फुलमतियालाई शनिचराको पढ्न लेख्नमा चढेको रौंस देखेर निकै आश्चर्य लाग्यो । किंगरिया मंगताहरूको माझमा हुर्केर पनि पढ्छु भन्छ यो शनिचरा …. हाम्रो माझका मान्छेहरूले कहिले लेखे पढे ? यो कस्तो अनौठो भएर निस्कियो ! किंगरिया मंगताको माझमा यो शनिचरा मालिक बाबुहरूका केटाकेटीझैं स्कूल जाँदै भन्छ । फुलमतिया कल्पना गर्छे – शनिचरा सफा लुगा लगाएर स्कूल जाँदै छ ….. क, ख, ग, घ, पढ्दै छ । शनिचरा भगता स्कूलमा पढ्छ ……. अफिसमा बाबु हुन्छ ….. के के ? सपना देख्छे के के ऊ । ……. फुलमतियालाई आफ्नो जीवन धन्य भए झैं लाग्छ । अरूको जे जस्तो भए पनि उसको शनिचरा पढ्छ …… अवश्य पढ्छ । ….. शनिचराले पढ्यो लेख्यो र बाबु भयो भने उसको बूढ्यौली सप्रन्छ र छोरो हुनु पनि भाग्यै हो ….. । मायाको तीव्र आवेगमा उसले शनिचरालाई छातीमा टाँस्छे र म्वाई खाइदिन्छे ।
फुलमतियाले शनिचरालाई पाउँदा मातृत्वको तीव्र आवेगबाहेक अरू केही सपना देखेकी थिइन । तर अहिले शनिचराको बालसुलभ जिज्ञासा र ऊभित्रको प्रतिज्ञाले नानाबली सपना देख्न थालेकी छ । हुन पनि शनिचरामा अनौठो बानी–व्यवहार पलाउन थालेको छ । उसको चाल–चलन अनौठो छ । ऊ आफूलाई बाबु मालिकका छोराहरूसँग दाँज्न खोज्छ । उसका बानी व्यवहार पनि बाबु–मालिकका छोराहरूझैं छन् । फुलमतियालाई लाग्छ, यो शनिचरा पक्का पनि कुनै शापग्रस्त देउता हो । त्यसैले उसको नारकीय जीवनमा नौलो र अनौठो जीवन खोज्दैछ । त्यसो नभएको भए त ऊ पनि फुलवा टिकुटी, मंगराका सन्तानहरूझैं रछ्यान, घुर्यान–घुर्यान चाहारी हिँड्थ्यो होला !
आफ्नो वरिपरिको वातावरणमा मिल्न नसक्ने र अनौठो–अनौठो व्यवहार गर्ने शनिचरालाई पाएर फुलमतिया आफ्नो भाग्यको साह्रै नै सह्रनी गर्दछे । हुन पनि फुलमतियालाई सन्तानको साह्रै रहर थियो, तर उसको अनुर्वरा क्षेत्रमा कुनै बीउ उम्रन सकेको थिएन । सन्तान–कामनाले फुलमतिया कतिसँग सुती कतिसँग, त्यसको कुनै लेखा छैन । उसका आफ्नै दौंतरी मंगताहरूका अतिरिक्त नगरका सेठ–साहुकार, बाहुन, क्षेत्री, बलवान, पहलवान सबैको ओछ्यान तताएर पनि उसको अनुर्वरा क्षेत्र, अनुर्वरा नैं रह्यो । जति–जति उसको सन्तान प्राप्तिका उपायहरू सफल हुन्थे, उति–उति उसमा सन्तान–कामना प्रवल हुँदै जान्थ्यो ।
फुलमतिया जब सन्तान–कामनाको परिपूर्तिको अभावको घोर निराशामा रोएकी थिइ, फुलवाले उसलाई सम्झाउँदै भनेकी थिई – फुलमतिया ! तँ किन दिक्क मान्छेस् ? के हुन्छ छोराछोरी पाएर ? हाम्रा के सपना छन् र ? के आशा छन् र ? हामी त रछ्यान–रछ्यान चाहार्ने मागी खाने जातिका हौं । हाम्रा छोराछोरी पनि रछ्यान–रछ्यान चाहार्ने त हुन् ! टोले आवारा कुकुरहरूका बथानमा एउटा अरू थप्न हामीले बच्चा किन जन्माउनु पर्यो ?
