिप्रतिको अनुरागलाई देखाएका छन् भने अर्कातिर त्यस्ता मौलिक लोकसांस्कृतिक सम्पदाहरु लोप हुन लागेकामा कविको चिन्ता पनि व्यक्त भएको छ । सगुन सुसाराको कवितांशमा चाहिँ जातीय संस्कृतिका बिम्बहरुलाई सांस्कृतिक अन्तर्विषयकताका रुपमा उपस्थापित गरिएको छ । यस कवितामा बहुजातीय संस्कृति अन्तर्विषय बनेर आएको छ । खास गरेर धिमाल सांस्कृतिक नृत्य, शेर्पाका हिमाली सांस्कृतिक नृत्य, राईलिम्बूका किराँत सांस्कृतिक नृत्यजस्ता कुरालाई यहाँ कविताका विषय बनाइएको छ । त्यस्तै रेशमविरही घिमिरेको उद्धृत कवितांशमा नेपाली लोकसंस्कृति अन्तर्विषय बनेर आएको छ र मारुनी, सोरठी, भजन, चुड्का पञ्चैबाजा, सारङ्गीजस्ता लोकगीत, नृत्य र बाजाहरुको उल्लेख गरी नेपाली हृदयले यी लोकसांस्कृतिक बिम्बहरुलाई आत्मसात् गरेको कुरा देखाइएको छ । यसरी प्रस्तुत कवितांशमा लोकसंस्कृति कविताको अन्तर्विषय बनेर आएको देखिन्छ । उपेन्द्र सुब्बा जातीय संस्कृतिलाई विषय बनाएर कविता लेख्ने कवि हुन् र उनका कवितामा किरात जातीय संस्कृति कविताको अन्तर्विषय बनेको देखिन्छ । ‘आफ्नै ईश्वरका विरुद्धमा’ शीर्षकको कविताबाट उद्धृत कवितांशमा खास गरेर पूर्वीय तान्त्रिक संस्कृतिका सन्दर्भहरु आएका छन् । तन्त्रशास्त्रमा कुनै विधि सम्पन्न गर्दा तान्त्रिकले पहिले चार दिशा बाँध्ने र त्यसपछि पञ्चतत्त्व, पञ्चमहाभूत आदिलाई बाँध्ने गर्छन् । तान्त्रिक विधिकर्ममा धामीले बाँसको लौरोलाई टुप्पामा कुच्याएर गुजुल्टोजस्तो बनाई घुङरिङ तयार गरेपछि चार किल्ला अर्थात् चार दिशा बाँध्दछन् र आकाश, हावा, पानी, धर्ती र आफ्नै शरीरलाई पनि बाँधेपछि तान्त्रिक प्रक्रिया सुरु गर्छन् । यस कवितामा यही तन्त्रसंस्कृतिलाई मूल विषय बनाएर आजका मान्छेको नियन्त्रित जीवनशैलीलाई देखाइएको छ । त्यस्तै प्रल्हाद पोखरेलको कवितांशमा भौगोलिक हिमाली आञ्चलिक संस्कृति र त्यहाँको शेर्पा जातिविशेषको संस्कृतिपरक अन्तर्विषयक पठनीयता निकै सशक्त छ । त्यहाँका शेर्पा जातिमा विद्यमान बहुपति प्रथाका रुपमा रहेको संस्कृति (पाण्डव संस्कृति) कवितांशको मूल विषय बनेको छ । हुम्लाको शिरमा छिरिङको घर रहेको र उसको एक्काईस वर्षको पहिलो वरले काठमाडौँमा शिक्षा लिइरहेको, उन्नाईस वर्षको दोस्रो वरले नेपालगन्जमा विद्या आर्जन गरिरहेको, सोह्र वर्षको तेस्रो वरले हुम्लाको सिमीकोटमा मस्तिष्क परिमार्जन गरिरहेको र दश वर्षको कान्छो वर चिटिक्क परेको रहरलाग्दो रहेको कुरा प्रस्तुत गरेर एकातिर शेर्पा जातीय तत्स्थानिक आञ्चलिक संस्कृतिलाई कविले कविताको विषय बनाएका छन् भने अर्कोतिर नारीजातिमाथि भएका शोषण र नेपाली नारीहरुका भोगाइलाई मिथकीय प्रतीकका माध्यमबाट अभिव्यक्त गरिएको छ । यसरी यस कवितांशमा भौगोलिक आञ्चलिक संस्कृति र जातीय संस्कृति दुवै अन्तर्विषयक रुपमा आएका छन् र