अपरान्ह तीन बज्यो तर चरिकोट जाने बस आएन ।
‘अब त पाँच नबजी बस आउन्न ’ एक बजारवासीले भनेपछि मैले मेरो दुई घण्टा सानो तामाकोसी बजारमा अटाउन नसक्ने अनुमान गरें र दक्षिणपूर्व जाने कच्ची बाटो समातें । म एकतार हिडिरहें तल वगिरहेको तामाकोसीलाई नियाल्दै । एकैछिनमा सानो खोला भेटियो । ‘यो चरङ्गे खोला हो । यहाँ भन्दा पारी फस्कु गविस पर्छ ।’ मेरो जिज्ञासा मेटिदिए एक यात्रीले । म चरङ्गेको वेग नियाल्न थालें तर खोलापारीको पुरानो मन्दिर र बजार क्षेत्रले बोलाएजस्तो लाग्यो । पुलतरेर जान माथिसम्म जानुपर्ने हुनाले जुत्ता खोलेर म पारी जान थालें । पारी किनारामा पुग्नासाथ केही युवाहरूका जमात देखिए । काँधमा बन्दुक भिरेको देखेपछि उनीहरू … हुन् भनी अनुमान गर्न सजिलो भयो । एकपटक मुटु ढक्क फुलेर आयो । म डराएछु । तर उनीहरू आफ्नै धूनमा थिए ।
‘ ए सुन्नुस् त , तपाइँले पारीतिर सेना देख्नुभाको छ ? ’ एउटी युवतीको आवाज तरङ्गित भयो कानमा । कता कता परिचित आवाज जस्तो लाग्यो । म आवाजतिर फर्कें । सोच्दै नसोचेको आकृतिले मलाई ठम्यायो ।
छोटो कपाल, फराकिलो निधार , चम्किलो आँखा उही आकर्षक अनुहार थियो सामुन्ने जुन अनुहार मबाट एक वर्ष अघिदेखि हराएको थियो । ऊ पनि विष्मित भई ।
‘ कमरेड केही बेर माथि ढुङ्गाको छेल पारेर बस कतै दुश्मनहरूको नजर नपरोस् ’ उसले आदेश दिई र मलाई केही पर बोलाई । ‘ पक्कै पनि यसले म सँग बदला लिन खोज्दै छे , सायद मलाई कार्वाही गर्न खोज्दै छे , मनले सोच्यो । तर ऊ सँग म प्रति दयाभाव हुनसक्छ भनेर विश्वास पनि पलायो ।
‘ सञ्चै हुनुहुन्छ ? ’ नसोचेको प्रश्न उसको । टाउको मात्र हल्लाएँ , बोली फुटेन । खै किन हो एकाएक आँखा रसायो ।
‘किन बोल्नुभएन नि ? निलिमाले नबोल्नु भनेकी छे ? ’ फेरि पनि टाउको मात्र हल्लाएर छैन भन्ने इशारा गर्रे ।
‘ निलीमा छैन , ऊ विहे गरेर गई ’ मेरो वाक्यमा झरी पर्दै थियो ।
‘ बेच्नुभयो कि आफैं गई ? ’ उसको शब्द पनि भिझेको थियो । आँखाहरू कठोर बन्ने दुश्प्रयास गर्दै थिए ।
‘ बेच्ने जस्तो लाग्छ सम्झना ? ’ शब्द, भेलमा वग्नथाल्यो । ऊ मौन भई ।
मेरो मन उड्यो शरीर त्यहीँ छोडेर र उही फागुपूर्णिमाको रातमा गयो जुन रात मेरो निम्ति दुसाध्य र अभिशापपूर्ण बनेको थियो र त्यही रातले मबाट मेरी सम्झनालाई खोसेको थियो ।
म खाना खाएर आराम गरिरहेको छु । कसैले ढोका ढक् ढक् गर्छ । ढोका खोल्छु , निलीमा पस्छे । मेरो कोठामा उसको प्रवेश नौलो नभए पनि समय नौलो लाग्छ । ऊ अक्सर हिसाब सिक्न त आउँथी तर पहिले साँझमा ऊ आएकी थिइन ।
‘ के प¥यो त्यस्तो निलीमा ? ’
