रातभरि कनिरहेका घाइते बिहानपख मौन थिए । उनी किन मौन भए । बेहोस भएका हुन् कि ? मारिइसकेको हुन् कि ? मरेका हुन् कि ? कतै लगेर फाल्यो कि ? या निदाएका हुन् कि ? प्रश्नै प्रश्न मात्र थिए । तर उत्तर शून्य, महाशून्य ।
घन्टीमा बिहानको पाँच हानेको निकैबेर भइसकेको थियो । अघिल्लो बिहान मलाई चिया दिन ल्याएका सेनाको झझल्को लागिरहेको थियो । तर उनी भने आएनन् । चियाको सारै तलतल लागिरहेको थियो । यदि मलाई चिया ल्याइदिए घाइतेलाई पिलाउने मेरो विचार थियो । घन्टीमा छ हान्यो । तर सेना आउँदै आएनन् ।
गोदामभित्रका केटाहरु एक एक गरी धमाधम ट्वाइलेट जान थाले । मलाई भने ट्वाइलेट जाने इच्छा नै थिएन । राम्रा पानीसमेत खान नपाएको तीन दिन भइसकेको थियो । तर मेरो शरीरमा भने खास त्यस्तो फरक आएको थिएन । शरीरमा फोका–फोका उठेर मलाई दिनसम्मको दुःख दिएको थियो । एभिल या काम्पोज चाहियो भनेर बारम्बार मैले अनुरोध गरेकी थिएँ । तर ल्याइदिएनन् । मलाई असाध्य नै रिस उठिरहेको थियो ।
हिजो बिहानको पाँच बजे मलाई चिया ल्याइदिएका तन्नेरी सेनालाई झल्झली सम्झिरहेकी थिएँ मैले । उनी आगोको बीचमा फुलेको फूलजस्तो लागेको थियो मलाई । उनले मप्रति देखाएको माया र आदर, थुनिएका अन्य अरुप्रतिको असन्तोष र आक्रोश आदिले मलाई प्रभावित पारेको थियो । सेना पनि त्यत्तिको मिलनसार, संवेदनशील, मर्मस्पर्शी हुने मैले सोचेकै थिइनँ । मैले त उनलाई घोर अन्धकारभित्र बलिरहेको झिनो नै भए पनि एउटा बत्तीको रुपमा पाएकी थिएँ । उनले भने –“थाहा पायो भने त कोर्टमार्सल गरिहाल्छ नि । तैपनि आफूले सकेको मद्दत त गर्नुप¥यो नि । हाम्रो एउटा ग्रुप छ । मिलाएर नै दिदीसित कुरा गर्न आएको हुँ, पीर छैन ।”
चेतनाजस्तो ठूलो महत्व मानव जीवनमा अरु के छ र ? तत्लो तह तल्लो श्रेणीका सेनाहरुमा चेतना जागेको पाएँ मैले । राजदरबार हत्याकाण्ड मेरो आँखामा अचानक दुख्ने गरी बस्न आएको थियो । त्यो भयानक विभत्स अकल्पनीय हत्याकाण्ड हुनुभन्दा पहिले नै मैले सुनेकी थिएँ, सेनामा एकमत छैन । श्री ५ वीरेन्द्र र सपरिवार हत्याकाण्डमा मारिए । एक जनाले पनि सजाय नपाएको आदि इत्यादि सर्वसाधारण जनता र अन्य राष्ट्रहरुले पनि पचाउन नसकेका क्रियाकलाप आदिबाट पुष्टि भएको छ । कतिपय सेनालाई माओवादीसित मिलेमतो भएको अभियोग लगाई सजाय दिएको पनि पत्रपत्रिकामा पढ्न पाएकी थिएँ । यहाँका तल्लो तहका सेनाहरुको विचार पनि त्यस्तै पाएँ मैले । ती तन्नेरी, जुँगाका रेखी पनि राम्ररी नबसेका तल्लो तहका सेनाहरुको मलाई अत्यन्त माया लाग्यो । भेडाबाख्राजस्ता मारिने त तिनीहरु नै हुन् ।
