७४ वर्ष नाघी सक्यो घरमा नै रम्न पाएको छु । चीन, उत्तर कोरिया र भारतका विभिन्न प्रान्तहरू घुम्दा करिब १ महिना जति विदेशमा बिताएको छु । यसै गरी नेपालमा विविध जिल्लाहरू चितवन, तनहुँ, लमजुङ, धादिङ, गोर्खा, मोरङ, झापा, पाँचथर, इलाम, सुनसरी, खोटाङ, सिन्धुली, नेपालगन्ज, दाङ, सुर्खेत, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, धनकुटा, सप्तरी, उदयपुर, सिराहा, महोत्तरी, दोलखा, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, काठमाडौँ, ललितपुर, भक्तपुर, नवलपरासी, पाल्पा, स्याङ्जा, रुपन्देही, कास्की, कपिलवस्तु, अर्घाखाँची, पर्वत, म्याग्दी, बागलुङ, बाँके, कैलाली, कञ्चनपुर आदि सबै जिल्लाहरूमा २ महिना जति अन्दाजमा होलान् रात बिताएको छु । काठमाडौँमा २ वर्ष र गोरखामा १० महिना पढ्न र पढाउने क्रममा रात बिताउनु बाहेक अन्तकतै रात बिताइएन । करिब ७० वर्ष बनेपामा जीवन बिताएको कारणले बनेपालाई नजिकले हेर्न पाएको छु । यसै गरी आफू जन्मेको घरको दर्द, व्यथामा आफू समाहित हुँदै जीवनको सात दशक घरमा रहेर बिताएको छु । घर थोरै मात्र सोच्न सकेको छु । सधैँ सबै बेला आफ्नै घर, आफ्नै परिवार र आफू मात्र सोच्नेहरू भन्दा आर्थिक अवस्थामा र घरको थिति–रित्ती मिलाउने सवालमा म कमजोर देखिनु स्वाभाविक कै छ । समाजपरक सोचकै कारणले, समाजकै लागि केही न केही गरिरहनु पर्छ भन्ने भावनाकै उद्बोधनले सधैँ समाजमा सक्रिय रहनु मेरो नियति जस्तै भएको छ । सानै छँदा देखि सिक्दै गरेको बानी ठुलो हुँदा मेट्न गाह्रो हुँदो रहेछ । तर पनि जस्तो आपत् विपथमा पनि समाजको हित हुने खालका कार्यहरूमा लाग्न पाउँदा आफू गौरवान्वित हुने प्रचलनले म सामाजिक यात्रामा सक्रिय रहन पाएको छु । क्याम्पस, पुस्तकालय, पत्रपत्रिका, स्मारिका, सङ्घसंस्था, साहित्यिक गतिविधि, पुस्तकहरू नियालेर पुस्तक/पत्रिका निकालेर नै धेरैजसो मेरो समयहरू बितिरहेछन् । समाजमा चेतना फिँजाउने धेरै खालका कार्यहरूमा संलग्न रहेको कारणले धेरैजसो समाजका पथ प्रदर्शक मित्रहरू विचार सम्प्रेषण गर्न मकहाँ आउँछन् । म पनि यस खालका मित्रहरूसँग समय कटाउन पाउँदा गौरव महसुस गर्छु ।
०००
