ऊ त खुसीको खबर सुनाएर गइहाली । खुसीले उसको आँखाबाट निद्रा यसरी उड्यो कि रातभरि ओल्टे कोल्टे फेर्दै कटाई । यो औसत खुसीजस्तो खुसी थिएन । त्यो भन्दा पनि बेसी थियो । तर कस्तो ? जसलाई ऊ न कसैसँग बाँड्न सक्थी न त कसैलाई भन्न नै सक्थी । यो खुसीको सपना ऊ बचपनदेखि नै देख्दै आएकी थिई । निद्राको प्रतीक्षा गर्दागर्दै ऊ हारेर ओछ्यानबाट उठी । चिया बनाई । जब ऊ चियाको कप लिएर गार्डेनको कुर्सीमा पुगी, देखी आज नजारा अर्कै छ । आज एउटा ताजगी भरिएको झिसमिसे बिहान । बिहानको कुहिरो पातली सकेको थियो । एक शृङ्खलामा उभिएका वृक्षहरूले आफ्ना हरिया दुपट्टाहरू फिँजाएका थिए । घाम पनि निक्कै उज्यालो भएर लागेको थियो । चराहरू एउटा हाँगाबाट अर्को हाँगामा नाचिरहेका थिए । फूल पनि उसलाई हेरेर मुस्कुराइ रहेका थिए । मानौँ उसलाई बधाई दिरहेका थिए । भनिरहेका थिए के राम्रो कुरा सुन्यौ, धेरै खुसी छ्यौ । आजको बिहानी अरू दिनको भन्दा अलग थियो…तर अहँ बिहानी कसरी बेग्लै हुन सक्छ । बिहानको स्वभाव त एउटै हो । बदलिएकी त म छु, मलाई नै सबै बदलिए बदलिए जस्तो लागिरहेछ ।
उसले आफ्नो चारैतिर हेरी । किताबबाट पत्र फेरि निकालेर पढ्न थाली । राति पढेकी त थिई निक्कै पटक, तर मधुरो प्रकाशमा धमिलो नै देखियो । अब दिउँसोको उज्यालोमा पत्र पढेर उसले चिसो सास फेरी । यत्ति खुसी थी कि खुसी सम्हाल्न सकिरहेकी थिइन । मानौँ कुबेरको खजाना मिलेको छ । अहिले पनि उसलाई सबै थोक अविश्वसनीय लागिरहेको छ । के यो पत्र साँच्चै उसकै नामको थियो । एउटा कुराले खुसी थिई कि छोरो आयुष एक साताका लागि टुर मा गएको छ । ऊ त आमाको रग रगसँग परिचित थियो । झट्ट बुझ्ने थियो अनि भन्ने थियो कि आमा किन खुसी भइरहेकी छ्यौ, मलाई पनि त भन न के कुरा छ ? र हाँसी ।
मम्मी ! चिया, बुहारी भावनाले उसको सोचलाई बिराम लगायो । र, कुर्सी लगाएर उसको साथ बसी । सासू बुहारी दुवैको राम्रो सम्बन्ध थियो । भावनाले सुझाउ दिँदै भनी, “मम्मीजी बच्चाहरू त स्कुल जान्छन्, आयुष पनि यात्रामा गएको छ । किन हामी यो समयको आआफ्नो हिसाबले सदुपयोग न गर्ने । घरको कामको छुट्टी । कस्तो रहला ?” मैले केही पनि बुझिन, छोरी । कावेरीले विस्मयका साथ भनिन् ।