फुलवा ….. तँ, आमा भइसकेकी छस्, तँलाई के ? हामी स्वास्नीमान्छेलाई त आमा हुनुमै स्वाद लाग्छ, तृप्ति हुन्छ, होइन के ? तैंले त्यत्रा छोराछोरी किन जन्माइस् त ?
फुलमतिया ! साँच्ची भनौं भने मलाई यी छाउराहरू जन्माउने कुनै रहर थिएन, तर देह–सुखको लोभमा परेपछि यी जन्मिदै गए । के गर्छेस्, यी छोराछोरीहरू हामीहरूझैं रछ्यान–रछ्यान चाहार्छन, टोले कुकुरहरूझैं जूठोका लागि बाझाबाझ गर्छन्, अनि ठूला भएपछि चोराचोर गर्छ, समातिएर जेल पर्छन् । यो बाँच्नुको के अर्थ छ र ? हामी नरकका कीरा हौं । फुलमतिया ! यी नर्कका कीरा बढेनन् भनेर पीर नगर् तँ ।
फुलवा ! तँ त निकै गुन–ज्ञानको कुरा पो गर्न थालेकी छेस् नि ? कहाँबाट सिकिस् यी गुन–ज्ञानका कुराहरू ?
तेसै नै मेरो मनमा उम्रिरहन्छन् यस्ता कुराहरू । सायद मेरी आमाको भूँडीमा कुनै गुनीज्ञानीको बीउ परेको थियो कि क्या !
फुलुवाको कुराले चित्त बुझाएकी थिई फुलमतियाले, तर उसको अतृप्त आकाङ्क्षाले भने फणा उठाइनै रहन्थ्यो ।
यस्तैमा एकाविहानै उसले बाबु टोलाका घुर्यानमा फालिएको शनिचरालाई पाएकी थिई । शनिचरा उसको अतृप्त आकाङ्क्षाको परिपूर्ति थियो त्यसैले ऊ शनिचरालाई आफ्नो एकमात्र सम्पत्ति ठान्दथी । शनिचराको एक एक इच्छामा ऊ सर्वस्त्र लुटाउन चाहन्थी, तर उसको सर्वस्व नै थियो शनिचरा, तर त्यो पनि अनौठो–अनौठो कुरो गर्छ, र फुलमतियालाई सताइरहन्छ ।
शनिचरामा पनि एउटा नौलो संस्कार पलाउन थालेको छ । फुलमतियालाई फाटेर झुत्रा भइसकेका लुगा लगाएर शनिचरालाई डोर्याउँदै घर घर, ढोका–ढोका – केही दि ….. दिनस् हजूर ! भन्दै माग्दै हिँडेको वा जुठो फालेको रछ्यानमा जूठोको लागि लुछाचुँडि गरेको शनिचरालाई निको लाग्दैन । तर त्यसको विकल्प भने उसको बालमस्तिष्कले खोज्न सकेको छैन । किनकि उसले फुलवा, चमेलिया, दुधिया, शुकई, कसैलाई पनि यसरी मागी हिँड्ने र जुठ्यान–जुठ्यान चहार्ने सिवाय अर्को केही काम गरेको देखेकै छैन । बुधई, शुकई, मंगल, सोमे सबैले जुठ्यान–घुर्यानमा फालेको खाएको देख्दा देख्दै पनि शनिचरालाई त्यो जस्तो खान घीन लाग्न थालेको थियो ।
अलि केही बुझ्नेबित्तिकै अब त शनिचरा घीनको अतिशयताले वाक्क भएको छ । फुलमतियालाई भन्छ – अम्मा …. हामीले मात्रै त्यो अर्काले फालेको रछ्यानको जूठो किन खाने ? बाबु–बबुनीहरूझैं चामल पकाएर खान हुँदैन ?
