मातृभाषा र साहित्य सिर्जनाको कुरा गर्दा एक अर्काका पर्यायवाची भए पनि व्यवहारमा भिन्न जस्तै लाग्दछ । यस्तो अवस्था आउनुमा केही हदसम्म आजका युवापुस्ताले मातृभाषालाई भन्दा विश्वभाषामा बढी झुकाव राख्नु पनि हो । आफ्ना सन्तानलाई आमाले जुन भाषामा बोल्न सिकाउँछ त्यसैलाई मातृभाषा भन्ने चलन छ । लोकतन्त्र विकसित भएको देशमा वालबालिकाले सहज रूपमा आफ्नो मातृभाषामा प्राथमिक शिक्षा पाउँदछ । विकासोन्मुख देशमा यो त्यति सहज देखिएको छैन । प्रजातान्त्रिक मूल्य–मान्यतालाई संस्थागत गर्न मातृभाषामा प्राथमिक शिक्षा दिने आमनागरिकको मौलिक हकलाई राज्यले नीतिगत आधारमा दायित्व वहन गरेको हुन्छ । तथापि शैक्षिक जागरण र संसारभरी नै आमसञ्चारमा देखापरेको इलेक्ट्रोनिक सञ्चारमाध्यम विकासका कारण विकासशील मुलुकका बालबालिका विश्वभाषामा नै शिक्षा हासिल गर्न लालायित छन् । यस्तो अवस्था आउनुमा केही हदसम्म सरकार र राज्यका नीति निर्माताहरू जिम्मेवार छन् । युवापुस्ताले आप्mनो मौलिक मातृभाषालाई बिर्सने डर पनि छ । नेपाली नै मातृभाषा भएका बाहेक अरू जनजाति मातृभाषा भएकाहरूलाई मातृभाषामा साहित्य सिर्जना गर्ने जाँगर धेरैलाई नआउन सक्तछ । किनभने मातृभाषा भएकाहरूको सीमितता पनि एउटा कारण हुनसक्तछ । प्रारम्भमा कुरो साहित्य सिर्जनामा मातृभाषामा साहित्य सिर्जना गर्ने कुरो लहड मात्र हो वा मातृभाषाप्रतिको झुकाव यथार्थ के हो ? यो बौद्धिक छलफलको विषय हो । यसमा साहित्यिक बहस हुनु पर्दछ भन्ने मलाई लागेको छ ।
साहित्यमा नोबेल पुरस्कार विजेता कविन्द्र रविन्द्रनाथ ठाकुरले पहिले गीताञ्जलि आ आफ्नो मातृभाषा बंगालीमा लेखेका थिए । पछि आफैले त्यसलाई अङ्ग्रेजी भाषामा अनुवाद गरेपछि साहित्यमा नोबेल पुरस्कार पाए । यो त भयो विदेशको कुरा, नेपालमा महाकवि लक्ष्मीप्रसाद देवकोटाले मुनामदन नेपाली भाषामा रचनागरी सकेपछि अङ्ग्रेजी भाषामा अनुवाद गरि पठाएका भए त्यो कृतिले पनि साहित्यमा नोवेल पुरस्कार प्राप्त गर्नसक्थ्यो भन्ने धेरै विद्वानहरूको भनाई छ । महाकवि देवकोटा अंग्रेजी भाषा साहित्यका ज्ञाता मात्र नभई अंगे्रजी भाषा साहित्यका अमर कृतिका लेखक पनि हुन् । नेपालमा प्रजातन्त्रको उदयपछि समग्रमा हेर्दा नेपाली भाषा साहित्यको राम्रो उत्थान भयो । अन्य जाति जनजातिको मातृभाषा ओझेलमा प¥यो । यसको मुख्यकारण नेपाल भित्र र बाहिर नेपालीभाषा सबै नेपालीले बोल्ने र बुझ्ने राष्ट्रभाषा भएकोमा कसैलाई कुनै गुनासो छैन । यही आधारमा सबै जातजातिले बोल्ने आ–आफ्नो मातृभाषामा साहित्य सिर्जना गर्ने प्रचलन सीमित रह्यो । हाल लोकतन्त्र आएपछि जनजातिहरूकोे मातृभाषाको राष्ट्रियस्तरमा नै उत्थानमा नयाँ जोस जाँगर देखिन थालेको छ ।