‘ हेर्नुस् न यो हिसाब मिल्दै मिलेन ’ किताव पल्टाउँछे । म बस्ने इशारा गर्छु । ऊ चकटीमा बस्छे । उसको कुर्ताको माथिल्लो भाग खुल्छ , कसो कसो आँखा उत्ताउलिन्छन् र जोर मिष्ठान्न जस्तो लाग्छ दृश्य । नशामा अचेत घुस्छ , म कुहिनाको आड दिन्छु तर स्थिर छ उसको बसाई याने कि प्रतिवादरहित । एउटा हिसाब जसोतसो मिल्छ त्यसपछि ढोकामा चुकुल समेत नलगाई म मिष्ठान्नमा स्पर्श गर्नथाल्छु । अनुहारमा अनुहार टाँसिन्छ र परिस्थिति दुर्घटना तर्फ उन्मुख हुन खोज्छ ।
‘ खबरदार ! नछोड् , एक हुल मान्छेहरू एक्कासी भित्र पस्छन् र चिच्याउँछन् – रेड ह्याण्ड समातियो । हल्ल मचिन्छ ।
म माथि सिङ्गो आकास खस्छ । म मान्छेको हूलमा थुकिन्छु र अपराधी बन्छु । मैले त्यस साँझ उसको हिसाव नमिल्नुको रहस्य त्यतिबेला थाहा पाउँछु जब निलीमाले शारीरिक सम्बन्ध नै भएको वयान दिन्छे । मेरो प्रतिवाद हाँसोले खुम्चिन्छ र थूकले वग्छ । म आफैं कमजोर बन्छु किनकी म शारीरिक सम्बन्धोन्मुख सम्म अवश्य थिएँ । निलीमा मेरो जीवनमा आउँछे
‘ निलीमा कृपया तिमी मेरो जीवनमा नआऊ , यो कष्टपूर्ण हुनेछ । मैले तिम्रो चाल नबुझेर र आफूलाई बिर्सेर जे गर्न खोजें त्यस वापत अरू कुनै सजाए देऊ । विन्ति छ । म बार बार हात जोड्छु ऊ सँग । ऊ गल्दिन ।
चैते दशैंको साँझ , मेरा विवस र निरस पाइलाहरू घर तर्फ मोडिन्छन् । पहिले पहिले घर भनेपछि एकै श्वासमा लम्कने पाइला त्यतिवेला निलीमाले समातेर विपरित दिशामा तान्नाले घस्रेको मात्र छ । मृत चेहरा आँगनमा पुग्छ र लामो उच्छवास निस्कन्छ । सम्झना सायद साँझसँग मलाई मागेर बाहिर खडा छे । केहीबेर पछि दुई आकृति देख्छे र भित्र पस्छे फेरि बाहिर निस्कन्छे । उहाँ को हुनुहुन्छ ? उसको प्रश्नले मेरो कलेजा फाट्छ । टाउकोमा बज्र खसेको अनुभूति हुन्छ । त्यसपछि रूवावासी । सम्झनासँग वास्तविकता राख्न खोज्छु तर थूक सुकेर बोली फुट्दैन । रातमा सम्झनासँग सुत्न जान्छु , उसको ढोका खुल्दैन । रात बित्छ पिढीँमा । भोलिहुन्छ सबैको बिहान तर मेरो लागि उग्र रात । आँखा सबैका फुलेका छन् , त्यस रात निद्राले हाम्रो घरलाई बहिष्कार गरेछ । म सम्झनालाई बुझाउन सक्दिन । निलीमाले आफूलाई जर्बजस्ती फसाएको अभिव्यक्तिले सम्झना चण्डी बन्छे र निलीमाको घाँटी समात्न पुग्छे तर बचाउने दायित्व मैमा आउँछ । उसको ठाउँमा आफूलाई राखेर हेर्छु ऊ अझै नरम लाग्छे ।
‘ तिमी नकचरा हौ , ऊ चिच्याउँछे । बाआमा र इष्टमित्र सबैका आँखाबाट म खस्छु । एउटा आडम्बर र अन्यायीमा म परिणत हुन्छु । दिउसो ओछ्यानमा पल्टन्छु , डसनाले घोच्छ , सिरकले थिच्छ र आफ्नै सुसकेराले तर्साउँछ । दिन पनि झोक्राएर बित्छ वर्ष बितेजस्तो । कायरतालाई केही हदसम्म छोप्न सघाउला भन्ने आसले म व्यग्र प्रतिक्षा गरिरहेको हुन्छु रातको । तर रात ढल्दै गए पनि सम्झना देखिन्न , पाउँछु केवल उसका लघुहस्ताक्षर ।
स्वभाव !
