१) पृष्ठभूमि
समसामयिकता भनेको युगसापेक्ष विषय हो । कुनै पनि युगको तत्कालीन जीवन र जगत्लाई छोएर व्यक्त गरिएको भावना त्यस युगको समसामयिक हुन्छ । युगीन परिवेश र सामाजिक आचरणप्रति क्रान्तदर्शी प्रतिभाले देखाएको प्रतिक्रियामा समसामयिकता रहन्छ । युगवोध, मानवीय संवेदना, प्रत्यक्ष–परोक्ष टिप्पणी र सुधारात्मक सन्देशहरू समसामयिक लेखनका आफ्ना पक्ष हुन् । राणाकालमै पनि महाकवि लक्ष्मीप्रसाद देवकोटाका साँढे, भाँचूँ कि मेरो कलम आदि कविताहरू त्यस बखत समसामयिक थिए । गोपालप्रसाद रिमालका आमाको सपना र प्रति आदि कवितामा पनि समसामयिकताको स्वर अभिव्यञ्जित हुन्छ । कुनै पनि राष्ट्रवादी र मानवीय संवेदना भएको कविले आफू बाँचेको युगको प्रतिबिम्बन आफ्नो कवितामा गरेको हुन्छ । सिद्धिचरण श्रेष्ठ र हृदयचन्द्रसिंह प्रधानको कवितामा पनि त्यस युगको सामयिक स्वर प्रतिबिम्बित गर्न सक्रिय देखिएका छन् । त्यसकारण आफ्नो युगको जीवन र जगत्लाई आत्मसात् गर्दै त्यसतर्फ प्रतिक्रिया जनाइएका कविताहरू त्यस युगका समसामयिक कृतिका रूपमा आउँछन् । खास गरी यथार्थवादी–प्रगतिवादी लेखनहरूमा त्यस समयको सामयिक स्वर रहेको हुन्छ र यही नै समसामयिकता पनि हो । यस दृष्टिले खास समयका युगीन प्रतिबिम्बलाई अङ्कित गरेर लेखिएका कविताहरू समसामयिक कविताभित्र आउँछन् र समसामयिक नेपाली कविता भनेर पनि मोटामोटी रूपमा यसै पक्षलाई लिन खोजिएको प्रतीत हुन्छ ।
वर्तमान सन्दर्भमा समसामयिक नेपाली कविता भनेर खास समय र युगमा लेखिएको कविताका लागि संकेत गरिएको छ । यो समय नेपाली कवितामा प्रयोगवादी कविता लेखनपछि आएको समय हो । नेपाली कविताको विकासक्रममा आधुनिक कालको आगमनसँगै परिष्कारवादी काव्यधाराको थालनी भएको हो र १९९० को दशकमा स्वच्छन्दतावादी कवितालेखन थालियो । नेपाली कविताको यात्रामा परिष्कारवाद र त्यसपछि स्वच्छन्दतावादको मूल प्रवाहमा पनि समसामयिक कविता–सिर्जनाका केही उदाहरण नदेखिएका होइनन्, तर पनि संख्यात्मक रूपमा त्यस्ता कविताको स्थिति नगण्य नै रह्यो । स्वच्छन्दतावादको समाप्ति र प्रयोगवादको थालनीका समयमा युगसन्धिको बखत भूपी शेरचनले लेखेका हामी आदि कवितामा एक पटक युगीन प्रतिबिम्ब बोकेको समसामयिक स्वर उरालियो । २०१७ सालमा रूपरेखा पत्रिकाको आगमनसँगै प्रयोगवादी काव्यधाराको थालनी भयो र नेपाली कविताले जटिलता, बौद्धिकता र प्रतीकात्मक विश्रृंखलतालाई भिœयायो । आयामेली आन्दोलन, राल्फा, अस्वीकृत समाज र बुटपालिसजस्ता साहित्यिक अभियानले प्रयोगवादी कवितालेखनलाई मलजल दिने काम गरे । यसरी प्रयोगवादको मूल प्रवाह रहे पनि कतिपय कविहरू समसामयिक युगीन स्वरलाई कवितामा रूपायित गर्न पछाडि परेनन् । कवितायात्राका यिनै युग र चरणमा कतै उरालिएर अनि कतै दबेर बहँदै आएको समसामयिक कविता–सिर्जनाले २०३० को दशकदेखि मूल प्रवाह समात्न पुग्यो । वर्तमान सन्दर्भमा समसामयिक नेपाली कविता भनेर यनी २०३० को दशकदेखि आरम्भ भएको नवीन काव्यधारालाई लिइएको छ ।
२) समसामयिक नेपाली कविता