नेवार मातृभाषा भएका युगकवि सिद्धिचरण श्रेष्ठ जसलाई नेवार समाजले कविरत्न उपाधि समेत दिएको छ । आफ्ना केही कृतिहरू मात्र नेवार भाषामा सिर्जना गरेका छन् । अधिकांश कृतिहरू नेपाली भाषामा रचना गरेका कारण उनी नेपाली साहित्यका युगकवि सावित भए । उपन्यास सम्राट धुस्वाँ सायमी सुरुसुरुमा हिन्दी भाषामा लेख्नुहुन्थ्यो । धेरैपछि आएर मात्र उहाँले नेवार भाषामा र नेपाली भाषामा लेख्न थाल्नु भएको कुरा उहाँको संस्मरणबाट थाहा हुन्छ । वास्तवमा उहाँ नेवार समुदायको हुनुहुन्छ । मधेश वसाईको सिलसिलामा उहाँको शिक्षादीक्षा हिन्दी भाषामा भएकोले उहाँलाई हिन्दी भाषामा लेख्न सहज भएको हुन सक्तछ । तथापि उहाँले काठमाडौं फर्केर नेवार भाषामा गन्की उपन्यास लेख्नुभयो त्यो निकै लोकप्रिय भएपछि त्यसको नेपाली अनुवाद भयो । नेपाली अनुवाद नै मौलिक जस्तो भयो । त्यसपछि त उहाँ उपन्यास सम्राट नै घोषित हुनुभयो । त्यो उपन्यास यति लोकप्रिय बन्यो कि पछि उहाँले आफ्नी धर्मपत्नीको नाममा “गन्की–बसुन्धरा” पुरस्कार राख्नु भयो । यो पुरस्कार नेपाली साहित्यको श्रीबृद्धिका लागि आख्यान विधामा सफल लेखकहरूलाई पुरस्कृत गर्ने सशक्त माध्यम बनेको छ । यसरी राष्ट्रिय भाषामा र आ–आफ्ना मातृभाषामा वा राष्ट्रभाषा नेपालीमा कलम चलाउने थुप्रै स्रष्टाहरू दुवै भाषामा सकृय छन् । यस क्रममा साहित्यकार तथा संस्कृतिविद् सत्यमोहन जोशी, साहित्यकार गोविन्द गोठाले, नाटककार विजय मल्ल, कवि वाशु शशी आदि थुप्रै स्रष्टाहरूको नाम लिन सकिन्छ ।
राजधानी बाहिर जन्मेका र पुर्खौलीथलो काठमाडौं, ललितपुर र भक्तपुर हुनेहरू पुनः पुर्खौलीथलोमा फर्किएपछि अहिले मातृभाषा नेपालभाषा र राष्ट्रभाषा नेपाली दुवै भाषामा साहित्य सिर्जनामा लागेको पाइन्छ । यस क्रममा वरिष्ठ पत्रकार तथा साहित्यकार केदार शाक्य, नाटककार अशेष मल्ल, कलाकार तथा साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठ, साहित्यकार ज्ञानकाजी शाक्य आदि थुप्रै स्रष्टाहरूको नाम लिन सकिन्छ जसले नेपाली भाषामा आप्mनो स्थान बनाइसकेपछि आप्mनो मातृभाषामा पनि साहित्य सिर्जना गर्न अग्रसर भएको देखिन्छ । तर मातृभाषा नेवार भाषा भएका कवि तुलसी दिवस, साहित्यकार परशु प्रधान, कवि शैलेन्द्र साकार आदिले मातृभाषामा कलम चलाउने आँट गरेका छैनन् । पुराना साहित्यकार पाल्पा तानसेनकी प्रकाश प्रधानाङ्गले धेरै अगाडि नै मातृभाषा नेपालभाषामा नाटक र कथा लेखे वापत अहिले राजधानीको मिसा पुचः जस्ता संस्थाले सम्मान गर्न थालेका छन् ।
नेपाल सम्वत् ९८७ मा केलटोल काठमाडौंमा जन्मेका नेपालभाषाका महाकवि सिद्धिदास महाजूले नेवार भाषामा नै बढी कृति रचना गरेकाले उनी नेवार भाषाका मात्र महाकविजस्ता देखिए । सिङ्गो नेपालका महाकवि बन्न नसकेको भान हुन्छ । अझै भनौ भने उनलाई नेवार भाषा–भाषीले मात्र बढी चिन्दछन् । सबै नेपालीसम्म उनी पुग्नै नसकेको देखिन्छ । तथापि वर्तमान नेपालमा मातृभाषामा साहित्य सिर्जना गर्ने महाकवि सिद्धिदासजस्ता स्रष्टाहरू झन् बढी सम्मानित हुनु खुशीकै कुरो हो । उनीहरू अहिले नयाँ पुस्तालाई पे्ररणा दिइरहेका छन् । यसबाट राष्ट्रियताको सम्बद्र्धन भएको छ ।
