बिहानै बेड टी ल्याइन् सुनिता गुरुङले ।
तबसम्म हामीमध्ये कोही शौचालय जान भ्याएका थियौँ, कोही ओछ्यानमै थियौँ ।
हामी गोर्खाली सुधारसभा (गोर्खा वेलफेयर सेन्टर) देहरादूनको भवनमा बसेका थियौँ । गोर्खालीहरुको सुधार र उत्थानका लागि १७ अप्रिल १९३८ मा महाराजकुमार नरेश शम्सेर जबरा लगायत दश जना मिलेर यस संस्थाको स्थापना भएको रहेछ । गोर्खालीहरुको आर्थिक, सामाजिक, सांस्कृतिक उत्थानका लागि समर्पित भई लाग्ने यस संस्थाको उद्देश्य रहेछ । देश, धर्म र राष्ट्रियता कुनै पनि बदलिन सक्छ तर च्याँ गरेदेखि चिहानपुग्दासम्म कसैको जाति बदलिन सक्दैन तसर्थ गोर्खा जातिको हक हित र स्वाभिमानलाई ज्युँदो राख्न ‘सङ्घे शक्ति कलौ युगे’ बाट प्रेरित भएर यस संस्थाको स्थापना भएको हामीले बुझ्यौँ ।
यसै संस्था अन्तर्गत अखिल भारतीय गोर्खा पूर्व सैनिक उज्ज्वल कोष समिति स्थापना गरिएको रहेछ — सन् २००६ मा । यसले खास गरी शैक्षिक क्षेत्रको समुन्नतिमा आफ्नो ध्यान केन्द्रित गरेको रहेछ । गरिब परिवारका जेहेन्दार विद्यार्थीलाई ट्युशन पढाउने र उनीहरुलाई छात्रवृत्ति प्रदान गरी शैक्षिक स्तर उकास्ने काममा महत्वपूर्ण योगदान गर्नुका अतिरिक्त पूर्व सैनिक, बिधुवा सैनिकपत्नी र आश्रित बालबच्चालाई पनि उच्चशिक्षा एवं प्राविधिक शिक्षा उपलब्ध गराई रोजगारी दिलाउने काम पनि सो समितिबाट हुँदो रहेछ । संस्थाका जनरल सेक्रेटरी रहेछन् — अशोक मुखिया । उनीसँग भेटघाट भएको थियो हाम्रो हिजै बेलुका ।
गोर्खाली सुधार सभाले दैवी प्रकोप उद्धारका कामहरु पनि गर्दाे रहेछ । २५ अप्रिल २०१५ (२०७२ वैशाख १२) को महाभूकम्प पश्चात् सो सभाले अवकाश प्राप्त लेफ्टिनेन्ट जनरल राम प्रधानको सक्रियतामा नेपालका भूकम्प पीडितहरुलाई तीन चरणमा गरी एघार ट्रक खाद्यान्न तथा अन्य राहत सामग्रीहरु ढुवानी गरेर भूकम्पग्रस्त क्ष्ोत्रमा पुर्याई वितरण गरेको रहेछ । राहत ढुवानीकै क्रममा महेन्द्रनगरमा ट्रक दुर्घटना हुँदा कप्तान गोविन्द प्रधानको मृत्यु पनि भएको रहेछ । यस अतिरिक्त गोर्खा गुराँस सांस्कृतिक कलाकेन्द्रले पनि सांस्कृतिक कार्यक्रमको आयोजना गरेर रु. १ लाख उपलब्ध गराएको रहेछ । यसअघि सो सभाले कारगिल, गुजराँत, उत्तरकाशी र केदारनाथ लगायत विभिन्न ठाउँमा भएको दैवी प्रकोपमा पनि उद्धार गरेको रहेछ ।
त्यो समितिको कार्यालय थियो हामी बसेकै भवनको भुइँ तलामा र हामी बसेका थियौँ माथिल्लो तलामा । त्यस भवनको रेखदेखका लागि सुनिता गुरुङ खटिएकी रहिछन् । उनको परिवार त्यहीँ बस्दो रहेछ । अतिथि कक्षमा बस्ने पाहुनाहरुले सादा दालभात तरकारी र मासु खान चाहेमा सुनिताले आफैँ भान्सामा तयार गर्दिरहिछन् र उचित मूल्य भुक्तान गर्दिरहिछन् ।
साधारण भइकन स्वादिष्ट खाना खुवाएकी थिइन् हिजो बेलुका सुनिताले । त्यसै भएर आज बिहानको खान पनि त्यहीँ खाने अनुमति दिएका छौँ हामीहरुले । खाना खुवाउनुअघि केही नास्ता पनि खुवाउने छिन् सुनिताले हामीहरुलाई ।
आज अर्थात् २०७२ साल कार्तिक ९ गतेको औपचारिक कार्यक्रम देहरादूनमा छैन तसर्थ आज हामी भोजन पश्चात् दून प्रदेशका दर्शनीय स्थलहरुको अवलोकन गर्नेछौँ र आजको रात मसूरीमा बिताउने छौँ ।
आजभन्दा चालीस वर्षअगाडि पाँच पटक देहरादून पुग्दा मसूरी उक्लिन पाएको रहेनछु । समय जुटेन कि अर्थ पुगेन कुन्नि ! तलैबाट डाँडाको झिलिमिली हेरेँ र तलैबाट ऋषिकेश फर्कें । ३३ किलोमिटर बाटो उक्लिने आँट गरिनँ । हुनसक्छ, मैले मनमिल्दो साथी पाइनँ कि !
