साहित्य भनेको भाषाद्वारा अभिव्यक्त हुने अनुकरणात्मक कला हो । साहित्य वास्तवमा कठिन, जटिल र व्यापक विषय हो । यसमा सामाजिक जीवनको यथार्थ चित्रण हुने भएकाले यसलाई समाजको ऐना भन्ने पनि गरिन्छ । समाजको सांस्कृतिक रुपान्तरणमा यसको हात रहन्छ । यसो भएकाले साहित्यलाई समाज रुपान्तरणको औजार पनि भनिन्छ ।
साहित्यको यस भूमिकालाई अगाडि बढाउने यसका पूर्वाधार भनेका पत्रपत्रिकाहरु हुन् । स्रष्टाका साहित्ययात्राको प्रारम्भिक पाठशाला यिनै हुन् । त्यसमाथि साहित्यिक पत्रकारिता आम पत्रकारिता क्षेत्रको विशेष अङ्ग पनि हो । सिर्जनात्मकता, बौद्धिकता, प्राज्ञिकता, उध्र्वगामिता, यथार्थपरकता यसका विशेषता हुन् । भाषाको विकास र सांस्कृतिक निकाशमा पनि यसकै हात रहेको हुन्छ ।
सिन्धुपाल्चोकमा साहित्य लेखनको प्रार्दुभाव भएसँगै साहित्यिक पत्रकारिता पनि सुरु भएको हो । जिल्लाबाटै भने २०३५ सालबाट साहित्यिक पत्रकारिता प्रकाशन भएको देखिन्छ । सिन्धु साहित्यिक पत्रकारिताको आयामसँग हाम्रो संस्था दु:खी प्रकाशन र त्यससँग सम्बद्ध व्यक्तिहरुको नाम पनि जोडिन पुग्ने भएकोले यसबारे केहि चर्चा गर्न उपयुक्त ठान्दछु ।
४० को दशकको सुरुवातसम्ममा सिन्धुपाल्चोकबाट दुई वटा साहित्यिक पत्रिका प्रकाशन भइसकेका थिए । तर नियमित हुन सकेको थिएन । जनआन्दोलनको राप र ताप कामयमै थियो । यो अवस्थामा हामीले(केशवलोचन शर्मा, स्व. ईश्वरी कक्षपति र पंक्तिकार) जिल्लामा साहित्यिक गतिविधि बढाउने सल्लाह गर्यौं । सल्लाह मुताविक २०४७ को सुरुवातमै जुगल वार्षिक साहित्यिक संकलन’ प्रकाशन गर्यौं । जुगल सांस्कृतिक परिवारबाट प्रकाशित यो पत्रिकाको पहिलो अङ्क हामीले २०४६ मै प्रकाशन गर्न लागेका थियौं, तर राजनैतिक उत्तरचढावका कारण प्रकाशन हुन सकेन र झण्डै १ वर्ष ढिला हुन पुग्यो । जुगलको प्रकाशन पछि हामीमा साहित्य क्षेत्रमा केही गर्नुपर्छ भन्ने जोश थपियो । लगत्तै हामी (केशवलोचन शर्मा, मोहन कुँवर र पंक्तिकार) मिलेर २०४७ मै सिन्धु जमर्को त्रैमासिक प्रकाशन सुरु गर्यौं ।
अहिलेकोजस्तो अत्याधुनिक छपाई मेसिन नभएको त्यो बेलामा लेटरप्रेसमा अक्षरहरु मिलाएर कम्पोज गर्नुपथ्र्यो । त्यो दु:ख साहित्यप्रतिको लगावले हराइदिएको थियो । त्यसै साल मेरो सम्पादनमा देशभरका कविहरुको कविता संकलन गरी संयुक्त कृति वर्तमान आवाजहरु प्रकाशन भयो । रचना संकलनको लागि ज्ञानुवाकर पौडेलदाईले धेरै मेहनत गर्नुभएको थियो ।
त्यतिबेलासम्म सिन्धुको साहित्य र साहित्यिक पत्रकारिता संस्थागत हुन सकेको थिएन । साहित्यप्रतिको लगाव र लहडका कारण मात्रै पत्रिकाहरु प्रकाशन हुन्थे, जसका कारण प्रकाशन हुने र बन्द हुने क्रम चलिरहेको थियो । यो अवस्थालाई मध्यनजर गर्दै संस्थागत विकास गर्नुपर्छ भन्ने धेयले हामीले (कञ्चन प्रियदर्शी र पंक्तिकार) दु:खी प्रकाशन नामक संस्था निर्माण गर्यौं । २०४७ मा संस्था निर्माण भएसँगै विभिन्न साहित्यिक गतिविधि सञ्चालन गर्यौं । नागरिकको चेतनामा परिवर्तन ल्याउन नाटक प्रदर्शन, सिर्जना वाचन, छलफल गर्ने मञ्चको रुपमा यसलाई विकास गर्दै लगियो । संस्था निर्माण गर्दा हामीले मुख्यत: स्रष्टाहरुको कृति प्रकाशन गर्ने उद्देश्यले सुरु गरेका थियौं । तर यसलाई प्रकाशनको घेराभित्र मात्र नराखी साहित्यका विविध पक्षहरुलाई समेट्दै लग्यौं ।
