“तपाईं त स्वस्थ र बलियो मान्छे, तपाईंलाई कसरी ?”
“घरबाटै ननिस्कने मान्छेलाई पनि !”
“योगा गर्ने मानिसमा त भित्र जान खोज्दाखोज्दै भाइरस मर्नुपर्ने होइन ?”
“जो डराउँछ, त्यसैलाई समाउँछ ।”
“चिरिप्प पार्ने गरेको भए… आँक्नै सक्दैनथ्यो…।”
“हामी त बागबजारतिर कुदिरहेकै छौँ । अफिस पनि धाएकै छौँ । भगवानको कानमा नपरोस्, अहिलेसम्म …!”
“यो रुघाखोकी नै हो, कोभिड न सोभिड !”
“आराम गर्नुहोस् । तागतिलो खानुस् । केही हुन्नँ ।”
थाहा पाउनेजतिले यस्तै यस्तै टिप्पणी गर्थे । एउटा न एउटा सल्लाह पाइहालिन्थ्यो । लाग्थ्यो – ‘दुनियाँमा केही नजान्ने डेब्रो मै मात्र रहेछु ।’ कोही गुर्जो र बेसार पानी नटुटाई खान भन्थे । कोही प्याज खान सुझाउँथे । कोही खुट्टीको सुप सुक्र्याउन सल्लाह दिन्थे त कोही यस्तो युवा पनि डराउने भनी फुक्र्याउँथे । आखिर सन्तान थरी थरीका हुने नै भए । साथी सर्कल पनि थरी थरीका, छिमेकी पनि थरी थरीका । कोही बाटोको पल्लो साइडबाट हिँड्दा पनि हाम्रो घर देखिएलाभैmँ, हामीलाई देखिएलाझैँ गरी मुन्टो फर्काउँथे । कोही बिहानै ओखती, सातु र तरकारी गेटमा ल्याइदिइसक्थे । आफन्त पनि दूर दूर हुने, टाढाका साइनोबिहीनहरु पनि निकट र आत्मीय हुने । फोन उठाउँदा पनि सर्छ भनी डराउने आफन्त र ‘आउन मिलेन, जे परे पनि भन्न अप्ठेरो नमान्नुस्’ भन्ने पराइ प्रशस्तै भेटिए ।
‘पढेको मान्छे भन्नु मात्र, आपूm मात्र जँचाएर आएछ ।’, भन्नेलाई भन्दिए भैहाल्यो । आपैmँ जान मुस्किल थियो । एम्बुलेन्सका लागि फोन गर्दा कोरियन मैत्री अस्पतालका एम्बुलेन्स चालकले सुझाए, ‘म आइज भन्नुहुन्छ भने आइदिन्छु तर पूरा कोरोना लागेकालाई बोक्ने गाडी हो यो, रहेनछ भने पनि तपाईंलाई लाग्ने पक्का हुन्छ, के गर्नुहुन्छ ?’ ट्याक्सी बोलाएको, जचाउन भनेपछि सुइँकुच्चा ठोकिहाल्यो । सार्वजनिक सवारी बन्द छ । मध्यपुर नगरपालिकाको फोकल पर्सनलाई फोन गरेँ । जवाफ आयो, “म आपैmँ बिरामी छु, नगरपालिकाबाट केही आसा नगर्नुस् ।” ‘घरमै त्यसरी नबस्नुस्, हामी गाडी लिएर आउँछौँ, के पर्छ भन्नुस्’ भन्ने साथीभाइका फोन पनि भन्नाका लागि मात्र थिए ।
साँच्चै सतहत्तर सालको तिहारलगत्तै हामी एउटा पीडाको भूमरीमा फस्यौँ । जाडोयाम लाग्दा नलाग्दा हरेक साल ज्वरो, सर्दी लाग्नु तिरासी हिउँदका बाको नियमितता थियो । बाहिर कतै नगएकाले सर्दी एक, दुई दिनमा ठीक हुनेमा निश्चिन्त थियौँ । त्यसैले घरभित्र आइसोलेसन र भौतिक दूरी सोचिएन । बाको दारी काटिदिने, रेखदेख गर्ने काम गरिरहेँ । खाना एकै