त्यस्तै किरात भाषाका महान् व्यक्ति फाल्गुनन्दलाई पनि त्यही भाषाभाषीले नै बढी चिन्दछन् । उनको त हुलाक टिकट समेत छापिइसकेको छ । आजका नेवार भाषाका लोकप्रिय कवि दुर्गालाल श्रेष्ठलाई नेवार भाषाभाषीले बढी चिन्दछन् । भाषागत सीमिततालाई ध्यानमा राखेर भनौं वा आवश्यकता अनुसार उनले नेपाली भाषामा ‘सयथरी बाजा एउटै चाल…’, ‘फूलको आँखामा पूmलै संसार’ जस्ता मर्मस्पर्शी थुप्रै गीतहरू रचना गरेपछि उनी सबै नेपालीका आँखामा राखे पनि नबिजाउने लोकप्रिय कवि र गीतकार भएका छन् । यस हिसाबले उनी समग्र नेपालमा सशक्त गीतकारको रूपमा परिचित छन् । यिनलाई हेर्दा भाषाले साहित्यलाई डो¥याउँछ कि साहित्य सिर्जनाले भाषालाई परिमार्जन गर्दछ भन्न अलि गाह्रो छ । एउटा कुरा चाहिँ प्रष्ट छ कि सिर्जनशील व्यक्तिका लागि कुनै पनि भाषा अभिव्यक्तिको माध्यम मात्र हो । तथापि मातृभाषापे्रमीहरूले आप्mनो मातृभाषालाई प्रेम त गरिरहेकै हुन्छ । जहाँसम्म भाषागत साहित्यको विकासको कुरा छ त्यसमा राज्यले नै खुकुलो वातावरण बनाएर भाषा उत्थानमा पहिलो प्राथमिकता दिनुपर्ने देखिन्छ ।
काठमाडौं उपत्यकामा नेवारभाषा साहित्यको विकास जस्तै मधेशमा मैथिली भाषा साहित्यको विकास भएको छ । लोकतन्त्र आएपछि नेपालमा बोलिने सबै प्रमुख भाषा साहित्यको विकासमा गोरखापत्रले सम्वत २०६४ असोज १ गतेदेखि नयाँ नेपाल भाषा पृष्ठ थपेको छ । र सबै भाषालाई स्थान दिएर सह्राहनीय काम गरेको छ । क्षेत्रगत आधारमा बोलिने राष्ट्रिय भाषालाई विकास गर्न यसले धेरै मद्दत गरे पनि सबै जाति जनजातिले बुझ्न सक्ने एउटै भाषा भनेको नेपाली भाषा नै रहेको छ । हरेक युगमा कुनै एउटा समृद्ध भाषाले जनसम्पर्कको स्थान लिएको देखिन्छ । कुनै बेला भारतमा पालि मगधी भाषा समृद्ध थियो । त्यही भाषामा बुद्धले आफ्नो उपदेशमूलक शिक्षा फैलाए । अहिले भारतमा हिन्दी भाषा प्रायः सबैले बुझ्दछन् । यसको समृद्धिमा सञ्चारका सशक्त माध्यम रेडियो र टेलिभिजन बनेको छ ।
काठमाडौं उपत्यकाका आदिवासी नेवार समुदायमा बोलिने नेपालभाषालाई राज्यले दिएको हालको स्थानलाई ध्यानमा राखेर यो भाषामा साहित्य सिर्जना गर्ने नेवार समुदायका स्रष्टाहरू अवश्य बढ्न सक्ने देखिन्छ । त्यस्तै राई–वान्तवा, गुरुङ, मगर, तामाङ, मैथिली आदि नेपालमा बोलिने मोफसलका सबै उन्नत मातृभाषाको उत्थानको साथै यी भाषाहरूमा पनि साहित्य सिर्जना गर्नेहरूको सङ्ख्या अवश्य नै बढ्ने देखिन्छ । यसको मुख्य कारण नेपालमा आएको जनजागरण र पूर्णलोकतन्त्रको अभ्यासको शुभारम्भ नै हो ।