केही सोच्ने तर केही पनि नगर्ने मनोरोग मेरो भएन । लागे पछि यात्रामा लागिरहूँ जस्तो लाग्छ मलाई । समाजका अनगिन्ती पाटाहरूमा मैले मन र आँखा लगाएको छु, अझ थाकेको छुइन – यात्रामा निरन्तर लागिरहेको छु । काभ्रे बहुमुखी क्याम्पस यात्राको एउटा बिम्ब हो मेरो । ४२ वर्षपछि पनि समय मिलाएर प्रगतिका लागि कुदिरहेको छु । अझ कति कुद्न सकिने हो, सके सम्म कुदि रहन्छु । घाम पानी, असिना, बर्साद केही नभनी समाजमा उज्यालो छर्नका लागि चालिएको उक्त शैक्षणिक गतिविधिमा हाल सम्म पनि साथीभाइहरू सँग होस्टेमा हैँसे मिलाएर कर्म पथमा लागिरहेको छु । थुप्रैले यस शैक्षिक संस्था मार्फत बल लिए, प्रेरणा प्राप्त गरे, अनुकरण गरे; त्यसैले त गौरव अनुभूत गर्न पाएको छु । टुसाल, भैंसेपाटी, पाँचखाल, बनेपा, साँगा, गोरखा, काठमाडौँ आदि थुप्रै ठाउँमा शिक्षण सेवा गर्न पाएको र त्यस ठाउँबाट पाएको प्रोत्साहन, शिक्षा मैले कहिल्यै बिर्सेको छैन । प्राइमरी देखि क्याम्पस शिक्षण गर्दाको थुप्रै आरोह अवरोहरु मनमा थपक्क राखेको छु । मेरा यात्रामा खराब सोच्नेहरूले मात्र असल भनेनन् । खराब मनोवृत्ति हुने सरकारी निकायहरूले जहिले पनि बाधा अड्चन मात्र रचे; तर पनि यात्रामा अविचल ७५ वर्षसम्म पनि रमिरहेँ ।
सम्मान गर्न लायकका मान्छेहरूको उचित मूल्याङ्कन गरिदिनु पर्छ भन्ने मान्यताले गर्दा काभ्रे र राष्ट्रका थुप्रै खालका थुप्रै क्षेत्रमा कार्यरत प्रतिभाहरूको सम्मानमा बिम्ब प्रतिबिम्ब काभ्रे टाइम्समा सम्प्रेषण गरेर धेरै वर्षसम्म लेखेँ । र नेपाल समाचारपत्र दैनिकमा पनि पृष्ठ संयोजकका रूपमा रही धेरै वर्षसम्म साहित्यिक पृष्ठ चलाएँ । अझ पनि लेख्दै छु । प्रभात फेरी साप्ताहिकमा हप्तामा एउटा लेख पनि लेखिरहेको छु । यस्तै लेख्नु र गर्नुमा मलाई गौरव लाग्छ । उदार मन राखेर आफ्नो मन र आँखाले भ्याउन सकेका बिम्बहरूलाई राष्ट्रमा चिनाउन पाउँदा खुसीले म सधैँ नतमस्तक हुन्छु । यसै क्रममा लाग्दा लाग्दै प्रतिभा सम्मान प्रबन्ध गुठी, केदारनाथ स्मृति तथा प्रकाशन समितिमा रहेर कार्य गरेको पनि धेरै वर्ष नाघी सकेको छ । बनेपा, काभ्रे जिल्ला र राष्ट्रका सम्मानित प्रतिभाहरूलाई सम्मान गर्ने परम्परा सुरु गर्न पाउँदाका अनेकौँ प्रसङ्गहरू मनमा छरपस्ट छन् । धेरैले यस परम्परालाई रुचाउनुका साथै अनुकरण पनि गरेका छन् । तर कोही–कोहीहरू बिचमा नै अलपत्र भएर गए । जिल्लामा जस्तै राष्ट्रमा पनि केदारमान व्यथित, युद्धप्रसाद मिश्र, हृदयचन्द्र सिंह, केवल पुरे किसानका नामबाट स्थापित प्रतिष्ठानमा रहेर थुप्रै खालका प्रतिभाहरू, सर्जकहरू, इतिहासकारहरूलाई राष्ट्रमा चिनाउन पाएको छु । म गौरव महसुस गर्छु, गौरवले प्रफुल्लित हुँदै यस्तै सिर्जनात्मक कार्यक्रममा धेरै वर्षदेखि निरन्तर लागेजस्तै अझै लागि रहन निरन्तर प्रयत्नरत छु । सुनकोसीका साहित्यिक यात्रा अविस्मरणीय छन् । सुनकोसीको