ती अन्योक्तिमूलक पनि छन् । सूर्यप्रसाद लाकोजूको कवितामा सांस्कृतिक नगरी पनौतीको धार्मिक र सांस्कृतिक महत्त्वलाई सहरीकरणले आक्रान्त पारेको यथार्थलाई देखाउँदै पनौतीको अतीत अत्यन्तै सुन्दर रहेको र वर्तमानमा त्यो सांस्कृतिक वैभव, सम्पन्नता, आस्था, सौन्दर्य सबै क्षय भएकामा उनले खिन्नता पनि व्यक्त गरेका छन् । पुण्यमती नदीमा पवित्र जलप्रवाह भइरहने, पारिलो घामसँगै मन्दिरका घण्टहरुले गीत गाउनु र त्यही सुनेर मन प्रफुल्लित हुनुजस्ता सन्दर्भहरु अतीत भएकाले त्यो सांस्कृतिक वैभवलाई फर्काउनुपर्ने कुरा देखाउने सन्दर्भमा यहाँ सांस्कृतिक अन्तर्विषयकता आएको छ । छविरमण सिलवालको कवितामा तत्कालीन नेपाली जीवन र समाजलाई द्वन्द्वले आक्रान्त पारेको र दशैँजस्ता उल्लासमय चाडपर्वका सांस्कृतिक रौनक हराएको यथार्थलाई मूल केन्द्रीय अन्तर्वस्तु बनाइएको छ । घोर्ले खसी काट्नु, गाउँका सहपाठीहरु मिलेर बाबियाको लठ्ठा वा डोरी बाटी पिङ खेल्नु, रोटेपिङमा दौँतरीहरु मच्चिनुजस्ता यावत् परम्पराको सांस्कृतिक सौन्दर्य क्षय हुँदैगइरहेको र यसबाट कविमा खिन्नताको अनुभूति भएको यथार्थलाई पनि यहाँ देखाइएको छ र यसरी संस्कृतिपरक अन्तर्विषयकता अभिव्यक्त भएको छ ।
समाजशास्त्रपरक अन्तर्विषयकता
मानव समाजका बारेमा अध्ययन गर्ने शास्त्रलाई सामान्य अर्थमा समाजशास्त्रका नामले जानिन्छ र यो शास्त्र समाज र यसका संरचनाको सैद्धान्तिक अध्ययन गर्ने एवम् मानव समाज तथा संस्कृतिको उत्पत्ति, विकास आदिको अध्ययन–विवेचना गर्ने शास्त्र पनि हो । समाजशास्त्र साहित्यभन्दा इतर विषय हो र यही समाजशास्त्रका आधारमा साहित्यिक सङ्कथनको अध्ययन विश्लेषण गर्दा त्यस्तो अध्ययन विश्लेषण समाजशास्त्रीय हुन्छ । साहित्यमा अन्तर्घुलित समाजशास्त्रको विवेचना त्यस्ता सङ्कथनको समाजशास्त्रीय पठनबाट हुन्छ । साहित्यिक सङ्कथनमा समाजशास्त्रका यावत् प्रसङ्ग, सन्दर्भ र यससँग जोडिएर आएका विषयहरु अन्तर्गर्भित भए भने त्यसलाई समाजपरक अन्तर्विषयकता भनिन्छ । समाजका यावत् मूल्य, मान्यता आदि विषयहरु कवितामा कसरी अन्तर्घुलित भएर रहेका छन् वा हुन्छन् भन्ने कुरा कविताको अन्तर्विषयक पठनबाट थाहा हुन्छ । यस किसिमको अन्तर्विषयकताबाट समकालीन नेपाली कविता बहुलतापरक र विशिष्ट हुँदै गएको छ ।
समकालीन नेपाली कवितामा समाजशास्त्रीय पठनीयताका विविध स्वरुपहरु देखिन्छन् । खास गरेर विभेदन समाजशास्त्रीय पठनीयताका दृष्टिले समकालीन नेपाली कविता प्रभावपूर्ण देखिन्छन् । साहित्यको समाजशास्त्रीय पठनका विविध स्वरुपमध्ये विभेदन पठनले सर्वाधिक व्याप्ति प्राप्त गरेको कुरा आजका नेपाली कविताको अध्ययनबाट थाहा हुन्छ । कतिपय कवितामा लिङ्गीय, जातीय समाजशास्त्र पनि स्पष्ट देखिन्छ । समाजशास्त्रीय अन्तर्विषयकता भएका आजका कविताको केन्द्रमा चाहिँ विभेदन समाजशास्त्र नै अन्तर्घुलित देखिन्छ । समकालीन नेपाली कविताको समाजशास्त्रीय पठनका केही साक्ष्य र तिनका व्याख्यालाई यसप्रकार देखाइन्छ :