ठीक ११ बजे भूपेन्द्र अधिकारीले गाडी लिएर आउने छन्, तबसम्म हामी खाना खाइवरी तयार हुनेछौँ । एक रातको लागि आवश्यक सामानहरुको सानो झोला अलग्गै तयार गरी गाडीमै राख्नेछौँ र सहरको चक्कर लगाउँदै बेलुका मसूरी उक्लिने छौँ ।
राती बाघ करायो रे ! अचम्मको कुरा गर्नुभयो लेकालीले । त्यो पनि कोठाभित्रै । कसरी पत्याउने ? मैले सोचेँ, उहाँको सङ्केत दुर्घन्धतिर होला ! तर होइन रहेछ, उहाँको प्रक्षेपण घुराइप्रति रहेछ । मैलेचाहिँ सुनिनछु । उहाँको साङ्केतिक आरोप ममाथि पनि थियो — तपाईं पनि अलिअलि …. । सुनेर म झस्केको थिएँ । किनभने ममाथि यस्तो आरोप यसअघि कसैले लगाएको थिएन । मैले पहिले पत्याइनँ तर पत्याउन कर लाग्यो । किनकि म उहाँसगैको बेडमा सुतेको थिएँ । हुन सक्छ, कहिलेकाहीँ उत्तानो परेर सुतियो र श्वासप्रश्वासमा थोरैमात्र पनि बाधा पर्यो भने पनि आफूले थाहा नपाउने गरी आवाज निस्किँदो रहेछ । डा. सुमनले समेत भनेपछि मैले अविश्वास गर्ने कुरै भएन ।
हामी उत्साहित भएका थियौँ । किनकि हाम्रा वीर पूर्खाले आर्जेको तर अहिले गुमेको भूगोलको सिमा नालापानी किल्ला हेर्ने छौँ । हामी रोमाञ्चित भएका थियौँ, किनकि हिजो बेलुका मसूरी डाँडाको झिलिमिली हेरेजस्तै आज बेलुका मसूरीको कुनै होटल वा रेष्टुराँमा बसेर शरीरमा मनचिन्ते स्वाद भर्दै दून प्रदेशको झिलिमिली हेर्नेछौँ ।
आइपुग्नुभयो भूपेन्द्रजी । हामी उहाँकै प्रतीक्षामा थियौँ ।
‘कस्तो रह्यो रात्री विश्राम ? कुनै कठिनाई त भएन ?’
‘भएन ।’
‘अनि खानपिन ?’
