माटो झूट बोल्दैन
चुपचाप रहनु उसको स्वभाव हो
तर यसको अर्थ यो हैन
कि ऊ बोल्नै सक्दैन ।
जब बोल्छ, ऊ सत्य बोल्छ
स्रष्टा हो ऊ, आफ्नै सृजना भएर बोल्छ
सबैको पालनकर्ता
आफ्नै गर्भभित्रको संसार भएर बोल्छ ।
उसको छाती खनेर
आफ्नो छातीमा तक्मा भिर्न
लोभीपापी जब लुछाचुँडी गर्छन्
माटो
समभावमै रहेर
उत्तिकै प्रेम र उही सुगन्ध बाँडिरहन्छ
प्रेमको भाषा सिकाइरहन्छ ।
झूट बोल्दैन माटो
प्रेमको भाषामा ।