नेपाली साहित्यमा समसामयिक कवितालेखनको वर्चस्व २०३० सालपछि कायम भएको हो । प्रयोगवादी कविताको दुर्वोध्यता र जटिलतालाई छोडेर सरलता र कटु–मधु व्यङ्ग्यलाई आत्समत् गर्दै अघोषित–स्वघोषित रूपमा समसामयिक कविताको आन्दोलन सुरू भएको हो । यो अभियान प्रवृत्तिगत रूपमा नेपाली कविताले फड्को मार्ने पदचिह्न पनि हो । अङ्ग्रेजी साहित्यमा देखा परेको कन्टेम्पररी लिट्रेचरको देखासिकीजस्तै गरेर साहित्यिक अभियानका रूपमा सङ्ख्याबहुल कविहरूले आत्मसात गर्दै अङ्गालेको समसामयिकताचाहिँ लेखनको संक्षेप–सरल गद्यात्मक कविता–सिर्जना पनि थियो । यस युगमा आएर एकातिर नेपाली कविताको प्रगतिशील धारा सशक्ततातर्फ जान उद्यत देखियो भने अर्कोतिर प्रयोगवादी धाराका कविहरूले पनि सरलताको बाटो पछ्याएर युगीन प्रतिबिम्ब अङ्कित गर्न थाले ।
समसामयिक कविता लेखनको नव अभियानको पृष्ठभूमिमा आधुनिककालको आरम्भदेखि नै झीनो रूपमा प्रवाहित हुँदै आएको युगीन छाप त छँदै थियो, साथै पूर्ववर्ती साहित्यिक परिवेश र विद्यमान राजनैतिक परिवेश पनि त्यत्तिकै कारक तत्वका रूपमा देखिए । साहित्यतर्फ अति वौद्धिकता र दुरूहताले गाँजेको प्रयोगवादबाट छुटकारा पाउने छटपटी थियो । विद्यमान राजनैतिक परिवेशमा पनि पञ्चायती शासन–व्यवस्थाले जन्माएका कतिपय विकृति र कुरीतिहरू थिए । यसरी शिल्पगत रूपमा प्रयोगवादसँग र विषयगत रूपमा राजनैतिक तथा सामाजिक विसङ्गतिसँग असहमत हुँदै तीसको दशकबाट अभियानकै रूपमा समसामयिक कवितालेखन थालिएको प्रतीत हुन्छ । परिष्कारवादको शिल्पसचेतता, स्वच्छन्दतावादको कल्पनाकेन्द्री भावुक स्वर र प्रयोगवादको जटिलतालाई पन्छाएर धर्तीकै समस्या र सेरोफेरोमा घुमेर व्यङ्ग्यप्रधान कवितालेखनलाई यस बखतको नेपाली कवितालेखकले आत्मसात् गर्यो । समाजको रूढिजस्तै गरी परम्परित अन्याय, शोषण र विकृतिमाथि आक्रमण गरेर छद्मशैलीमा झटारो हान्ने प्रवृत्ति यस खालको लेखनको पहिचान पनि हो ।
समसामयिक काव्यधारा अभियानकै रूपमा २०३० को दशकसँगै आरम्भ भए पनि २०३६ सालको सेरोफेरोमा आएर यस धाराले सशक्तता प्राप्त गर्यो । २०३६ सालको जनमत–सङ्ग्रहको घोषणा तत्कालीन पञ्चायती शासन व्यवस्थाले जन्माएको विसङ्गतिविरूद्ध जनमानसको आक्रोशको अभिव्यक्ति थियो । यसै पद्चापलाई साथ दिएर प्रगतिशील तथा प्रजातन्त्रवादी कवि–लेखकहरू सडक कविताक्रान्तिका नामले टोल–टोल र गाउँ–गाउँमा खुला कवितावाचन गर्दै रहे । बहुदलीय शासन–व्यवस्थाका पक्षधर कविहरूको यो अभियान काठमाडौंमा र काठमाडौंबाहिर पोखरा, विराटनगर, झापा आदि ठाउँमा पनि सक्रिय देखियो । प्रगति र प्रजातन्त्रमा आस्था राख्ने कविहरूले बहुदलको पक्षमा जनमत अभिवृद्धि गर्न मूलत: काठमाडौंमा र उपत्यकाबाहिर पनि प्रमुख शहरहरूमा सडक तथा चोक–चोकमा जागृतिमूलक नेपाली कविताको वाचन गर्दै सडक कविताक्रान्तिलाई अगाडि बढाए । सरल, सुवोध र सम्प्रेष्य शैलीमा गल्ली–गल्लीमा कवि गोष्ठीहरू भए । सर्वसाधारण जनतालाई समेत देशको वस्तुस्थिति अवगत गराई उपयुक्त बाटो रोज्न यस क्रान्तिले बलियो ऊर्जा प्रदान गर्यो । २०३६ सालको यस सडक कविताक्रान्तिमा भवानी घिमिरे, मोहन कोइराला र हरिभक्त कटुवालजस्ता पुरानो पुस्ताका कवि–लेखकहरूको अगुवाइ रह्यो । नवागन्तुक युवा जमातले यस अभियानलाई सशक्तताका साथ मद्दत पुर्यायो । यस अभियानबाट कविताको शिल्पवृक्षमा सम्प्रेष्यता र विषयपक्षमा समसामयिक आक्रोशका स्वरहरू उरालिए । यो क्रान्ति शिक्षित युवायुवतीहरूको जनचेतनालाई बहुदलीय शासन–व्यवस्थाका पक्षमा तान्नका लागि उलेख्य रह्यो पनि ।