‘राम्रो ।’
यी थिए औपचारिक अभिव्यक्तिहरु ।
अब ढिला नगरौँ, गर्यौँ भने हाम्रो निर्धातिर तालिका केरमेट हुन सक्छ ।
नौ/दश जना अट्न सक्ने गाडी लिएर आउनुभएको थियो भुपेन्द्रजीले । डोटीबाट विद्यार्थी बोकेर आएको गाडी रहेछ त्यो । त्यसैले घुमाउने रहेछ हामीलाई र छोड्ने रहेछ मसूरी लगेर । भूपेन्द्रसँगै आएकी थिइन् — ओभरसिएर पढ्न बसेकी डोटीकी छात्रा रोशनी खत्री पनि ।
भूपेन्द्र पुस्तौँदेखि देहरादून बसिरहेका मानिस ! उनले देहरादून र मसूरीमा पनि पढाउँदा रहेछन् । उनले नेपालबाट पनि विद्यार्थी झिकाउँदा रहेछन् र विद्यार्थीको विषय र क्षमता हेरी स्कुल/कलेज भर्ना गर्दा रहेछन् । उनलाई सहयोग गर्दा रहेछन् रामबाबुले । त्यहाँ पुगेपछि पो थाहा लाग्यो — रामबाबुको मुख्य विषय त त्यो पो रहेछ ।
हामी गाडी चढ्यौँ र हिँडिहाल्यौँ । गुच्चुपानी हुँदै हाम्रो यात्रा अगाडि बढ्यो । गोर्खा सेना बसेको छाउनी एरियामा गुच्चुपानी एउटा मनोरम पर्यटकीय स्थल रहेछ । त्यसै आसपासमा मुख्यमन्त्री कार्यालय पनि रहेछ । त्यसैको द्वार हुँदै गाडी अगाडि बढेको थियो । मेरा आँखा गेटनेरैको एउटा होर्डिङबोर्डमा परेका थिए । लेखिएको थियो —‘उत्तराखण्ड में सहिदों एवं नागरिकों को हार्दिक स्वागत करता हैं’— मुख्यमन्त्री उत्तराखण्ड ।
त्यो कसको पालामा लेखिएको थियो कुन्नि ! अहिलेका मुख्यमन्त्री थिए हरिश रावल । गाडी कतै नरोकिएर अगाडी बढेको थियो । मैले दृष्टिगोचर गर्दै थिएँ— देहरादूनमा त्यति अग्ला घरहरु बनेका रहेनछन् र त्यति स्वच्छ, सुन्दर र आकर्षक सहरमा रुपान्तरित हुन पनि सकेको रहेनछ देहरादून ।
गाडीले हामीलाई बलभद्र, खलङ्गा युद्ध स्मारक सन् १८१४ ई. नालापानी’ लेखिएको स्मारकको द्वारमा पुर्याएर ओरालिदियो ।
त्यहीँ नजिकै अर्काे एउटा बोर्ड थियो । त्यसमा लेखिएको थियो— प्रत्नकीर्ति मया वृणु, राष्ट्रिय संरक्षित सङ्ग्राहलय कालुंग्र (खलंगा) स्मारक, भारतीय पुरातत्व सर्भेक्षन, देहरादून मण्डल, अधिसूचना — १९२० ।
भित्रपट्टि पार्क थियो र एक छेउमा समान आकारका, समान आकृतिका दुईवटा स्तम्भ सँगसँगै ठडिएका थिए । सन् १८१४–१६ को नालापानी युद्धको बेला गोर्खा सैनिकको नेतृत्व गरिरहेका वीर बलभद्र कुँवरले अँग्रेज सेनापति जनरल जिलेस्पीको हत्या गरेपछि अँग्रेजहरुमा कोलाहल मच्चिएको थियो ।
करिब छ सय फौज (गोर्खाली सेना र कुमाउँ गडवालबाट भर्ना गरिएका)को नेतृत्व गरिरहेका बलभद्रले ३ हजार ५ सय (१ हजार अँग्रेज र २५०० भारतीय ब्रिटिस सेना)को नेतृत्व गरिरहेका जनरल जिलेस्पीलाई वीरगति प्रदान गर्नु सानो वीरताको सूचक थिएन । त्यसैमा पनि अंग्रेज सेनाको तोप–गोला, बम–बन्दुक जस्ता अत्याधुनिक शस्त्रास्त्रसँग गोर्खाली सेनाको खुकुरी, तरबार, गुलेली