“दिदी ! हाम्रो ज्यानको के मूल्य छ र ? खटाएको ठाउँमा जानै पर्छ । नगए मारिहाल्छ । जागिर पनि छोड्नै पाइँदैन । के गरुँ मैले बिहे नगर्नु पर्ने थियो । तर गरेँ । एउटा भर्खर छ महिनाको छोरा छ । मैले बिहे गर्दा सङ्कटकाल लागू गरिएको थिएन । घर जान नपाएको पूरा ८ महिना भयो । तर दिदी सानै तहको सेना भए पनि हामी मान्छे त हौं । हेरौं तपाईं नआत्तिनुहोला ।”
ब्यारेकभित्रका तन्नेरी सेनाहरुमा जागृत मानवअधिकारको ज्योतिले मेरो अन्धकार मनभित्र उज्यालो छिराइदिएको थियो ।
सोमबार बिहानको आठ घन्टीमा हानेपछि म ट्वाइलेट गएकी थिएँ । पानी नराम्रो भएकाले मैले कुल्ला गर्न सकिनँ । मलाई डो¥याउँदै ट्वाइलेटको ढोकासम्म पु¥याएका सेनालाई भनेँ – “भाइ । पानी सारै नराम्रो भएकोले कुल्ला गर्न पाइनँ मैले । अलिकति खानेपानी पाउन सकूँला ?”
“कि नसक्नु ? तपाईं यहीँ उभिनुस् । उ … त्यहीँ छ पानीको भाँडो । म ल्याइदिन्छु ।”
सेनाले मगमा पानी ल्याइदिएपछि बल्ल मैले कुल्ला गर्न पाएँ । उनले बिस्तारै काननिर मुख ल्याएर भने –“के गरुँ दिदी ? तपार्ईं आमा जस्तोको पालो बस्नु परेको छ । तपाईंलाई डो¥याउँदै ल्याउँदा लैजाँदा असाध्य नै मन दुख्छ । कति साथीहरु त यहाँ पालो परे पनि त्यस्तो बिजोक के हेर्न जाने ? भनेर भित्र जानै मान्दैनन् । यहाँ बाहिरसम्म बस्छन् भित्र त जानै मान्दैनन् ।”
सेनाको कुरा त, पानी परेको बेलामा छाता जत्तिकै भएको थियो मलाई । आफ्नो पेशाप्रतिको असन्तोष र उकुसमुकुस उनीमा पाएँ मैले घन्टीमा सोमबार बिहानको दस हान्यो । नमीठो बासको साथै चिसो भात, मासको दालको पानी र क्वाँटीको तरकारी भएका थालहरु भित्रिए । हिजो र अस्ति जस्तै मैले भात खान सकिनँ । अनायास मेरो आँखा अगाडि राखेका थालहरुमा परेको थियो । सबै थालमा भात त्यसै थियो । तिनीहरुले पनि भात खान सकेनन् । खान पनि कसरी सक्नु ? नौ बजे सेनालाई खुवाएर बाँकी रहेको चिसो भातमाथि दालको भाँडो पखालेको पानी अलिकति हालेर ल्याएको थियो । क्वाँटीको तरकारी पनि के गरी पकाएको हो कुन्नि ? मीठो थिएन ।
घन्टीमा ११ हानेपछि मलाई सेनाले डो¥याउँदै बाहिर पु¥याएका थिए बयान लिन । मैले दोस्रो दैलो नाघ्न पाएकै थिएन, “आहा ! शान्ता दिदीको बल्ल दर्शन पाइयो । नमस्कार है नमस्कार । आउनुस् आउनुस् । तपाईंलाई स्वागत छ ।”
मलाई आश्चर्य लाग्यो । यतिको नजिक भएर मलाई नमस्कार गर्ने को होला ? उनको बोलीले त मलाई राम्रो चिनेको जस्तो लाग्यो । मैले नमस्कारको जवाफ नमस्कारले दिई लाचार भई भनेँ –“मैले त तपाईंलाई चिन्न सकिनँ । मेरो आँखा नकाबभित्र देखिहाल्नुभयो । तपार्ईंको नाम सोध्न पनि ठीक नपर्ला । तपाईंको बोली सुन्दा त मलाई राम्ररी चिन्नुभएको जस्तो लाग्यो मलाई । कुरा गर्दा मैले तपाईंलाई के भनी सम्बोधन गरुँ ?”
