पचासको दशक देखि कविता लेखनबाट नेपाली साहित्यमा प्रवेश गर्नु भएकी प्रभा बरालको विभिन्न पत्रपत्रिकामा समसामयिक विषयका लेख, कथा र निबन्ध प्रकाशित भइरहन्छन् । घुमफिर गर्न अति नै रुचि राख्ने उहाँको आत्महत्याको जङ्गलमा २०७२ नियात्रा, शब्दहरू अविराम यात्रामा २०५७ कविता सङ्ग्रह, तृष्णाको पहाड गजल सङ्ग्रह, असिनाको कथा बाल कविता सङ्ग्रह र आधा दर्जन भन्दा बढी सम्पादित कृति प्रकाशित छन् । २०७७ सालको मदन पुरस्कारको सूचीमा सूचीकृत फिलिङ्गो उपन्यास बरालको पछिल्लो कृति हो । प्राध्यापन पेसामा आबद्ध बराल विश्व साहित्य र नेपाली साहित्यका कृतिहरू खोजी खोजी पढ्ने पाठक मध्य एक पर्नुहन्छ । यस पटक जनमतले उहाँसंग पुस्तकको सेरोफेरोमा रहेर गरेको कुराकानी :
यतिखेर कुन पुस्तक पढ्दै हुनुहुन्छ ?
मेरो एकै चोटि तीन चार वटा पुस्तक पालैपालो गरी पढ्ने बानी छ । दौलतविक्रम विष्टको सगरमाथा परिसरका बारेमा लेखिएको उपन्यास ‘हिमाल र मान्छे’ पढिरहेकी छु । गीतान्जलीश्रीको ‘रेत समाधि’पनि पढिरहेकी छु ।
नेपाली, अङ्ग्रेजी र हिन्दी भाषाको मन पर्ने एक एक वटा पुस्तकको नाम लिनु पर्दा ?
उत्तर: एउटा एउटामा सङ्कुचन गर्न रमाइलो लाग्दैन त्यही पनि एउटा नाम लिनै पर्छ भने नेपालीमा ‘माधवी’ । हिन्दी र अङ्ग्रेजीमा जे जति पढेकी छु,बुझ्दै छु त्यहाँको समाज र साहित्य । अध्ययन फराकिलो पार्दै छु ।
तपाईँको लागि लेखपढको उपयुक्त समय कुन हो ?
म अनुकूल समय पाउने बित्तिकै जुनसुकै समयमा पनि लेखपढ गर्ने गर्छु । हामी महिलाहरुलाई अनेक भूमिकामा बाँधिनु पर्छ । फुर्सदको समय भेट्टाउननिकै मुस्किल हुन्छ ।
साहित्यका विविध विधा मध्ये तपाईँलाई अलि शक्तिशाली विधा तपाईलाई के लाग्छ ?
साहित्यका सबै विधा शक्तिशाली हुन्छन् । यो र त्यो भनेर कुनै विधाको अवमूल्यन गर्न चाहन्न । आख्यान विधामा धेरै पाठकको झुकाव हुने कुरा चाहिँ महसुस गरेकी छु । यसमा सबै मानिसको दुःखसुख अटाउने हुनाले यो बढी पाठक मैत्री हुने रहेछ किभन्ने ठान्दछु ।
सानोमा कस्ता पुस्तकहरू पढ्न पाउनुभयो ?