फुलमतिया रसिलो आँखाले शनिचरातिर हेर्छे, भावावेशमा उसलाई छातीमा टाँसेर म्वाई खाँदै मनमनै भन्छे …….. हे शाप परेको देउता ! कुन पापले यो नरकमा पर्न आइस …… ! तर म अब अरू तँलाईं यो नरक भोग्न दिन्नँ । एउटा दृढ अठोट लिन्छे फुलमतिया । ऊ अब रछ्यानको जूठो भात उसलाई दिन्न, आफू पनि लुकी चोरी मात्र खान्छे । ऊ केही घरबाट रोई–कराई फुको चामल मागेर ल्याउँछें । त्यही पकाएर शनिचरालाई खान दिन्छे । एकदिन फुलमतिया विरामी परेर माग्न जान सकिन । शनिचरा भोकै पर्ला भनेर फुलवासँग चामल माग्न पुगी – फुलवा ! मलाई अलिकति चामल दे न, शनिचरालाई भात पकाइदिऊँ ।
किन रे, चामलै किन चाहियो र ? आज हीरा सेठको छोराको बिहे थियो । मीठोमीठो हलुवा, पुरी, तरकारी, मिठाइहरू फालेका थिए । पतरीबाट बटुल–बाटुल गरी ल्याएकी छु । त्यही लैजा, मीठो मानेर खान्छ ।
फुलवा ! आजभोलि शनिचरा रछ्यानको जूठो खान घीन मान्छ । त्यसैले उसलाई भात पकाइदिन आँटेकी ।
फुलमतिया ! तँ किन व्यर्थै शनिचराको बानी बिगार्न खोज्छेस् ? हामी किंगरिया मंगताको जातकाले रछ्यान नचाहारी खानै पाइँदैन । शनिचरा के गरेर खान्छ ? ठूलो भएपछि कहाँबाट पाउँछ उसले चोखो भात ? उसको बानी नबिगार फुलमतिया ! उसले माग्नै पर्छ, रछ्यान चाहार्नै पर्छ, कथरी–मुथरी लाउनैपर्छ । उसको भाग्यमा त्योभन्दा बढी केही छैन । उसलाई पछि सहन नसक्ने दुर्गतिमा नपार !
म के गरौं फुलवा ! कुन्नि कुन भैया, बाबुको सन्तान हो त्यो । कुनै शाप परेको देउता पो हो कि ? जहिले पनि गुन–ज्ञानको कुरो गर्छ । हाम्रो किंगरियाहरूको रहन–सहन मनै पराउन्न त्यो । म के गरौं ? म त्यसलाई यो नरक भोग्न दिन चाहन्न । के उसको भाग्य, पुन्नले नै उसलाई यस्तो बनाउँदै छ कि ! म उसको इच्छे बेगर हिँड्नै सक्तिन । त्यसदिन फुलवासँग चामल लिएर फर्केकी थिई फुलमतिया ।
आज फेरि शनिचरा भन्दैछ – अम्मा ! म पढ्न जान्छु । किंगरियाको छोराले पढ्छु भन्नु ठूलै कुरो हो, अनौठै कुरो हो । यो शनिचरा जहिले पनि यस्तै अनौठो कुरो मात्र गर्छ । छोरोको पढ्ने रौस, बाबु मालिकका छोराहरूले गरेझैं गर्न खोज्ने बानी देखेर, फुलमतियामा एउटा नयाँ धून जान्छ । ऊ शनिचरालाई पढाउने, लेखाउने; ऊ जस्तो हुन चाहन्छ त्यसै बनाउने अठोट लिन्छे ।
० ० ०
