२०२९ मा ‘बिगुल’ प्रगतिशील सामयिक सङ्कलनको तेस्रो अङ्क न्हायकंतला स्थित प्रेसबाट नै १००० कपि पत्रिका जफत गरी सरकारले लग ेपछि एक खालको मेरो साहित्यिक यात्रालाई प्रतिबन्ध लगाए जस्तो भयो । मन पराएर गरी राखेको काममा छेक थुन गरी दिए पछि एक खालको तरङ्गले चिमोट्दो रहेछ – त्यस्तै भयो । समाजमा निडर भई आफ्नो भावनामा स्वार्थलाई कतै ठाउँ नदिईकन बढी रहँदा अर्थात् काममा लागि रहँदाका क्षणहरू सम्झिँदा गौरव लाग्दो रहेछ । त्यसैताका नै हो ताता पानीमा बनेपाका युवाहरू जो समकालीन राजनीतिमा सँगसँगै क्रियाशील छौँ सबै मिलेर पिकनिकको आयोजना भयो । पिकनिकमा हाँस खेल भयो, गीत/कविता/प्रहसन वाचन गर्ने कार्य भयो । रमाइलो ढङ्गले सफलतापूर्वक पिकनिक कार्यक्रम सिध्याएर दोलालघाट चौकीनेर पुग्दा हाम्रो बसलाई प्रहरीहरूले रोक्ने काम गरे । केही कु नियत थिएन, केही अवैध सामान चीन तिर बाट ल्याएको पनि होइन । त्यसै अनावश्यक दुःख दिन गरेको बहाना जस्तो लागेर हामीले बेवास्ता गरेर बसलाई अगाडि बढ्न लगायौँ ।
प्रगतिशील युवा जोशमा ‘कोही त भने जहाजमा हरर, कोही त भने पसिना तरर’, ‘सङ्घर्ष हो जीवन’, ‘गाउँ–गाउँबाट उठ, वस्ती–वस्तीबाट उठ’ जस्ता क्रान्तिकारी गीत गाएर थपडी बजाउँदै आएका हामीहरूलाई २–३ जना मात्र प्रहरीहरू भएको चौकीले रोक्न सकेनन् । हामी आउँदा–आउँदै थाहा भयो लोभी ड्राइभरले सस्तो पाएर दाउरा किनेका रहेछन् त्यही दाउरालाई त्रिपालले छोपेका रहेछन् । चीनको छेउछाउबाट आएको बस रोक्न पनि मानेनन् । त्यसैले प्रहरीहरूको दृष्टिमा चीनबाट हातहतियार ल्याएको कारणले रोकेनन् उनीहरूको ठम्याई भयो । राँको परिवारबाट हुन लागेको साहित्यिक सम्मेलनमा यो पनि एक खालको बहाना हुन गयो । अर्को घटना २०३० सालतिर नै हो बार्हवर्षे मकर मेलामा स्टल राखेका साहूजीहरूसँग चन्दा माग्ने क्रममा घटेको घटना । एक जनाले चीनबाट हातहतियार ओसारेर कम्युनिष्टहरुको भेला गर्ने कार्यक्रमका लागि हामी सहयोग गर्दैनौँ भने । गलफती पर्यो, जोस जोसमा कठालो समात्ने काम भयो । त्यही मान्छेको स्टल पनि साथीहरूले भताभुङ्ग बनाइ दियो । यसैताका ‘नयाँ सन्देश’ साप्ताहिक पत्रिकामा चीनबाट हातहतियार ओसारेका कम्युनिष्टहरुले बनेपामा साहित्यको बहानामा पूर्व एक नम्बरका कम्युनिष्टहरुलाई भेला गर्न लागेको अनुमानको खबर फ्रन्ट पेजमा प्रकाशित गरिदिएर हामी माथि प्रशासनको गिद्धे दृष्टि राख्न दिने कार्यमा सघाउ पुर्याउने काम गरे ।
