एकजना पाटनका नेवार । प्राचीन धर्मग्रन्थबाट प्रभावित नेवार जातिविशेषका गुरूजाति । नेपालभाषाका अनन्य सेवक । साहित्य र संस्कृतिका मर्मज्ञ ज्ञाता । नेपाली भाषा–साहित्यमा पनि सिर्जनाका लागि तीनपल्ट मदन पुरस्कार प्राप्त गरेर कीर्तिमान राख्न सफल लोकसाहित्यका शिखर पुरूष सत्यमोहन जोशी भाषा, साहित्य र संस्कृतिको इतिहासमा सधैं सम्झिरहनुपर्ने नाम बनाउन र बन्न सफल बने । भाषा, साहित्य र संस्कृतिका त्रिवेणी हुन् सत्यमोहन जोशी । जाँगरका एकजना बिर्सन नसकिने नाम भइदिएका छन् सत्यमोहन जोशी । सरल तर आफ्नो अडान र विचारदृष्टिको व्याख्या गर्न कहिल्यै नडग्ने खालका कठोरजस्ता देखिने व्यक्तित्व पनि हुन् उनी । आफ्नै उद्देश्य बोकेर निरन्तर कुदिरहने, सतिसालजस्ता बलिया रूख हुन् उनी ।
साहित्य, भाषा र संस्कृतिका माध्यमबाट वौद्धिक र नैतिकस्तरलाई माथि उठाई राष्ट्रोन्नतिको कार्यमा नवजागरण र परिवर्तन ल्याउन सकिन्छ भन्ने दृष्टि बोकेर वाङ्मय सेवामा लाग्दै गरेका सत्यमोहन जोशीले नेपालभाषाको उत्थानमा लागि जनस्तरबाट नै एकेडेमी स्थापना गरेर जातिय पहिचान देखाउन सफल नेतृत्व गरेर देखाएका छन् । उनी नेपालभाषा एकेडेमीका संस्थापक कुलपति । कीर्तिपुरमा आफ्नै भवन स्थापना गरेर दिलोज्यानले भाषिक उत्थानका लागि लागिरहेका यिनी नेपाली भाषा–साहित्यको सम्वद्र्धन र विकासका लागि पनि आफूसक्दो समर्पित भएर देखाइरहेका छन् । महाकवि देवकोटा शताब्दी महोत्सवका अवसरमा २०६६ चैत ५ देखि ९ गतेसम्म भएको अन्तर्राष्ट्रिय नेपाली भाषा–साहित्य सम्मेलनको समारोह समितिमा रहेर उनले विशेष भूमिका निभाएको देखिन्छ ।
सय वर्ष पुगेर पनि निरन्तर एकैखालको लवाइमा सजिएर डाकेको ठाउँमा ठीक समयमा पुगेर सत्यमोहन जोशीले आफूलाई भाषा–साहित्य क्षेत्रमा सत्यका पक्षपाती सावित गरेर देखाएका छन् । ज्योतिष कुलमा जन्मेर ज्योतिषशास्त्रको प्रारम्भिक शिक्षा लिइसकेका यिनी पिता शङ्करराजले अड्डा–अदालतमा लेखनदास कारिन्दाको रूपमा जागिर खाएर जीवन सुरू गरेको देखिन्छ । आठवर्षपछि यिनका बाबु राणाकालमा डिट्ठासम्म भएर सेवा गरे । डिट्ठाका जेठा छोरा भई जन्मेका यिनलाई बाबुआमाले मायाले मोहन भनेर त्यसताका डाक्ता रहेछन् । तीनजना भाइहरू र तीनवटी बहिनीहरूका दाजु हुन् सत्यमोहन जोशी । आई.ए.सम्म उत्तीर्ण गरेर घरैमा अन्य विशेष शिक्षा अध्ययन गरेका यिनले ने.रा.प्र.प्र.मा सदस्यसचिव, नेपाल साहित्य संस्थान, कला संस्थानका सदस्य भएर सेवा पु¥याइसकेको देखिन्छ ।
