१. विषय प्रवेश
नेपाली भाषा अधिकांश नेपालीको मातृभाषा, अरू मातृभाषी नेपालीहरूको सम्पर्क भाषा र सबैको सरकारी कामकाजको भाषा हो । यसकारण नेपाली भाषाको प्रयोगमा मानक वर्णविन्यासको प्रयोग हुनुपर्दछ । मानक भनेको आदर्श, शुद्ध र सही रूप हो । मानक रूपमा शुद्धता, उच्च स्तरीयता र एकरूपता हुन्छ ।
आधिकारिक निकायहरूले प्रयोगमा ल्याएको तथा भाषाका वक्ताले आदर्श मानेको र सामाजिक सांस्कृतिक आदान प्रदानका साथै सरकारी कामकाज र शैक्षिक क्षेत्रमा समान रूपमा प्रयुक्त हुने रूपलाई मानक रूप मानिन्छ । मानकीकरण गर्ने कार्य व्याकरण र शब्दकोशका माध्यमबाट हुन्छ ।
भाषाका आन्तरिक विशेषताहरूको अन्वेषण, विश्लेषणपछि सामान्यीकृत नियमहरूको सूचना व्याकरणबाट पाइन्छ भने शब्दभण्डारको प्रकृति र प्रवृत्तिको अध्ययनसहित शब्दको उच्चारण, हिज्जे, व्युत्पत्ति, व्युत्पादन, शब्दवर्गीय स्थिति, व्याकरणिक सूचनाहरू, शब्दप्रयोगको सामाजिक स्तरगत अवस्था, अर्थविविधता जस्ता समग्र सूचना शब्दकोशले प्रदान गर्दछ ।
यसका लागि भाषा–व्याकरणको ज्ञान अनिवार्य हुन्छ । ज्ञान नहुँदा लेखिएको कुरा अशुद्ध हुने, अर्थको अनर्थ हुने र सहज सम्प्रेषण नहुने पनि हुन सक्छ । लेखनशैलीमा विविधता हुन सक्छ तर वर्णविन्यासमा भने एकरूपता हुनुपर्छ । प्रकाशन गृह र संस्थाका आआफ्नै प्रकाशन शैली (House style) हुन सक्छन् तर वर्णविन्यास पनि आफ्नै किसिमको प्रयोग गर्नु चाहिँ उपयुक्त हुँदैन ।
नेपाली वर्णविन्यासका क्षेत्रमा विवादहरू रहँदै आएका हुनाले नेपाल सरकारले नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित अद्यावधिक नेपाली बृहत् शब्दकोश (हाल २०७५) बमोजिमको वर्णविन्यास प्रयोग गर्ने भनेर परिपत्र गरेको छ र यसै अनुसार विश्वविद्यालयहरू, पाठ्यक्रम विकास केन्द्रहरू र अन्य सम्बन्धित निकायहरूले यसलाई कार्यान्वयन गरिरहेका छन् तर कतिपय निजी सञ्चार गृह र प्रकाशन संस्थाहरू तथा व्यक्तिले समेत आआफ्नै बुझाइको वर्णविन्यासको प्रयोग पनि गरिरहेको पाइन्छ जुन प्रयोग मानक होइन ।
यसले गर्दा प्रयोक्ताहरूमा अन्योल रहिरहेकै छ । यसलाई जिम्मेवार आधिकारिक संस्था र व्यक्तिहरूले निराकरण गर्नु जरुरी छ र यसमा नेपाली विषय पठनपाठन गर्ने शिक्षक, प्राध्यापकहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । यही कुरालाई ध्यानमा राखेर प्रस्तुत अवधारणा पत्रमा नेपाली वर्णविन्यासका केही मुख्य पक्षका बारेमा चर्चा गरिएको छ ।