जिल्लामा आएको दौडाहा टोलीलाई बनेपामा सामाजिक कार्यको नाममा भ्रष्टाचार गर्ने साहु–महाजन र स्थानीय नेताहरूको विरुद्धमा उजुरी दिएको, धुलिखेलमा भएको हवाई दुर्घटनामा बस नचलाई दिँदा घटना हेर्न जानेहरूलाई बाधा दिएको भन्दै मेरै सक्रियतामा बस हडताल गरेको, भारतीय राजदूतलाई बनेपामा घेराबन्दी गरेको आदि थुप्रै घटनाक्रमहरूले म त्यसताकाको प्रशासनको नजरमा ‘कालो मान्छे’ भएँ । त्यसैताका मेरो सक्रियताको बयान गरेर साध्य छैन । ‘राँको परिवार’ को गठन पनि त्यसैताका भएको हो । म पछिका युवाहरूले रहरमा नै ‘राँको परिवार’ गठन गरेको हो । त्यस संस्थाका म सिर्फ सल्लाहकार मात्र थिएँ । तर पनि प्रशासनको नजरमा मेरै सक्रियतामा खोलेको संस्था सम्झेर पाबन्दी लगाउन खोजे । ‘तृतीय प्रगतिशील साहित्य सम्मेलन’नाम दिइएको उक्त सम्मेलन तीन धारा, बनेपामा गर्ने हाम्रो लक्ष्य थियो । एक दिन अगाडि नै मञ्च बनाउँदा–बनाउँदै सभा हुने स्थलबाट जवाहर श्रेष्ठ र हरिकृष्ण श्रेष्ठलाई प्रशासनले पक्राऊ गरेर धुलिखेलमा लगे । म घरैमा थिएँ; निस्कन नमिल्ने सूचना साथी भाइहरूबाट खबर भएको थियो । भोलिपल्ट सम्मेलन हुने ठाउँमा प्रहरीहरू जत्था–जत्थामा आइपुगेर तीन धारा प्रतिबन्धित क्षेत्रजस्तै बनाए । मञ्चका ब्यानरहरू खोसे, प्रतिवादमा रहेका सबै मित्रहरूलाई लखेटा लखेट गरे; युद्ध भूमि जस्तै बनाए ‘तीन धारा’लाई । काठमाडौँबाट पाल्नु हुने अतिथिहरू माणिकलाल श्रेष्ठ, शक्ति लम्साल, अश्व घोष भन्तेहरू सबै लाखा पाखा लागेको थाहा पाइयो ।
मलाई घरमा नबस्न साथीहरूले भने अनुसार धारा पछाडिको ढोकाबाट एउटा किसानको घरमा लुक्न गएँ । मलाई धुईंधुईंती प्रहरीले खोजेको खबरले गर्दा म बाहिर निस्कन सकिन । बनेपा छोड्नु नै कल्याण हुन्छ भन्ने साथी भाइहरूको सुझाव अनुसार राती नै भाग्ने कार्यक्रम मिलाइयो । रातको १२:०० बजे हिँड्ने तय भयो । एक जना बलिया साथी कृष्णचन्द्र कायस्थ (महन्त दाई) म सँगै हिँडेरै काठमाडौँ जाने भए । लगभग ७:०० बजेतिर हामी काठमाडौँ पुग्यौँ । थवहिल स्थित अमरलाल श्रेष्ठको कोठामा रहने भयौँ । राजभाई डङ्गोल पनि मसँगै थियौँ । कार्यक्रम स्थलमा कराएकैले पक्राउमा पर्ने डरले राजभाई पनि म सँगै लुकेका थिए । अमरजी अलिक कुरौटे खालको मित्र भएकोले मेरोबारे निकै बढाइ चढाइ कुरा गरेर क्रान्तिकारीको परिचय दिँदै आएको कारणले त्यहाँ सुरक्षित नदेखिएर हामीहरू पानी पोखरी स्थित किशोर श्रेष्ठको डेरामा सर्यौँ ।