मैले पति महोदय भनेर सम्बोधन गरिन । मैले ठानें, म सँग यो अधिकार सुरक्षित छैन । यो भ्रम कसरी भनूँ ? तिमी सुत्न सकेका छैनौ मलाई थाहा छ । म तिम्रो निद्रा र चैनको बहालीको निम्ति निस्केको छु । यो सामन्ती संस्कृतिमा तिमी पुरूषबाट अब महापुरूष भएका छौ । तिमीलाई बधाई छ । तिमीसँग मात्र म किन संघर्ष गरू ? एकसाथ तिमीजस्ता सबैसँग संघर्ष गर्न उपयुक्त हुन्छ भन्ने ठानेर म निस्केको छु । मलाई नखोज्नु , मेरा पाइलाले जता लैजान्छ म त्यतै जाने छु ।
सम्झना
म रून्छु उसको हस्ताक्षर पढिसकेपछि । एक पटक उठेर त्रिशूलीको किनारसम्म पुग्छु । निलो दहले अँगालो हाल्न खोजे झैं लाग्छ । आमालाई ठिङ्ग अघिल्तिर उभिएकी देख्छु । सुसकेरा आउँछ ।
‘ए महापुरूष कहाँ हराउनुभयो ? ’ मेरो अतितको बाक्लो हुस्सु फाट्छ । म मेरो अपत्यारिलो वर्तमानसँग जोडिन्छु ।
‘ सम्झना ! मलाई माफ गर , म कसैको होइन । नपत्याए परिक्षण गर । ’ हात जोडें ऊ सामु ।
‘ सम्झनालाई समयको भेलले बगाइसक्यो स्वभाव ! अब सम्झना कुनै व्यक्तिको हुन सक्दिन । ’ सम्झनाको आँसु खस्यो । उसको आँसुमा प्रेम थियो र म प्रतिको सद्भाव थियो ।
‘ मेरी सम्झना म सँग त्यति कडा हुन सक्दिन , सक्ने भए निलीमाले घरमा प्रवेश गर्नासाथ ऊ निस्किन्नथी । मलाई सम्झना छ उसको हस्ताक्षरको जसमा उसले मेरो निद्रा र चैनको बहाली चाहेकी छे । तर मेरो सम्झनाले बुझ्नुपर्छ कि उसले अपेक्षा गरेको कुरा पुरा भएको छैन ’ मैले हात जोड्दै भनें ।
‘ स्वभाव ! मेरो सामुन्ने तिम्रो क्रन्दनको कुनै अर्थ छैन जसरी आज भन्दा दुई वर्ष अघि मेरो थिएन । समयले कसैलाई जन्माउँछ कसैलाई मार्छ । तिम्रो त्यतिबेलाको सम्झना समयको प्रहारबाट मरिसकी । यतिबेला सामुन्ने उभिएकी सम्झना होइन , प्रतिक्षा हो । प्रतिक्षासँग सम्झनाको शरीर मात्र छ , भावना र विचार होइन । ’ हातले दहृोसँग बन्दुक समाउँदै बोली सम्झना ।
खै किन हो निरीह बन्दै गएँ सम्झनाको अघि र उसको विचारले मलाई धकेल्दै लग्यो । तर पनि ऊ प्रतिको प्रेम र समर्पणभाव भने झनै नशा नशामा तरङ्गित हुँदै गयो ।