त्यो समय अहिलेजस्तो वाकस्वन्त्रताको अवस्था थिएन । लेख्न र बोल्न निक्कै कठिन थियो । भेला, सम्मेलन, छलफल गर्नसक्ने अवस्था थिएन । तैपनि हामीले साहित्यिक गतिविधिहरुलाई निरन्तरता दिइरह्यौं । यसैबीच संस्थाले २०४८ मा विप्लव नामक पत्रिका प्रकाशन गर्यो । तर राज्यको सदैव निगरानी र प्रशासनले यसमा कार्यरत साथीहरुलाई तारो बनाउने प्रवृत्तिले गर्दा पटक–पटक प्रकाशन बन्द गर्नुपर्ने अवस्था आयो । वि.सं. २०५० भन्दा अगाडि मात्रै यस प्रकाशनले विभिन्न स्रष्टाका ९ वटा कृतिहरु प्रकाशन गरिसकेको थियो ।
हामीले २०५१ को फागुन १५ मा जिल्लामै पहिलोपटक बृहत् सिन्धु साहित्य सम्मेलन गर्यौं । दु:खी प्रकाशनको आयोजनामा भएको सो कार्यक्रममा सुप्रसिद्ध गायक प्रेमध्वज प्रधानलाई अभिनन्दन गरिएको थियो । त्यो कार्यक्रमको आयोजक समितिमा कञ्चन प्रियदर्शी र पंक्तिकार थियौं भने १८ जना विभन्न व्यक्तित्वको समारोह समिति बनाई सम्मेलन सम्पन्न गरेका थियौं । विभिन्न चुनौतीका बाबजुद् पनि त्यो कार्यक्रमलाई भव्य बनाउन सफल भयौं, यसको सम्पूर्ण श्रेय त्यतिबेला निरन्तर लागिपर्नुहुने साहित्यिक व्यक्तित्वहरुलाई जान्छ ।
सम्मेलन सम्पन्न गरेको एकवर्ष नबित्दै देशमा राजनैतिक उथलपुथल सुरु भयो । राज्यले नागरिकको आवाज नसुनेको भन्दै बिद्रोह सुरु भयो । जसको प्रत्यक्ष असर सिन्धु साहित्यमा पनि पर्न गयो । राज्य पक्ष र तत्कालिन विद्रोही पक्षको दोहोरो मारमा सिन्धु साहित्य फस्टाउन सकेन । प्रकाशन सुरु गरेका पत्रपत्रिकाहरु बन्द भए । यसका बाबजुद् पनि हामीले समाचारमूलक पत्रिका सिन्धु सन्देशलाई भने निरन्ततरता दिइरह्यौं । सो पत्रिकामा पनि साहित्यलाई प्राथमिकता दिई प्रकाशन गर्ने जमर्को गर्यौ । साहित्यिक गतिविधि ठप्पप्राय: बन्न पुग्यो । यो अवस्थामा साहित्यमा लगाव भएका व्यक्तित्वहरु मिली नाटक, ओपेरा देखाउने काम गर्यौं । यो कार्य कम्ती चुनौतिपूर्ण थिएन ।
वि.सं. २०४७ सालबाट जुगल साहित्यिक पत्रिकाबाट पत्रकारिताको सुरुवात गरेको मैले अहिलेसम्मको अवधिमा एक दर्जन पत्रिपत्रिकामा संलग्न हुने अवसर पाएको छु । जनमत, जमघट, जनआस्था जस्ता पत्रिकामा संलग्न भएर आफ्नो क्षमता बढाउने अवसर प्राप्त भयो । २०६८ जेठ १७ गते गोरखापत्र संस्थानको बोर्ड सदस्यमा नियुक्ति भएपछि संस्थाका अध्यक्ष एवम् साहित्यकार हरिगोविन्द लुइँटेलदाईसँगको सहकार्यको क्रममा संस्थानबाट प्रकाशन हुने मधुपर्क, गोरखापत्रको परिशिष्टाङ्क शनिबारबाट साहित्यको प्रबद्र्धन कसरी गर्न सकिन्छ भन्ने विषयमा व्यापक छलफल र त्यो अनुरुप प्रकाशनमा सुधार ल्याउन पहल गरिएको थियो । यो पनि साहित्यको विकासमा एउटा इँटा हो भन्ने महसुस गरेको छु ।