फुलमतिया शनिचरालाई स्कूल लिएर आएकी छ । एउटा स्कूल वरको बोटमुनि प्यारे मास्टर पच्चीस–तीस केटाहरूलाई पढाउँदै छ । शहर नजिकको स्कूल भएपनि यसको आफ्नो कुनै भवन छैन । पुरानो वरको शीतल छहारीमुनि लाग्छ स्कूल । रामपति, शकूर र प्यारे तीनजना शिक्षक छन् यस स्कूलमा । मास्टर प्यारेलाल जसलाई गाउँलेहरू प्यारे मास्टर भन्छन् – यस स्कूलको हेड मास्टर हो ।
वरको रूखको फेलीमा तीनतिर कथा संचालन हुँदैछ । तिनैतिर २०–२५ जनाको झुण्डलाई रामपति, प्यारे र शकूरले पढाइरहेका छन् । फुलमतिया सरासर प्यारे मास्टरका क्लासछेऊ उभिन्छे । प्यारे मास्टर बोर्डमा क, ख, ग, घ, लेखिरहेको छ । केटाकेटी एक अर्कासँग जिस्किरहेका छन् । शनिचरा निकै गढेर प्यारे मास्टरको लेखाइ हेरिरहेको छ ।
प्यारे मास्टर बोर्डमा लेखि भ्याएर केटाहरूतर्फ फर्कन्छ त छेवैमा फुलमतियालाई उभिएको देख्छ । उसको नाक खुम्चिन्छ र अमिलो मुख लाएर सोध्छ, – के हो फुलमतिया ! आज यतातिर किन ?
मास्टरजी ! …… यो शनिचरा स्कूलमा पढ्छु भन्छ । यसको नाम लेखाउन आएको ।
प्यारे मास्टर जिल्ल पर्छ । कस्तो पत्यार नलाग्ने कुरो ! रछ्यान–रछ्यान जूठो भातका निम्ति रडाको मच्चाउने जात उसले पनि पढ्ने रे ! ऊ उदेक लागेको आँखाले दुबैतर्फ हेर्छ । मैले चिथ्रैचिथ्रा भएको कमीज लाएको, मैलो धुसरो शनिचरा कपालमा मैलो फोहोरको लट्टा परेको, फाटेको कमीज र पेटिकोट लाएकी फुलमतिया ! प्यारे मास्टरलाई लाग्छ – फुलमतिया उसलाई जिस्काइरहेकी छ । ऊ फुलमतियालाई हकार्दै भन्छ – ए फुलमतिया ! यो स्कूल हो । यहाँ पढ्ने लेख्ने काम हुन्छ । त्यसै यहाँ जिस्किन नआइजा, जा । भाग यहाँबाट !
होइन मास्टरजी ! म बाबु–मालिकहरूसँग जिस्किने आँट गर्न सक्छु र ? साँच्ची नै यो शनिचरा पढ्छु भनेर जिद्दी कस्छ । यसको नाम लेखिदिनोस् न ।
होइन के कुरा गरेकी फुलमतिया तैंले ? यहाँ बाहुन, ठाकुरका छोराहरू पढ्छन् । यो घीनलाग्दो रछ्यान चाहार्ने शनिचरा तिनीहरूसँग पढ्न सक्छ । गाउँका बाबुहरूले के भन्लान् मलाई ? तेरो जातमा पढ्ने लेख्ने कुरै हुँदैन । तँ यसलाई मात्र पढाएर के गर्छेस् ? जा यसको नाम लेखिँदैन यहाँ ।
बिन्ती छ मास्टरजी ! मेरो छोरो रछ्यान–रछ्यान चाहार्दैन, अर्काको जूठो पनि खाँदैन । म यसलाई नुहाईवरी स्कूल पठाउँछु । मालिक बाबुहरूको छोराहरूभन्दा टाढै अलग्गै पढ्छ यसले । यसले साह्रै रहर गरेको छ मास्टरबाबु ! बिन्ती छ, यसको नाम लेखिदिनुुस् ।
जा भाग ! व्यर्थै मेरो मगज नखा जा ?