जनमत–सङ्ग्रहको घोषणाले २०३७ सालमा पञ्चायत पक्षलाई विजयी बनाएकाले प्रजातान्त्रिक तर प्रगतिवादी चिन्तन भएका कवि–लेखकहरूमाथि ठूलो धक्का लाग्यो । व्यवस्थापरिवर्तनका माध्यमबाट सामाजिक सुधार ल्याउने आकाङ्क्षा पूरा भएन । फलस्वरूप समसामयिक कवितालेखनले केही प्रच्छन्न र केही खुला रूपमा तत्कालीन विसङ्गतिप्रति प्रहार गर्दै नै रह्यो । व्यङ्ग्यशैलीको कवितालेखनमा समेत यसले मद्दत पुर्याएको सन्दर्भ यहाँ उल्लेख्य हुन आउँछ । यसरी सामाजिक विकृति र राजनैतिक विसङ्गतिका विरूद्ध आक्रमण गर्दै कविता लेख्नेहरूमा केही उल्लेख्य कविहरू हुन् – विमल निभा, दिनेश अधिकारी, मोहन दुवाल, विष्णुविभु घिमिरे, अशेष मल्ल, मीनबहादुर विष्ट, नवराज कार्की, वनमाली निराकार, तोया गुरूङ, कृष्णभुषण बल, विश्वमोहन श्रेष्ठ, बूँद राना, कुमुद देवकोटा, कविताराम, नकुल सिलवाल, शिव अधिकारी, अनिल पौडेल, गोविन्द गिरी ‘प्रेरणा’, लिखत पाण्डे, कुन्ता शर्मा, मेघराज मञ्जुल, मित्रलाल पंज्ञानी, अविनाश श्रेष्ठ, खुमनारायण पौडेल, हेमराज पाण्डे, सरूभक्त, फणीन्द्र नेपाल, विनय रावल, तीर्थ श्रेष्ठ आदि ।
समसमायिक कविता–लेखनमा अहिलेसम्म तीन चरण देखा पर्दछन । २०३० देखि २०३६ सम्मको समय यस लेखनको आरम्भिक चरण हो । यस चरणमा कविहरूले राजनैतिक, सामाजिक र आर्थिक विसङ्गतिप्रति व्यङ्ग्य र विद्रोहको स्वर व्यक्त गरेका छन् । २०३६–२०३७ देखि २०४६ सालसम्मको समय समसामयिक कवितालेखनको दोस्रो चरण हो । यस अवधिमा राजनैतिक परिवेशतर्फ निर्दलीय पञ्चायती शासन–व्यवस्थाको विजय भए पनि वातावरण पहिलेभन्दा खुला भएकाले कवि–लेखकहरू व्यङ्ग्यधर्मी कवितालेखनबाट राजनैतिक तथा सामाजिक विसङ्गतिप्रति आक्रोश व्यक्त गर्दै रहे । २०४० सालमा फविती, (फणीन्द्र नेपाल, विनय रावल र तीर्थ श्रेष्ठ) बाट तरलवाद आन्दोलन थालियो । यस वादले जीवनमुखी र राजनीतिनिरपेक्ष मानवतावादी लेखनको आह्वान गर्यो । तर यो वाद पछि गएर दिगो हुन सकेन । समसामयिक नेपाली कवितालेखनको तेस्रो चरण भनेको २०४६ सालको जनआन्दोलन र त्यसको परिणामस्वरूप पञ्चायत शासनव्यवस्थाको अन्त भई बहुदलीय प्रजातन्त्रको पुन:स्थापना भएपछिको अहिलेसम्मको समय हो । यस अवधिमा पनि सामाजिक सुधारका खास उपलब्धिहरू हासिल भएनन् । स्वार्थ, पदलोलुपता, दलीय रूपमा अन्त:संघर्ष र दल–दलका बीच खिचातानी, सत्तामोहजस्ता प्रवृत्तिहरू यस चरणमा पनि हावी भए । त्यसो हुनाले अहिलेसम्म कविताको लेखनमा खुलापन आए पनि भाव र शैली उस्तै–उस्तै रहेका छन् र यसरी लगभग अढाई दशक(२०३०–२०५४)को समयावधिभित्र रचिएका कविताहरूमा प्राय: यस्तै असन्तोष र छटपटिका स्वरहरू मुखरित भएका छन् । यस समयावधिमा लेखिएका कविताहरू मूलत: लघुकविताहरूका रूपमा रहे । हुन त रामप्रसाद ज्ञवालीको औंसीका फूलहरू महाकाव्य (ने.रा.प्र.प्र. २०५३) यसै अवधिको प्रबन्धकाव्य हो, तर पनि अधिकांश कृतिहरू फुटकर कविता तथा कवितासङ्ग्रहका रूपमा सिर्जिएका छन् । सामयिक पत्र–पत्रिकामा छापिएका लघुकविताहरूले समेत यस स्थितिको सङ्केत गर्दछन् र यसका साथै गीतका माध्यमबाट समेत समसामयिक स्वरलाई थप ऊर्जा प्राप्त भएको तथ्य स्मरणीय छ । देवीप्रसाद किसानका गीतहरू यस सन्दर्भमा उल्लेख्य छन् ।