२. नेपाली वर्णविन्यास समस्याका क्षेत्रहरू
नेपाली शब्दभण्डार तत्सम, तद्भव र आगन्तुक शब्दले बनेको छ । शब्दभण्डारका यी सबै शब्दलेखनका लागि तर्जुमा गरिएका हिज्जे नियमहरू पनि पहिलेदेखि नै शब्दस्रोतका आधारमा नै बनाई प्रयोगमा ल्याइएका छन् । जसअनुसार संस्कृत तत्सम शब्दहरू संस्कृत नियमानुसार नै व्यवस्थित देखिन्छन् भने तद्भव शब्दलाई नेपाली भाषाका मौलिक शब्द मानी तिनका लागि छुट्टै नेपाली नियमको व्यवस्था र प्रयोग गरिएको छ तर तद्भव शब्द नेपालीका मौलिक शब्द भए पनि यस्ता कतिपय शब्दको लेखाइमा प्रारम्भदेखि नै स्रोतभाषा संस्कृतको प्रभाव देखिन्छ । कतिपय आगन्तुक शब्द नेपाली नियमानुसार लेखिए पनि केही शब्द भने स्रोतभाषाअनुसार लिप्यन्तरण गरी लेख्य प्रचलनमा ल्याइएका देखिन्छन् । नेपाली वर्णविन्यास प्रयोगमा निम्नानुसारका समस्या रहेका छन् ।
चन्द्रबिन्दु ( –ँ ), शिरबिन्दु ( ) र पञ्चम वर्ण (ङ, ञ, ण, न, म) को प्रयोग
ह्रस्व तथा दीर्घ वर्ण र मात्रा (इ, ई, ,ि ी, उ, ऊ, ु, ू ) को प्रयोग
उस्तै उच्चरित वर्णहरू (श/ ष/ स, ऋ/ रि, ब/ व, य/ ए; क्ष/ छ्य, क्षे/छे) आदिको प्रयोग
पदयोग र पदवियोगको प्रयोग
३. नेपाली वर्णविन्यासका सम्बन्धमा भएको मानकीकरणको पछिल्लो कार्य
(क) तत्सम, तद्भव र आगन्तुक शब्दका सम्बन्धमा
नेपाली भाषामा तत्सम शब्दलाई संस्कृत परम्पराअनुसारै लेखिन्छ भने तद्भव र आगन्तुकलाई नेपाली नियमअनुसार लेखिन्छ । नेपाली उच्चारणमा नरहेका तर लेख्य वर्णका रूपमा रहेका ऋ, ञ, ण, श, ष, क्ष, ज्ञ वर्ण तत्सम शब्दमा मात्रै प्रयोग हुन्छन् । यी प्रयोग भएका शब्द तत्सम हुन् भन्ने बुझ्नुपर्छ (जस्तै: ऋण, चञ्चल, पूर्ण, महेश, भाषा क्षति, ज्ञान आदि ।) र यसै अनुसार यिनको प्रयोग गर्नुपर्छ ।
(ख) संयुक्त व्यञ्जनका सम्बन्धमा
(अ) तत्सम शब्दमा प्रयुक्त संयुक्त व्यञ्जन वर्ण विशेष गरी ‘द्’ वर्णसँग जोडिएर आउने शब्दलाई हलन्त (जस्तै: विद्या, बुद्ध, युद्ध, द्वन्द्व, द्वित्व, द्विवचन आदि) नलेखी संयुक्ताक्षर (जस्तै: विद्या, बुद्ध, युद्ध, द्वन्द्व, द्वित्व, द्विवचन आदि) नै लेख्ने ।
(आ) अन्य संयुक्त व्यञ्जन जोडिएर बनेका शब्दलाई हलन्त (जस्तैः अङ्क, अङ्ग शङ्ख, मङ्गल, गन्हाउनु, ब्राह्मण, प्रह्लाद, चिह्न, तत्त्व, मत्त आदि) लेख्ने ।
(इ) क् र त मिलेर बनेको संयुक्त वर्णलाई भने वैकल्पिक (क्त/क्त) रूपमा लेख्न सकिन्छ ।
(ग) पदयोग र पदवियोगका सम्बन्धमा
