उद्देश्य खोतल्दै–खोतल्दै जाँदा
म उद्देश्यको समेत उद्देश्य पाउँदिनँ र
अर्थ सोध्दै–सोध्दै जाँदा
म अर्थको समेत अर्थ देख्दिनँ
अस्तित्व पहिल्याउँदै–पहिल्याउँदै जाँदा
म अस्तित्वको समेत अस्तित्व भेट्दिनँ
यो एक मुठी सास हो— जुन सत्य हो
योएक मुठी गाँस हो— जुन ध्रुव सत्य हो
जीवन
त्यही एक मुठी सास र एक मुठी गाँसका निमित्त
गरिने जालसाजी हो
जीवन आफूले आफैप्रति गरिने अन्याय हो।
समाज छ, राष्ट्र छ, संयुक्त राष्ट्र पनि छ
वर्ण छ, वर्ग छ, उचाइ र गहिराइ पनि छ
धर्म छ, पाप छ, अर्थ छ, अनर्थ छ
काम छ, निष्काम छ, सकाम छ, अतिकाम छ
तर मोक्ष खै कुन मिसिलमा परेर हराएछ ?
जागिर छ—
जुन वेश्याको सिउँदोको सिन्दूर हो
जुन स्वाभिमान बेचेर कमाएको तलब हो
नियमावली छ
जुन गीता हो, बाइबल हो, कुरान हो
हाकिम छ
जुन दैव हो
व्यवस्थापन छ
जुन लीला हो।
मान्छे छ, चुप छ
रेडियो बोल्छ, माइक बोल्छ वा बोल्छन् चराचुरुङ्गीहरू
अथवा झर्नाहरू वा टेम्पोवा जेटका आवाजहरू ।
साहित्य छ
त्यो आङका छारो हो
नलेखे लेख्नुपर्छ
लेखे लेख्न हुन्न ।
चित्र छ—
त्यो हाम्रो व्यङ्ग्यचित्र हो
विद्रुप छ—
त्यो हाम्रो जीवनवृत्त हो
जीवन आफूले आफैसँग गरिने अन्याय हो
जीवन आफूले आफैसँग गरिने जालसाजी हो