यस वर्ष वि.सं. २०८० को ‘दशरथ चन्द स्मृति पुरस्कार’ मलाई अर्पण गरिने घोषणाको पत्र केही दिन अगाडि नै प्राप्त भएको हो । चिठ्ठीमा लेखिएअनुसार उक्त पुरस्कारसहितको सम्मान यही माघ १६ गते शहीद दिवसको अवसर पारेर ‘हाम्रो सिर्जना’ साहित्यिक त्रैमासिक समूहले भरतपुर, चितवनमा भव्य समारोहका साथ प्रदान गरिने उल्लेख थियो । काठमाडौँ बाहिर समारोहमा पुग्नुपर्दा अक्सरतया: जीवनसाथी भारतीलाई साथमा लिई जाने गर्थेँ ।
तर यसपल्ट पूर्वाधार विकास तथा योजना विज्ञका रूपमा देशमा ख्याति कमाइ सकेका इन्जिनियर मित्र प्रा.डा.राजेन्द्रप्रसाद अधिकारीले साथै जाने र टुरिस्ट बसबाट गफ गर्दै जाने योजना बनाइएकोले खुसी भएर सँगै जाने योजना बनाइएको हो । साहित्यकार,पारिजात स्मृति केन्द्रका पूर्व अध्यक्ष तथा जनमतका विशेष संरक्षक पनि रहनुभएका मित्र राजेन्द्र अधिकारीले मलाई साथ दिने भनिएकोले म ज्यादै नै खुसी भएको थिएँ । त्यसैले मेरो यात्राको मित्र राजेन्द्रजीलाई बनाउने मेरो मनको निधो भयो । तीन दिन अगावै उहाँले बसको टिकट काटी सक्नुभएको र उक्त टिकट मेसेन्जर मार्फत प्राप्त भएको थियो ।
माघ १५ गते बिहान ६:३० बजे खुसीबुँ बाट बस जाने भनिएकोले ५:१५ बजे नै एउटा गाडीमार्फत काठमाडौँतर्फ हुईंकियौं । बसको भीडबाट हामी चढ्ने बस पत्ता लगाएर बसमाथि चढ्दै गर्दा राजेन्द्रजी पनि इन्जिनियर छोरासँग बसमाथि उक्लिनु भयो । छोरासँग परिचय गराउनु भयो — बाबुछोरा उस्तै–उस्तै आकार र विषयका रहेछन्; परिचय भएर खुसी लाग्यो । ७:०० बजेतिर मात्र बस गुड्यो । बालाजुतिरको बिसौनीमा भूँडीपुराण प्रकाशनका मुख्य सञ्चालक मित्र–भाइ केशव पराजुली १०० थान ‘स्वर्गको दरबार’ पुस्तक लिई आउनुभएको रहेछ, भेट भयो— पुस्तक बसमाथि चढाई दिनुभयो । भरतपुर जानुको सार्थकतालाई अझ महत्वको विषय बनाइदिनु भयो केशवजीले । उहाँले शहीद शुक्रराज शास्त्रीको ‘स्वर्गको दरबार’ हामीछेउ पुर्याई दिनुभयो ।
‘हाम्रो सिर्जना’ को प्रेस विज्ञप्तिमा लेखिएको रहेछ — “उहाँले शहीद शुक्रराज शास्त्रीको चिन्तन प्रधान कृति ‘स्वर्गको दरबार’ (१९८६) लाई जनमतको ११७ अङ्कदेखि १३७ अङ्कसम्म स–साना अंशमा पहिले प्रकाशित गरी त्यसलाई पुस्तकका रूप दिएर दोस्रो संस्करण २०६६ मा प्रकाशित गर्नुभएको हो । ‘स्वर्गको दरबार’ छापिएको ८० वर्षपछि मोहन दुवालले विस्मृतिमा जान लागेको यस महान् कृतिलाई बाहिर ल्याउनुभई शहीदप्रति उच्च सम्मानका साथ ऐतिहासिक कार्य सम्पन्न गर्नुभएको छ र हामीले शुक्रराज शास्त्रीलाई पढ्न पाएका छौँ । यस कार्यको लागि उहाँलाई मुरी मुरी धन्यवादसहित पुरस्कृत हुनुभएकोमा सिर्जना परिवार हार्दिक अर्पण गर्दछ ।” यसैलाई आधार मानेर हाम्रो यात्रा भरतपुरतिर हुन लागेको हो ।
