सपनामा तिम्रो प्रवेश रोक्न
यी आँखाको ढोकामा लगाउने
कुनै चाबी छैन मसँग ।
यी जुन एकजोर ढकनी छन्
जसलाई तिमी ढोका भन्छौ,
यी परेलीहरू
जसलाई तिमी गजबार ठान्छौ,
कमजोर छु, लाचार छु
रातो बत्ती बल्दा पनि
म यिनीहरूको सवारी रोक्न सक्दिन ।
यी आँखा त
तिम्रै सपनाको ट्राफिक जाम हुने चोक हुन् कुनै
गल्ली वा चौबाटो हुन्
र सपना भन्नु
तिम्रै यादका किरणहरू न हुन्
मनको ब्रम्हाण्डमा यात्रा गर्दै गर्दै आएका किरणहरू
कतै खस्दै, कतै हुर्रिदै आएका किरणहरू
न मैले यिनको गति रोक्न सक्छु
न यिनीहरूबाट अछुत बस्न सक्छु ।
म केवल
सपना-घामको गुरुत्वले फन्फनी घुमिरहेको
एक पृथ्वी न हुँ ।
म केवल
सपनाका किरणले जीवनको खेती गरिरहेको
एक किसान-धरती न हुँ ।
के तिमीसँग कुनै चाबी छ त्यस्तो
जसले सपनामा मलाई
तिम्रो आँखाको ढोका बाहिर रोक्न सकोस