साहित्यकार समाजसेवी अमरकुमार नेम्बाङको स्मृतिमा स्थापित ‘अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठान’ले यस वर्षको साहित्य सम्मान कवि विमला तुम्खेवा र नियात्राकार गिरिराज बाँस्कोटालाई संयुक्तरूपमा प्रदान गरेको छ ।
शुक्रबार पाँचथर फिदिममा प्रतिष्ठानद्वारा आयोजित पाँचौँ स्मृति दिवसमा सर्जकहरूलाई सम्मानित गरिएको हो । सम्मानित सर्जकहरूलाई सम्मानपत्रका साथै नगदराशि जनही ५० हजार रुपैयाँ पनि प्रदान गरियो ।
कार्यक्रमका प्रमुख अतिथि फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्बेले पत्रकार तथा सर्जक तुम्खेवा र बाँस्कोटालाई सम्मानपत्र प्रदान गरे । कार्यक्रममा अमर नेम्वाङ लिम्बू स्मृति छात्रवृत्ति समेत वितरण गरियो ।
प्रतिष्ठानले ज्योति मावि आङसराङकी छात्रा प्रेमा लावतीलाई छात्रवृत्तिबापत नगदराशि १० हजार रुपैयाँ प्रदान गर्यो । त्यस्तै प्रतिष्ठानले पाँचथरका आगलागी र बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई राहत पनि वितरण गरेको जनाएको छ ।
यसअघि उक्त सम्मानबाट डा. देवी क्षेत्री दुलाल, मुनाराज सेर्मा, डा. गोविन्दराज भट्टराई, वीर नेम्वाङ, विना थिङ, शारदा सुब्बा, श्रवण मुकारुङ र प्रेम ओझा सम्मानित भइसकेका छन् ।