यस खालको हार्दिकतालाई नमन गर्न र चितवनवासीको सौहार्दता पाउनका लागि राजेन्द्रजीसँग चितवनमा जाने मौका मिलेको हो । धेरै थोकको कुराकानी भयो । साहित्यको, साहित्यिक अभियानको, जनमतको साहित्यिक यात्राको र थुप्रै साहित्यिक प्रसङ्गहरूको सन्दर्भमा हामी दुईबिचमा हार्दिकतामा अझ गाढापन चुलिँदै गयो । हामी एक–अर्कामा चिन्न र छाम्न पाउँदा विभोर पनि भयौँ । ६ घण्टा जति बाटो काटेको यादै भएन । हामी भरतपुरको मालपोत चोकमा पुग्यौँ तर डी.आर.पोखरेलजी कता छ अत्तोपत्तो भएन । फोनबाट कता छ बुझ्दै गर्दा परबाट हात हल्लाएर देखा पर्नु भयो पोखरेलजी र बाबुराम पाण्डेज्यू । हामी ओर्लेको ठाउँको आसपासमा नै रहेछ हामी बस्ने होटेल त । मित्रहरूले ‘आहार’ होटेलको नाम नलिँदा हामी भेटिन एक छिन गार्हो भयो ।
‘आहार’ को चार तल्लामाथि हामीलाई राख्ने व्यवस्था मिलाइएको कोठामा आ–आफ्नो झोलाहरू बिसाइयो । तल होटेलमा रहँदा–रहँदै प्राध्यापक, साहित्यकार तथा जनमतका सहयोगी कपिल अज्ञात आइपुग्नु भयो । जनमतको पोका जिम्मा दिइयो । भलाकुसारी गर्यौँ । उहाँ कोठातिर लाग्नुभयो; बाबुरामजी पनि केही क्षण कतै जानुपर्ने भएर जानुभयो । हामी घुम्न निस्क्यौँ । देवघाट पुगेर खोलाको छेउछाउ घुम्यौँ । त्यसपछि हामी योगी नरहरिनाथको आश्रम भवनभित्र छिर्यौँ । आश्रमभित्र सबै थोकको व्यवस्थापन रहेछ । हस्पिटल, पुस्तकालय, गौशाला, धर्मशाला, पाठशालालगायत भक्तजन बस्ने आश्रमको पनि व्यवस्थापन रहेछ — सबैजसो ठाउँमा पुगेर हेर्न पायौँ । सञ्चालक समितिका मित्रहरूसँग परिचय भयो – स्मारिका प्रदान गर्नुभयो, फोटाहरू खिँच्यौँ । रमाइलो ढङ्गले सबै कुराको व्यवस्थापन गरेर योगी नरहरिनाथको धर्म र कीर्ति बचाउन लागिपरिरहेका मित्रहरूसँग आत्मीयता साटेर हामीहरू बाहिर निस्क्यौँ ।
त्यसपछि हामीहरू टेम्पूमार्फत् नारायणगढ पुग्यौँ । नारायणगढ, चितवनका प्रसिद्ध कवि तथा गीतकार प्रेम विनोद नन्दन बिरामी छन् भन्ने सुनिएकोले भेट्न हामी उहाँको निवासमा पुग्यौँ । डी.आर.जीले हामीलाई डोर्याएर लानुभयो उहाँको घरतर्फ । सोमबार सुनसान हुँदा रहेछन्– नारायणगढ बजार। प्रेमदाईको घरभित्र पनि सुनसानवोध भयो । ठुलो–ठुलो स्वर गरेर डाकेपछि बल्ल छोरा आउनुभई भेटघाट गरिने कोठा खोली दिनुभयो र प्रेम दाइ पनि हौसलापूर्ण मन र शरीर बोकेर फटाफट तलतिर ओर्लिनु भयो । ८४ वर्ष नाघिसक्नुभएका प्रेम दाइ फुर्तिलो ढङ्गले हामीसँग प्रेम साटासाट गर्न आउनुभयो । दमका पनि रोगी उहाँ तर पनि उहाँले स्फूर्तिमा मनमा भरेर ‘भारती र सिर्जना’ को हालखबर सोध्नुभयो । जनमत पाइरहेको कुरा सुनाउनु भयो । बुढेसकाल भोग्नुपर्दा गार्हो हुँदो रहेछ — त्यही गार्हो भोगिरहनुभएको देखिन्छ प्रेम दाइ पनि । आफै भित्र छिर्नुभएर पुस्तकहरू टकटक्याउनु भई दुई वटा पुस्तक हामीलाई ठम्याई दिनुभयो । मायालाई गाँठो पारेर हामीहरू सबैले उहाँसँग बसेर फोटाहरू खिँच्यौँ । नारायणगढको एउटा गौरवपूर्ण साहित्यिक नाम – आज दमबाट पीडित रहनुभएर पनि आफ्नो गौरवलाई थाम्न प्रयत्नशील रहनुभएको अनुहारलाई मनमा श्रद्धापूर्वक राखेर हामी बिदा भयौँ ।