(१)चुला, जङ्गल, कुवा र गोठका स्कुलमा
कसौँडी, गाग्री, घाँस र दाउराका अक्षरहरु पढ्दै
जीवनको परीक्षामा हाम फालेर/सधैँ अनुत्तीर्ण
आपैmलाई बिर्सेकी थकित/विश्रामहीन यात्रामा हिँडेकी
नाम सोध्दा थाहा छैन भन्छे ।
– अशेष मल्ल (नाम सोध्दा थाहा छैन भन्छे, प्रज्ञा
प्रतिनिधि समकालीन नेपाली कविता, भाग १, पृ. ३५)
(२)खच्चडका टापहरुले डामेका बाटाहरु
सुमसुम्याउँदै हिँड्छ
नयाँ यात्रामा मानबहादुरसँगै
एउटा आदिम बस्ती ।
– बुद्धिसागर चपाईँ (कुल्चँदै आधा सल्किएका चुरोटका ठुटाहरु, हजारौँ पृथ्वी हजारौँ आकाश, पृ. ६५)
(३)छुट्याइदे देश–
– मेरो जात कुन हो ?
– मेरो धर्म कुन हो ?
– मेरो रगतको रङ्ग कुन हो ?/
– मेरो देश कुन हो ?
– बाबु त्रिपाठी (गुनासो, सालिकहरुको देश, पृ. ४८)
(४)बुढा मरे ।
मरेकै ठिक भो
बाचिन्जेल पनि कम्ती सास्ती थिएन
मर्न सकिएन/अपमान सहेर कति बस्नु ?
– विमला तुम्खेवा (मेरो कथाको पनि कविता लेख्नु है, विश्व नारी नेपाली कविता, पृ. ९४)
(५)तेरो यो पुस्तौनी भट्टीबाट
तन्तनी पिएर किरा परेको छ्याङ
आइज ! हाम्ले पनि चिच्याई चिच्याई भन्दिऊँ
हामी पनि हौँ यहाँको मालिक मालिक्नी
हाम्रो पनि छ तिम्रो जस्तो राजधानी
– रावत (राजधानी मास्तिरको राजधानी, प्रज्ञा प्रतिनिधि समकालीन नेपाली कविता, भाग १, पृ. १३५)
(६)मेरा आँखाहरु – ठूलो देखाएर कुरुप हुनेहरुको
चरित्र हेरेर कहिलेकाहीँ दुख्नेगर्छ
तर, भर्भराउँदै अन्यतिर हेर्न खोज्छन् मेरा आँखाहरु
नदेख्नु होइन आँखाहरुको कर्म
देख्नु नै त हो आँखाहरुको धर्म
यो सृष्टिमा आँखाहरु नभएको भए
सुन्दर असुन्दरका सीमाहरु कसरी खुट्रयाउने हुन् ?
– मोहन दुवाल (आँखाबाट हेरिरहेछु, मनको
मझेरीमा बल्झिएका प्रश्नहरु, पृ. ८०)
उपर्युक्त कवितांशहरुका आधारमा समकालीन नेपाली कवितामा समाजशास्त्रीय पठनका वैविध्यमय रुपहरु पाइन्छन् भन्ने कुराको पुष्टि हुन्छ । अहिलेको नेपाली समाज धेरै फरक छ । समाजका संरचना, मूल्य र मान्यताका परम्परित परिभाषा बदलिएका छन् र नयाँ परिभाषाहरु जन्मिएका छन् । अहिलेको समाजशास्त्र भनेको पहिचानको समाजशास्त्र हो र अस्तित्वको समाजशास्त्र हो अनि यी दुवैसँग जोडिएर आएको विभेदनको समाजशास्त्र हो । अहिलेका कवितामा यस्तै प्रकृतिको समाजशास्त्रीय पठनीयता बढी देखिन्छ । यहाँ उद्धृत कवितांशमध्ये अशेष मल्लको कवितामा पहिचान र अस्तित्वको समाजशास्त्रीय अन्तर्विषयक पठनीयता छ र ‘नाम सोध्दा थाहा छैन भन्छे’ भन्ने वाक्यले यसलाई राम्ररी पुष्टि गरेको छ । आफ्नो पहिचान र अस्तित्व नभएको समेत थाहा नपाउने आदिम युगीन सामाजिक (?) जीवन बाँचेका ग्रामीण बस्तीका विपन्न महिलाहरुको स्थिति यस