३) समसामयिक नेपाली कविताका अपेक्षा
समसामयिक नेपाली कविताका प्रमुख स्वरहरूले नेपाली समाजलाई स्वच्छ, प्रजातान्त्रिक, प्रगतिशील र न्यायपूर्ण रूपमा देख्ने अपेक्षा गरेका छन् । यथास्थितिमा परिवर्तन ल्याउँदै विश्वले गर्दै रहेको प्रगतिमा नेपाल पनि हिँड्न सकोस् भन्ने कवि–कवयित्रीहरूको आकाङ्क्षा रहेको देखिन्छ । मूलभूत रूपमा समसामयिक नेपाली कविताले अपेक्षा गरेका परिणतिलाई निम्नलिखित बूँदामा राख्न सकिन्छ –
१) नेपाली समाजमा व्याप्त अन्याय, शोषण र उत्पीडनलाई जरैदेखि उखेलेर निर्मूल पार्ने छटपटी,
३) जीवनका मूल्य र मान्यताको प्रतिष्ठापन,
४) सम्प्रेष्य शैलीमा युगवोधका अङ्कन,
५) मानवीय समस्यालाई निराकरण गर्ने चासो,
६) मानव–मानवकाबीच भ्रातृत्व भावना र प्रेममय वातावरणको स्थापना र
७) सहज सुवोध रूपमा कलात्मक साहित्यको उत्थान आदि ।
यस्तै अपेक्षालाई आत्मसात् गरेर २०४६ सालपूर्व र केही बूँदाका लागि पछि पनि समसामयिक कविता लेखिएका छन् । आफ्नो ब्रह्मले देखेको यथार्थलाई कवि–लेखकहरूले कतै खुला रूपमा र कतै छद्म शैलीमा कविताको माध्यमबाट व्यक्त गर्दै रहेको प्रतीत हुन्छ । यस सन्दर्भमा केही कविताका उद्धरणहरू प्रस्तुत गर्नु यहाँ प्रासङ्गिक देखिन्छ ।
कवि मेघराज मञ्जुल धर्तीमा उज्यालो ल्याउनुपर्ने आवश्यकता औंल्याउँदै भन्छन् –
मैले भनें – धर्तीलाई घाम र जून चाहिन्छ
धर्तीलाई उज्यालो चाहिन्छ
त्यसैले
मैले आकाशलाई माथि Çयाँकिदिएँ
(आकाश, आजका नेपाली कविता, पृ.९०)
पद र प्रतिष्ठा पाएपछि ठूलो मान्छे बन्ने रोगमाथि व्यङ्ग्य गर्दै कवि दिनेश अधिकारी भन्छन् –
अब तपाईंले व्यभिचार नै सोचे पनि आवश्यकता ठहराइन्छ
अब तपाईंले अपराध नै गरे पनि देशसेवा कहलाइन्छ
साँच्चै अब तपाईं आकाश हुनुभयो, आराध्य हुनुभयो
रेडियोमा तपाईंलाई नै सुन्छौ हामीहरू
टेलिभिजनमा तपाईंलाई नै हेर्छौ हामीहरू
सत्ते धरोधर्म ! अब तपाईं ठूलो मान्छे हुनुभयो ।
(ठूलो मान्छेसँग सानो प्रश्न, आजका नेपाली कविता, पृ.११७)
प्रशासनयन्त्रबाट सर्वसाधारण जनतामाथि थिचोमिचो भएकोमा आक्रोश व्यक्त गर्दै कवि मोहन दुवाल टिप्पणी गर्दछन् –
ठूलाले चैन र ऐन मिच्ने ठाउँमा
हाकिमको जहानको घुर्की सुनेर
उसमा पनि मर्न लागेका विद्रोह
आज फुट्न–फुट्ज खोजेजस्तो छ ।
सत्यमाथि असत्यको हत्कडीको जन्जान
कुचक्री षड्यन्त्रले रचेको देखेर
ढाडसमा सहानुभूतिको स्वर उरालेर
सत्यको विजय हुन्छ भनी शङ्खनाद गर्छ
(यो पुलिस थाना हो, सचेतका धूनहरू, पृ.१६)
कवि खुमनारायण पौडेल २०४६ सालको जनआन्दोलनलाई लक्ष्य गर्दै क्रान्तिकारिताको जोशलाई यसरी अगाडि ल्याउँछन् –
२०४६ फागुन ६ गते
भोलि सूर्योदयपछि
फेरि युद्धमा जानुपर्नेछ
त्यहाँ असङ्ख्य कौरब–सेना हुनेछन्
तैपनि असङ्ख्य द्रौपदी आमाहरूका
आत्मसम्मानका लागि
विद्रोहका झण्डा बोकेर
भोलि सडकमा उत्रनुपर्नेछ
(शहीदको डायरीबाट, अन्तिमेत्थम्, पृ.१०)
कवि अनिल पौडेल शोषक सामन्तहरूको आचरणमाथि प्रहार गर्दै भन्छन् –
शहीदले मृत्युवरण गरेको माटोमाथि उभिएर
रातो रगतले कालो टोपीमा अनुवाद भएको छ
र अचेल ऊ उपदेशका कुरा गर्छ
रगतका टाटा पखालेर आन्दोलनका