न्युजिल्याण्ड पुग्ने पहिलो नेपाली यिनी । सन् १९५३ तिर अर्थात् वि.सं. २००९ सालमा यिनी यूरोपका न्युजिल्याण्ड पुगे । त्यहाँ देखेको कौतुहलताका थुप्र्रै्र कुराहरूलाई यिनले पुस्तकमा समेटे । न्युजिल्याण्ड पुगेर यिनले नेपाल र नेपालीको परिचय दिए । अनि यिनले न्युजिल्याण्डका बारे पहिलो नेपाली नियात्राको पुस्तक लेखे । पढ्नैपर्ने खालको यिनको यो पुस्तकले बताउँछ– यिनी त्यसताकाका नेपालबाट गएका पहिलो अनौपचारिक राजदूत हुन् । यो पुस्तक नेपाल तथा न्युजिल्याडबीचको सम्बन्ध विस्तारको एउटा शृङ्खला नै मान्न सकिन्छ ।
वि.सं. २००१ साल असार ३१ गतेदेखि नेपाल सरकारअन्तर्गतको औद्योगिक समाचार सङ्ग्रह अड्डामा सर्भे अफिसरका रूपमा नोकरी सुरू गरेका यिनी वि.सं. २००५ सालसम्म नै यहि कार्यालयमा सेवारत रहे । पछि वि.सं. २००६ सालमा जनसङ्ख्या तथा तथ्याङ्क विषयमा तालिम लिइसकेपछि जनसङ्ख्या विभागमा कार्य गरे । पछि यिनले जन्ममृत्युको तथ्याङ्क राख्ने कार्यमा लागेर थुप्रै अनुभव बटुले । वि.सं. २००६ सालमा पूर्वाञ्चल क्षेत्रको धनकुटा केन्द्रमा सुपरिटेन्डेन्ट भई यिनले कार्य गरे । यही कार्यमार्फत् पश्चिमाञ्चल यिनले घुमे । तथ्याङ्क विभाग, राष्ट्रिय योजना परिषद् हुँदै यिनी पछि पुरातात्विक तथा संस्कृति विभागका डाइरेक्टर वि.सं. २०१६ मा बने । राष्ट्रको पुरातात्विक उत्खनन , संस्कृति लिपि आदिका सम्बन्धमा निकै खोजमूलक कार्य गरेर आफूलाई सक्रिय तुल्याउँदै गरेका यिनलाई पछि २०१७ साल फागुन २० गते केही कारण नै नदिई नोकरीबाट बर्खास्त गरिदिएको देखिन्छ । काममा इमान्दार र दक्ष रहँदारहँदै यसरी लखेटिएर केही क्षण यिनी ढाक्रे जीवन बिताउन बाध्य भए । पछि नेपाल अमेरिकन सांस्कृतिक केन्द्रमा यिनी सेवारत रहे । २०२० सालतिर पूर्वपश्चिम राजमार्ग केन्द्रीय प्रचार उपसमितिबाट प्रकाशित भएको ‘राजमार्ग’ पत्रिकाको सम्पादन कार्यमा लागे । २०२१ साउनमा चीनमा रहेको क्वाम्पोसुयन महाविद्यालयमा नेपाली भाषाको विशेषज्ञ भई पठाउने निर्णय भए अनुसार श्रीमतीसहित २०२२ साल जेठ २ गते चीन प्रस्थान गरे । करिब ४ वर्ष त्यसताका चीनमा यिनी रहे ।
चीनबाट फर्केको केही महिनापछि यिनलाई नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सहसदस्यका रूपमा राजा महेन्द्रले नियुक्त गरे । २०३१ सालको पुनर्गठनमा यिनलाई पछि सदस्यसचिवमा बढुवा गरिदिए । १० वर्षसम्म प्रज्ञा प्रतिष्ठानको सेवा गर्न यिनले पाए । २०३७ सालतिर फेरि चीनमा जाने सौभाग्य मिल्यो । पेकिङ रेडियोमा नेपाली विभागमा दुईवर्ष सेवा गरे । चीनबाट फर्केपछि २०३९ सालतिर यिनी पाटन संयुक्त क्याम्पसमा लोकसाहित्यका विशेषज्ञका रूपमा प्राध्यापकमा नियुक्त भए । पाटन संयुक्त क्याम्पसमा रहेर प्राध्यापन सेवामा निकै जाँगर चलाएर आफ्नो ऊर्जाशीलता देखाउँदै आएका यिनी सधैं कर्ममा विश्वास गरेर जीवन गुजार्न सिपालु छन् ।
