नेपाली साहित्यमा गद्य कविताका प्रथम प्रयोक्ता । क्रान्तिकारी कवि । इब्सनेली यथार्थवादी चिन्तनलाई नेपाली नाटकमा रुपान्तरण गर्न सफल नाटककार । “गतिलो साहित्य तपस्याले मात्र लेखिन्छ” भनी साहित्यमा मन दिँदै आफूलाई साहित्यकारका रुपमा उभ्याउँदै आउन सफल साहित्यकार गोपालप्रसाद रिमाल थोरै लेखेर धेरै प्रसिद्धि पाउन सफल स्रष्टा हुन् । गद्य कवितामा आफ्नै ओज र बर्कत् देखाउन सफल यिनी गद्य कविताका शिखर कवि हुन् । यिनको दृष्टिमा कविता विधामा उत्कृष्ट विधा गद्य कविता रहेकोले गद्य कविता लेखन सम्बन्धमा यिनले आफ्नो भावना यसरी पोखेका छन् –“लय चाहियो, पद्यमा होस् गद्यमा होस् । गद्यमा शब्दहरुको लयभन्दा बढी अर्थको लय हुन्छ । छन्दको बन्धन नभएको हुनाले विचारले, अर्थले लय पाउनुको सीमा नै छैन । छन्द अनन्त छन् भनेजस्तै गद्यको ध्वनि पनि मनग्य छ । यस हिसाबले हामी भन्न सक्छौं, लेखनाथज्यूको ‘पिँजराको सुगा’ गद्यमा लेखे झन् राम्रो हुन्छ । ‘आदर्श राघव’ अथवा ‘तरुण तपसी’ गद्यमा विशेष रुच्ने हुन्छ” (साहित्यकार परिचय र अभिव्यक्तिबाट) । यस खालको दृष्टि चेत्ले यिनले बलिया खालका गद्य कविताहरु रचना गरे ।आमाको सपना एउटै कवितासङ्ग्रह मात्र यिनको प्रकाशित छ । यही कविता कृतिमा यिनले २०१९ सालमा मदन पुरस्कार प्राप्त गरेका हुन् ।
राजनीति बुझेका र राजनीतिमार्फत् केही आकाङ्क्षा मनमा साँचेर देशमा परिवर्तन ल्याउन सकिन्छ भन्ने भावना बोकेर राजनीतिमा लागेका यिनी गतिलो राजनीतिक परिवेश देशमा नदेखेर छटपटिन थाले । वि.सं. २०११ सालमा राँचीमा पुर्याएर यिनको औषधोपचार गरेको देखिन्छ । वि.सं. १९७४ जेठ १८ गते माता आदित्यकुमारी र पिता उमाकान्त रिमालको कोखबाट लगनटोल, काठमाडौंमा यिनको जन्म भएको हो । वि.सं. १९९३ सालमा एसएलसी परीक्षा बोर्डबाट यिनी प्रथम श्रेणीमा प्रथम भएको भए पनि आईएसम्म अध्ययन गरे तर उत्तीर्ण हुन सकेनन् । जीवन बाँच्ने क्रममा वि.सं. १९९६ मा जुद्धोदय पब्लिक स्कुलमा यिनले शिक्षण सेवा गरेको देखिन्छ । बर्दियामा १९९७ तिर अमिनीको लप्टन भएर पनि यिनले सेवा पुर्याए । वि.सं. २००० मा भाषानुवाद परिषद्मा पनि यिनी जागीरे भए । ‘जय नेपाल’ शब्द चलाउने गोपालप्रसाद रिमाल कविता र नाटक विधामा विशिष्ट पहिचान देखाउन सफल विशिष्ट प्रतिभा पनि हुन् । वि.सं. १९९५ मा स्थापित प्रजा पञ्चायतसँग यिनको राजनीतिक सम्बन्ध रह्यो । क्रान्तिपूर्व यिनले क्रान्तिको सपना देखेर थुप्रै कविताहरु लेखे । क्रान्तिपश्चात परिवर्तन नदेखेपछि, देशमा स्थिरता आएको भान नभएपछि यिनी विद्रोही जस्तो मात्र बनेनन्, कवितामा पनि यिनले यस्तै दृष्टि र बिम्ब प्रयोग गरे ।
निरङ्कुश राणा शासनको कालरात्रिमा क्रान्तिको कविता लेख्नु चानचुने कुरो थिएन, यिनले यसै बेला क्रान्तिका कविताहरु लेखेर आफ्नो साहसको उदाहरण देखाइदिए । छन्द परम्परामा हुर्केको नेपाली कविता परम्परालाई यिनले गद्य कवितामार्फत् तोड्न सफल रहे । गद्य कविता सूत्रपात गर्न सफल कवि गोपालप्रसाद रिमालले जनताका तत्कालीन भावना र चाहनालाई कवितामा उतारेर देखाएका छन् । प्रतीकात्मक ढङ्गले निरंकुश शासन सत्ताको विरुद्धमा यिनले परिवर्तनका पक्षमा कवितामा विचार व्यक्त गरे –“हिउँ र आगोभन्दा पनि बढ्ता छोइने भएर आउने छ ।” क्रान्तिका पक्षपाती कवि रिमालले स्वस्थ र गतिशील समाज निर्माण गर्नका लागि लेनिन, बुद्ध, गान्धी, माक्र्स, रुसो, लिंकनजस्ता युगपुरुष जन्माउन आह्वान गर्छन् । शोषणमुक्त समाजका परिकल्पनाकार कवि रिमालका सबैजसो कविताहरुमा परिवर्तनका स्वरहरु छताछुल्ल पोखिएका पाइन्छन् । ‘क्रान्ति’ले मेरो छाक टार्न बाँकी नै छ ।’ बहुसंख्यक जनताका पीडा र व्यथामा सान्त्वना दिन र समाजका सडेगलेका मान्यता र मूल्यमाथि कटाक्ष गर्न यिनले कविताका माध्यम रोजे । सामाजिक र सांस्कृतिक रुपान्तरण गर्नका लागि यिनले कविता र नाटकलाई हतियारका रुपमा प्रयोग गरेको देखिन्छ । ‘आमाको सपना’ मा जम्माजम्मी २८ वटा गद्य कविताहरु प्रकाशित छन् । यसको अलावा अन्वेषक शिव रेग्मीका अनुसार १४ वटा अन्य गीत–कविता फेला परेको भनाइ छ ।