दया गर्नुस् मास्टरजी ! …. मेरो शनिचराको नाम लेखिदिनोस् ।
आफ्नो चिरौरी बिन्तीको कुनै वास्ता प्यारे मास्टरले नगरेको देखेर फुलमतिया आगो हुन्छे । निराश र हतासले ऊभित्र तातो उच्छवास ऊम्लिन थाल्छ, अनि ऊ बेस्सरी कड्किन्छे – ए प्यारे मास्टर ! यो स्कूल तिम्रो थपौती होइन, सर्कारिया स्कूल हो यो । यसमा खाली मालिक बाबुका छोराहरूले पढ्नु भन्ने छैन । हामीजस्ता गरीबले पनि पढ्न पाउनुपर्छ भनेर सरकारले खोलेको स्कूल हो यो । तिमीले तलब पनि सरकारले खान्छौ । म शहर गएर बडे सरकारसँग उजुर गर्छु – प्यारे मास्टरले हाम्रो नाम लेखिदिएन भनेर ।
फुलमतियाले डाकोले अलि तर्सिन्छ प्यारे मास्टर–पर्सि मुलुकी ऐन दिवस हो । पर्सि गाउँमा शहरबाट ठुलाबडा हाकिम आउँछन् । कहीँ यो राँड त्यहाँ कराउन आई भने व्यर्थैको खप्की खानुपर्छ । मास्टर अलि नरम भएर भन्छ – फुलमतिया ! यो सरकारी स्कूल त हो ठीक छ, तर तँ यसलाई पढाउन सक्छेस् ? यसको नाम लेख्न, किताप किन्न, सिलोट–पाटी किन्न पैसा चाहिन्छ । कहाँबाट ल्याउँछेस् तँ यतिका पैसा ?
देख् मास्टरजी ! यो किंगरिनी मंगरिनीलाई केही था छैन भन्छन् ! मैले शहरमा मालिकनीहरूसँग भोख माग्दा सोधिसकेकी छु । सर्कारिया स्कूलमा पढ्न फीस पर्दैन रे । अनि किताव पनि सित्तैमा दिन्छन् रे । तेसै ठग्न मात्रै नखोज ।
देख्दिनस् राँड ! स्कूल नभएर रूखमुनि पढाउनु परेको ? पैला नाम लेख्दा १५।– रूपैया चन्दा लाग्छ । किताव त स्कूलबाट पाइन्छ, सिलोट किन्न पर्यो, कापी, कलम किन्न पर्यो, खर्च धेरै लाग्छ ।
फुलमतिया अर्थको समस्याले खुम्चिन्छे । कहाँबाट ल्याउने ? रछ्यानको जूठो बटुल्दै मागी खानेले छोरो पढाउनको धोको लिनु व्यर्थ नै रहेछ भन्ठान्छे । ऊ शनिचरालाई तान्दै फर्कन खोज्छे, तर शनिचरा त्यो ठाउँ छोडेर फर्कन मान्दैन । ऊ त्यहीँ उभिएर ब्ल्याकबोर्डका किरमिर रेखाहरू हेरिरहन्छ ।
छोरोको पढाइप्रतिको लगन देखेर छोरोलाई जसरी पनि पढाउने अठोट गर्छे – मास्टरजी ? जम्मा कति खर्च लाग्ला ?
