एउटा साहित्यिक कार्यक्रमहरूको दिन थियो, शायद कवि सिद्धिचरणको स्मृति दिवस थियो त्यो दिन सहभागी र श्रोतागण धमाधम आउने क्रम जारी नै थियो । एकैछिन अगाडि मात्र म पनि एउटा सिटमा गएर बसेकी थिएँ । मेरो खुट्टाले विश्राम पाए पनि आँखाहरू वरिपरि डुल्दै थिए ।
एकजना ह्याण्डसम पाको मान्छे चट्ट सुहाउँदो आधुनिक पहिरनमा हात लम्काउँदै हलभित्र पसे । मेरो आँखा पनि झट्टै तिनै नव आगन्तुक माथि पर्न गयो । देख्नेबित्तिकै चिनेँ पनि उहाँ हुनुहुन्थ्यो वरिष्ठ साहित्यकार माधवलाल कर्माचार्य । उहाँ सरासर पस्नुभयो । अगाडिको लाइनमा बस्नुभयो जुन वरिष्ठहरूकै निम्तिको लाइन थियो । उहाँ बस्नु भयो, त्यसपछि उहाँको पृष्ठभाग पनि मेरो आँखाले देख्न छोड्यो । तर किन हो केही कुरा दुख्न थाल्यो । जुन कुरा साहित्यकार माधवलाल कर्माचार्यसँग अलिकति पनि सम्बन्धित थिएन । न त मलाई उहाँले चिन्नुसम्म पनि हुन्थ्यो । म त त्यहाँ साहित्यिक दर्शकहरू मध्येकै एक मात्र थिएँ । मैले मात्र एकोहोरो चिन्छु उहाँलाई । उहाँको साहित्यिक व्यक्तित्वबारे पनि केही परिचित छु म । तर म कहिल्यै पनि उहाँको नजिक पुगेकी छैन र म उहाँको विशेष फ्यान पनि होइन ।
मेरा दृष्टिहरू मेरो अधिनमा थिएनन्, न त मेरो मनलाई त्यहाँ मैले बाध्न सकेँ । पहिले पहिले कहिल्यै पनि कल्पनासम्म पनि नगरेको कुरा जब उहाँ लम्किएर भित्र पस्नुभयो झण्डै एक निमेषको निम्ति मैले आफ्नो बाबुसँग दाँज्न पुगेँ । यो पनि अचम्मको कुरा, उहाँसँग त्यसरी दाँज्नुपर्ने कुरा नै मसँग थियो र ! मैले आफ्नो बाबुलाई त चिन्नै भ्याएकी थिइन । मैले उहाँको अनुहार ठम्याउनु अगाडि नै उहाँले मलाई र यो संसारलाई नै छोडेर गइसक्नु भएको थियो । म जन्मेर एक वर्ष पनि नपुग्दै टुहुरी भएकी छोरी हुँ । म कसैलाई देखेर मेरो बाबुजस्तो भन्ने अधिकार नै मसँग के थियो र ! तर के कारणले हो मैले झट्ट आफ्नो बाबुलाई सम्झन पुगेँ ।
आफ्नै मनसँग अचम्म मानेँ । तर मन भने त्यो साहित्यिक वातावरणलाई छोडेर अतीतमा पुग्थ्यो त घरी कल्पनाको एउटा दुनियाँमा पो रूम्मलिन पुगिरहेको थियो । मलाई त्यहाँ बसिरहन पटक्कै मन लागेन । कार्यक्रम शुरू भएर कहाँ पुगिसक्यो, त्यसमा पनि मन अल्झिन सकेन । जुरूक्क उठेर गएर कतै आफ्नो बाबुसँग एकपल्ट मनग्गे कुरा गरूँ–गरूँ जस्तो लाग्यो । मलाई बाबुको अति प्यास लाग्यो । किन मलाई यसरी एकजना मान्छेको आगमनले र एक दृष्टिले मात्र पनि यति साह्रो बाबुको सम्झना गरायो ?