टेबलमा खान्थ्यौँ । एक, दुई दिनमा आप्mनै जिउ दुख्न र कताकता खाना मीठो लाग्न छाडेपछि झल्याँस्स भएँ । अफिसको मानव संसाधन विभागबाट अलि दिन अघि आएको इमेल सम्झेँ । इमेलमा एउटा सर्भे फाराम थियो । फाराममा सोधिएका केही थान प्रश्नको उत्तरमा चिनो लगाउँदै गएँ । सबै प्रश्न सकिएपछि अटोमेटिक सुझाव आयो : ‘यू आर सस्पेक्टेड । प्लिज चेक अप सून ।’
त्यस दिन शनिबार भएकाले त्यत्तिकै बसेँ । हरेक शनिबार चलाउँदै आएको बालचौतारी भर्चुअल चलाउन पनि असहज भइरहेको थियो । शरीर सिथिल, टाउको गह्रौँ र मन विचलित । बालचौतारीमा पाहुना थिए डा. सुमनराज ताम्राकार, मित्र पनि डाक्टर पनि । तर मित्र नै भए पनि धेरै बालबालिका सहभागी त्यस जूम कार्यक्रममा आप्mनो निजी कुरा राख्न मन लागेन । छाडिदिएँ । भोलिपल्ट नौ नबज्दै कोरियन अस्पताल पुगेँ । दुईघन्टा उभिँदा थकाइले गलिसकेको थिएँ । पौने एघारतिर पालो आयो । दुई हजार तिरेर स्वाब दिएर आएँ । साँझ अस्पतालले फोन गर्यो, ‘तपाईंको रिपोर्ट पोजिटिभ छ । केयर गरी बस्नुहोला । बेग्लै बस्नु । गाह्रो भयो भने अस्पताल आउनु ।’
मभन्दा अगाडि बिरामी भइसक्नु भएका बालाई पनि अब कोभिड नै हो भन्ने निश्चित भयो । अब बल्ल भौतिक दूरी, मास्क र अलग बसाइ सुरु गर्यौँ । तर ढिलो भइसकेको थियो । अर्को दिनबाट आमालाई पनि लडायो । छोरो पनि ‘मेरो स्वाद हरायो’ भन्न थाल्यो । श्रीमती पनि अछुतो थिइनन् तर ‘मलाई केही भएको छैन’ भन्दै अहोरात्र हामीलाई पकाउने, खुवाउने र घरधन्दामा जुट्ने काममा किञ्चित कमी हुन दिइनन् । श्रीमतीको यो साहस, धैर्य र सेवाको म र हामी ऋणी भएका छौँ ।
वातावरण साच्चै डरलाग्दो बनेको थियो । केही दिन त बाले होस नै गुमाउनु भयो । शौचालय ठानेर घरको बरन्डा, पेसेज जहाँ पायो त्यहीँ पिसाब गर्नु हुन्थ्यो । मलाई पनि रातमा निकै सकस हुन्थ्यो । अर्ध बेहोसजस्तो हुन्थेँ । निद लाग्दैनथ्यो । आँखामा अनेक डरलाग्दा, काला आकृति घुमिरहेको, अग्लो ठाउँबाट आपूm खसिरहेजस्तो भइरहन्थ्यो । अलिकति निद लागेझैँ भयो भने अलि समयममा ब्युझँदा शरीरको कपडा र तन्ना पसिनाले निथ्रुक्क भएको हुन्थ्यो । मंसिरको चिसोमा आएको यो पसिनाले मनमा झन् शंका बढाउँथ्यो । खाना जबर्जस्ती केही गाँस हाल्थेँ तर बालाई कर लगाइ लगाइ, फकाइ फकाइ चम्चाले खुवाउनुपर्ने भयो । त्यो बेला छोराले पनि परिवारका लागि निकै काम गर्यो । छोरीलाई त लागेको नलागेको थाहै भएन । ऊ पनि सकेको सघाउँथी ।