वि.सं. १९९० सालदेखि लेख्न थालेका कवि रिमालको प्रथम गद्य कविता १९९२ फागुन १६ गते गोरखापत्रमा प्रकाशित भएको देखिन्छ । प्रतीकमा उपमा प्रयोग गरेर नवीन रुपक प्रयोग गर्न सिपालु कवि रिमाल सामन्ती शोषणप्रथाका विरोधी स्वतन्त्रता र समानताका पक्षपाती विद्रोही परिवर्तनकामी कवि हुन् । यिनले वि.संं. २०१९ सालमा नै आमाको सपना मार्फत् देशको सपना प्रतीक र उपमामा देखाइदिएका छन् । नाटकमा पनि यिनले आफ्नो स्थान सुरक्षित राखेर गएको देखिन्छ ।मसान वि.सं. २००३ सालमा नै प्रकाशित भएको नाटक हो । यसको पूरक जस्तो देखिँदो नाटक यो प्रेम २०१६ सालमा मात्र प्रकाशित भएको देखिन्छ । नाटकका क्षेत्रमा पनि यिनले आधुनिकता भिœयाएको देखिन्छ । आधुनिक यथार्थवादी नाटक रचना गर्ने प्रथम स्रष्टाकै रुपमा पनि यिनको परिचय प्रख्यात छन् । शैली र विचारमा पनि आधुनिकता खोप्न सिपालु नाटककारका रुपमा प्रख्यात रहेका गोपालप्रसाद रिमालले मसान नाटकको प्रकाशन गरेर यथार्थवादी नाटकको सूत्रपात गरिदिएको देखिन्छ । विचार–दृष्टिमा पनि गतिशीलता सिंचन गर्न सफल रहेका यिनले प्रेम भनेको पवित्र हुनुपर्ने, वासना मात्र पे्रम होइन, मातृत्वको अर्थ र गरिमा उच्च कोटीको हुन्छ भनी सकारात्मक सोच नाटकमार्फत् व्यक्त गर्न खोजेका छन् । यिनका कविता र नाट्यकृतिमा बौद्धिकताको प्रयोग निस्फिक्री भएको पाइन्छ । इब्सनबाट प्रभावित जस्तो देखिँदो रिमालका नाट्यकृतिमा नेपालीपन व्याप्त हुनु नै यिनको विशेषता र सफलता मानिन्छ ।
पहिलो श्रीमती मोहनकुमारी भण्डारीको १९९० मा क्षयरोगले निधन भएकोले यिनकै बहिनी निर्मलाकुमारीसँग २००१ सालमा यिनले दोस्रो विवाह गरे । वि.सं. २०११ मा छोराको जन्म, नाम जुराइदियो मोहन रिमाल । धेरै हण्डर, दु:ख खपेर साहित्य सिर्जनामा तल्लिन यिनी २०३० साल कात्तिक ८ गते अवसान भएको देखिन्छ । मरणोपरान्त वि.सं. २०६० मा त्रिभुवन प्रज्ञा पुरस्कार प्राप्त गरेका यिनले नेपाली साहित्यिक पत्रिका शारदाको पनि केही अङ्क सम्पादन गरे ।दर्पण पत्रिकाको पनि वि.सं. २०१७ सालतिर सम्पादन गरेको देखिन्छ । सफल गद्य कवि । नौलो प्रयोग गर्न सफल नाटककार । राजनीतिक दृष्टिचेत् व्याप्त साहित्यकार । गोपालप्रसाद रिमालले साहित्यिक प्रेरणा स्रोतहरुका रुपमा उल्लेख गरेका विश्वका साहित्यकारहरुमा इब्सेन, बनार्ड शा, दस्तोबस्की, टाल्सटाय, रविन्द्रनाथ, शरद्चन्द, वाल्ट व्हिटम्यान आदि छन् । २००७ सालपछि पनि परिवर्तन महसुस नगरेका यिनले कवितामा लेखे –“भनिदेऊ नडराउ / हाम्रो शिर ठाडो हुन नदिने अत्याचारको विरुद्ध / हामीलाई बोल्नै नदिने गरिबीको विरुद्ध / हामीलाई बाँच्नै नदिने गरिबीको विरुद्ध / हामीलाई केही थाहै नदिने अज्ञानताको विरुद्ध / कम्मर कसेर लडिरहेछ / जीत उसैको हुन्छ ।”
परिवर्तनका पक्षपाती कवि । युगका स्वर उराल्न सफल साहित्यकार । राजनीतिक दृष्टिले सचेतना मनमा साँचेर आफूले बुझे अनुसारको स्वर सन्देश दिन पाउँदा गौरव गर्ने साहित्यकार गोपालप्रसाद रिमाल ५५ वर्षको उमेरमा निधन भएको देखिन्छ । तर साहित्यिक इतिहासमा यिनका अक्षरका पदचापहरु मेटिन गाह्रो छ । कविता, नाटकमा र साहित्यिक जगतमा यिनी सधैंका लागि अमर छन् र रहिरहने छन् ।
स्मृतिमा सर्जकहरू
(व्यक्तिवृत्त)