पन्ध्र रूपैया नाम लेख्ने चन्दा र तीन रूपैया सिलोट पेन्सिल …. अहिलेलाई अठार रूपैया भए पुग्छ ।
मास्टरजी ! म भोलि शनिचराको हातमा अठार रूपैया पठाइदिन्छु । तपाईं शनिचराको नाम लेखिदिनुहोला । फुलमतिया छोरोलाई त्यहीँ छाडेर जान्छे ।
फुलमतिया गएपछि त्यहीँ भुईमा टुक्रुक्क बस्छ । ऊ बडो मनयोगले अक्षरहरू हेर्न थाल्छ । प्यारे मास्टर बोर्डमा लेखेको अक्षरलाई हातको लौरोले देखाउँदै पढाइरहेको हुन्छ: क, ख, ग, घ, केटाहरूसँगै शनिचरा पनि मनमनै दोहर्याउँछ । केटाकेटीहरूको ध्यान बोर्डका अक्षरहरूभन्दा उसको कम्मरमुनिका नाङ्गो अङ्गले बढी आकर्षित गर्छ, केटाहरू खितितित्त हाँस्छन् । केटाकेटीको आकर्षण अर्कोतर्फ देखेर प्यारे मास्टर झोक्किन्छ । एक पटक केटाहरूलाई हप्काएपछि उ शनिचरालाई हर्कान थाल्छ – ए शनिचरा ? उठ्, उठ् । त्यहाँबाट, नाङ्गै आएछ मोरो ! जा भाग् ! स्कूल आउने भए नुहाएर सफा भएर लुगा कट्टु लगाएर आएस्, नत्र नआए पनि हुन्छ । जा भाग ! घर जा घर ?
मास्टरको हप्काइले लुत्रुक्क पर्छ शनिचरा । लाजले रातो हुँदै खुर्र दगुरेर हुत्तिँदै घरतर्फ भाग्छ ।
फुलमतिया अठार रूपैयाँको समस्याले ग्रस्त छे । तीस वर्षको लामो जीवनकालमा उसले बढीभन्दा पाँच रूपैयाँको मुख देखेकी छ, त्यो पनि कुनै ऐयासी साहुको काखमा बसेपछि । तर अब उसलाई पैसा चाहिएको छ । एक दुई होइन पुरै अठार रूपैया । कहाँबाट ल्याउने अठार रूपैया ? फुलमतियाको लोग्ने भएको भए पनि कतैबाट ल्याउने अठार रूपैया ? फुलमतियाको लोग्ने भएको भए पनि कतैबाट चोरचार गरेर ल्याउँथ्यो होला, तर ऊ हराएको पनि दश वर्ष भइसक्यो । अलि सिल्ली तालको थियो उसको लोग्ने । एकदिन सहरतिर माग्न हिँड्ेको, फर्केन । त्यसपछि उसले कति खोजी, तर पत्तो लागेन । भन्छन् – ऊ नेपालमा माग्दा–माग्दा वाक्क भएर अङ्ग्रेजीतिर (भारत) गयो । त्यत्रो ठूलो देशमा कहाँ खोज्ने ? फुलमतियाले लोग्नेको केही वास्ता राखिन । उसलाई किन हो कुन्नि अङ्ग्रेजभन्दा नेपाल नै प्यारो लाग्छ । अङ्ग्रेजमा त मानिसहरू साह्रै मतलवी हुन्छन् । फेरि त्यहाँ जातपात र छुवाछुत धेरै मान्छन् । त्यहाँ त बाँच्न गाह्रो छ । हुन त अङ्ग्रेजीमा किंगरियाहरूको ठूलो जमात छ र त्यहीँबाट नै एकदुई पुस्ता पहिला तिनीहरू नेपाल पसेका हुन् । तर फुलमतियालाई नेपाल नै मन पर्छ । यहाँका मानिसहरू दयालु हुन्छन् र गरीवहरूलाई बढी घृणा गर्दैनन् । फुलमतियाले नेपाली परिवारबाट प्रसस्त सहानुभूति पाएकी छे । यो गाउँ देहातमा