“दिदीले मलाई चिन्नुभएको छ । म दिदीलाई राम्ररी चिन्दछु । तपाईं मेरी दिदी भएपछि म तपाईंको भाइ ।”
म मज्जाले हाँसिदिएँ । कति सजिलो ? दिदी र भाइको नाता देखाउन या जोड्न । तर यस सम्बन्धको मूल्य, मान्यता र महत्व ? म अन्धकारमा छु । उनी उज्यालो प्रकाशमा । म फेरि मज्जाले हाँसेँ ।
“दिदी ! तपाईं त खुब हाँस्नुभयो । किन ? त्यस्तो हाँस्नुपर्ने केही कुरा भएको छैन । … दिदी ! साडी अलि माथि उचाल्नुस् । तपाईं त्यसमा अल्झेर लड्नुहोला । तपाईंको साडी तल लत्रियो ।”
मैले त लत्रिएको साडी उचालेर कम्मरमा घुसारेँ । शुक्रबारदेखि सोमबार ११ बजेसम्म मेरो पेटमा एक चौथाई चामलको भात अनि एक चौथाई पानी पनि परेको थिएन । मेरो पेटले त सिद्राको आकार लिंदै थियो । त्यसैले साडी अड्काउन पुग्ने पेटै थिएन । मलाई बिस्तारै डो¥याउँदै लगी उनको अगाडि पु¥याएपछि फेरि भने –“आउनुस् दिदी … आउनुस् । लौ, यो कुर्सीमा बस्नुस् । कुर्सी यहाँनेर छ ।”
मैले दुवै हात फैलाई कुर्सी भेट्टाउन खोज्दै भनेँ– “खोइ ? कहाँ छ कुर्सी ? मैले देखिनँ ।”
अनि मलाई समातेर सेनाले नै कुर्सीमा बसाइदिए । त्यहाँ ४÷५ जना अरु सेनाहरु पनि थिएजस्तो लागेको थियो मलाई । मैले सोच्दै गएँ– ‘त्यत्रो सामीप्य देखाउने को होलान् ? मेरो मन निकै उत्साहित भएको थियो कि कम से कम मलाई राम्ररी चिनेको मान्छे त रहेछ यहाँ ।
“शान्ता दिदी ! तपाईं त दुब्लाउनुभएको छ । भन्नुस् तपाईंको स्वास्थ्य त ठीक छ ? कुनै तकलिफ त छैन ?”
“तपाईंजस्ता भाइहरुका बीचमा मलाई के तकलिफ हुनु ?”
“खोइ ? तपाईंले भातै खानु भएन रे ? किन दिदी ? तपाईंलाई यहाँको खाना मीठो लागेन ?”