बन्दुकलाई सुमसुम्याउँछ र म्वाई खान्छ
माथि कुर्सीमा बसेर रमाउँदै
तल गरिबीलाई गुलेलीले हान्छ
(गोठालोले ब्वाँसाहरू पालेको छ, प्रलेस:१/२, पृ.५३)
अन्याय र शोषणका विरूद्ध यस्तै आक्रोश व्यक्त गर्दै कवयित्री कुन्ता शर्मा भन्छिन् –
आँटिला मुटुहरूले साँचो कुरा बोल्दा
आतङ्कित बर्बरताहरू एकैचोटि ब्यूँतन्छन्
जीवनको विरूद्ध मृत्युघण्ट ठोक्न थाल्छन्
(पोथी बास्नु हुँदैन, प्रलेस:१/२, पृ.१८)
कवि उत्तमृकष्ण मजगैया शोषक शासकहरूको पङ्क्तिमा आफू उभिन नसकेकोमा समाजबाट बहिष्कृत भएको व्यङ्ग्य गर्दै भन्छन् –
आँखामा बाक्लो पर्दा टाँसी दिनलाई रात भन्न सकिएन
छुरी, गोली र आतङ्कलाई क्याबात ! भन्न सकिएन
सलाम ठोक्न सकिएन, भुइँ छुदासम्म झुकिएन
तसर्थ विभिन्न झन्झावात सहेको छु
म बायकाट भएको छु ।
(म बायकाट भएको छु, मध्यपश्चिमका कविता, पृ.१७९)
कवि अमर गिरी निसासिँदो समाजलाई कारागारको संज्ञा दिँदै गुलाफको बगैंचामा बस्ने चाहना यसरी व्यक्त गर्छन् –
तर प्रत्येक रातको सपनीमा
कङ्क्रिट गरिएको यसको जग
बारम्बार हल्लिएको पाउँछु
र भित्ताहरू चर्किएको भेटाउँछु
कारागारभित्रकै आँगनमा
मैले रोपेको रातो गुलाफको फूल
झन्–झन् मुस्कराइरहेको पाउँछु
… सोच्दै कि कुनै दिन
यो सिङ्गो कारागार
परिवर्तित होला रातो गुलाफको फूलमा
(कारागारमै बाँचिरहेछु, मध्यपश्चिमका कविता, पृ.१९४)
नेपाली कविताको समसामयिक धारामा लेखिएका यस खालका प्रशस्त कविता फेला पर्छन र यिनले एकातिर सामाजिक विकृतिलाई उधिन्ने काम गरेका छन् भने अर्कोतिर आउँदो वासन्ती भविष्यको आकाङ्क्षा गरिरहेका छन् । यस समयावधिमा पनि पुरानै पद्यात्मक शैलीमा विभिन्न धारा र प्रवृत्तिका कविता लेख्ने कविहरूको समूह पनि आफ्नो ठाउँमा छँदैछ । यिनको योगदानलाई अहिले पनि उल्लेख्य नै मान्नुपर्दछ । त्यस्ता कविहरूमा भरतराज पन्त, भानुभक्त पोखरेल, मुकुन्दशरण उपाध्याय, दैवज्ञराज न्यौपाने, घनश्याम कँडेल, वासुदेव त्रिपाठी, रामबाबु सुवेदी आदिका नाम उल्लेखनीय छन् ।
४) समसमायिक नेपाली कविताका प्राप्ति
समसमायिक नेपाली कविताले अपेक्षा गरेका परिवर्तन र जीवनमुखी चिन्तनका सन्दर्भमा २०४६ सालको बहुदलीय व्यवस्थाको पुन:स्थापनापछि केही प्राप्ति त नभएका होइनन्, तर आनुवांशिक संस्कारजस्तै रूढ भइसकेका सामाजिक विसङ्गतिका सामु प्राप्तिहरू नगण्य बनेका छन् । मोटामोटी रूपमा यस बखत भएका उपलब्धिहरू हुन् ।
१) सार्वभौम नेपाली जनताको मान्यता,
२) बहुदलीय प्रजातान्त्रिक शासन–व्यवस्थाको पुनर्बहाली,
३) नागरिक अधिकारप्रति बढी सचेतता,
४) अभिव्यक्तिमा बन्देजको अभाव र
५) समसामयिक जीवनका पृष्ठभूमिमा उन्नत समाजको निर्माणप्रति जनचासो आदि ।
यति भएर पनि बहुसङ्ख्यक नेपाली जनता गरिबी, अशिक्षा, असुरक्षा, आतङ्क र शोषणबाट पीडित नै देखिन्छन् । समाजका टाठाबाठाहरूका लागि मात्र प्रजातन्त्र आएको हो भन्ने अनुभूति पनि एकातिर छ । ग्रामीण समाजमा चेतनाको लहर अझैं आइसकेको छैन । पद र प्रतिष्ठानका लागि चाकडी गर्ने र गलत बाटोसमेत अँगाल्ने प्रवृत्ति हटेको छैन । वास्तवमा समाजका उनै व्यक्तिहरू जसले पञ्चायतकालमा जनताका नाममा आफ्नो स्वार्थ सिद्ध गरेका थिए उनीहरू नै अहिले मुकुण्डो फेरेर नयाँ नाराका साथ अगाडि आएका छन् र आफ्नै वर्ग र समूहको हितमा मात्र लागिपरेका छन । यस्तै प्रवृत्तिको आशङ्का प्रजातन्त्रका पुनर्बहालीका क्रममा कविहरूले गरेका हुन् । उदाहरणार्थ तेस्रो चरण (२०४६ सालपछि) का कवितागत स्वरहरूलाई यहाँ उद्धृत गर्नु सान्दर्भिक देखिन्छ ।