त्यस्ता परिवारहरू नभए पनि शहरमा दुईचार परिवार छन् जसबाट फुलमतियाले चामल, भात, तरकारी, पुराना चिथ्रा थोत्रा पाउने गरेकी छे । तर अठार रूपैयाँ भने उसको निम्ति निकै ठूलो रकम भइदिएको छ । ऊ साह्रै सकसमा परेकी छ । शनिचरा हुरिँदै आएर फुलमतिको काखमा लटपटिन पुग्छ – अम्मा ? मास्टरजीले भगाइदिए । सफा भएर, सफा लुगा–कट्टु लगाएर आउनु नत्र नआउनु भनेका छन् ।
त्यो नाशपीटा मास्टरलाई थाहा छैन, हामी गरीब मंगताहरूले कहाँबाट सुकिलो लुगा ल्याउँछौं ? … हे भगवान् ! …. साँच्ची कुन नरकमा बाँचिरहेका छौं हामी ? … यो शनिचरा पनि कस्तो हो ….. ? यसलाई किंगरियाहरूको बानी–बेबहार केही पनि मन पर्दैन ….. यो बाबु मालिकको छोराझैं हुन चाहन्छ …. म के गरौं, कसो गरौं … ? अठार रूपैयाँको समस्या त त्यसै छ, झन् अब सुकिलो लुगा–कट्टु पनि चाहियो …. कहाँबाट ल्याउने ? …. फुलमतिया हतास हुन्छे । हतास आँखाले शनिचरातिर हेर्छे ।
सुलुक्क परेको नाक, ठूला ठूला आँखा ठूलो निधार, गोरवर्ण साँच्ची शनिचरा शनिचराको रूप शापित देऊताझैं आभायुक्त छ ….., हे शापग्रस्त देउता ! तिमी मेरो काखमा लुटपुटिन आयौं, म तिमीलाई यस शापबाट मुक्ति दिन्छु । यस नरकबाट मुक्ति दिन्छु । म उपर जस्तोसुकै सकस अवस्था होस् …. । फुलमतिया छोरोलाई तानेर लगातार म्वाई खान थाल्छे ।
फुलमतिया छोरोको कट्टु, लुगाको इन्तजाम गर्न शहर जाने निश्चय गर्छे । शहरमा दुई हजार परिवार देखेकी छ उसले जो उसप्रति सहानुभूति राख्छन् तिनीहरूको दुआरमा गएर उसले रोइ कराई भने त अवस्य पनि पुरानो कमीज कट्टुको इन्तजाम हुन सक्छ । फुलमतिया शहरतिर हिँड्छे ।
फुलमतिया शहरमा ढोका–ढोका कुर्छे कराउँछे – हे मालिक ! केही पुराना फाटेका थोत्रा लुगा पाउँ न … मलकिन ! …….. सानो बाबाको उतारन कमीज कट्टु भए पाउँ । तर निकै बेर धेरै चहारेपछि पनि फुलमतियाले आफ्ना आवश्यक वस्तुहरू पाउँदिन । कसैले ब्लाउज दिन्छन् त कसैले पेटिकोट । कसैकसैले फाटेको धोती नै दिइ पठाउँछन् । तर कुनैबाट पनि उतारन कमीज कट्टु ऊ पाउन सक्दिन । झन्, अठार रूपैयाँ ! ….. फुलमतिया हतास हुन्छे । निराश हुन्छे ……… ल्कान्त र गलित हुन्छे । यस असफलताको असीम पीडाले ऊ छट्पटिन्छे र निदाउरो मुख लाएर घरतिर फर्कन्छे । बाटोमा बतसियासँग भेट हुन्छ । बतसिया कानेका साथ आएकी छे । ऊ निकै ठाँटिएकी छ, तेल हालेर कपाल कोरेकी छ, पुरानै भए पनि नफाटेको सुकिलो धोती र ब्लाउज लगाएकी छ । बतासियासँग आजभोलि पच्चीस–तीस रूपैयाँ रहिरहन्छ । फुलमतियाको निराश हृदयमा आशाको एउटा ज्योति जाग्छ । ऊ बतासियाको नजिक पुगेर खुशामदी स्वरमा भन्छे – बतासिया तँसँग मौकैमा भेट भयो । मलाई साह्रै अप्ठेरो पर्यो । शनिचरा स्कूल पढ्छु भन्छ । सिलोट, पेन्सिल र स्कूलको चन्दा गरेर अठार रूपैयाँ चाहिन्छ । अहिले मेरो अप्ठेरो टारिदे, म तँलाई छिट्टै दिदिन्छु ।