म मुस्काएँ मात्र । केही जवाफ दिइनँ । कसरी बुझ पचाउन सकेका होलान् ? तिनीहरुमा अलिकति मात्र मानवता भइदिएको भए हजारौं निर्दोषले अङ्गभङ्ग हुने गरी खाएको यातनाको अन्धकारले थिल्थिलो भई बाँच्नु पर्ने नै थिएन ।
“दिदी ! तपाईंले त मेरा भाइहरुलाई मेरो नाति पनि भन्न नसुहाउनेहरुसित म कुरा गर्दिनँ । मसित कुरा गर्नु छ भने मेरो लेबलका सित मात्र गर्छु भन्नुभएकाले म तपाईंको लेबलको त होइन भाइ बराबरको हुँ । हाम्रो कुरा हुनुभन्दा पहिले म तपार्ईंलाई केही ख्वाएर मात्र कुरा गर्छु । भन्नुस् तपाईं के खानुहुन्छ ? चिया ? कफी ? फुल, मासु ? चाउचाउ ? पाउरोटी ? तपाईं जे भन्नुहुन्छ, म त्यो खुवाउँछु तपार्ईंलाई भन्नुस् दिदी ?”
“मलाई दिदी भनेर माया गर्नुभयो । तपाईंलाई धेरै धन्यवाद छ । अहिले मलाई केही खानु छैन । बरु मैले तपाईंलाई के भनी सम्बोधन गर्ने हो ? जर्साव ? कर्साब ? मेजरसाब ?”
“तपाईं रिसाउनुभएको त होइन ? तपाईंले मीठो बोलीसित भाइ भन्नुस् बस् यही ठीक छ ।”
“भाइ ?”
म फेरि हाँसेँ । मेरो घाँटीमा ‘नेमप्लेट झुन्डिन आइहाल्यो । मौन आक्रोशले म उकुसमुकुसिन थालेँ । नेपाल टेलिभिजनबाट बराबर देखाउने गरेको ‘नेमप्लेट’ झुन्ड्याई खिचेको तस्बिरमा आफू पनि भएको फेरि देख्न थालेँ मैले त्यस दृश्यको सम्झना आयो कि म असह्य हुने गर्थेँ । त्यही घाँटीमा नेमप्लेट झुन्ड्याइ खिचेको तस्वीरले म मौन थिएँ ।
“ए … दिदीलाई राम्रो कफी र बिस्कुट ल्याइ दे त छिटो ।”
यस पटक मैले इन्कार गरिनँ । म मौन नै थिएँ । त्यहीँ मलाई नमस्कार गरेको मान्छेले बडो नरम स्वरमा भने– “दिदी तपाईंलाई यस अवस्थामा देख्नुपर्दा हामीलाई सारै दुःख लागेको छ । छिटै तपाईंलाई ससम्मान तपाईंको घरसम्म पु¥याइदिने हाम्रो विचार छ । हाम्रो यस विचारमा तपार्ईंले सहयोग पु¥याइदिनुप¥यो ।”
“हामी भन्नुभएको को नि ?”
“सेना नि । तपाईंजस्तो यो राष्ट्रकै इतिहास बोक्नुभएकाले सेनालाई सहयोग गर्नु तपाईंको परम कर्तव्य हो ।”
“परम कर्तव्य ?”
म फेरि हाँसेँ ।
“दिदी किन हाँस्नुभयो ?”