“मेरो अलिकति लेखनको काम गर्नु छ जुन आयुषको अगाडि गर्न सक्तिन । जुन उसलाई मन पर्दैन छैन । तिमी पनि त्यही गर जे मन लाग्छ । आन्टी रेश्मासँग सिनेमा जाऊ, बाहिर खाना खाऊ, रमाइलो गर । टिकट अनलाइन बुक गर, न भए म बुक गरिदिन्छु,” भावनाले अर्थपूर्ण मुस्कानले भनिन् । भावनाले दुवैको सिनेमाको टिकट बुक गरी दिइन् ।
कावेरी असमञ्जसमा थिई । भावनाको कुराले उसलाई उल्झाइदिएको थियो । कावेरीले रेश्मासँग कुरा गरी । दुवै यो निष्कर्षमा पुगे कि सायद भावनालाई शङ्का भएको छ कि हामीबिच केही खिचडी पाकिरहेको छ । यो कुराको दुई तीन दिन बितिसक्यो । बच्चाहरू आफ्ना साथीहरूसँग बाहिर गएका थिए, ढिलो गरेर आउने वाला थिए । कावेरीको अनुहारमा एउटा जिज्ञासा हलचल गर्न थाल्यो । जे भइरहेको थियो उसको बुझाइदेखि परको कुरा थियो । तीन दिनदेखि उसको मस्तिष्क घडीको सुई जस्तै घुमिरहेको थियो कि आयुषलाई कसरी भन्ने हो । ऊ उझनमा आफ्नै कोठामा चक्रजस्तै घुमिरहेकी थिई । अब भावना त्यसै बस्तै रहन नसक्ने भई । उसले कावेरीको ढोका खट् खटाई, उत्तरको प्रतीक्षा गर्दै ऊभित्र कावेरीको छेउमै बसी । केही पल दुवैमा मौनता छायो । केही क्षणपछि भावनाले मौनता तोड्दै कावेरीको हात समातेर मायाले भनी, “मम्मी, म देखिरहेकी छु कि तपाईंं केही परेसान हुनुहुन्छ । आफ्नी छोरीलाई मनको कुरो भन्नु हुन्न कि क्या हो ? भावनाले मायाले कावेरीको काँधमा हात राखी । उनको कपाल सुमसुम्याउँदै भनी, “प्लिज मम्मी, भन्नु न त्यो यस्तो के हो जसले तपाईंंलाई भित्रभित्रै खाइरहेको छ । के समस्या छ प्लिज ?” मायालु शब्द सुनेर कावेरीका पलकमा छाउको बादल बर्सिन लागे । सुँक्कसुँक्क गर्दै भनिन्, “छोरी खुसी छु कि कोही त छ जो मेरो विवशतालाई सम्झन्छ । कहानी धेरै लामो छ…केटाकेटीमै जबदेखि लेख्न पढ्नमा रुचि भयो । साना साना बच्चाहरूको कविता, कथा लेख्न थालेँ । स्कुलमा धेरै प्रोत्साहन पाएँ । मैले स्कुलको प्रतियोगिता र अनुष्ठानहरूमा भाग लिन सुरु गरँँ । पुरस्कार पनि पाएँ । तर, घरमा कोही सुन्न तैयार थिएनन् । पिताजी भन्नुहुन्थ्यो यो सब केही काममा आउँदैन, पढाइमा ध्यान लगाऊ, उहाँको कुरा सुनेर चुप रहन्थेँ । आमाले पनि धेरै सम्झाउने कोसिस गर्नुभयो, तर बाबामा कुनै प्रभाव परेन । कुरो त्यसै तल पर्यो । त्यस बेला सधैँ साथीहरूको ताँती लागिरहन्थ्यो । अधिक ध्यान पनि गएन ।”