दु:खी प्रकाशनका संस्थापक सदस्य कञ्चन प्रियदर्शीलाई २०५८ वैशाख १६ गते राज्यले बिद्रोहीको आरोपमा हत्या गरेपछि सिंगो सिन्धु साहित्य शोकमा डुब्यो । यसको केही वर्षसम्म सिन्धुमा साहित्यिक गतिविधि हुन सकेन् । पछिल्लो वर्षमा सिन्धु साहित्यमा केही आशालाग्दा कामहरु भइरहेका छन् । वर्षेनीजस्तो साहित्य सम्मेलनहरु हुन थालेका छन् । यसले नयाँ स्रष्टाहरुलाई प्रोत्साहन गरेको छ भने पुराना स्रष्टाहरुलाई सम्मान गर्ने परिपाटीको सुरुवात भएको छ ।
पछिल्लो पटक प्रथम बृहत् सिन्धु साहित्य सम्मेलन गरेको २६ वर्षपछि दु:खी प्रकाशनले दोस्रो बृहत् सिन्धु साहित्य सम्मेलन गर्यो । २०७७ असार ६ गते आयोजना गरिएको सम्मेलनमा जिल्लाका ६ स्रष्टा/पत्रकारलाई सम्मान गर्ने काम भयो । त्यस्तै जिल्लाकै ठूलो पुरस्कार राशीसहितको बागमती प्रदेशस्तरीय कविता प्रतियोगिता, बागमती प्रदेशको युद्ध साहित्य र सिन्धु साहित्यको अवस्थाबारेमा कार्यपत्र प्रस्तुत गर्ने काम भयो ।
सम्मेलनकै पूर्वसन्ध्यामा २०७७ असार ५ गते जिल्लामै पहिलो पटक प्रेस काउन्सिल नेपालको आयोजना र दु:खी प्रकाशनको संयोजनमा ‘साहित्यिक पत्रकारिता र पत्रकार आचारसंहिता’ विषयमा जिल्लामा क्रियाशिल साहित्यिक पत्रकार, विभिन्न सञ्चार माध्यममा साहित्यिक कार्यक्रम सञ्चालन गर्ने सञ्चारकर्मी, प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, सदस्य खिलबहादुर भण्डारी, चेतनाथ धमला लगायतको उपस्थितिमा सिन्धुपाल्चोकमा साहित्यिक पत्रकारिताको विकासको बारेमा छलफल भयो । यसले पक्कै पनि सिन्धु साहित्य र साहित्यिक पत्रकारिताको विकासमा योगदान पुर्याउँछ नै ।
अन्त्यमा, सिन्धु साहित्य र साहित्यिक पत्रकारिताको विकासमा हामीले जे जति योगदान पुर्याउन सक्यौं यसले केही हदसम्म साहित्यको विकासमा टेवा पुर्याएको नै छ । इतिहासलाई आत्मसाथ गरेर अहिलेको अवस्थामा साहित्यलाई अगाडि लैजानसक्दा साहित्य क्षेत्रले गुणात्मकता पाउने प्रष्ट नै छ । विकासक्रमअनुसार मान्छेको जीवन परिवर्तनशील भएजस्तै भाषा–साहित्यको गतिविधिमा पनि परिवर्तन र विकास हुँदैछ । मान्छेको सोचाइको क्षमता, जीवनलाई सूक्ष्मातिसूक्ष्म केलाउने दृष्टि र अनुभवको व्यापकता पनि समयसँगसँगै परिवर्तनशील हुँदै, गहिरिँदै, विस्तृत हुँदै अघि बढ्छ । त्यसैले मानवजीवनको आन्तरिक र बाह्य स्वरुपको प्रतिबिम्बझैँ समाज र साहित्य पनि गतिशीलताको पछिपछि विकसित हुँदै जान्छ । आजभन्दा तीस–चलीस वर्षअघिको साहित्यको अवस्था र वर्तमान साहित्यिक गतिविधिको अध्ययन गर्ने हो भने यी दुई कालमा समानुपातिक प्रवाह पाइँदैन, आजको स्थिति कता हो कता विकसित भन्न सकिन्छ । तसर्थ सामूहिक भावनामा रही साहित्यिक श्रीबृद्धिमा जुट्ने हो भने सिन्धु साहित्य र साहित्यिक पत्रकारिताको भविष्य निक्कै उज्ज्वल देखिन्छ । यसमा सबै स्रष्टा र साहित्य क्षेत्रमा लागिरहनुभएको व्यक्तित्वहरुले अपनत्व महसुस गर्नु पर्दछ ।