सानो हुँदा खासै धेरै पुस्तक पढ्ने मेसो मिलेन । घरमा बुबाले धार्मिक पुस्तकहरू पढेको थाहा छ । केही हिन्दी र नेपाली कमिक्सहरुका किताब दाजु दिदीले पढेको सम्झना छ । कक्षा ९ र १० मा पुगे पछि नेपाली विषयमा राखिएका साहित्यले मन खिच्यो, लेख्न थालेँ । मोह बढ्दै गयो । पोखरामा हुने साहित्यिक कार्यक्रमहरुमा सहभागिता जनाउँदै गएँ । युवामञ्च, विमोचन, गरिमा, मधुपर्क जस्ता पत्रिकाहरु खोजी खोजी पढ्न थालेँ । अग्रजहरुले युधीर थापा, प्रकाश कोविदका उपन्यास पढेको देख्थेँ । ती किताब अश्लील हुन्छन् पढ्नु हुँदै नभनेर हामीलाई रोक लगाउनु हुन्थ्यो । अनि पढिनँ पनि । यसरी नै बिस्तारै साहित्यतर्फ झुकाव बढ्दै गयो ।
कस्ता पुस्तकहरू पढ्न मन पथ्र्यो?
मलाई सानैदेखि कथा, कविता र जीवनीहरू पढ्न मन पर्थ्यो ।
तपाईकुनउमेर समूहमा बढी पढ्नुभयो ?
औपचारिक रूपमा कविता लेख्न थालेको २०५१ सालबाटहो । साहित्य गम्भीर भएर पढ्न थालेको २०५५ सालबाट नै हो । जति बेला म प्रमुख विषय नेपाली लिएर स्नातकतह पढ्थेँ । अत्यधिक पढ्न थालेको भने २०७२ साल यताबाट हो । जब सैनिक महाविद्यालयबाट पूर्णकालीन जागिरबाट उपदानमा निस्किएँ त्यसपछि समय व्यवस्थापन गर्न सजिलो भयो । अहिले त म हरेक दिन सय डेढसय पेज कम्तीमा पढ्छु । बेलुका नपढी निद्रा नलाग्ने लत नै लागेको छ । बाहिर निस्कदाँ झोलामा एउटा किताब कहिल्यै टुटदैन ।
धेरै पटक दोहोराएर पढेका पुस्तकहरू कुन कुन हुन?
धेरै पटक दोहोराएर पढेका पुस्तकहरुमा अग्रज स्रष्टाहरूकै हुन् । जस्तै: गुरुप्रसाद मैनालीको नासो, विजय मल्लको अनुराधा, प्रेमा शाहको पहेँलो गुलाफ, पारिजातका कृतिहरू,वानिरा गिरीका कृतिहरू,पर्ल एस बकको द गुड्स अर्थ, भैरव अर्याल र लक्ष्मीप्रसाद देवकोटाका निबन्धहरू, बौद्ध दर्शनहरु थुप्रै छन् ।
दोहोराएर पढ्नुका कारण खासमा के थियो ?
प्रथमत:ती पुस्तकहरूले मनमा पारेको प्रभाव नै हो । त्यस बाहेक पुस्तकको शैली, शिल्प, पात्र र परिवेशले पनि तानेर ।
पुस्तक पढिरहदाँ त्यसका पात्र, लेखक र परिवेशले कत्तिको पछ्याउँछ ?
उत्तर: पुस्तक पढिरहँदा पात्रले भोगेको जीवन आफ्नै जस्तै अनुभूत हुन्छ । उसले बाँचेको जीवनमा चुर्लुम्म डुब्न पुग्छु । पात्र सँगसँगै कति बेला रोइन्छ, कति बेला हाँसिन्छ । थाहै हुन्न । शायद पाठकले यही आफ्नोपन प्राप्त गर्ने भएकोले ऊ पढ्नमा रुचि राख्ने होला । पठनमा यस्तो अनुभूत गर्न सकिए नभने शायद उक्त लेखन फितलो होला भन्न सकिन्छ ।
तपाईँको विचारमा पढ्नु केका लागि हो ?
मेरा विचारमा पढ्नु भनेको नयाँ नयाँ ज्ञान प्राप्त गर्नका लागि हो । संसारका सबै ठाउँमा हामी पुग्न सक्दैनौँ । पठनबाट नै त्यहाँको संस्कृति र जनजीवन बारे थाहा पाउन सक्छौँ । पढ्ने मानिस संसारमा कहिल्यै एक्लो हुँदैन । बुढेसकालमा पनि पठन सीप हासिल गरेको मानिस कहिल्यै एक्लो हुँदैन । यो राम्रो औषधी हो भन्ने लाग्छ मलाई । हरेक मानिस एउटा न एउटा बानीबाट मुक्त हुँदैन । पढ्ने बानी हुनु संसारकै उत्कृष्ट बानी हुनु हो भन्ने मलाई लाग्छ ।
कस्ता पुस्तकले जीवनमा बढी सघाए ?
