म एक अविश्वास हुँ ।
जो अन्धताको अभ्यासमा
अनन्त सम्भाव्यताको घाँटी निमोठिरहेछ ।
म एक आत्महीनता हुँ ।
जो आफ्नै खालीपनलाई
पूर्णताको आकार दिन सक्दैन ।
म एक अभिशप्तता हुँ ।
जो अस्तित्वको खण्डहरमा उभिएर
आफ्नै विचारहरुको पुतला जलाईरहेछ ।
म एक असंपृक्तता हुँ ।
जो गाढा मसी र आलो रगतबीचमा
कुनै फरक खुट्याउन सकिरहेको छैन ।
म एक अनभिज्ञता हुँ ।
जो शब्दको मृत्युको प्रमाणपत्रमाथि
आवाजको कविता लेख्न खोजिरहेछ ।
म एक असामयिकता हुँ ।
जो आफूलाई चर्किएको भित्तोमा झुण्याएर
उल्टो आँखाले जमीनको परिधि नापिरहेछ ।
म एक असमर्थता हुँ ।
जो लडखडाइरहेका खुट्टाहरुसँग
लौरीको सन्तुलन मिलाउन सकिरहेको छैन ।
म एक अव्यवहारिकता हुँ ।
जो सबेरै रोइरहेको कलिलो घामलाई
स्वच्छ आकाश दिलाउन सकिरहेको छैन ।
म एक आपराधिकता हुँ ।
जो खरानीको तस्करी गर्ने ध्याउन्नमा
डढिसकेको आफ्नै चिता खोस्रिरहेछ ।
सबै शब्दहरुद्वारा बहिष्कृत भएपछि
च्यातिएको मलाई नखोज्नू तिम्रो शब्दकोषमा !
किनकि,
कुनै आकारमा छिमलिन नपाउँदै मारिएको –
म भ्रूण हुँ कुनै बदनाम कलमको असफलताको ।
म एक आत्महत्या हुँ ।