कवितांशमा व्यक्त भएको छ । कवितांशमा अभिव्यक्त समाज आजको नेपाली पहाडिया ग्रामीण समाज हो र त्यहाँका नारीहरुले पढ्ने समाजशास्त्र जङ्गल, चुलो, कुवा, गोठ, कसौँडी, गाग्री, घाँस, दाउरा आदि हुन् र त्यस समाजशास्त्रमा तिनको प्रतिबिम्ब पाइन्छ । यसरी यस कवितांशमा अस्तित्व र पहिचानको समाजशास्त्रीय पठनीयता देखिन्छ । बुद्धिसागर चपाईँको उद्धृत कवितांशको समाजशास्त्र केही फरक छ । उनको कवितांशमा नेपालका दुर्गम बस्तीका दुर्दान्त पीडा भोग्न विवश मानबहादुरहरुका आदिम बस्तीहरुको समाजशास्त्र कविताको अन्तर्विषय बनेर आएको छ । खच्चडका टापले डामेका बाटाहरु सुमसुम्याउँदै मानबहादुरसँगै नयाँ यात्रामा निस्केको आदिम बस्तीको सन्दर्भ देखाएर यहाँ कविले विभेदन समाजशास्त्रलाई कविताको विषय बनाएका छन् । बाबु त्रिपाठीको उद्धृत कवितांशमा पहिचान र अस्तित्वको समाजशास्त्रीय अन्तर्विषयक पठनीयता छ । यहाँ देशलाई सम्बोधन गरेर मेरो जात, धर्म, रगतको रङ्ग र देश कुन हो ? भनेर प्रश्न गरिएको छ । यी प्रश्नहरु पहिचान र अस्तित्वसँग सम्बद्ध छन् । कवितांशमा आएका पहिचानका यी प्रश्नहरुले पछिल्लो समयमा नेपाली समाजमा पहिचानको समाजशास्त्र सशक्त रुपमा आएको देखाएका छन् ।
सामाजिक संरचनामा देखिएका अनेकौँ विविधताहरुबाट नेपाली कविताले पनि अन्तर्वस्तु ग्रहण गरेको छ । पछिल्लो समयको नेपाली समाज व्यक्तिवादी हुन थालेको छ र वृद्धवृद्धाहरुप्रति विशेषत: सहरिया समाज र कतिपय ठाउँमा ग्रामीण समाज तथा परिवार अनुदार एवम् संवेदनहीन छन् । यसै कुरालाई विमला तुम्खेवाले आफ्नो कवितामा देखाएकी छन् । छोराछोरीहरुको स्याहार सुसार नपाएका एकजना वृद्धको मृत्युमा उनी मरेको ठिकै भयो । बाचुन्जेल पनि अपमान र सास्ती बेहोरेका थिए भन्ने अभिव्यक्तिले वर्तमान नेपाली समाजको स्थितिलाई देखाउँछ । समाजका यी व्यथा र कथाहरुको प्रतिबिम्बन पनि आजका नेपाली कविताका विषय हुन् । रावतको उद्धृत कवितांशमा पहिचान र सीमान्तीय समाजशास्त्र अत्यन्त तीव्र भएर आएको छ । खास गरेर लोकतान्त्रिक गणतन्त्रको प्राप्तिपश्चात् पहिचान र केन्द्रभञ्जनका मुद्दाहरु उठेका छन् । सीमान्तीकृतका आवाजहरु बुलन्द भएका छन् र आत्मपहिचानको खोजी मूल मुद्दा बनेका स्थितिहरु छन् । ‘म’ समाख्याताले भट्टीमा जाँड खाएर अचेतनका तहमा पुगेर चिच्याई चिच्याई हामी पनि मालिक मालिक्नी हौँ र हाम्रो पनि आफ्नो राजधानी छ भन्नु पहिचान र अस्तित्वको खोजी हो । समाजमा जब पहिचानमा विभेद हुन्छ, स्वत्वमा विभेद हुन्छ र सीमान्तीकृतहरु सीमान्तमा मात्र बस्न विवश हुन्छन्, त्यति बेला समाजमा आफ्नो उपस्थितिका निमित्त र अस्तित्वको स्थापनाका निमित्त सीमान्तीकृत वर्ग विद्रोह गर्न थाल्छ । रावतको यस कवितांशमा समाजको यही विषय कविता भएर आएको छ । मोहन दुवालका कवितामा समाजशास्त्रीय अन्तर्विषयकता