विश्वविद्यालय पुग्दै मनमा फेरि भाव आउन लागे । जबसम्म कागजमा ओकली दिन्न थेँ, तबसम्म ज्वाला शान्त हुँदैनथ्यो । तैपनि लुकीछिपी लेखिहाल्थेँ । विश्वविद्यालयमा एक लेखन प्रतियोगिता थियो । जसको पहिलो पुरस्कार एक हजार रुपैयाँ थियो । त्यस बेला एक हजार रुपैयाँ धेरै ठुलो राशि थियो । त्यसमा भाग लिने मेरो धेरै मन थियो । पिताजीलाई सोध्ने मेरो आँट थिएन । आमा मेरी प्यारी आमा तपाईंं नै भन्नु म के गरूँ, तपाईंं पिताजीलाई भन्नुहोस् । वहाँलाई भन्नु कि कसरी मनमा मेरो लेखनप्रति उहाँको इच्छा जाग्छ । कतिपल्ट त यस्तो लाग्दथ्यो, मानौँ मनमा तेज प्रवाहले बगिरहेको शब्दको नदी बाँध भत्काएर बग्नेछ । जसलाई रोक्नु सजिलो हुनेछैन । अचम्मको ज्वारभाटा उठ्छ अनि मनमा बलेको आगो निभाउन धेरै व्याकुल हुने गर्दछु । अनि त्यो आगो खालि लेखनबाट मात्रै शान्त हुने गर्दछ । त्यो दिन पिताजी केही राम्रो मुडमा हुनुहुन्थ्यो । हामी दुवै हौसला बाँधेर पिताजीसँग गयौँ, आमा अघिअघि म पछिपछि । आमाले बाबालाई सब भन्नुभयो र सम्माउनुभयो । पिताजीले आमासँग भन्नुभयो, “ध्यानले सुन, जुन मैले पहिले पनि भनिसकेकी छु । आज पनि त्यही उत्तर हो,” फेरि मायालु स्वरमा भन्नुभयो, “छोरी ! तिम्रो भाग्य सिपीमा बसेको मोतीजस्तै हो । यो पनि जान्दछु कि तिम्रो सपना, विचार, इच्छाहरू सबै स्वच्छन्द छन् । तिमीले यिनलाई लुकाउनुपर्छ सिपीमा बढ्दै गरेको मोतीजस्तै । यो न भूल कि तिमीले विवाहपछि कसैको गलाको हार बन्नु छ । कसैको घरको शोभा बन्नु छ । यो नै जीवनको नग्न सत्य हो । लेखनमा बरबाद गरेको समय कुनै काममा आउने वाला छैन । पढ्नमा मन लगाऊ । एकपल्ट हुँदैन भनेपछि हुँदैन । पिताजीको यस्तो तर्कको अगाडि भन्नलाई अरू के नै बचेको थियो र । वहाँलाई मेरो पीडाको अनुभव त कहिल्यै भएन । अँ विश्वविद्यालयको पत्रिकामा मेरा कविता, कथाहरू छापिन थाले । पिताजीलाई कहिल्यै थाहै भएन ।
इन्जिनियरिङ डिग्रीपछि आमाको हठले गर्दा केही दिन काम गरेँ, जुन पिताजी चाहनु हुँदैनथ्यो । उहाँले केटो खोजेर विवाह गरिदिनुभयो र म सम्बन्धको गाँठोमा बाँधिएर लन्डन आएँ । खुसी थिएँ कि मेरी बाल सखा रेश्मा पनि लन्डनमै थिई । पतिको आनीबानी जान्न समय लाग्यो । बिस्तारै बिस्तारै जान्न थालेकी थिएँ कि मुसा मार्ने फानमा फस्दै गएकी छु । आफ्नो इच्छाहरूलाई त्यागेर विरोधी भावहरूको घाम छायामा कर्तव्य निभाउँदै गएँ । दिनहरू कष्टसाथ व्यतीत हुन थाले । म जान्दथेँ कि घरको असङ्गत स्थितिमा सङ्गत कुराहरू कसरी हुन सक्थे ।