र ढुङ्गासँग के प्रतिस्पर्धा हुन सक्थ्यो ! यति हुँदाहुँदै पनि गोर्खाली सेनाले अतुलनीय सौर्य र पराक्रम प्रदर्शन गरे । यसको कदरस्वरुप अंग्रेजले जनरल जिलेस्पी र बलभद्र कुँवरको सम्झनामा सँगसँगै दुईवटा स्मारक खडा गर्यो । शत्रुसेनाको नाइकेलाई सम्मान गरी यसरी स्मारक बनाइएको घटना इतिहासमा बिरलै पाइन्छ । त्यो काम गरेर अंग्रेज सरकारले उदार भावनाको एउटा नमुना प्रस्तुत गरेको थियो । सायद अंग्रेज सरकार वीरभद्रको वीरताप्रति लडाइँ हुनुअगाडि नै परिचित थियो । त्यसै भएर अंग्रेज सरकारले बलभद्रलाई गडवालको गभर्नर बनाउने लोभ पनि देखाएको थियो । तर राष्ट्रप्रेमी बलभद्रले अंग्रेजको चाहना पूरा गरिदिएनन् ।
तर अहिले ती जोडीस्तम्भहरु संरक्षणविहीन अवस्थामा देखिँदै थिए । कतै उप्किएको, कतै भत्किएको रङ्गरोगन विहीन अवस्थामा ती स्तम्भहरु देखेर मैले भूपेन्द्रजीलाई प्रश्न गरेको थिएँ । उहाँको भनाइले मलाई आफ्नै देशको पुरातात्विक दुर्दशा सम्झन बाध्य बनाएको थियो । पुरातात्विक सम्पदाको संरक्षण गर्ने सवालमा हाम्रो जस्तै रहेछ भारतीय प्रक्रिया पनि । पुरातत्वले जिम्मा लिने हो कि गुठीले ? राज्य सरकारले जिम्मा लिने हो कि स्थानीय निकायले ? यस्तै अन्यौलै अन्यौलमा पुनरुद्धार हुन सकेको रहेनछ त्यो जोडी स्तम्भ । जोडीस्तम्भ सँगै एउटा शिलालेख यसरी सजिएको थियो —
यसपछिको पालो थियो— खलङ्गा नालापानी एङ्ग्लो गोर्खा वार मोनुमेन्ट (खलङ्गा युद्धस्मारक) हेर्ने ।
त्यहाँबाट करिब पाँच माइलको दूरीमा नालापानी गाउँको पहाडी जङ्गलमा खलङ्गा युद्धस्मारक अवस्थित छ भन्ने हामीले थाहा पाइसकेका थियौँ । तसर्थ हामी सहस्रधारा रोड हुँदै नालापानी गाउँमा पुग्यौँ र नालापानीद्वारबाट छिरेर जङ्गलतर्फ उकालो लाग्यौँ । बाटो सालैसालको जङ्गलबाट घुम्ती घुम्ती हुँदै उचाइमा पुग्यो र तेर्सियो । घनाजङ्गलको बीचमा दायाँ बायाँ भग्नावशेषको रुपमा केही पर्खालहरु पनि देखिन्थे । अनुमान लगाउन गाह्रो थिएन, युद्धका बेला कुनै कार्य प्रयोजनका लागि ती पर्खाल बनाइएका थिए । भग्नावशेष पर्खालको एउटा ठूलो गेटमा लेखिएको ॐ अक्षरले तात्विक अर्थ राख्थ्यो ।
हामी पुग्यौँ त्यो उच्च पहाडी भूभागमा, जहाँ युद्धस्मारक ठडिएको थियो र जुन स्मारक नेपाली र अँग्रेज सेनाबीच युद्ध भएको प्रतीकस्वरुप बनाइएको थियो । राम्रो रहेछ युद्धस्मारक । कलात्मक रहेछ युद्धस्मारक । स्मारकको आकृति प्रकृति देखेर वीर योद्धाप्रति असीम श्रद्धा प्रकट गरिएको हामीले महसुस गर्यौँ । तर मलाई भने सिमेन्ट र सेरामिक्स प्रयोग गरेर बनाइएको चिल्लो र अग्लो स्मारक देख्दा रुचिकर लागेन । युद्धकालीन अवस्थाको स्वरुप खोई ? अंग्रेजले बनाएको किल्ला गोर्खाली सेनाले ध्वस्त पारेको प्रत्यक्ष चित्र पो हामीले देख्न पाउनुपथ्र्याे । वीर गोर्खालीको निशानी पो हामीले देख्न पाउनुपथ्र्याे । तर ती भग्नावशेषहरु केही पनि थिएनन् । तथापि मैले ज्यानको प्रवाह नगरी राज्यविस्तारमा समर्पित ती वीर पुर्खालाई हृदयदेखि नै सम्झेर शिर निहुर्याएँ ।