(अ) रुढ भइसकेका एकार्थी (स्थाननाम, बारनाम, संस्था र व्यक्तिका नाम आदि) शब्दलाई पदयोग गरेर लेख्ने । जस्तै– भक्तपुर, ललितपुर, विराटनगर, आइतबार, सोमबार, विश्वविद्यालय, विद्यावारिधि, लक्ष्मीप्रसाद, लेखनाथ आदि तर व्यक्तिनाम व्यक्तिको पहिचानसँग जोडिएकाले छुट्याएर लेखेमा अन्यथा नमान्ने । जस्तै – कृष्ण बहादुर, मुरारि प्रसाद आदि ।
(आ) सबै नामयोगीलाई पूर्व प्रचलन अनुसार मूल शब्दसँग योग गरेर लेख्ने । जस्तै– टेबुलमाथि, घरबाहिर, रामसित, पूर्वतर्फ, भनेबमोजिम, गरेअनुसार आदि ।
(इ) पूर्ण द्वित्व शब्द छुट्टाछुट्टै लेख्ने । जस्तै– खान्छ खान्छ, क्याम्पस क्याम्पस, विद्यालय विद्यालय, घर घर, जो जो आदि । अरू द्वित्व शब्दलाई भने एउटै डिकोमा लेख्ने । जस्तै– भातसात, मरमसला, आआफ्नो ससाना आदि ।
(ई) संयुक्त क्रियालाई जोडेर लेख्ने । जस्तै: खानुपर्छ, खाइहाल्छ, खाइजान्छ, मिलाइदिन्छ आदि तर पूर्वकालिक र उत्तरकालिक क्रिया एवम् पूर्ण, अपूर्ण र सामान्य भविष्यत् पक्षका क्रियालाई छुट्याएर लेख्ने । जस्तै– खाई जान्छ (खाएर जान्छ), खान जान्छ (खानका लागि जान्छ), पढ्दै छ, भनेको छ, खाने छ आदि ।
(उ) विशेषण विशेष्ययुक्त शब्दलाई पदवियोग गरी लेख्ने । जस्तैः अकासे खेती, कान्छो बाबु, कालो मुन्टो, माइला दाइ, सानो दाइ, ठुली आमा आदि तर दुई शब्द मिली एकार्थी भएका समस्त शब्द तथा विकार भएका शब्दलाई पदयोग गरेर लेख्ने । जस्तै शुभयात्रा, प्रधानमन्त्री, कालीमाटी, रातीगेडी, माल्दाइ, सान्दाइ, ठुल्यामा आदि ।
(ऊ) समास भएर बनेका लामा शब्दहरूका घटक (जस्तै– प्रधान न्यायाधीश, मदन पुरस्कार, सरस्वती सम्मान, उच्च माध्यमिक, नेपाल सरकार, संस्कार सुधार, नेपाली समालोचना आदि) तथा विशेषण विशेष्य संरचनाका घटक (जस्तै– तेह्रथुमे केटो, सानो भाइ, माथिल्लो घर, साउने पानी आदि) लाई अलग डिकोमा लेख्ने । यसबाहेकका दुई शब्दका लघु समासयुक्त शब्द (शिक्षामन्त्री, केटाकेटी, दालभात, बङ्गुरपालन, विशेषणबोधक, घरबाहिर आदि) लाई एउटै डिकोमा लेख्ने ।
(घ) ह्रस्व र दीर्घका सम्बन्धमा
(अ) पहिचानसँग जोडिएका जात, थर बुझाउने सबै शब्दका अन्तिम इकार र उकार दीर्घ लेख्ने, जस्तै– कामी, दमाई, लिम्बू, राई आदि तर समुदायले प्रचलनमा ल्याएका सायमि, यमि जस्ता प्रयोगलाई यथावत् रूपमा लेख्ने ।
(अ) विशेषणबोधक शब्दका अन्त्यमा आउने इकारलाई दीर्घ र उकारलाई प्रचलन अनुसार ह्रस्व लेख्ने, जस्तो– रोगी, भोगी, इखालु, विषालु, सिकारु आदि ।
(आ) तीनबाहेक सङ्ख्यावाचक सबै शब्दका आदि र मध्यमा (बिस, तिस, एकाइस, चौबिस, बत्तिस, चालिस, आदि) ह्रस्व गर्ने ।