नेपाल बाहिर बोलिने नेपाली बहुल क्षेत्रका भाषाले दार्जिलिङ, सिक्किम, भुटान, आसाम, मेघालय आदि भारतीय भूमिमा पहिलेदेखि नै राम्रो स्थान पाइसकेको मात्र होइन यो भाषामा उच्चकोटीको नेपाली साहित्य सिर्जना हुँदै आएको इतिहास छ । यी आप्रबासी नेपाली भाषाभाषीहरूको लामो संघर्षपछि भारतीय संविधानको आठौं अनुसूचीमा गोर्खाभाषाको नाममा नेपाली भाषालाई समावेश गरिसकेको छ । यसले गर्दा नेपाली मूलका संसारमा जहाँसुकै रहेका जोसुकैलाई नि भावनात्मक एकताको सम्बन्ध कायम गर्न नेपाली भाषाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । हालै मात्र इन्डियन आइडलका विजेता प्रशान्त तामाङलाई बिजयी बनाउन भारत र नेपाल सबैतिरका नेपालीहरूले अत्याधुनिक इलेक्ट्रोनिक मेडिया मोबाइलबाट लाखौं रुपियाँ चन्दा उठाएर एस.एम.एस गरी उनको पक्षमा मत जाहेर गर्नमा अहम भूमिका निर्वाह गरेको दृष्टान्त ताजै छ । प्रशान्तको मातृभाषा अवश्य पनि तामाङ भाषा नै हुनुपर्छ । तर उनको पहिचान एक जनजातिको मात्र नभएर आप्रबासी नेपालीको रूपमा सहज बनेको छ । उनले एक अर्ब जनता भएको इण्डियन आइडल प्रतियोगितामा नेपाली भाषाको गीत पनि गाएको टेलिभिजनमा देखेर नेपाली भाषीहरू निकै खुशी र दङ्गदास भए । नेपाली सञ्चारमाध्यमहरूले यसलाई फूलबुट्टा जडेर प्रस्तुत पनि गरे । यो अवश्य पनि नेपाली भाषाभाषीप्रतिको मोह हो । आप्mनो भाषाले भावनात्मक रूपमा सबैलाई एकसूत्रमा आबद्ध गर्दारहेछन् भन्ने कुरा त धेरै पहिले आदिकवि भानुभक्तको रामायणले सावित गरिदिएको ज्वलन्त दृष्टान्त छँदैछ ।
मातृभाषा अलग भएका तर दार्जिलिङतिर प्रवासी नेपाली भएर नेपाली भाषा साहित्यको सेवा गर्ने नामी स्रष्टाहरूमा साहित्यकार (सुधपा) सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला, पारसमणि प्रधान, इन्द्रबहादुर राई, संगीतकारहरू अम्बर गुरुङ, गोपाल योञ्जन, साहित्यकारहरू डा. लख्खीदेवी सुन्दास, देवकुमारी थापा, कवि वीरभद्र कार्कीढोली, गायिका अरुणा लामा, संगीतकार शान्ति ठटाल, साहित्यकारहरू शिवकुमार राई, अञ्छा राई रसिक, अगमसिंह गिरी, गोपालसिंह नेपाली, संगीतकार कर्मयोञ्जन आदि थुप्रै स्रष्टाहरूको नाम अगाडि आउँछ जसले दार्जिलिङमा बसेर नेपाली भाषालाई प्राथमिकतासाथ आप्mनो मातृभाषा भन्दा पनि उचाइमा पु¥याउन योगदान दिएका छन् ।
समग्रमा राष्ट्रभाषा नेपालीको पहिचान गराउनु र गर्नु नेपालीहरूको कर्तव्य हो । तर मातृभाषामा पठनपाठन गर्न पाउनु आफ्नो अधिकार हो । मातृभाषामा नै प्राथमिक शिक्षा हासिल गर्नेदेखि लिएर उच्च अध्ययनको व्यवस्था हुनसकेमा वास्तविक अर्थमा मातृभाषाको महत्व बढ्नु स्वाभाविक हुन्छ । जुनसुकै मातृभाषा भएका व्यक्तिको पनि आप्mनै भाषा प्यारो लाग्नु स्वाभाविकै हो । यस अर्थमा नयाँ पुस्तालाई मातृभाषामा साहित्य रचना गर्न विद्वानवर्गबाट पे्ररणा र प्रोत्साहन हुनुपर्दछ । राज्यले उदारता अपनाएर नेपालमा प्रचलित सबै जातजातिको मातृभाषामा उचित शिक्षादीक्षाको व्यवस्था प्राथमिक तहदेखि उच्चस्तरसम्मको अध्ययनमा सुनिश्चित गरिदिनु पर्दछ । यसबाट समग्र राष्ट्रको नै हित हुन्छ । आफ्नो भाषा अनुसारको साहित्य र संस्कृतिको विकास भन्नु नै समग्र राष्ट्रियताको सही पहिचान हो । यसमा विगतमा झैं राज्यले कञ्जुस्याई गर्नु ठीक छैन ।