एक दिन आयुषका पिता राम्रो मुडमा थिए । मैले हिम्मत जुटाएर भनेँ, “आयुषका पिता सोच्दछु छोराछोरीहरू ठुला भए । दुवै स्कुल जान्छन्, तपार्ईंं अफिस । खाली बसिरहन्छु । मेरो मनमा उथलपुथल मच्चिरहन्छ । प्रसव पीडाजस्तै छटपटिन्छु, केही लेख्नका लागि, केही नयाँ सृजन गर्नका लागि । कृपया आज्ञा दिनुहोस् कि म आफ्ना उम्लिएका भावहरूलाई नयाँ जीवन दिन सकूँ । जबसम्म ती मनमा उठेका भावहरूलाई कागजमा उतार्दिन तबसम्म मानसिक पीडाबाट मुक्त हुन्न ।”
उनले शब्दको खुकुरीले काट्दै मलाई भने, “ठिक छ सोच मेरी सजनी, यो तिमीमाथि भारी पर्न सक्छ । मान्छे तिमीमाथि पुरुषहरूलाई तृष्णाले हेर्ने आरोप पनि लगाउन सक्छन् । यस्तो प्रश्न पनि उठाएन सक्छन् कि यो लेखनको कीरो, यो बीज कहाँबाट आयो । यो तिमीमाथि जुन स्वप्न, उमङ्ग, उत्साह, तरङ्ग र खुसीको उछालको भूत सवार छ नि मलाई यो कदापि मन पर्दैन । म तिमीलाई यो प्रदर्शित गर्ने आज्ञा दिन सक्दिनँ । जानी बुझीकन बदनामीमा पर्न चाहन्नँ । आफ्नो समाजको हिसाबले बाँच्न सिक ।”
पतिको कुरा सुनेर मेरो शरीर सुकेको पत्ताजस्तै हावामा उड्न लाग्यो । शरीरको भार हलुङ्गो हुन थालो । म भित्रसम्म सुकेँ । मलाई आफ्नो प्रश्नको उत्तर मिलिसकेको थियो । म हारिरहेकी थिएँ कि जिती रहेकी थिएँ । मलाई आफ्ना शब्द निरर्थक लाग्न थाले । समानतामा विश्वास राख्ने व्यक्तिबाट न्यायको आधारमा केही माग्दा लडाइँ हुने गर्दथ्यो । मेरो आत्मविश्वास डगमगाउन थाल्यो । त्यस दिनदेखि मैले आफ्ना महत्त्वाकाङ्क्षाको घाँटी रेटिदिएँ, आफ्ना सबै योजना रद्द गरिदिएँ । आफू पढेलेखेको भएको व्यर्थ लाग्न थाल्यो । म पत्नी होइन, सामाजिक प्रतिष्ठाको शोके समा राखिएकी पत्नीको ढाँचा मात्रै भएर बसेँ । अचानक मलाई आमाको कुरो सम्झना आयो, बचपनमा आमा भन्ने गर्नु हुन्थ्यो कि छोरी डटेर बस्नु, जो थाक्छन् ती रोकिन्छन् । जो हिँडिरहन्छन्, ती गन्तव्यमा पुग्छन् । रेश्मा आन्टीले सधैँ मेरो साथ दिइन् ।