नेपाली सेनाको नेतृत्व गर्दै गएको सेनापति वीर बलभद्र कुँवरले अंग्रेज सेनाका विख्यात जनरल जिलेस्पीलाई वीरगति दिलाएर नेपाली शिर उचो बनाएका थिए । नेपाली सेनाबाट आच्छु आच्छु भएका अँग्रेजहरुले जित्ने उपाय नदेखेर अन्त्यमा अमानवीय काम गरेका थिए, जुन युद्धको नियमभित्र पर्दैन । उनीहरुले नालापानी जाने पानीको मूल बन्द गरिदिएर नेपाली सेनालाई प्याक प्याक पारिदिए । घेरामा पारेर थुप्रै सेना, आइमाई र केटाकेटीको पनि ज्यान लिए ।
यति हुँदाहुँदै पनि बलभद्र कुँवरले हार स्वीकार गरेका थिएनन् । तर राज्यस्तरबाट नेपाल र अँग्रेजबीच सन्धी भएपछि युद्ध समाप्त भएको घोषणा गरियो । फलस्वरुप वि.सं. १८७१ कार्तिक १० देखि १८७१ मङ्सिर १६ सम्म अँग्रेज सेनाविरुद्ध नेपाली सेनाले वीरतापूर्वक लडेको युद्धले विश्राम लियो ।
सन् १८१४ देखि १८१६ को बीचमा नेपाली सेनाले नालापानी बाहेक जितगढ, देउथल, जैथक, मकवानपुर गढी र हरिहरपुर गढीमा पनि युद्ध गरेको थियो । ती स्थानहरुमा विभिन्न ओहोदका रथीहरु खटिएका थिए । तर ती युद्धहरु नालापानीको युद्धसमान थिएनन् । तर पनि देउथल युद्धका नायक भक्ति थापाले देखाएको वीरत्व कम प्रशंसायोग्य थिएन ।
वीर बलभद्र कुँवरको अन्त्यन्त सौर्य र प्रतिकूलता बीच पनि नालापानी दुर्ग (किल्ला)लाई अन्तिम समयसम्म अभेद्य राखेको विषयलाई नेपाली राष्ट्रवादीले मात्र नभई ब्रिटिसले पनि प्रशंसा गरेका थिए । बलभद्रले व्यक्तिगत रुपमा युद्धविराम गर्न मानेनन् । विरोधस्वरुप उनी सिखराजा रन्जित सिंहको सेनामा आबद्ध भई बेलायतविरुद्ध लड्न अफगान मोर्चामा खटिए । अन्तत: त्यहीँ उनले शहादत प्राप्त गरे ।
बलभद्रको जीवनबारे अड्कल काट्ने धेरै छन्, मेरो बुझाइ बेग्लै हुन सक्छ । उनी बडाकाजी अमरसिंह थापाकी छोरीका छोरा थिए । (सानाकाजी अमरसिंह थापाका छोरा भीमसेन थापा) । र उनको जन्म वि.सं. १८४६ मा भएको थियो । भनिन्छ, नालापानी युद्ध समाप्त भएपछि र रन्जित सिंहको सेनामा भर्ना हुन जानुअघि बलभद्रको जीवनमा यौटा अनौठो मोड आएको थियो । युद्धसमाप्ती पश्चात् बलभद्र काठमाडौँ आए । स्वयम्भूनाथ नजिकै इचङ्गुनारायणको उच्चस्थानमा एउटा घर बनाई बसे । त्यस घरको झ्यालमा बसेर उनले गिलासमा दूध खाँदै स्वयम्भूका आँखा नियाल्थे । भग्नावशेषको रुपमा रहेको त्यस घरको त्यही झ्यालमा अहिले पराल चपाउँदै गरेकी गाईको मूर्ति स्वयम्भूतिर हेरेको अवस्थामा राखिएको छ रे !
