मलाइ विश्वास थिएन प्रकृतिले एक ठाउँलाइ बसन्त ऋतु ल्याएर हरियो बनाएर नदीनाला बनाएर रुख चराचुरुङ्गीको कलरव मयुर आदिको नृत्यले शोभायमान गराउने अर्को ठाउँलाइ शीत ऋतु ल्याएर त्यहाँको सौन्दर्यनै हराइ दिने । उवड खावड भूमिमा एउटा चराको सम्म पनि शब्द नसुनिने । कतै पानीको थोपा नपाइने । के प्रकृतिले कहिं यस्तो गर्छ होला ? साँच्चौ मलाइ कत्ति विश्वास थिएन । अस्ति भरखर एउटा कहानी पढेकी थिएँ जसमा त्यस्तै थियो । सबै ठाउँमा बसन्त आयो तर एउटा राक्षसको बगैंचामा शीत ऋतु आइरह्यो । बसन्त आएन । मलाइ आश्चर्य लाग्यो । मैले लेखकलाइ नै उल्लु बनाए ।
गृष्म ऋतु सकियो । बसन्त आयो । चारैतिर बनजंगल, हरियो भइ लहलहाउन लाग्यो । नदीनाला कलकल शब्दले भएभरको दुख पोखाउन आफ्नो आमातिर वेतोडले दौड्न लाग्यो । उनीहरुको सुखमा आफ्नो सुख पनि मिलाएर आनन्द लुट्न म पनि त्यहाँ पुगें । त्यहाँको सौन्दर्य देखेर म छक्क परें, दङ्ग परें अनि टोलाएर हेरीरहें । मैले आफुलाई बिर्सें । त्यहाँको गीत सुन्दा सुन्दा मेरो कान बहिरो भयो । मैले अरु केही सुन्न सकिंन । त्यहाँको नाच हेर्दाहेर्दै मेरो आँखा नै अन्धा भयो मैले अरु हेर्न सकिंन ।
लोभी कानले जति सुने पनि अघाएन । लोभि आँखाले बसन्तको यौवन ढल्केकी प्रकृतिको नृत्य जति हेरेपनि अघाएन ।
प्रकृतिको छल्ने बानी मलाइ थाहा थिएन । वर्षाले बाटोमा लेउ जमी राखेको रहेछ । मैले त त्यो पनि एउटा सौन्दर्यको अङ्ग भन्ने सम्झेकी थिएँ । त्यहाँ कुल्चिँदा चिप्लिएर लड्ला भन्ने थाहा भए पो ।
म उफ्रँदै नाच्दै, हुर्के, बढें । मलाइ समयको ख्याल भएन । म कहाँसम्म पुगें त्यो पनि थाहा भएन ।
सुख आनन्दमा आफु डुबेकोले मेरो परिवारले के काम गर्यो के गरेन मैले वास्ता गरिंन । दुर्योधनले युधिष्ठिरको दरबारमा छलीएझैं म पनि त्यो लेउ लागेको ठाउँमा हेर्दै त हेरीकन पाइलो टेकेछुं । चिलिक्क चिप्लिएर म पच्छारीएँ । उठ्नै सकिंन । यता उति हेरें कसैलाइ देखिंन । वृक्षहरुले सहारा देला कि भन्ने आशातित दृष्यले हेरें तर मेरा अगाडिको सबै चीज वस्तुहरुको बसन्त एकैचोटी भाग्यो । शीत आयो जाडोले कक्रिएर बसें । कोही सहारा भएन, लडीरहें । घाउ घाउले शरीर छिया छिया भएको छ । यसो आँखा खोलेर हेरें पारी डाँडा हरीयो भइ लहलहाइ आफ्नो सौन्दर्यमा मस्त भइराखेको अनि मलाइ विश्वास गर्न कर लाग्यो बसन्त र शीत पनि संगसंगै आउँदो रहेछ ।