सत्यमोहन जोशी जीवनभोगाइका नाम बने । जीवनलाई सङ्घर्षमा रङ्गाउँदै यिनले जीवनलाई भोग्न सिके । यिनले पु¥याइदिएको योगदान र सिर्जनात्मक साहित्यिक कृतिले यिनी साहित्यकार व्यक्तित्वका रूपमा सर्वप्रिय मात्र बनेनन्, यिनले अन्वेषकको गहन जिम्मेवारी निभाएर राष्ट्रका थुप्रै जनजातिको इतिहासको लेखाजोखा गरेर देखाए । कोशकारको सुन्दर सीप प्रदर्शन गरेर विविध कोशको सङ्ग्रह गर्न सक्षम यिनले विविध विधामा आफूलाई स्थापित तुल्याइदिएका छन् । सधैं खोजीमा व्यस्त रहने सधैं सिर्जनामा भुल्न रूचाउने, सधैं नयाँ–नौलो भाषा, साहित्य र संस्कृतिका आयामहरू खोप्न र खोज्न मन पुराउने अविचल यात्रीका रूपमा सबैका मनमा स्थापित हुन यिनी सफल भए । सार्थक जीवनको एउटा नाम बने सत्यमोहन जोशी । अविचल स्रष्टाकै सुन्दर याम भए सत्यमोहन जोशी । भाषा–जागरणको अगुवा यात्री । नेपालभाषाका धरोहर यात्री । लोकसंस्कृतिमा सिद्धहस्त । धेरै विशेषणले व्याप्त नाम हो सत्यमोहन जोशी ।
एकजना निष्कलङ्क स्रष्टा, जसले राष्ट्रको उत्थानमा, जनताको चेतना–विकासको सुन्दर कार्यमा लागेर आफूलाई पोखिरहे, तिनै भाषा, साहित्य र संस्कृतिका धरोहर सत्यमोहन जोशीलाई यस सुन्दर थातथलोमा राखेर चर्चा गर्न मन पराइरहेछु । सधैं सबै ठाउँमा भेट्ता सधैं हाँसीखुसी आफूलाई देखाउन सफल सत्यमोहन जोशीले जीवनलाई वोध गर्न जानेका छन् । आफूलाई सरल देखाएर उच्चस्तरको सीप देखाउन सक्षम छन् । देशको सभ्यतालाई उच्चतामा पु¥याउन, देशका जनजातिहरूलाई सुसंस्कृत बनाउन यिनले जीवनका धेरै खालका सिर्जनामार्फत प्रयास गरे । अरनिकोलाई राष्ट्र र विदेशमा चिनाउन यिनले अनुसन्धानग्रन्थ प्रकाशित गराएर उच्च मूल्याङ्कनयोग्य काम गरे । यस्तै धेरै थोकको सिर्जनाकार्यका सङ्गम हुन् सत्यमोहन जोशी । त्यसैले यिनलाई नइप्रकाशनले रू. ५ लाख नगदसहित प्रदान गरेर शताव्दी पुरुषका रूपमा अभिनन्दन गरे ।
साधारण व्यक्ति भएर, साधारण खानपान र लवाइखवाइमा भुलेर, सर्वसाधारणले जस्तै बस, टेम्पो, माइक्रोमा चढेर यात्रामा निरन्तर कुदिरहन जानेका यात्री सत्यमोहन जोशीले अनेकौं सिर्जनात्मक असाधारण कार्यहरू गरेर देखाएका छन् । गरे नसक्नु के छ ! उद्देश्य के लिनु उडी छुनु चन्द्र एक भन्ने उद्देश्य बोकेर हिँड्नेहरूले नै यात्रामा विजय पाउँछन् । भौतिक सम्पन्नता नभए पनि सुविधाव्याप्त नदेखिए पनि साधारण व्यक्ति भएर असाधारण कार्य गर्न सक्ता रहेछन् भन्ने कुराको पयार्य व्यक्तित्व बने सत्यमोहन जोशी । म सत्यमोहन जोशीका सिर्जनात्मक कार्यहरूलाई मन पराएर उनको यात्रालाई धन्य भनिरहेछु । जीवन यात्रा हो । धेरैलाई हुने, धेरैले मन पराउने यात्रामा यस्तै गरी कुदिरहन सकुन्, शुभकामना छ ।