के रे ? हामी किंगरियाको छोरो स्कूलमा पढ्छ रे ! के गजब गर्न लागेकी फुलमतिया ! यो पढ्नु सक्नु त बाबु मालिकका छोराहरूलाई सुहाउने कुरा हुन् । शनिचराले के गर्न पढ्छ ? बरू माग्न–साग्न लगा । शहरतिर पठा, केही चोरचार गरेर भए पनि तँलाई पाल्नेछ ।
हैन बतासिया ! साह्रै रहर गरेको छ शनिचराले । उसलाई पढ्ने साह्रै रौस छ के गर्ने ! पढ्न दिउँ, कुन्नि, उसको भाग्यले नै हाम्रो दिन फर्किन्छ कि !
हेर फुलमतिया ! हामी रछ्यानको जुठो खानेहरूको बुद्धि हुँदैन । शनिचरा पढ्न सक्तैन । हाम्रो दिन यो मालिक बाबुको नक्कल गरेर फर्कने होइन ।
हामीले हाम्रै चालले दिन फर्काउनुपर्छ । हामीलाई हेर, हाम्रो दिन कति मजाले बितिरहेको छ । राम्रो लाउँछौ, मीठो खान्छौ, मरी–मरी काम गर्नुपरेको पनि छैन । रछ्यानमा चाहार्नु परेको पनि छैन । साँझ परेपछि शहर आउँछौ, मालिक बाबुका छोकराहरू बतासिया भनेपछि मरिमेट्छन् । इ: म पनि यसो केही टिपटाप गर्छु, मोज नै मोज छ । तँ पनि बतासियाझैं नुहाइधोई शहरतिर आउने गर, कुनै समस्या हुँदैन । शनिचरालाई म सँगसँगै लगाइदे, म उस्ताद बनाइदिन्छु । के को पीर ?काने आँखा झिम्क्याउँदै भन्छ ।
फुलमतियालाई कानेको कुरा सुन्दा पनि घीन लाग्छ । काने कस्तो दाजु हो – आफ्नै बहिनीलाई वेश्यावृत्तिमा लिएर हिँडेको छ । कहाँ पुगिसकेको छ यो जात ! हे ईश्वर ! हाम्रो जीवन यस्तै नाटक भोग्न बनेको हो ? रछ्यान–रछ्यान चहार्नु, पैसाको निम्ति जिउ सुम्पिनुपर्ने यो कस्तो वाध्यता हो ? हामी किंगरिया छोरी–बुहारीले अर्काको काखमा नसुती धरै छैन । आफ्नै दाजुले बहिनी लिएर हिँडेको छ । छि: तर के को छि: ? यो वास्तविकता हो ! उसले पनि त कति पटक पैसाको निम्ति देह सुम्पिएको छ । फुलमतिया अठोट गर्छे –उसले जस्तोसुकै नारकीय जीवन बिताउनु परे पनि ऊ शनिचरालाई मान्छे बनाइछाड्ने । त्यसैले ऊ निश्चयात्मक स्वरमा बोल्छे – काने ! मलाई आज बीस रूपैयाँ मिलाइदे । भोलिदेखि म बतासियासँग शहर आउने गर्छु । आजभोलि शनिचरा सुकिलो लुगा लगाएर स्कूल जाने गर्छ । फुलमतिया ठाट्टिएर काने र बतासियासँग शहरतिर आउने गर्छे ।