(इ) क्षतिपूर्ति दीर्घीभवन भनी दीर्घ लेखिँदै आएका (मीठो, दूध, मीत, तीतो आदि) सबै शब्दलाई ह्रस्व (मिठो, दुध, मित, तितो) लेख्ने ।
(ई) श्रुतिसम भिन्नार्थी (फूल/फुल, तीन/तिन, पूरा/पुरा, जून/जुन) शब्दलाई छुट्टा छुट्टै लेख्ने ।
(उ) तद्भव र आगन्तुक शब्दका आदि र मध्यमा ह्रस्व लेख्ने । जस्तै : पिठो, तितो, स्कुल, सिकार, एसिया, सहिद आदि ।
(ऊ) विध्यर्थक क्रियाका बिचमा ह्रस्व र अन्त्यमा दीर्घ लेख्ने । जस्तै– जाउन्, हिडुन्, जाऊ, खानू, देऊ आदि ।
(ए) वचनबोधक ‘हरू’ लाई दीर्घ नै लेख्ने ।
(ङ) श, ष, स का सम्बन्धमा
(अ) ‘श’, र ‘ष’ को प्रयोग तत्सम शब्दमा मात्र हुन्छ । ‘स’ को प्रयोग तत्सम, तद्भव र आगन्तुक तीन प्रकारकै शब्दमा हुन्छ । तद्भव र आगन्तुक शब्दमा ‘स’ को मात्र प्रयोग हुन्छ । जाति, थर बुझाउने शब्दमा आउने ‘श’ लाई भने सम्बन्धित समुदायले प्रयोगमा ल्याएका प्रचलन अनुसार नै लेख्ने, जस्तो– शेर्पा, शाह, शाही, शेरचन, जोशी आदि ।
(आ) सबै आगन्तुक शब्दमा पूर्व प्रचलनअनुसार ‘स’ मात्र लेख्ने जस्तैः सहिद, सहर, कोटेसन आदि ।
४. निष्कर्ष
नेपाली भाषा अधिकांश नेपालीको मातृभाषा हो भने सबै नेपालीको सम्पर्क भाषा हो भन्ने कुरालाई आत्मसात् गरेर यसलाई मानक रूपमा प्रयोग गर्नुपर्र्दछ । नेपाल सरकारका आधिकारिक संस्था नेपाल प्रज्ञा–प्रतिष्ठान, विश्वविद्यालयहरू र पाठ्यक्रम विकास केन्द्रहरूले मानकका रूपमा स्वीकार गरेको वर्णविन्यासलाई नै आम प्रयोक्ताहरूले पालना गर्दा एकरूपता कायम हुन्छ ।
मानक प्रयोगलाई कुनै व्यक्ति प्रयोक्ताले आफ्ना लेखनमा उपेक्षा गर्न पनि सक्ला तर शैक्षिक संस्था, सरकारी सञ्चार माध्यमहरू, सरकारी निकायहरू तथा यसका प्रयोक्ताहरूले पालना गर्नै पर्दछ । हाम्रा आधिकारिक निकाय भनेका नेपाल प्रज्ञा–प्रतिष्ठान, विश्वविद्यालय र पाठ्यक्रम विकास केन्द्रहरू नै हुन् । यिनले प्रयोगमा ल्याएको मानक रूप नै आधिकारिक रूप हो ।
यो नियम शैक्षिक क्षेत्रमा मात्र नभएर सञ्चार जगत्, प्रकाशन गृह, सरकारी कार्यालय, सङ्घ, संस्था साहित्यिक जगत् आदिमा पनि लागु हुनुपर्छ । यसो भएमा नेपाली भाषाको लेखनमा रहेको अनेकता र अराजकता अन्त्य हुन्छ र भाषा व्याकरणमा एकरूपता कायम हुन्छ ।
(नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा तेह्रथुम बहुमुखी क्याम्पस, आठराईमा आयोजित वर्णविन्याससम्बन्धी अभिमुखीकरण कार्यक्रममा प्रस्तुत पत्र)