तीन चार दिनमा त मलाई पो सबैभन्दा गाह्रो हुन थाल्यो । सास फेर्नै गाह्रो । सास तान्यो कि ख्यासख्यास आइहाल्ने । फोक्सोमै आक्रमण गर्दोरहेछ । साहित्यकार मित्र डा. रवीन्द्र पाण्डेको सिफारिसमा भिटामिन ए, वी, सी, डी र जिङ्क छोरी बाहेक हामी सबैले खायौँ । हप्तामा एक दिन चार हप्ता खानुपर्ने अर्को औषधी पनि थियो । बा, आमालाई त आस्थालिनसहित बाफ पनि लगाउनु पथ्र्यो । दुवैजना दमको रोगी भएकाले उहाँहरुलाई पनि निकै गाह्रो पारेको थियो । पल्लो कोठामा बा–आमा, ओल्लो कोठामा म हुन्थेँ । भोलि बिहान सबैजना होइन्छ कि नाइँ, मन डराउँथ्यो ।
झन् गाह्रो गाह्रो हुँदै यतिसम्म भयो कि खकारमा पनि रगतका चोक्टा आउन थाल्यो । खकारमा मात्र आउँदा त फोक्सोमा आक्रमण गर्ने रहेछ, अलि दिनमा होला भन्ने ठानियो । डा.रवीन्द्रलाई फोन गर्दा ‘खकार नचजाइँ भन्न सकिन्नँ, कोरियन या भक्तपुर अस्पताल गएर खकार जचाउनुस्’ भन्नुभयो । आपूmलाई अब एक्लै जानसक्ने हिम्मत थिएन । ट्याक्सी, एम्बुलेन्स पनि सहज भएन । त्यसपछि जे होला, बिस्तारै ठीक होला भनेरै कुरी बसियो । तर जब, दिसामा पनि रगत आउन थाल्यो, त्यसपछि भने झन् कमजोर र मानसिक रुपमा झनै विचलित भएँ । आमालाई पनि दिसामा रगत आएछ । म त यत्ति आशाविहीन भएँ कि ‘अब मलाई त यत्ति गाह्रो भयो भने, आमाबालाई के होला, अब आमाबा रहन्छन्, रहन्नन्, मैलेचाहिँ किरियाकर्म पनि गर्न नपाउने भएँ । सायद म पनि तंग्रिन्न होला’ जस्तो पो लाग्न थाल्यो ।
पोजिटिभ रिर्पोट आउँदा नै कमजोर, उभिन गाह्रो हुने भइसकेको थियो । अरुलाई भन्न पाए मन हल्का भएजस्तो, आधार मिलेजस्तो हुन्थ्यो । त्यसैले पल्लोघरकी श्यामा भाउजूलाई भनेँ । श्रीमती भने कत्ति आत्तिएर सुनाइहाल्नु पर्ने, अर्कालाई भन्नु हुन्नँ, घृणा गर्छन् भन्थिन् । तर श्यामा भाउजूले श्रीकृष्णदाइलाई भनेपछि दाइभाउजू तथा जलविरे सञ्जयभाइबाट औषधी, सहयोग र बलियो आडभरोसा मिल्यो । यो जीवनभरी बिर्सन नसकिने गुन हो भन्ने मेरो मनले ठहर गरेको छ ।
बिहान सकी नसकी उठ्यो । नित्यकर्म गर्यो । भस्त्रिका गर्न खोज्दा सास नै नपुग्ने । अलिकति लामो तान्न खोज्यो कि ख्यासख्यास खोकी आउने र छाती दुख्ने भइहाल्यो । अनुलोम विलोम गर्दा पनि यही हालत हुन्थ्यो । कपालभाँती त गर्नै सकिन्नथ्यो । शारीरिक व्यायाम त असम्भव नै भयो । अलिबेर उभिन पनि मुश्किल । भनभन रिँगटा लाग्थ्यो । फेरि गाह्रो मलाई बढी भए पनि उमेरका कारण सबैको चिन्ता र चासो बा–आमामा केन्द्रित हुन्थ्यो । सकी नसकी सेवामै थियौँ । यस्तो ख्वाउनु, उस्तो ख्वाउनु भनेर सल्लाहकार नबन्ने कोही हुन्नथे । हुँदा हुँदा कोही दाल खुवाउनु भन्ने, कोही दाल नखुवाउनु भन्ने । कोही गेडागेडी भिजाएर टुसा उमारेर खुवाउनु भन्ने, कोही गेडागुडी नखुवाउनु भन्ने । सागसम्म पनि खुवाउनु भन्ने र नखुवाउनु भन्नेहरु देखिए । हामी सबैलाई सुन्थ्यौँ । अनि जानेसम्मको राम्रो गथ्र्यौं ।