त्यस घरमा बस्दै गर्दा बलभद्रको एउटी युवतीसँग प्रेम बस्यो । तर पछि थाहा भयो, त्यस केटीको अर्कैसँग विवाह भइसकेको रहेछ । त्यसपछि उनी जारकाट्ने कानुन आफैमाथि आकर्षित हुने भयले पश्चिमतिर हानिए र मुसलमानको आक्रमणबाट पन्जाव केशरी रणजित सिंहलाई मुकुट जोगाउन धौ–धौ परिरहेको बेलामा उनैको सेनामा भर्ना भएर लड्दा वीरगति प्राप्त गरे । जुन मृत्युलाई रणजित सिंहले ‘प्रतिष्ठा अनुरुपको भव्य मृत्यु’ भने ।
नेपालको राष्ट्रिय विभूतिका रुपमा स्थापित वीर बलभद्र कुँवरको जति उचाइ छ, नेपालको इतिहासमा त्यति नै अग्लो गरी बनाइएको सङ्गमर्मर सुशोभित स्तम्भ देख्दा मन पुलकित भयो । हामीले स्तम्भसँग सामीप्य भएर दर्जनौँ फोटोहरु खिच्यौँ । त्यस थुम्कोबाट चौतर्फी दृश्यहरु हेर्यौँ । देखिन्थ्यो— चारैतर्फ जङ्गल र एकतर्फ सल्लाघारीको छिद्रबाट दूनप्रदेश, अर्थात् देहरादून सहर । संस्मरणीय छ — काठमाडौँको टेकुमा बलभद्र कुँवरको पाँच फिटको सालिक पहिलो पटक २०७३/१०/१६ मा अनावरण गरिएको छ ।
अब फर्कने पालो ।
हामी जुन बाटो गएका थियौँ, सहस्रधारा रोड हुँदै, त्यही बाटो फर्कियौँ देहरादून बजार ।
गाडी चालकले अचानक कुरा फेर्यो । उसले सक्कली वा नक्कली कारण देखाएर हामीलाई मसूरी पुर्याउन नसक्ने भन्यो । त्यस गाडीसँग हाम्रो सम्झौता थिएन । सम्झौता गर्ने समूहमध्येकी एक सदस्य थिइन् — डोटेली बहिनी रोशनी खत्री । उनी र ड्राइभरका बीचमा एकछिन बहस नै भयो । ड्राइभरको अगाडि कसैको तर्कले काम गर्दैन, उसले सधैँ जित्छ । त्यहाँ पनि ड्राइभरसँग रोशनी हारिन् । उनी हार्नुको अर्थ थियो, हामी हार्नु । हामी छोड्न बाध्य भयौँ रोशनी सहित गाडीलाई । रोशनीलाई हामीले छोडेनौँ मात्र, चिन्तित पनि भयौँ — उनी सकुशल त पुगिन् होला साथीहरुको समूहमा !
अब आफ्नो बाटो आफैँ बनाऊँ ।
हाम्रो बाटो थियो — कि लोकल बस, कि ट्याक्सी । तर त्यो कहाँ पो पाइन्छ ?
थाहा भयो, दुवै बसस्टपमै पाइन्छ ।
‘अनि कति टाढा पर्छ बसस्टप ?’
‘मात्र दश मिनेट ।’
हामी दूनभ्याली रोड हुँदै अगाडि बढ्यौँ र गान्धी रोडहुँदै बस स्टप पुग्यौँ । बस साँच्चिकै हाम्रो वशमा रहेन । त्यस्तो भीडभाडमा के सम्भव छ ? र समयसीमा के छ ?
प्रिपेड ट्याक्सीको दररेट भा रु. १३६०।– ।
नेपालमा भए ३३ किलोमिटर गुड्दा कति पथ्र्याे होला ?
म तीन दिनअघिको भाडा सम्झिँदै थिएँ— एयरपोर्ट—चाबहिल–एयरपोर्ट चार किलोमिटरको रु. १५००।–
नेपालमा पो नाकाबन्दी थियो त, यहाँ त नाकाबन्दी छैन नि ! फेरि ट्याक्सी कहाँको ? तेल कहाँको ? आफ्नै त हो नि !
हामी मुख्यमन्त्रीको कार्यालयतिर जाने बाटो छाडेर मुख्यसचिव आवासको बाटो हुँदै अगाडि बढ्यौँ । बाटो चार लेनको थियो र बाटोको छेउछाउ अग्ला अग्ला रुखहरु उभिएका थिए ।
सहरी क्षेत्र छाडेर हामी करिब करिब बाहिरिँदै थियौँ । स्वामी विवेकानन्दको भव्य एवम् सौम्य मूर्ति देखिएको थियो बाटो छेउमै । मेरा आस्थाका केन्द्रलाई मैले ट्याक्सीबाटै नमन गरेको थिएँ । लगत्तै राजेन्द्र शाहद्वारले हामीलाई स्वागत गरेको थियो । शाह एक स्वतन्त्रता सेनानी रहेको बुझेको थिएँ मैले ट्याक्सी ड्राइभरबाट ।
अगाडिको बाटो सुस्तरी उकालो लाग्दै थियो । समय दिउँसोको तीन बजेको थियो । हाम्रो पेटले केही माग्दै थियो । हामीले ड्राइभरलाई भनेका थियौँ — कुनै यस्तो ठाउँमा ट्याक्सी अड्याऊँ, जहाँ बसेर हामीले पेटको माग पूरा गर्न सकौँ ।
उसले हामीलाई ‘मयूर पञ्जावी ढावा’ अगाडि लगेर ओराल्यो ।
रेष्टुराँभित्र र बाहिर हल्लाखल्ला भइरहेको थियो । मानिसहरु हस्याङफस्याङ गरिरहेका थिए ।
‘के भयो ?’