“मम्मी तपाईंं चिन्ता नगर्नुहोस्, मिलेर हेरौँला आयुषले कसरी रोक्ला ?” भावनाले बडो आत्मीयताले भनिन् । भावना छोरी ! मैले आयुषलाई सोधिसकेकी छु । चार वर्ष पहिले मैले आयुषलाई भनेँ, “ छोरा म तँलाई केही भन्न चाहन्छु, जीवनको यस घडीमा मसँग धेरै समय छैन । म तिमीलाई मेरो घाइते मनको अन्तिम इच्छा भन्न चाहन्छु । मेरो चिन्ताको घडा छचल्किरहेको छ । लाग्दछ, म एक भाव ग्रन्थ लेखूँ । बाल्यकालदेखि मनमा जे मनमा छ त्यो गरिहालूँ ।” केही क्षण ऊ मौन रह्यो । चिन्तितजस्तै हुँदै भन्यो, “आमा तपाईंंले कहिल्यै सोच्नुभएको छ, तपाईंंको यो अस्थिर औँलाले थाहा छैन के के निकाल्ने हो ? जगबाट । तपाईंंका कमजोर र काम्ने हातले कलम कसरी समात्छ ? कसरी रच्नुहुन्छ ग्रन्थ ? सोच्नुभएको छ कहिल्यै ? तपाईंंको स्मरण शक्ति पनि त हराउन थालेको छ । बूढी हुनुभएको छ । आमा म हात जोडेर विनम्रतापूर्वक निवेदन गर्दछु । जगमा आफ्नो र मेरो उपहास हुन न नदिनुहोस् । न बाँड्नुहोस्, आफ्नो ममता र आमाको अनुभव ।” छोराको मुखबाट यो सब सुनेर समय त्यहीँ नै रोकियो, आँखा रसाएर आए । मलाई लाग्यो म त केवल चाबीको खेलौना भएर रहेकी छु । म उड्न चाहन्थेँ, बस एकपल्ट हेर्न चाहन्थेँ कि मेरो पङ्खामा कति शक्ति छ । आयुषको कुराले मलाई पछ्याइरह्यो । मेरा लागि चुनौती बन्यो । मेरो मस्तिष्कमा भाव विचार आफै उम्लन थाल्यो । मैले तिनलाई कागजमा उतार्न आरम्भ गरेँ । यसमा रेश्मा आन्टीको पछाडिबाट सहयोग रह्यो । उनी मेरो दाहिने हात भएर उभिइन् ।
कावेरीको कुरा सुनेर भावनाको आँखामा आँसु छचल्किएर आयो, उसले कावेरीलाई अँगालो हालेर भनी, “मम्मी ! मैले कहिल्यै भनिन । म जान्दथेँ रेश्मा आन्टी तपाईंंका लागि पत्रिकाहरू किन ल्याउँथिन् । कम्प्युटरमा त तपाई दक्ष हुनुहुन्छ नै । मम्मीजी सबै कुरा बुझ्नलाई शब्दको सहारा त जरुरी हुँदैन । मेरी प्यारी मम्मी जी, म सधैँ तपाईँको साथ उभिइरहनेछु । मलाई तपाईंं माथि धेरै गौरव छ ।
बुहारीबाट यत्रो आफ्नोपन पाएर कावेरी अभिभूत भइन् र भनिन्, “ अँ छोरी म आज स्वीकार गर्दछु मैले लेखन कहिल्यै छोडेकी थिइन । जे पनि लेखेँ लुकाएर, पिता, पति र फेरि छोराबाट । यिनीहरूले नै मलाई विवश गराए लुकाएर लेख्न । त्यो पनि कसैको ठेगानामा र एक बनावटी नाम रेश्मामा । उनले त्यो पत्र निकालेर भावनालाई थमाइदिइन् । पत्र पढेर भावनाले खुसीले कावेरीलाई अंकमाल गरिन् र भनिन, “वाह ! आमा, यत्ति ठूलो कुरो कसरी लुकाएर राख्न सक्नुभयो तपाईँले ?”