कवि रामचन्द्र भट्टराई हातमा परेको प्रजातन्त्रको झिङ्गे माछो फेरि फुत्कने हो कि भन्ने आशङ्का गर्दै टिप्पणी गर्छन् –
रक्तको रहमा झीनो झिङ्गे माछा समातियो
त्यसका निमित्त धर्तीमा धेरै रत्न गुमाइयो
चिप्लो छ हातको माछो फेरि फुत्कन सक्दछ
सत्र सालमहाँ जस्तै ब्वाँसोले निल्न सक्दछ
(झिङ्गे माछो, पृ.१)
२०४७ सालमा नयाँ सविधान बन्छ । सोही आधारमा जनप्रतिनिधि चुनिन्छन् । संयुक्त, एकल र संयुक्त सरकारका अभ्यासहरू हुन्छन् । तर जति जोगी आए कानै चिरेका भनेजस्तै जति नेता आए तिनका नि:स्वार्थ देशसेवाभन्दा आफ्नो स्वार्थ र दलीय हितमा नै ध्यान केन्द्रित हुन थाल्यो । कुरा मीठा तर काम तीता भएर जनताले राहत पाउन सकेनन् । कवि–लेखकहरू पनि यस अवस्थाबाट असन्तुष्ट नै देखिए । उनीहरूको अपेक्षा जनमुखी, न्यायपूर्ण तथा शोषणरहित समाजको स्थापना थियो । बहुदलीय व्यवस्थाको पुन: प्राप्तिपछि पनि सामाजिक विकृति र विसङ्गति मेटिएनन् । परम्पराप्राप्त स्वार्थी प्रवृत्ति र शोषणले नयाँ–नयाँ रूप लिएर जनतामाथि आक्रमण गर्दै रहे । यो सामयिक प्रश्न कविहरूको पनि चासोको विषय रह्यो । त्यसो हुनाले छातीभित्र दुई करोडको व्यथा दुख्दै रहेको चिन्ता व्यक्त गर्ने कवि कृष्णप्रसाद पराजुलीको टिप्पणी यस सन्दर्भमा उद्धरणीय छ –
वसन्त त्यो कहाँ गयो न फेरि जुट्न पाइयो
जितेर कालचक्र नै न मार्ग भेट्न पाइया
जवाफ चाहियो र अझै बनेन देश यो किन ?
हुँदैन है बिगार्न ता उँघेर घात–मातमा
चढूँ हिमालमाथि वा अडूँ मधेस–फाँटमा
दुई करोडको अझै व्यथा छ दुख्छ आँतमा
(दुई करोडको व्यथा, गोधूलि, पूर्णाङ्क ५, पृ.१७)
प्रस्तुत परिप्रेक्ष्यमा कवि–साहित्यकारका अपेक्षा पूरै रूपमा प्राप्त नभएका पनि होइनन् । परिवेशगत रूपमा खुला वातावरण पनि मिलेकै हो । हिजो जुन आशा र उमङ्ग थियो भोलि त्यसैको मूर्तरूप हेर्न चाहने कवयित्री शारदा शर्मा भने त्यो उज्यालोे हेर्न प्रतीक्षारत छिन् –
म यहाँबाट पूर्वको आकाशमा सुस्तरी बयेलिएको
लहरे पीपलको बैंशालु पृष्ठभूमिमा
प्रभात पलाएको हेर्न पर्खंदै छु
हिजो अस्ताएको साँझमा ।
(ओझेल, कविता, पूर्णाङ्क ५०, पृ. ४७)
कवि बलराम बन्जारा देशनिर्माणको महायज्ञको थालनी फेरि एकपल्ट एकत्रित भएर गर्नुपर्ने भावना राख्दै भन्छन् –
आऊ, जीवन बोकेर एकै छिन हामी
आँगनको एक चिम्टी माटो समातेर
पुन: एकाकार हुने प्रतिज्ञा गर्दै
देउरालीमा एक एकवटा फूल चढाएर
गन्तव्यको आरम्भ गरौं
(वर्तमान, ललिता:१/१, पृ.५१)
यस क्रममा कवि इन्द्रकुमार श्रेष्ठ ‘सरित’ अझै पनि बाँकी रहेको विकृतिबारे भन्छन् –
खबरदार हिँड्न बोल्न नास्ति छ
यस बेला कÇर्यू लागेको छ ।
किनकि यस देशमा भर्खरै
प्रजातन्त्रको स्थापना भएको छ
(रामबहादुर र प्रजातन्त्र, ललिता:१/१, पृ.९)
कतिपय कविहरू भने प्रजातन्त्रको पुन:प्राप्तिपछि आएका विकृतिलाई नाराका रूपमा पनि व्यक्त गर्न अनकनाउँदैनन् । यस सन्दर्भमा कवि प्रमोद बोहरा संसदीय व्यवस्थाले जन्माएको कुप्रवृत्तिलाई पजेरो संस्कृति नाम राख्दै अगाडि भन्छन् –