सामाजिक सञ्जाल त निकै दिनलाई विदा गरियो । फोन आएर पनि हैरान हुन्थ्यो । बोल्न नसकिरहेको बेला सबैलाई एउटै बेलीविस्तार लगाउनु पर्दाको दिक्दारीले वेचैन बनाउँथ्यो । बिहान, बेलुकै पानी ततायो, वाफ लगायो, सबैजनाले पालैपालो वाफ लियो । बेसार पानी खायो । केही दिन त बा–आमा, म र छोराछोरी तथा श्रीमतीका भाँडाकुँडा पनि अलग अलग माज्यौँ । अलग अलग सुकायौँ । पकाएको पकायै, तताएको ततायै, बतायेको बतायै । बडो सकसपूर्ण बन्यो जिन्दगी ।
बिरामी त भइ नै हालेँ । मलाई धेरैबाट अर्को आरोप थियो : धेरै डराइस् । जति निडरको अभिनय गरे पनि फोक्सो कमजोर भएपछि शुद्ध अक्सिजनको कमी हुने । अक्सिजन कमी भएपछि कमजोर होइने । अक्सिमिटरले ८६ देखाउँथ्यो । डा. रवीन्द्र ९२ भन्दा घट्यो भने अस्पताल जानु भन्थे । जाने तारतम्य मिलाउन पनि झन् डर, झन् त्रास । अस्पतालमा भन्दा घरमै ठीक हुन्छ भन्थे धेरैले । मलाई जे हुन्छ होस्, बा–आमालाई अस्पताल लगिलिनोस् भन्दा पनि कुर्ने मान्छे को हुन्छ, घरमै ठीक भन्दै आफन्तले जिद्दी गरिरहे ।
यही माथापच्छीमा हप्ता दिन गुजारेपछि अलि कम कम हुँदै गयो । अनि जीवनप्रतिको आसा पनि बढेर आयो । लेख्न, पढ्न मन कोशिश गर्यो धैर्य गर्नै नसकिने । पूरा गरेर राखेको उपन्यास पाण्डुलिपि कदम पनि निस्केको देख्न पाइन्छ कि नाइँजस्तो भयो । त्यसैले निको भएपछि पहल गरेरै यसलाई निकालियो । सरकारले दिने भनेको बिमा रकमचाहिँ एक वर्ष हुन लाग्यो, अझै पाएको छैन । मध्यपुरको वडा नं. पाँचको कार्यालयले पुराना रैथाने र हामी नयाँ बस्तीका आगन्तुकलाई गर्ने व्यवहारको विभेद पनि राम्ररी देखियो । वडाप्रतिनिधिहरुले विभेद गरे पनि युवा कर्मचारी अधिकृत रजीया चौधरीको सहयोग, भाइबरबाटै विवरण मागेर पठाइदिएको सिफारिश निकै सहयोगी रह्यो । यसले पछि सबै छ जनाको स्वाब चेक गर्दा लाग्ने बाह्र हजार पनि जोगाइदियो ।
कोभिड प्रकृतिमाथि मानव अतिक्रमणकै एउटा परिणाम हो । यसले मानव जगतलाई नै एउटा गतिलो सबक सिकाइरहेको छ । रोग नलागी बाँच्नेहरुलाई बधाई छ र जीवन नै गुमाउनेहरुमा श्रद्धासुमन । मलाई पनि जीवनको स्वर्ण यात्रामा एउटा गतिलो सबक सिकाइ गएको छ । बिर्सन नसकिने बनेको छ जीवनको तस्बिरमा कोभिड कोलाज ।