‘भूकम्प गयो ।’
‘कति रेक्टरस्केलको ?’
‘७.५ रेक्टरको ।’
‘अहो ! सानो त होइन नि !’
‘लौ कता कता के के भयो ?’ हामीले आशङ्का व्यक्त गर्यौँ ।
ट्याक्सी गुडिरहेको बेला पत्तै पाएनौँ हामीले । दश–पन्ध्र मिनेटमात्र भएको रहेछ भूकम्प गएको । भूकम्पले भारत लगायत पाकिस्तान, अफगानिस्तान र इरानमा समेत असर गरेछ । क्षतिको विवरण आउन बाँकी नै छ । रेष्टुराँभित्र टेलिभिजन हेर्नेको तँछाड मछाड थियो । सँगसँगै कुख्यात डन छोटा राजन पक्राउ परेको र डनहरुको नाइके महाडन दाउद इब्राहिम पनि पक्राउ पर्न सक्ने समाचार पनि सँगसँगै आइरहेको थियो । जे होस् न्युज हट थियो । टेलिभिजनले अर्काे त्रास फैलाउँदै थियो— ‘उत्तराखण्ड औ हिमाचल में बडे भूकम्प की आशङ्का ।’
हाम्रो मनमा ढ्याङ्ग्रो ठोक्यो । मसूरीको डाँडोतर्फ उकालो लाग्दै छौँ, भीरमा ठडिएका होटल रेष्टुराँमा रात बिताउनुपर्छ, के गति हुने हो ! त्यतिमात्रै भए त ! समाचार प्रशारण हँुदै थियो — ‘मसूरीमा बनेका घरमध्ये ३५० घर खतरायुक्त छन् ।’
अब भयो कि !
कुन खतरा हो, कुन सुरक्षित ! कसरी छुट्याउने ?
फेरि कसले भन्छ, मेरो घर खतराको रेखाभित्र छ ! कुन घरमा परिने हो कुन घरमा !
खाजा खाँदासम्म पनि हामीले शङ्का उपशङ्काको घेराभित्र रहेर खायौँ ।
तर मनमा आँट पलायो — जे होला होला ! हुने भई छाड्छ । कालै आएको रहेछ भने उसले पाताल गए पनि छाड्दैन, किन डराउने ? एक रात मसूरीको मोहकतामा महकिँदै रङ्गिन वातावरणमा रमाउन किन पछि पर्ने ?
हामी सबैले मन मुटु बलियो बनायौँ र खाजा खाई हिँडिहाल्यौँ ।
बाटो तेर्साे–उकालो र घुम्ती–मोडहरुमा रुपान्तरित हुँदै उकालो लाग्यो । अन्त कतै नदेखिएका कालो अनुहारका लङ्गुरहरु देखिए त्यस पखेरोमा । मसूरीमा हामीलाई स्वागत गर्ने मानिस कोही थिएन । त्यसैले हामीलाई एउटा बोर्डले स्वागत गर्दै थियो —‘पहाड की रानी मसूरी में आपका स्वागत है ।’
थुप्रै गजुरहरु भएको शिवालय भेटियो बाटो छेउमै । त्यही सँगै एउटा सुन्दर गुम्बा पनि देखियो । हाम्रो पूर्वीय संस्कृति बडो उदार छ । जुनसुकै सम्प्रदायविशेष भए पनि सनातन धर्मसंस्कृतिका पक्षपातीहरुलाई उदार भावले सम्मान गर्छ । मन लागेको थियो, गाडी रोकाएर हेरुँ । तर एकसुरमा कुदिरहेको गाडीमा ब्रेक लगाउने हिम्मत भएन मलाई ।
बाटोको छेउकुना ठडिएका स–साना बोर्डहरुले हाम्रो ध्यान आकर्षित गर्दै थिए— ‘असावधानी बढी, दुर्घटनाकी कडी’ ‘दुर्घटना से देर भली ...।’ ‘धिमी गति जीवन बची ।’