प्रतीकात्मक रुपमा आएको छ । हाम्रो समाजका धेरै मान्छेहरुमा दोषदृष्टि भएको र त्यस्तो दृष्टिले भित्री सौन्दर्य पर्गेल्न नसक्ने कुरा प्रस्तुत गरिएको छ । समाजमा व्याप्त विषमता, कुरुपता, नग्नता, असुन्दरता, अनेक विडम्बना र समाजमा रुढ बनेर रहेको दोषदृष्टिका कारण असल र खराब, सज्जन र दुर्जन, सत्चरित्र र असत्चरित्र, सुन्दर र असुन्दरका बिचको विभेद छुट्टिन नसक्नेभएकाले दोषदृष्टि र दृष्टिदोषबाट नेपाली जीवन र समाजलाई मुक्त गर्नुपर्ने आशय यस कविताले देखाएको छ । यसरी यस कवितामा प्रतीकात्मक, साङ्केतिक र अन्योक्तिमूलक किसिमले समाजशास्त्रीय अन्तर्विषयकता अभिव्यञ्जित भएको देखिन्छ ।
विषयान्त
कवितामा इतर विषयको अन्तर्घुलन वा प्रविष्टिबाट अन्तर्विषयकता सृजना हुन्छ । समकालीन नेपाली कवितामा अन्तर्विषयकताको व्याप्ति बढ्दो छ । त्यसो हुनाको मुख्य कारण के हो भने आज ज्ञानविज्ञानका अनेकौँ शाखाप्रशाखाहरु विकसित भएका छन् र तिनको प्रभाव साहित्यका विभिन्न विधामा परेजस्तै कवितामा पनि परेको छ । अझ कवितामा जति अन्तर्विषयकता अन्य विधामा पाइँदैन । आजका नेपाली कवितामा अन्तर्विषयकता बढी पाइन्छ र ती कविताका अन्तर्विषयक पठनीयताबाट बहुलतापरक अध्ययन पद्धतिको मार्ग प्रशस्त भएको छ । कविता पनि एउटा सङ्कथन हो । यस्तो सङ्कथनमा ज्ञानविज्ञानका अनन्त विषयहरुको अन्तर्घुलनले आजको कवितालाई समृद्ध तुल्याएको छ र बहुलताका कोणहरुबाट पठनीय र विश्लेषणीय बनाएको छ । यो बहुलतापरक विश्लेषण नै अन्तर्विषयक पठन हो । यसको सम्बन्ध कतिपय सन्दर्भमा अन्तर्पाठीयतासँग पनि रहेको हुन्छ । उत्तरआधुनिकताले बहुलताको मार्गलाई अवलम्बन गर्ने र बहुलतापरक अध्ययनमा जोड दिनेहुनाले अन्तर्विषयक पठन पनि उत्तरआधुनिकतावादी बहुलवादी अवधारणा र सिद्धान्त हो । आजका नेपाली कवितामा पाइने उपर्युक्त अन्तर्विषयक पठनीयता सामान्य नमुना हुन् । यिनका अतिरिक्त अन्य धेरै विषयहरु पनि आजका कवितामा आएका छन् । उपर्युक्त र अन्य यस्तै अन्तर्विषयक पठनीयताबाट समकालीन नेपाली कवितालाई हेर्न सकिने साहित्येतर विषयको आयाम फराकिलो भएको छ । समकालीन नेपाली कविताको अन्तर्विषयक बहुलवादी पठनीयताको व्यापक र विस्तृत अध्ययन अपेक्षित छ । समकालीन नेपाली कवितामा आएको वा देखिएको अन्तर्विषयकता सार्थक रुपमा प्रयोग भएमा त्यसले कविताको शक्तिमा वृद्धि गर्छ भने यसको निरर्थक प्रयोग वा प्रयोगका लागि प्रयोग भएर अन्तर्विषयकतालाई प्रयासजनित रुपमा ल्याउन खोज्दा कविताको शक्ति र सामथ्र्य धनात्मक भन्दा बढी ऋणात्मक हुन्छ र कविता दुर्बल हुन्छ । अत: अन्तर्विषयकता कविताको शक्ति र सामथ्र्यका निमित्त अपकारक होइन, उपकारक हुनुपर्छ र यसले कविताको अन्तर्वस्तुगत वा भावगत (कथ्यगत) सौन्दर्य र रुपगत सौन्दर्यको वृद्धिका निमित्त सहयोग गर्नुपर्छ ।