गरिब जनताका नाममा चुनाव लड्नेहरू
सांसद बन्नेबित्तिकै किन्दा रहेछन् गाडी
भोकानाङ्गा जनताहरू जहिले पनि पछाडि
वाह रे वाह यो पजेरो संस्कृति
(पजेरो संस्कृति, साहित्यकोसेली, २०५४, पृ.५९)
यसैगरी कवि विमल निभा प्रतीकात्मक अर्थमा संसद्अगाडि घोडाको शव रहेको व्यङ्ग्य गर्दै त्यो शव नमरेको हो कि भनेर कलात्मक रूपमा पञ्चायती प्रवृत्ति र कुरीतिप्रति आक्रोश व्यक्त गर्दछन् –
संसद्अगाडि Çयाँकिएको छ
एउटा घोडाको शव
एकाएक अघिल्लो लहरबाट कोही कराउँछ
मरेको छैन घोडा
दाजुभाइ, दिदीबहिनीहरू हो, यो घोडा जिउँदो छ
हेर–हेर हल्लिरहेछ यसको कालो रंगको अयाल
(संसद् र घोडाको शव, बगर, पूर्णाङ्क ४३, पृ.३२६)
यस खालको सामाजिक असन्तुष्टि व्यक्त गर्दै नेपाली जनतालाई घचघच्याउने र नेता तथा समाजसेवीहरूलाई समेत मार्गनिर्देशन गर्ने सुधारात्मक सन्देशको कथ्य भने अहिलेका कविताहरूको पनि अभिष्ट रहेको छ । २०४६ सालको आन्दोलनपछि देखिएको समसामयिक नेपाली कवितामा पनि युगीन प्रतिच्छवि चित्रित भएको पाइन्छ । खास गरी भएका उपलब्धिको संरक्षण र देखापरेका गल्तीको संशोधन गर्ने सन्देश यी कविताहरूमा देख्न पाइन्छ । अतीतका कमी–कमजोरीहरूलाई दोहोरिन नदिन र राष्ट्रिय भावनाको विकास तथा सम्वद्र्धन गर्नका लागि आजका कविता उद्यत देखिन्छन् ।
समसामयिक कवितालेखनले लगभग अढाई दशकको यात्रा पूरा गरेको छ । आरम्भमा परम्परित दुर्बोधप्राय: कवितालेखन र निर्दलीय शासन–व्यवस्थालाई तारो बनाएर थालिएको सुबोध, सम्प्रेष्य र व्यङ्ग्यधर्मी यो अभियानले धेरै फड्को मारिसकेको छ । त्यसमा पनि २०४६ सालपूर्वको डेढ दशकमा कविवर्गका अभिव्यक्तिहरू बढी तिखारिए । २०४६ सालपछिको पुगनपुग एक दशक बित्न लाग्दा पनि मानवीय आचरणमा सुधार नआएको, अरूमाथि घोडा चढेर आफ्नै प्रभुत्व जमाउने प्रवृत्ति हावी भएको र स्वार्थी भावनाले जरा गाड्दै समाजलाई खोक्रो बनाउन थालेको देखेर कविहरू आत्तिएका छन् । यताका कविताहरूमा यस खालका असन्तोषहरू मुखारित भएको प्रतीत हुन्छ ।
वर्तमान समयमा कविहरू निर्माण र संरचनाका गीत गाउन पनि पछि परेका छैनन् । कतिपय कवितामा देशका लागि केही गरौं भन्ने अठोट पनि देखा परेको छ । कवि हेमराज पाण्डे भावनामा हरियाली ल्याउने सन्देश दिँदै कर्मयोगी बन्नसमेत यसरी प्रेरित गर्छन् –
यी चर्का स्वरले आमाको विह्वल
मन धुरूधुरू रून सक्छ
क्लेशका दुग्धधारा निराशाले चर्कन सक्छ
यसैले बरू द्यौरालीमा यौटा फूल ढोगेर
अमरावतीका पाखा–पखेरामा फर्क
म पेटको आगो निभाउने कोदाका
बालाहरू फलाइदिन्छु
(नेपाली अठोट: अस्तित्वबोध, पृ.४४)
समसामयिक कवितालेखनमा व्यङ्ग्य–विद्रोहका स्वरहरूमात्र होइन आशा र भरोसाका आस्था पनि सजिएका छन् । अँँध्यारो पाटोलाई उधिनेर सुनौला सुन्दर संसारको निर्माण गर्ने संकल्पहरू पनि दोहोरिएका छन् । यता आएर गद्यमात्र होइन छन्दोबद्ध पद्यरचनामा पनि अहिलेको युग अगाडि बढ्दै छ । यस अवधिमा देखिएका पुराना र नयाँ पुस्ताका कविहरूले सुन्दर, शान्त नेपालको स्थिति ल्याउन कविताका माध्यमबाट आह्वान गरिरहेका छन । उदाहरणार्थ नेपाली वाङ्मय पद्य विशेषाङ्कमा आफू बाँचेको धर्तीलाई उज्यालो बनाउन सक्रिय हुनुपर्ने स्थिति अहिले पनि रहेको यथार्थलाई औंल्याउँदै कवि श्रीहरि फुयाँल भन्छन् –