‘ म मेरो आस्था र अनुरागको सुन्दर र कहिलै नओइलाउने फूललाई पत्थर भयो भनेर विश्वास गर्न सक्दिन । ’ मेरा आँखाहरूले गालामा गोरेटो बनाए र भावना त्यहीँबाट खस्न थाले भुइँमा तप्प तप्प । मेरो स्थिति देखेर ऊ भुइँतिर हेर्न थाली मानौं ऊ गालाका गोरेटाहरू मेटिएको हेर्न चाहन्छे । एकपटक उसका हात अघिसरिसकेका थिए तर कसो कसो उसले जर्बजस्ती रोकी ।
‘ स्वभाव ! माफ गर । म तिम्रो आँसु पुछ्न सक्दिन । म प्रतिक्षा हुँ , दुनियाँको । अचेल मैले खानु , बस्नु , हिड्नु , भिड्नु , रूनु, हाँस्नु जस्ता यावत क्रियाकलाप मेरो लागि होइन, अरूकै लागि हो । सूक्ष्म रूपमा भन्नुपर्दा मेरो शरीर नै मेरो होइन । त्यसैले व्यष्टिमा म सबै हुँ , सबैको हुँ र सिङ्गो देशकै लागि हुँ । मलाई कमजोर बनाउने धृष्टता नगर । ‘ उसले स्वर कडा पार्ने प्रयास गरी । तर उसका आँखामा मोतीका दाना टल्किरहेका थिए र उसको कडा स्वरलाई उदाङ्ग पारिरहेका थिए ।
‘ ल बिदा । ’ उसले हात बढाई । दुई वर्ष पछि म मेरी सम्झनासँग हात मिलाइरहेको थिएँ ।
‘ सम्झना ! म तिमीलाई कहाँ भेट हुन्छ भन्ने आशा साँचेर बसूँ ’
‘ म आगोको बाटोमा हिड्ने मान्छेसँग भेट हुने कल्पन नगर । तर जहाँ पात पतिङ्गर सल्कन थाल्छ त्यहाँ म भएको हुन सक्ने अनुमान भने गर्न सक्छौ । ’ योद्धाले गर्ने कुरा गरी उसले ।
‘ सम्झना ! एउटा फूल आगोमा ? ’ यो मेरो कल्पना पनि दुख्ने कुरा हो ।
‘ तिमी फूल भनेर पटक पटक भन्दैछौ । तिम्रो सौन्दर्यशास्त्र भित्र वर्णित फूलमा म पर्दिन । म हजारौं फूलहरू फुलाउने विहानी खोज्दैछु । त्यपछि यहाँ कोही आगो हुनेछैन र जताततै फूल हुने छ । ’
‘ त्यो पनि सम्भव छ र ? ’
‘ हेर्दै जाऊ ’ उसले दृढ अठोटका साथ भनी र मिलाइरहेको हात फुस्काई । म उसको भावनात्मक वेग अनुभूति गरेर छक्क परें ।
‘ सम्झना ! तिमीले पहिले सोधेको प्रश्नको जबाफ दिन भुले छु । तामाकोशी माथि त मैले अर्का थरि आगोका खेलाडीहरू देखेको थिएँ । कृपया त्यता नबढ । ’ मैले भनें । त्यसपछि उसले प्रदिप भन्ने लडाकुलाई सञ्चार सम्पर्क गर्न आदेश दिई । उनीहरूका सम्पर्क व्यक्तिले अर्का थरि फर्किसकेको कुरा सेटबाट जानकारी दिएपछि उनीहरू खोला तर्न लागे । उसले फेरि पनि एक पटक हात उठाई र बाइ गरी । मैले पनि उसको लागि हात हल्लाएँ । खोलाको किनारमा आएँ र बालुवामा उसका आगोका पाइलाहरू नियालिरहें धेरैबेर सम्म ।