दुःख सुख जीवनको घाम छाया हो । दुःख परेका बेला दु:खलाई भुल्नका लागि किताब साथी बने । विशेष गरी सत्यताको नजिक रहेर लेखेका जीवनीहरुले मलाई प्रेरणा दिए ।
तपाईसँग कति जति पुस्तकको संकलन होला?
म सँग दुईहजार जति पुस्तकहरू छन् । सानो पुस्तकालय घरमै बनाएकी छु । मेरो अधिकांश समय त्यही बित्ने गर्छ । मेरा लागि सबैभन्दा सन्तोषको ठाउँ यही हो ।
पढ्न चाहेर पनि पढ्न नपाएको पुस्तकहरू ?
विदेशी भाषामा लेखिएका प्राय: पुस्तकहरू विविध कारणले पढ्न चाहेर पनि छुटिरहेको हुन्छन् ।
पाठकलाई १० वटा पुस्तक पढ्नको लागि सिफारिस गर्न पर्दा ?
पठनयोग्य पुस्तकहरू यति धेरै छन् सङ्ख्यामा सीमित गर्नु बडो कष्टकर कार्य हो ।
मन परेका पाँचजना स्वदेशी र विदेशी लेखकहरूको नाम लिनुपर्दा ?
पारिजात, वानिरा गिरी, शारदा शर्मा, विश्वेश्वरप्रसाद कोइराला, दौलतविक्रम विष्ट, रवीन्द्रनाथ ठाकुर, लियो टल्स टाय आदि ।
अध्ययन र लेखाइबाहेकका रुचिहरू के के छन् ?
मलाई यात्रा गर्न अति नै मन पर्छ । यात्राले नै नयाँ ज्ञान निर्माण गर्न सघाउँछ भन्ने ठान्छु । गृहिणी पनि हुँ, नयाँ नयाँ परिकार बनाउन सिकेर परिवारलाई खुसी राख्न रुचि राख्छु ।
नयाँ पुस्तालाई नपढी नहुने पुस्तकको रुपमा कुन कुन पुस्तकहरू सिफारिस गर्नुहुन्छ ?
हरेक मानिसका रुचि र अध्ययनका विषयहरु फरक फरक हुन्छन् । यो कुरा स्वयम् पाठक वर्गले नै छनौट गर्दा उपयुक्त होला ।
तपाईँको पछिल्लो साहित्यिक योजनाहरू के के छन् ?
व्यस्त दैनिकीहरूले खास योजना बनाउन पाएकी छैन । भ्याए भने सगरमाथा आधार शिविर जाँदाको नियात्रा सङ्ग्रह बजारमा ल्याउन पाए हुन्थ्यो भन्ने सोच छ ।
स्रष्टा र सिर्जनाको सम्बन्धलाई तपाई कसरी हेर्नुहुन्छ ?
हरेक स्रष्टा द्रष्टा पनि हो । उसले लेखेको सिर्जनाले समाजमा प्रभाव पार्ने किसिमको हुनुपर्छ भन्ने लाग्छ ।
तपाईँको जीवनमा सानैदेखि कोही रोल मोडेल छ, जसले जीवन यात्रामा निरन्तर सकारात्मक प्रेरणा दिएको होस् ?
मेरो जीवनको रोल मोडेल कोही पनि छैन । म आफैँ आफ्नो जीवनको रोल मोडल हुँ । कसैलाई मन नदुखाऊ । आफ्नो कर्तव्यमा कहिल्यै नचुकूँ भन्ने प्रयत्न मेरो रहिरहन्छ ।