जीवनमा कैयौं मानिसहरूसित भेट भएको छ । कतिसँग सँगसँगै बसेर लामा–लामा कुराहरू पनि भएको छ तर यति बेला एक्कासी किन त्यस्तो भयो ? आखिर यो मेरो नयाँ घाउ पनि होइन मेरो जीवन सँगसँगै यो पनि पुरानो खत जमिसकेको घाउ हो । तर जीवनमा यस्तो पनि हुँदोरहेछ । त्यसरी माधवलाल कर्माचार्यसँग मेरो बाबुको मेल खाने कुरा नै के थियो होला त ? मात्र मैले सुनेकी थिएँ – मेरो बुबा अग्लो हुनुहुन्थ्यो रे । एकदम भलादमी हुनुहुन्थ्यो रे । उहाँ साहित्यकार हुनुहुन्थ्यो कि हुनुहुन्नथ्यो त्यो मलाई थाहा छैन तर उहाँ साहित्यप्रेमी भने जरूर नै हुनुहुन्थ्यो । यो कुरा मैले उहाँले नै छोड्नुभएको थुप्रै थुप्रै साहित्यिक पुस्तकहरूको संकलनबाट यकिन गरेकी हुँ । केही साहित्यकारहरू त उहाँको साथी पनि थिए शायद । अरू को को साथी थिए थाहा भएन । नेपालभाषाका निबन्धकार ठाकुरलाल मानन्धरको एउटा हस्ताक्षर भएको एउटा लेख घरमा किराले खाइराखेको अवस्थामा भेटेकी थिएँ । त्यसबाट सानैमा पनि अनुमान लगाएकी थिएँ – ठाकुरलाल मानन्धर उहाँको मिल्ने साथी हुनुपथ्र्यो । तर मैले सोध्न पाइन कसैसँग । केटाकेटीमा ती लेखहरूलाई बचाएर राख्नुपर्छ भन्ने कुरा पनि जानिन, किराले खाइसकेको कापी फेरि मुसाले खाइदिएछ शायद । पछि मैले भेटाउन सकिन ।
आफ्नो बाबुसँग सोध्न नभ्याए पनि निबन्धकार ठाकुरलाल मानन्धरसँग नै एकपल्ट भेट्ने तीव्र इच्छा जागेको थियो । बेलामा कोशिस गरेको भए सम्भव पनि थियो । तर पछि मलाई समयले साथ दिएन । जीवन र समयलाई गम्भीर रूपमा हेरिन मैले । पाँच वर्षजति चीनमा बसेर फर्कंदा उहाँसँग समय मिलाउन खोज्दा पो थाहा पाएँ, उहाँ त भरखरै मात्र जानु भएको रहेछ यो संसारिक यात्रा पूरा गरेर । म जिल्ल परेँ ।
अहो मृत्यु भन्ने कुरा पनि कति क्रूर हुँदोरहेछ । मेरो बाबुको अनुहार कस्तो छ भन्ने कुरा समेत थाहा दिएन मलाई । मैले त्यति सानै बेलादेखि के अपराध गरेकी थिएँ होला त ? आमाको दूध चुसी रहेकै बेलामा बाबुलाई टपक्क टिपेर लगिदियो, आखिर किन ?
जब मैले माधवलाल कर्माचार्यज्यूलाई टाढैबाट देखेँ– जीवन र मृत्यु जस्तो कुराले मेरो मनमा ‘स्ट्राइक’ गर्न थाल्यो । मेरो बाबुले पनि आजसम्म बाँँच्न पाएको भए शायद माधवलाल कर्माचार्यज्यू जस्तो विभिन्न साहित्यिक कार्यक्रमहरूमा देखा पर्नुहुन्थ्यो होला । धेरै धेरै असल कामहरू गरेर जीवनलाई अर्थपूर्ण बनाउन पाउनु हुन्थ्यो होला । तर आज उहाँ एउटा शून्यमा बिलाइ सक्नुभएको छ । खोई उहाँलाई खोज्ने ठाउँ कहाँ छ ? कुनै पनि महान वैज्ञानिक वा विद्वानहरूले खोजिदिन सक्छन् होला त ?