ड्राइभर होसियार थियो । उसले ध्यानपूर्वक गाडी चलाइरहेको थियो । चालकप्रति हाम्रो अविश्वास थिएन । थियो भने भूकम्पप्रति थियो । त्यो पनि टारेर टार्न नसकिने भएकोले परिआएको परिस्थिति शिरोधार्य गर्न तम्तयार भएर यात्रा जारी राख्यौँ हामीले ।
प्रिपेड ट्याक्सी रोक्ने निश्चित विन्दु रहेछ लक्ष्मीनारायण मन्दिर परिसर । हामी त्यहीँ ओर्लियौँ । समय ४:१५ मात्र भएको थियो र हामीसँग सामानको भारी पनि केही थिएन । तथापि मसूरीजस्तो पर्यटकीय ठाउँमा सर्वप्रथम बासको व्यवस्था गर्नु जरुरी थियो । हामी पहाडी पाखोमा बसेको त्यस मसूरी सहरमा उपयुक्त बासस्थानको खोजीमा तेर्साे बाटो अगाडि बढ्यौँ । होटल रेष्टुराँ र रिसोर्टहरुले भरिभराउ त्यस मसूरी नगरीको एक ठाउँमा पूरै दूनप्रदेश स्पष्ट देखिने होटल भेटियो — होटल पेभिलोन । त्यो होटल जवाहार एक्युरियमको नजिकै पर्दाे रहेछ । काउन्टरमा भारतीय हिरो हिरोइनहरु — अक्षयकुमार, अभिषेक बच्चन, रितिक, दीपिका, सुस्मिता, क्याट्रिनाहरुका फोटोहरु राखिएको थियो । त्यो होटलको विज्ञापन थियो । ग्राहकहरुलाई आकर्षण गर्ने तरिका, अर्थात् हाम्रो होटलमा यस्ता यस्ता व्यक्तिहरु पनि आएर बसेका थिए भन्ने प्रचारबाजी ।
कोठा भाडा र खानाको मेनु पनि सहुलियतपूर्ण लाग्यो । लजको भाडा सिजन र अफसिजन अनुसार डबलै फरक पर्दाे रहेछ । त्यस्तै लेखिएको थियो मेनुमा । कार्तिक महिना, मसुरीको डाँडो अफसिजन त हुने नै भयो । त्यो सुविधा हामीले पायौँ । होटलद्वारा उपलब्ध सर्भिस कार्डमा लेखिएको थियो— ‘ग्राहकबाट अनुरोध भएमा लजिङ, फुडिङ र डेली म्युजिक डान्सबाहेक मसाज र इच्छानुकूल उद्यमहरु अनि र्याफ्टिङ, क्याम्पिङ, क्यानोनिङ, टे«किङ, रुफ क्लाइम्बिङ आदि गराइने र मसूरी एरियाका पर्यटकीय स्थलहरु— हेप्पी भ्याली, झरीपानी लेक र रोपवेबाट गुनहील घुमाउन सकिने इत्यादि कुरा उल्लेख गरिएको थियो । तर हामीले भोलि नै देहरादूनको साहित्यिक एवं सम्मान कार्यक्रममा भाग लिनुपर्ने हुँदा यी सबै कुराबाट यसपटकलाई आँखा चिम्लियौँ ।
हामीले त्यो रात टेलिभिजन पनि हेरेनौँ र समाचार पनि सुनेनौँ । भिरमाथि ठडिएको त्यस होटलको झ्यालबाट तलपट्टिको कहालीलाग्दो दृश्य हेरेर भूकम्पको समाचार कसरी सुन्ने ? त्यसैले हामीले दूनप्रदेशको झिलिमिली मात्र हेर्यौँ र डुब्यौँ कि पौडियौँ कुन्नि चमत्कारिक रससागरमा ! साँच्चिकै हामीले सोचेभन्दा बढी आनन्दानुभूति प्राप्त गर्यौँ त्यो रात । त्यस रातको तुलना मैले त्यस यात्राभरिकै रातसँग गर्न सकिनँ । भूकम्पले ल्याएको मानसिक त्रास हामीले चटक्कै बिर्सियौँ र मस्त निदायौँ ।