स्थापना सँगसँगै कृष्णप्रसाद पराजुली सँगसँगै यात्रा गर्न पाउँदाका सुखद क्षणहरू बिर्सी पठाउन गाह्रो छ । पूर्व १ नम्बर हुँदै राष्ट्रमा निरन्तर बग्न पाएको सुनकोसीको यात्रा जीवनका सुखद अनुभूतिहरू हुन् । शारदा मासिकलाई पुनः साहित्यिक पत्रकारिताको स्तम्भ बनाइराख्ने अभियानमा पनि साथ दिएको र सक्दो सहयोग गरेको सम्झना छ । यसै गरी वेदना साहित्यिक पत्रिकालाई पनि संस्थापन गर्ने कुरोमा आफू सक्दो सहयोग भएको प्रसङ्गहरू पनि मनमा तरङ्गित छन् ।
साहित्यिक क्षेत्र सुख्खा क्षेत्र, लगानी गर्नुपर्ने क्षेत्र हो भनेर हैरान हुने थुप्रै मित्रहरूले मलाई पनि भ्रमित र अन्योल तुल्याउने प्रयास नभएको होइन । तर पनि म कसैको भ्रममा नपरीकन यस क्षेत्रमा लाग्न खोजिरहेछु, खोजिरहेको छु । धन्य हो मन ! मनलाई जित्न सकेको खण्डमा जे पनि गर्न सकिँदा रहेछन् । म पनि आफ्नो यस यात्रामा मन जितेर नै लागिरहेको छु । म कहाँ नयाँ–पुरानो, समकालीन थुप्रै स्तरका साहित्यकारहरू आइरहन्छ, सम्पर्क भइरहन्छ, फोन–वार्ता चलिरहन्छन् । यस्तै सम्पर्क भएको छ मेरा साहित्यिक कर्मका पद्चापहरु । म नियालिरहेछु साहित्यिक मित्रहरू । कोही तुरुन्तै चर्चामा आउन जे पनि गर्न रुचाउँछन्, कोही लाग्दा लाग्दै थाकेर भाग्छन्, कोही निरन्तर लागिरहन प्रेरणा प्राप्त गर्न खोज्छन् । धेरै थरिका यात्रीहरू छन् यस यात्रामा पनि । सिर्जनाको फाँटमा लर्तरो मान्छेको प्रवेश हुनु ठुलो भूल हुनेछ । सङ्कल्प, साहस र सङ्घर्षले नै कुनै पनि मान्छेलाई बलियो र सबल बनाउँछ । यस क्षेत्रमा लागेर तुरुन्तै चर्चामा आइ हाल्न खोज्नेहरू हार खान्छन् र मैदान छोडेर भाग्छन् । यस खालमा मित्रहरू मनमा राखेर नियालिरहेछु । म त्यसैले नयाँ साहित्यिक मित्रहरुलाई विचलनमा नभासियोस् भन्न रुचाइरहेछु । गाह्रो बाटो हुँदै यात्रा गर्नुपर्ने कष्टप्रद क्षणहरूबारे बताइ रहन्छु । धैर्य नहुनेहरू, अध्ययन नगर्नेहरू र निरन्तर बढी रहन नसक्नेहरू यात्रामा हार खान्छन् । भ्रम, जाल, षड्यन्त्रले सबल मान्छे बनाउँदैन । सबल हुनका लागि धेरै खालका कष्टप्रद क्षणहरू पचाउन सक्ने ताकत हुनुपर्छ । म पनि यस यात्रामा धैर्य र साहस झुन्ड्याएर लागिरहेछु ।