मान्छे हो बुझ प्रेम आदर सबै मान्छेहरूमा गर
सारा विश्व उचाल्न मान–ममता सद्भाव छर्ने गर
मान्छे निर्भय हुन् बँचून् भरजुनी उद्योग गर्दै रहून
माया भुल्भुल भुल्किएर मनमा भ्रातृत्वधारा बहून्
(धर्ती उज्यालो बनोस्, नेपाली वाङ्मय, पपृ.१४६)
वर्तमान युगको कवितालेखनमा देशप्रेम, राष्ट्रियता र प्रकृतिप्रेमका अभिव्यक्ति पनि कम छैनन् । कवि यज्ञनिधि दाहाल दूधकोसीको महिमा गाउँदै अगाडि भन्छन् –
मेरो ढुकढुकीमा तिमी लहरिने सङ्गीतझैं गीतझैं
तिम्रा रङ्गरङ्गमा लहरिने माझी मरे शीत झैं
तिम्रो हुन्न शरीर जीर्ण कहिल्यै उन्मत–उमन्त छ्यौ
मेरो निम्ति उदात्तता उधिनिने उत्प्रेरणा थप्तछ्यौ ।
(दूधकोसीसँग, नेपाली वाङ्मय पृ.९५)
नेपाल कविता अहिले आएर गद्य र पद्य दुवै भँगालो भएर अगाडि बढिरहेको छ । भावका भुल्कालाई संवेद्य किसिमले इङ्गित गर्ने क्षमता गद्य र पद्य दुवै माध्यममा रहन्छ भन्ने तथ्यलाई समेत अहिलेका कविता–सिर्जनाले स्पष्ट पारिदिएका छन् । कवितामा युगीन प्रतिबिम्ब हुनुपर्छ र त्यही प्रतिबिम्बनले समसामयिक धारा जन्माएको पनि हो । तर भावसौन्दर्य र शब्दनिनाद पनि कविताका आफ्ना पहिचान हुन् भन्ने तथ्यलाई भने बिर्सनु हुँदैन । परिष्कृत कविता–सिर्जना गर्ने सिद्धहस्त कविहरूमा यो प्रवृत्ति देखिन्छ र यही विशेषताले कविता कालजयी र सदाबहार हुन्छ ।
५. उपसंहार
समसामयिकता जुनसुकै युगको पनि हुन्छ तर यहाँ समयविशेष र चिन्तनविशेषको अर्थमा लिइएको समसामयिकता काव्यपरम्परामा रूढिजस्तो भइसकेको छ । यस अर्थमा समसामयिक काव्यधाराले यति लामो यात्रा गर्दा केही राम्रा प्राप्तिहरू पनि भएका छन् भन्नु प्रासङ्गिक ठहर्छ । एकातिर कला जीवनका लागि भन्ने पक्षमा यी कविताहरू उभिएका छन् भने अर्कातिर सत्यम् शिवम् सुन्दरम्को स्वरमा कवि भावनाहरू प्रतिबिम्बित भएका छन् । देशमा छाएको अँध्यारोलाई हटाएर उज्यालोतर्फ यात्रा गर्ने लक्ष्यतर्फ अहिलेका कविता पनि निर्देशित छन् । हुन पनि कविका वाणीमा त्यस्तो शक्ति हुन्छ जसले मानवीय चेतनालाई सत्तर्फ डोर्याउँछ । यो प्रवृत्ति अहिलेको कवितामा पनि देखिएको छ । मानवीय मूल्य र मान्यतामा आएको र्हासलाई सङ्केत गरेर उज्ज्वल भविष्यको आमन्त्रण गर्ने चासो अहिलेका कविहरूमा पनि पाइन्छ । यसरी विषयका तर्फबाट समसामयिक कवितालाई नयाँ उज्ज्वल समाजको आमन्त्रण गर्नु, निश्चय गर्नु निश्चय पनि कवितागत प्राप्ति हो । अर्कोतर्फ शिल्पगत दृष्टिले सम्प्रेष्य, सरल र सहज शब्दयोजना गर्नु पनि समसामयिक कविताको प्राप्ति हो । यही आधारमा अहिले आएका कविताहरूको प्राप्तिलाई पनि ठम्याउन सकिन्छ । अन्तमा नेपाली कविताको भविष्य उज्ज्वल छ र भोलिका दिनमा समयसँगै चलेर ऊध्र्वमुखी जीवनशैलीलाई प्रेरित गर्ने कविता जन्मदै जानेछन् भन्ने आशा गर्नु पनि सान्दर्भिक हुन जान्छ । यसरी समसामयिक नेपाली कविताले अपेक्षा गरेका प्राप्तिहरू सुखी जीवन, मानवतामय आचरण र नि:स्वार्थ सेवाभाव बढ्दै जानेछन् भन्दै एउटा सूक्तिलाई अघि सारेर विश्राम लिन चाहन्छु –
सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया:
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दु:खंभाग्जन: ।