“मैले नहाँसेर के गर्ने त ? तपाईंले कुरा नै त्यस्तो गर्नुभयो । तपाईंले कर्तव्य शब्द प्रयोग गर्नुभो । तपाईंले केलाई भन्नुहुन्छ कर्तव्य ? मध्यरातमा निर्दोष मानिसहरुलाई समातेको ठाउँमा कालो कपडाले आँखा छोपी, हातलाई पिठ्यूँतिर बाँधी, खानसम्म हुने पानीसमेत खान नदिई तपाईंहरुले चाहेको कुरा नसकारेसम्म चरम सीमा नाघेको यातना दिनु यही होइन तपाईं सेनाको कर्तव्य ? अनि सेना शब्द पनि प्रयोग गर्नुभएको छ । हो, सेनालाई सहयोग गर्नु हामी जनताको परमकर्तव्य हो । तर सेना पनि त सेनाकै स्थानमा हुनुप¥यो । सेनाकै परिभाषामा रही काम गरेको हुनुप¥यो । तपाईंले नै भन्नुस्, सेना सेनाको परिधिभित्र रही यो काटमारको कार्य भइरहेको हो त ? भन्नुस् । जवाफ दिनुस् ।”
“हेर्नुस् दिदी ! तपाईं आजसम्म पनि प्रजातन्त्रकै लागि संघर्षरत हुनुभएकाले हामी तपाईंको कुरा सुन्छौं । त्यसो भनेर अति बोलिदिनु त भएन नि । अरुको भए हामी एक शब्द पनि सुन्दैनौं । यो कुरा तपाईंले बुझिदिनुप¥यो ल ।”
“मैले राम्ररी बुझेकोले नै हाँसो उठेको हो । तपाईंले भन्नुभयो अरुको त हामी एक शब्द पनि सुन्दैनौं । तपाईं नै भन्नुस् तपाईंको यस भनाइमा कहाँनिर छ कर्तव्य ? के अरु मात्र मान्छे होइनन् ?”
“हामीले जे–जस्तो गरिरहेका छौं, प्रजातन्त्र जोगाउन गरिरहेका छौं । प्रजातन्त्रलाई जोगाउन हामीले ज्यान दिई लडिरहेका छौं । यो त तपाईंले मान्नुहुन्छ ?”
“अहँ, म मान्दिनँ । आफ्नै दाजुभाइ, दिदीबहिनीलाई मारेर, बेपत्ता पारेर अमानवीय यातना दिएर, जेलभित्र कोचेर प्रजातन्त्र जोगिन्छ भन्ने अन्धविश्वासमा म छैन । यसबाट प्रजातन्त्र त जोगिँदै जोगिँदैन, सम्पूर्ण राष्ट्र नै नजोगिने कुलक्षण देखापर्न थालेको छ ।”
“दिदी ! तपाईंले कस्तो कुरा गर्नुभएको ? सेना भनेको त प्रजातन्त्रको रक्षक हो ।”
“अहँ यो कुरा पनि म मान्न तयार छैन । सेना कसरी प्रजातन्त्रको रक्षक हुन्छ ? साँचो अर्थमा प्रजातन्त्रको रक्षक त हामी हौं । हामी जनता जसले सरकारको जागिर या सहुलियत खाएका हुँदैनौं । निःस्वार्थ आफ्नो स्वर्णिम समय, भविष्य अन्धकारमा हाली देशका खातिर निःशुल्क रगत दिन्छन् । सेनाको काम प्रजातन्त्र जोगाउने नाममा आफ्नै राष्ट्रका जनतामाथि हतियार उठाउनु गलत मात्र होइन अक्षम्य अपराध हो । सेना त राष्ट्रलाई जोगाउने ढाल हो । यसको गरिमा, आदर्श र महत्व अति नै उच्च छ ।”
बोल्दा बोल्दै म टक्क रोकिएँ । त्यहाँ अरु नै विभिन्न स्वरमा कुरा भइरहेको सुनेँ मैले । चिया ल्याइपु¥याएको, कप र प्लेट जुधेको आवाजले थाहा पाएकी थिएँ ।
“दिदी, पहिले तपाईंले कफी र बिस्कुट खानुस् । अनि हामी कुरा गरौंला । ए दिदीको नकाब अलि माथि सारी बाँधीदेऊ त । उहाँले कफी र बिस्कुट खानुहुन्छ ।”
मेरो नाकको प्वालसम्म बाहिर पारी नकाब माथिसारी पछाडि बाँधिदियो । नाक र गालाको बीचबाट अलिकति उज्यालोको दर्शन पाएकी थिएँ मैले । तर मेरो अगाडि र दायाँबायाँ बसिरहेका सेनाहरुका आधा शरीर र पेटसम्म मात्र मैले देखेकी थिएँ । अनुहार हेर्न त मैले टाउको माथि उठाउनुपर्ने भएकोले अनुहार हेर्ने प्रयत्न नै गरिनँ । तिनीहरु सिभिल ड्रेसमा थिए ।
अचानक कसैको हात मेरो नकाबमाथि परेकाले झस्केर मैले प्रश्न गरेँ –“को हँ ? किन मेरो नकाब छोएको ?”