बाबुलाई भेट्ने कुरा र कुनै दिन मेरो पनि बाबु थिए भन्ने कुरा समेत एउटा कल्पना जस्तो मात्र भएको छ कहिल्यै पनि यथार्थमा पाउन सकिएन अब । कहिले कहिले लाग्छ कल्पना होइन यी सब कुरा एउटा सपना मात्र भइ दिउन् । मानौं एउटा सपनामा मेरो बुबाको मृत्यु भएको थियो रे, बिहान रूँदै दौडेर बाबुकहाँ पुग्दा त बुबा मुसुमुसु हाँसिरहनु भएको थियो रे – ‘धत् लाटी सपनासँग पनि रूनु ।’ तर यथार्थ त्यस्तो रमाइलो छैन । यस्तो क्रूर यथार्थसँग पनि बेस्सरी रीस उठ्छ मलाई । किन दैवले सबैको निम्ति न्याय दिन नसकेको होला ! मृत्यु भन्ने कुरा के हो ? अनि जीवन नि ?
]
जब म यी प्रश्नहरूको जवाफ पाउन सक्दिन, अनि आफैले आफैलाई ढाट्न मन लाग्छ ‘जीवन पनि एउटा भ्रम मात्रै त हो नि !’ कहिले सपनाजस्तो कहिले यथार्थजस्तो । आज छ, भोलि नहुन पनि सक्छ । केही निश्चितता छैन । हामीले देखेको यो ब्रम्हाण्डबारे लामो लामो गफ हाँक्न सक्छन् लम्बाई र चौडाई समेत नाप्न खोज्छन् तर आफ्नै जीवनको लम्बाई नाप्न र आफ्नो अन्त्य कहाँनिर छ भन्न सक्दैनन् । कस्लाई सत्य मान्ने केलाई भ्रम ? त्यसैले जीवनलाई नै भ्रम भन्न मनलाग्छ कहिले कहिले । अनि आफैले आफैलाई ढाँटीदिन्छु यी सब कुरा भ्रम हो । मेरो बुबाको कथा पनि एउटा काल्पनिक कथा मात्र हो – यसमा चित्त दुखाइरहनुको केही औचित्य छैन अब ! म यसरी नै आफूलाई बिर्सिदिन्छु । जीवनमा थुप्रै यथार्थहरूलाई नस्वीकारिकन पनि हामी बाँच्न सक्छौं, हाँस्न सक्छौं । त्यसैले यसबारे कसैसँग केही बोल्न चाहँदिन ।
तर यथार्थले मलाई यतिकै पनि भुल्न दिंदैन । मेरो यथार्थकै एक टुक्रा मेरी सानी छोरीले सोधिदिन्छे –‘मामु, मामु सबैका आफ्ना बुबा हुन्छन् । तपाईंको मात्र किन हुँदैन ?’ यस्तो बेला खोइ म के जवाफ दिउँ ? मृत्युको क्रूर यथार्थले मलाई सानैदेखि मेरो कलिलो मन भाँचिदिएसरी म आफ्नी मुटुका टुक्राजस्ती सानी कोपिलाको मन भाँचिदिन चाहन्न । बरू म उसलाई भ्रममै बाँच्न सिकाउँछु अहिलेदेखि नै । अनि म ढाँटीदिन्छु –‘मामुको बुबा त धेरै पर जानु भएको छ ।’ तर यति भनेर पुग्छ र मलाई ! ऊ फेरि सोध्छे म भन्छु बाबा, तिमी ठूलो भएपछि बुझ्छौ यस्तो कुरा, यहाँ कुनै कुनै ठाउँमा पुगेपछि फर्किन गाह्रो छ । त्यसैले …..’ म अल्मलिन्छु । उसलाई पनि अल्मल्याइदिन्छु । उसले बुझ्न सक्तिन मेरो भाषा । उसले आफ्नो सानो मुटुमा धेरै आशा बोकेर मेरो निम्ति उसको हजुरबुबाको बाटो हेर्छे । टाढा टाढा क्षितिजतिर हेर्दै मलाई सम्झाउँछे – ‘मामुको बुबा फर्किनु हुन्छ हगि ।’
यी सब भ्रम हो कि यथार्थ हो त ! म ठम्याउन सक्तिन । जीवनको कुरा होस् या मृत्युको कुरा कति भ्रम कति सत्य ?