“हैन भावना, रेश्मा आन्टीलाई थाहा छ । आउँदो सप्ताह सम्मान समारोह छ । म र रेश्मा आन्टी तिमीहरू सबैलाई अचम्ममा पार्न चाहन्थ्यौँ । तर कसरी यसको योजना बनाउने ? भोलि रेश्मा आन्टीलाई बोलाउँछु, मिलेर योजना बनाउँछौँ ।” भावनाले उत्साहका साथ भनिन् । त्यो दिन पनि आयो । हलमा आआफ्नो कुर्सीमा सबै बसे । आयुषको दृष्टि ध्वजमा । त्यसमा लेखिएको थियो, ‘पद्म भूषण सम्मान समारोह,’ ऊ चकित थियो कि रेश्मा आन्टीजीलाई यो सम्मान प्राप्त हुँदै छ, पाँच लाख रुपैयाँको । सभाको सबै औपचारिकता पछि कार्यक्रम आरम्भ भयो । आआफ्नो नामले मान्छेहरू मञ्चमा आइरहे, आआफ्नो सम्मान लिएर गइरहे । सबैलाई रेश्मा आन्टीको सम्मानको प्रतीक्षा थियो ।
सञ्चालिका मञ्चमा आइन् र भनिन, … मञ्चमा आसीन वरिष्ठ साहित्यकार तथा सभामा बसेका अतिथिहरू सबैलाई अभिनन्दन गर्दछु ।
हाम्रो समाजमा स्त्री जातिलाई सदैव दोस्रो दर्जाको प्राणी मानिने गर्दछ । उनीहरूको जन्ममा आँसु बगाइन्छ । कयौँ नारी भ्रूणमा मारिए । भाइको दाँजोमा कम मानिएको छ । हामीले अनेकौँ बन्धन खडा गरिदिएका छौँ स्त्रीहरूसमक्ष । यी बन्धनहरू नाघेर जब उनीहरू केही गर्न चाहन्छन् तब समाज र घरवालाहरू उनीहरूको हौसला बढाउनुको सट्टा तगारो बनिदिन्छन् । तर आजकी नारी, रामको युग की सीता हैनन् । उनीहरू आफ्ना लागि खुला आकाश खोजेर निकाल्छन् । अब म मञ्चमा बोलाइरहेकी छु एक यस्तै महिलालाई जसले विपरीत दिशाहरूको मुहानलाई पनि मोडिदिइन् । र, ताजा हावाका झ्यालहरू खोलेर आफ्ना लागि खुला आकाश खोजेकी छन् । अब म पद्म भूषण सम्मानका लागि आदरणीय रेश्माजी लाई मञ्चमा बोलाउँदछु । हल तालीको गडगडाहटले गुन्जियो ।
मञ्चमा बसेका सबै वरिष्ठ साहित्यकार तथा सभामा बसेका सबैलाई मेरो प्रणाम । म तपाईंंहरू सबैलाई म यो बताउन चाहन्छु कि यो सम्मानको हकदार म होइन, मेरी प्रिय मित्र कावेरीजी हुन् । म त बस मध्यस्थ हुँ, यिनको र यिनको लेखनमा । यो पनि एउटा कहानी हो । रेश्मा कावेरीजीको लेखनको नाम हो । “भावना छोरी ! आफ्नी आमालाई मञ्चमा लिएर आऊ,” रेश्माजीले भनिन् । भावनाले उनलाई मञ्चमा लिएर गइन् । आयुष अक्क न बक्क र निस्तब्ध भयो, उसलाई विश्वासै लागिरहेको थिएन, खुसीले उसका आँखा भरिएर आए । गौरवले उसको अनुहारमा मुस्कान छरियो ।
कावेरीजीले सबैलाई अभिनन्दन गरिन् र भनिन्, “म तपाईंंहरू सबैको धेरै समय न लिईकन केवल दुई शब्द मात्रै भन्दछु जुन शब्दले मलाई आज यहाँसम्म लिएर आएको छ । बचपनमा जब म निराश हुन्थेँ तब मेरी आमा भन्नुहुन्थ्यो, ‘छोरी जे चाहन्छ्यौ, यसमा लागिरहनु, जो थाक्छन्, ती रोकिन्छन् । जो हिँडिरहन्छन् ती गन्तव्य पाएरै छोड्छन् ’ बस यही भन्दछु…। ”
लेखन दिलको दैलो र झ्यालहरू खोलेर उन्मुक्त हुन्छ । कहानीले कुरा गर्दछ चुपचाप । आत्माको सौन्दर्यको शब्द हो, काव्य । मानव हुनु भाग्य हो, कवि हुनु सौभाग्य हो । कावेरीजीको कानमा तालीको गडगडाहट गुन्जिरह्यो…।