डी.आर.जीको सिर्जना ज्यासलमा पुगेर चिया पिउने तय भयो । त्यहीँ सिर्जना ज्यासलमा हामी कुराकानी गर्दा–गर्दै साहित्यकार रह शर्मा आइपुग्नुभयो । शशि किरण रेग्मी शिक्षा तथा साहित्यमा आफूलाई समर्पित तुल्याउँदै आउनुभएका उहाँ रह शर्माको नामबाट साहित्यिक क्षेत्रमा देखा पर्दै आउनुभएका मित्र हुनुहुन्छ । फोटाहरू खिँच्ने चलन बढेको छ; यहाँ पनि फोटाहरू खिँच्यौँ । त्यहाँबाट हामी निस्केर कोठातर्फ लाग्यौँ । एउटै कोठामा रहँदा दुई जनालाई नै बाधा पर्ला जस्तो सम्झेर छुट्टाछुट्टै बस्ने राजेन्द्रजीको प्रस्ताव स्वीकार भयो । दुई जनाको बानी–ब्यहोरा अलग–अलग देखिंदाछन् । उहाँ अबेरसम्म ल्यापटपमा आफ्नो योजना, प्रस्तावनाहरू तयार गर्दै, पठाउँदै गर्नुपर्ने सुशील मान्छे । म चाँडै ९:०० बजेभित्रमा सुतिसक्नुपर्ने लठुवा मान्छे । उहाँ बिहान अलिक ढिला उठ्ने मान्छे, म करिब ४:०० बजे उठेर जाँगर चलाउने बूढो मान्छे । यस खालको बानी–ब्यहोराले गर्दा हामी दुई जना दुई खाले देखिँदा भयौँ र त छुट्टिएर बस्नु नै कल्याण सम्झ्यौँ । र हामी छुट्टियौँ र दुइटा कोठामा हामी विभाजित भयौँ ।
यसरी एक्लै रात काट्यौँ होटेल ‘आहार’ मा । बिहान अलिक ढिला उठ्ने रहेछन् होटेलका कामदारहरू पनि, तातो पानी पिउने चलनले गर्दा चियाको प्यास पनि त्यति नहुने भएकोले म एक्लै ७:३० बजेसम्म डटिरहन सकेँ । ११:०० बजे जिल्ला समन्वय समितिको सभाकक्षमा मेरो सम्मानको कार्यक्रम राखेको रहेछ । त्यहाँ ठिक समयमा पुग्नु थियो । ‘स्वर्गको दरबार’ १०० थान बोकी गएका थियौँ चितवनमा । ‘स्वर्गको दरबार’ ग्रन्थ प्रकाशन गरेबापत शहीदको सम्मान गर्ने व्यक्तिका रूपमा सम्मान गर्ने भएकोले चितवनका लागि १०० थान ‘स्वर्गको दरबार’ पुर्याउने हेतुले पुस्तक बोकी गएका थियौँ । कार्यक्रम स्थल अगाडि उक्त पुस्तक राखिएको र आज एक दिन छुटमा २००।– मा बेच्न दिने योजना थियो त्यही अनुसार भयो ।
कार्यक्रम अलिक ढिलो नेपाली परम्पराअनुसारको समयमा सुरु भयो । चितवनका प्रतिष्ठित साहित्यकारहरू र पत्रकारहरूको विशेष उपस्थिति रहेको देखियो । प्रा.डा.गणेशप्रसाद खनालको सभापतित्वमा भएको उक्त सम्मान कार्यक्रमको प्रमुख अतिथिका रूपमा जिल्ला समन्वय समिति, चितवनका सभापति नारायण अधिकारी रहनुभएको थियो । मञ्चमा प्रा.डा.राजेन्द्रप्रसाद अधिकारी, मा. विजय सुवेदी, केदारनाथ खनाल, गायत्री श्रेष्ठ, डी.