“दिदी म … म । तपाईंको नकाब अलि नमिलेकोले मैले मिलाउने प्रयत्न गरेको ।”
मलाई नमस्कार गरेको सेनाको स्वर मैले चिनिहालेँ । उनले मेरो नाक र गालाको बीचमा अलिकति उठेको नकाब औंलाले थिचेर मिलाउन खोजिरहँदा म फेरि हाँसेँ । अनि मैले हाँसेर भने –“मैले तपाईंलाई देखुँला भनेर कत्रो डर तपाईंलाई ? यही रहेछ दिदी र भाइको सम्बन्ध ?”
“म डराएको कहाँ हुँ र ? यो त तपाईंको सुरक्षाको लागि गर्नु परेको हो । तपाईंलाई कसैले नचिनोस् भनेर ।”
म फेरि हाँसेँ । तिनीहरुको डरले मेरो मोरल एकदमै हाइ भएको थियो । मैले भनेँ –“मलाई अन्डरइष्टिमेटेड नगर्नुहोला । म थाङ्नामा सुत्ने बच्ची होइन । हेर्नुस् म खुला किताब हुँ । धेरैले मलाई पढेका छन् । मलाई सुरक्षाको आवश्यकता छैन । मलाई न तपाईंहरुको डर छ न अरु कसैको ।”
“दिदी ! कफी र बिस्कुट खानुस् ।”
मैले कफी र बिस्कुट नदेखेको स्वाङ्ग गर्दै भनेँ– “खोइ ? कहाँनिर छ कफी ? बिस्कुट त म खान्नँ । कफीसम्म खान्छु ।”
कसले हो कुन्नि मेरो हातमा कफी भएको कप र प्लेट थमाइ दियो । मैले बिस्तारै कफीको चुस्की लिन थालेँ ।
“किन ? तपाईंले बिस्कुट खानुहुन्न ? रिसाउनुभएको त होइन ? दुई वटा मात्र भए पनि खाइदिनुस् ।”
मलाई थाहा थियो कि तिनीहरुले मलाई किन माया देखाएका थिए ? तिनीहरुको अमानवीय प्रवृत्तिको एक्सरे मेरो छातीमा नभएको होइन । निर्मम यातनाले घाइते भई, जरोले ढलेको अपरिचित युवक, मेरो मुटु दुख्ने गरी फेरि बस्न आएकाले अनायास मैले भनेँ – “भाइ ! तपाईंले मलाई बडो आदरले दिदी भन्नुभएको छ । कफी ख्वाउँदै हुनुहुन्छ । तर यो कफी निल्न मलाई गाह«ो परेको छ । यदि मेरो अनुरोध लाग्छ भने मलाई राखेको स्थानमा यातनाले घाइते भएको मान्छे ज्वरोले ढलेको छ । पानी पानी भनेर कराइरहेका छन् । उनलाई एक गिलास तातो पानी पिलाइ दिनुस् न । उनका लागि एक कप कफीको सख्त जरुरी छ ।”
“ठीक छ । ठीक छ । म डाक्टरलाई बोलाउन पठाइदिन्छु । तपाईंको पनि चेकअप गराउँछु । भित्रको बिरामीको पनि । दिदी ! अब हाम्रो कुरा कन्टिन्यु गरौं । ए खाली कप प्लेट लैजाऊ ।”
खाली कप–प्लेट उठाएर लगे । तिनीहरुको बीच खासखुस कुरा भइरहेको थियो । तर मैले बुझ्न सकिनँ ।