हे! परमेश्वरका प्रथम आविष्कार
प्रिय आदिपुरुष
महिलालाई सजिलै मैला बनाउन सक्ने
वरदान पाएका
सफेद सफारीमा सजिएर सुकिला देखिने
ज्यूँदा सालिकहरु !
ऊँ गुमाएर अहम् भएका हाम्रा मालिकहरु !
हो म आईमाई हुँ आई को अर्थ आमा अनि
माई माने देवी
देवी र माताको उच्च ओहोदाबाट
पदच्युत गरेर मलाई
बनायौ – अहिलेसम्म
आइ माइ अर्थात् म र मेरी मात्रै ।
ए ! होमोसेपिन्सका भाले प्रजातीहरु
स्त्रीको शरीर, स्वरुप र स्वतन्त्रताको
एक्लो हकदार बनाएर आफैंलाई
अहिलेसम्म
सुगा बनाएर राख्यौ – सुनकै पिंजडाभित्र
रटाइरह्यौ पितृसत्ताका निकै पुराना परिभाषाहरु
कहिले बुझ्छौ खै आइमाईलाई तिमीले
मझ र ञमेरीझ को परिधीभन्दा बाहिर राखेर ?
ए ! अहम्ले उन्मत्त कामदेवहरु हो
पञ्चईन्द्रिय भन्दा अलि माथि उठेर
छुने प्रयास गर छैटौं इन्द्रियलाई पनि
मैनको मादक मुर्ती भन्दा अलि बढी
सम्मान गर्ने गर मन मस्तिष्कलाई पनि
गाजलु नजर, नसालु अधर र छिनेको कम्मरमात्र
हैन स्वास्नीमान्छे
योनिधारी विवेकशून्य प्रजाति मात्र पनि हैन स्वास्नीमान्छे
चेतना र चैतन्य पनि हो स्वास्नीमान्छे
अनि शारदा पनि हो स्वास्नीमान्छे ।
जब तिम्रा नजरका नक्षत्रहरु
केवल मेरा वक्षस्थलको कक्षमा परिक्रमा गर्छन्
जब अभिमानी भाले
आफ्नै घरमन्दिरको देवीलाई छाडेर
धाइरहन्छ – देवालयतिर व्यर्थ
जब बिर्सन्छन् शिवहरुले
अर्धनारिश्वरको अर्थ
बिर्सन्छन शक्तिस्वरुपा जननी र सतीको अस्तित्व
तब प्रश्न गर्न मन लाग्छ मलाई
तिमीले फेरेको पहिलो सास कसको थियो ?
तिमीले चाखेको पहिलो स्वाद के को थियो ?
भन -कहाँ उभिएको छ शिवलिङ्ग ?
भन -कहाँ फस्टाउँछ तिम्रो वीर्य ?
जब नाजबाफ भएर हेर्छौ तिमीले मलाई
आफैले जन्माएको नादान सन्तानलाई झैँ
छातीमा टाँसेर माफी दिँदै भन्नेछु –
ए ! मैले प्रेम गर्ने प्रिय पुरुष
मलाई स्वतन्त्र `आईमाई´ हुन देऊ
मलाई आइ माई मात्रै नबनाऊ