आर. पोखरेलका साथै आदरयोग्य चितवनका अन्य मित्रहरूसहित रहन पायौँ । समालोचक प्राध्यापक कपिल अज्ञताज्यूले मलाई ‘सेवक शिरोमणि’ का रूपमा शीर्षक दिएर मेरो र जनमतको यात्राबारे विस्तृत रूपमा प्रकाश पार्नुभयो । मन्तव्यको क्रममा सबैजसोले ‘जनमत’ र ‘मोहन दुवाल’ बारे आ–आफ्नो भनाई राख्नुभएको उक्त कार्यक्रममा चितवनका जिल्ला समन्वय समितिका सभापति नारायणप्रसाद अधिकारीज्यूले अत्यन्त महत्वको ऐतिहासिक ग्रन्थ ‘चितवन दर्पण’ मायाको कोसेली स्वरुप प्रदान गर्नुभयो । हजारौँ पृष्ठको मोटो ग्रन्थमा चितवनको इतिहास, वर्तमानस्थितको सम्पूर्ण पक्षको परिचय र भोलिको परिकल्पना स्वरुप लेखिएको उक्त ग्रन्थले अरू जिल्लालाई पनि निर्देश दिई आ–आफ्नो जिल्लाको दर्पण तयार गर्नुपर्ने अनिवार्य आवश्यकता रहेको बताइरहेझैँ लाग्यो । वक्ताहरू सबैले सङ्क्षेपमा आ–आफ्नो शुभकामना मन्तव्य दिनुभएको उक्त कार्यक्रममा मैले शहीदप्रति सम्मान व्यक्त गर्दै शहीदबारेको मुक्तक वाचन गर्यौँ ।
जो अँध्यारो परिवेशमा उज्यालोको चाहना बोक्छ ऊ शहीद
जो आफू मेटेर पनि अरूलाई जीवन दिएर जान्छ ऊ शहीद
जो सधैँ–सधैँ केही खोजिरहन्छ केही पाउन र उज्यालो बाल्न –
कायरतामा होइन बलिदानमा जीवन खोजिरहन्छ ऊ शहीद ।
शहीदबारेको कविता र शहीदप्रतिको दृष्टिलगायत जनमतको यात्राबारे आफ्नो धारणा चितवनवासीहरूलाई राख्न पाउँदा खुसी लाग्यो । कार्यक्रम २:३० तिर नै सम्पन्न भयो ।
आज अर्को खुसी पनि मनमा फुल्यो । त्यो खुसीको फूल हो ‘कर्णवीर पौडेल । ४० वर्ष अगाडि २०३८–२०४० सालसम्म काभ्रेको शिक्षा क्षेत्रमा अझ काभ्रे बहुमुखी क्याम्पसमा र महेन्द्र मावि साँगामा नजिक रहेर सँगसँगै काम गरेर जीवनका क्षणहरू गुजार्न पाएका मित्र कर्णवीर हामी रहेको होटेलमा आइपुग्नु भयो । काभ्रे क्याम्पस र महेन्द्र माविको कुरा गर्दै पोखराको नाम लिएपछि ‘कर्णवीर सर’ हो भनी सोध्दा उहाँ तीन छक्क पर्नुभयो । परिचयपछि केही क्षण कोठामा भलाकुसारी गरियो । जनमतको आजीवन सदस्यता लिनुभयो र ‘स्वर्गको दरबार’ दुईप्रति किन्नुभयो । हामी दुवै जना निकै खुसी भयौँ । बेलुकी आफ्नो घरमा खाना खान हामी दुवै जनालाई डाक्नुभयो । हामी पुग्यौँ पनि । आत्मीयता घुलमिल भएको खाना मीठो मानेर खायौँ । छोरी र श्रीमतीसँग पनि परिचय आदानप्रदान भयो । कर्णवीरलाई पनि जनमतमा समेट्न पायौँ – र उहाँ खुसी भएजस्तै हामी पनि खुसी भयौँ ।
…भरतपुर, नारायणगढले अर्थात् चितवनले प्रदान गरेको ‘शहीद दशरथ चन्द स्मृति पुरस्कार’ ले ‘हाम्रो सिर्जना’ भएर प्रदान गरेको सम्मान बोकेर चितवनका सम्पूर्ण मित्रहरूसँग हात हल्लाएर र पछिसम्म छुटिँदा सँगै रहेका मित्रहरू राजेन्द्र अधिकारी, डी.आर. पोखरेल, बाबुराम पाण्डेसँग हात मिलाएर बाबाको डिलक्स बस चढेर घरतर्फ फक्र्यौं । धेरै गौरव लाग्यो शहीद दिवसको स्मरण गर्नुपर्ने दिनमा ‘शहीद दशरथ चन्द स्मृति पुरस्कार’ ले सम्मान हुन पायौँ । यही अवसरमा शुक्रराज शास्त्रीलाई स्मरण गर्दै उहाँद्वारा लिखित ‘स्वर्गको दरबार’, तेस्रो संस्करण चितवनमा सार्वजनिक गर्न पाउँदाको खुसी मनभरि राखेर चितवनबाट फर्कन पायौँ ।