अप्ठ्यारो काममा मन लगाउनु भन्दा खराब, कुलत कार्य शैलीमा मन दिनु भन्दा अथवा चाहिँदो–नचाहिँदो कुरा–गफमा भुल्नु भन्दा सिर्जनाका हरफहरू कोर्नु सरल काम हो भन्ने खालको सम्मोहनमा परेर मैले साहित्य सिर्जना गरेको हुँ । मनले ठम्याइएका कुराहरू अझ भनौँ समाजका हित खातिर सोचिएका अनुभूतिहरू साहित्यको नाममा लेख्न पाउँदा मन विभोर हुन्छ । मनलाई थुमथुम्याउँदै मनलाई बलियो बनाई म लेखिरहेको छु । जनमतका अनेकौँ शृङ्खलाहरू यस्तै दह्रो मनले सोचिएका अनेकौँ प्रसङ्गहरूका बिम्ब/प्रतिबिम्बहरू हुन् । साहस मनमा झुन्ड्याएर निरन्तर प्रयास गरिँदा उपलब्धिहरू प्राप्त हुँदा रहेछन् । यही साहसले नै जनमतका स्वरहरू राष्ट्रमा व्याप्त हुन गएको छ । राष्ट्रका धेरैजसो स्थानहरूमा जनमत पुगेको खबर प्राप्त हुनु, नपुगेको ठाउँमा जनमतको माग बढ्नु यस्तै कठिन प्रयासका उपलब्धिहरू हुन् । जनमतको नाम सँग थुप्रै मान्छेहरू गाँसिएका छन्, थुप्रै नयाँ पुस्ताले स्रष्टाका नाममा आफूलाई चिनाएका छन् । थुप्रै साहित्यकारहरूले आफ्ना कृतिहरू जनमत प्रकाशन मार्फत प्रकाशित गराएर आफूलाई राष्ट्रमा परिचित तुल्याएका छन् ।
बनेपाको बेचल्तीको पुराना बजारको सुनसान एउटा गल्लीबाट जनमत राष्ट्रमा सम्प्रेषित गरिरहन पाउँदाका सुखानुभूति बताएर साध्य छैन । मनमा सन्तुष्टि झुन्ड्याऊ नपाउँदाको गौरव कस्तो हुँदो रहेछ – म अचेल आफैँलाई साक्षी राखेर जनमतमा वशीभूत भइरहेछु । आफ्नै पाठक, इष्टमित्र, सहयोगीहरूका साथै मलाई संरक्षित गर्न रुचाउनेहरू, सल्लाह साहुती दिँदै जनमतलाई टेवा दिने राष्ट्रमा अनगिन्ति छन् । म बनेपालाई जनमतमय बनाउन जनमत सम्प्रेषण गरिरहेछु ।
०००
हिउँजस्तो कञ्चन, घामजस्तो प्रकाशमय, पानीझैँ चोखो मन हुनेहरू जो कोही पनि कसैसँग डर मान्नु पर्दैन । कञ्चन, पवित्र, प्रकाशमय वस्तुहरू सबैले रुचाउँछन् – तर यस खालको वस्तु हुन पो गाह्रो । षड्यन्त्र मन पराउनेहरू, अर्काको प्रगतिमा जल्नेहरुको स्पेस साहित्यमा राखिइदिनु हुँदैन । यस खालको सोचले नै मलाई साहित्य लेखनमा प्रेरित गर्यो । लक्ष्मीप्रसाद देवकोटा मलाई मन परेका एक जना प्रिय कवि हुन् । उनले साहित्यमा आफ्नो छवि प्रतिभा उत्कृष्ट ढङ्गले देखाउन सफल रह्यो । अभाव, दरिद्रता, दुःख कष्ट केहीको पनि प्रभाव नगर्दै बाँच्न सिकेका देवकोटा ‘पागल’को उपाधि पाएर पनि पागल बन्न डराएनन् । त्यसैको परिणति बने – महाकवि देवकोटा । देवकोटाले आफ्नो जीवनलाई कष्टमय तुल्याउँदै मान्छेकै लागि लेखिरहे, यस्तै लेखाइका हरफहरू हुन् महाकवि देवकोटा । देवकोटाले जीवनलाई कसरी बुझे – जीवन के हो ?यात्रा के हो ? यस सन्दर्भ देवकोटाको स्मरण गराएका छन् – “जीवन भनेको नै लहराउनु, तरङ्गिनु, गुनगुनाउनु र चलमलाउनु हो ।’ म पनि यस्तै परिभाषामा सधैँ तरङ्गिन चाहन्छु – यस्तै जीवनको परिभाषामा रङ्गमङ्गिएर ‘जीवन’खोजिरहेछु । जीवन भोगिरहेछु ।