एकान्त भित्रतिर रहेको कोठामा हामी बस्न पायौँ; सुरक्षित जस्तो महसुस भयो । त्यसताका किशोरजी भानुभक्त मेमोरियल स्कुलमा काम गर्ने गर्छन् । निकै मिलनसार मित्र किशोरजी हामीसँग मिस्सिनु मात्र भएनन्, ‘कीर्ति’ साहित्यिक त्रैमासिक निकाल्ने कुरोमा सहमति भयो । भूमिगत जीवन बिताउन गार्हो भएकैले ‘कीर्ति’ निकाल्न दिने सहमति भएको हो । किशोर श्रेष्ठ प्रकाशक/सम्पादक भएर निकाल्न दिने सहमति भए अनुसार उक्त ‘कीर्ति’ को पहिलो अङ्क ‘सिद्धिचरण श्रेष्ठ विशेष अङ्क’निकाल्ने भयौँ । काम पाइयो; धेरै लेखकहरूको घर–घर पस्न पाइयो, सिद्धिचरण कविज्यूकहाँ त दिनका दिन जसो धाउनथाल्यौं । पुतलीसडकस्थित विजय प्रिन्टिङ प्रेसमा केही रकम बैन्हा दिई केही रचनाहरू छाप्न पनि दियौं । त्यसैताका पेट दुखेर वीर हस्पिटलमा भर्ना हुँदा दुई जना प्रतिष्ठित मित्रहरू पूर्णबहादुर एम.ए. र नीर शमशेर राणा हस्पिटलमा आउनुभएको थियो । मलाई देख्नु भयो र नमस्ते साटासाट भयो । ‘अहिले के गर्दै हुनुहुन्छ ?’ भनी पूर्ण बहादुर दाइले सोध्नुभयो । मैले ‘कीर्ति’ को तयारीको कुरा मात्र नगरीकन ‘सिद्धिचरण श्रेष्ठको विशेष अङ्क’ निकाल्न लागेको कुरा गरेंं । उहाँले ‘राजसभा स्थायी समितिका सदस्य सिद्धिचरणको अङ्क निकालेर तपाईँको तौल घट्दैन र !’भनी सोध्नुभयो । म झल्याँस्स भएँ । युवा जोसमा क्रान्तिकारी भइरहने रहरले सिद्धिचरण विशेष अङ्क निकाल्ने जाँगरलाई पानी छर्केर मेरो जोस र जाँगरलाई निभाइ दिए । सुन्दर काममा हात हाल्न खोजेको थिएँ, तथाकथित ठुलाहरूको कुरो सुनेर मेरो सुन्दर सपना चकनाचुर भयो ।
अहिले सम्झिँदा कस्तो–कस्तो लाग्छ । करिब १वर्ष भूमिगत जीवन बिताइयो । थवहिल, पानी पोखरीबाट भीमसेन स्थानमा डेरा सर्दै जीवनका क्रमहरू गुजारेँ । भीमसेन स्थानको डेरामा किशोर श्रेष्ठका माहिला भाइ हृदय श्रेष्ठसँग पनि मैले आत्मीयता साट्न पाएँ ।
धेरै दुःखमा दिनहरू बिताइयो । घरमा पनि आवत जावत कम/आर्थिक रूपले त्यति गतिलो थिएन त्यसताका हाम्रो परिवार । अझ कम्युनिस्ट भएर भूमिगत बस्दा ताकाको परिस्थितिमा परिवारले पनि सहयोग गर्ने वातावरण थिएन । साथी भाइहरूको गति पनि त्यति गतिलो थिएन । किशोर श्रेष्ठले नै त्यसताकाको भूमिगत जीवनमा साथ दिएको भरोसापूर्ण सहयोग बिर्सिन गार्हो छ ।
‘राँको’ एक खालको प्रशासनको लागि बल्दो आगोको ज्वाला, ‘बिगुल’को आवाजसँग तर्सिएको सरकारले ‘राँको’शब्दलाई पनि पचाउन सकेनन् । त्यही‘राँको’का प्रसङ्गहरू अहिले पनि मनभरि छरपस्ट छन् – बिर्सिन गार्हो छ ।