जेठ १८ गते शनिबारको बिहान मेरा आँखाले देख्न पाएन, त्यस बिहानको रङ्ग कस्तो थियो ? हिजोकै जस्तो थियो या त्योभन्दा फरक ? आमाको गर्भबाट निस्केदेखि मैले उपयोग गरी आएको बिहान, घाम–पानी–हावा आदिबाट बञ्चित रही, निरोगी आँखा अन्धो भई, एकै ठाउँमा बस्नुपरेको अवस्था प्रजातन्त्र र मानव अधिकारको कालो रङ्गमा चोपी मेरो भूत, भविष्य र वर्तमानलाई सिस्नो र पानीले झ्वाम झ्वाम हानिरहेको थियो । मेरो शरीरभरि असह्य काँढा उम्रेर झमझमको दुखाइ बढ्दै थियो ।
“सर ए सर । मलाई ट्वाइलेट जानुपर्यो ।”
म झसङ्ग झस्केँ । ए, यहाँ त अरु मान्छे पनि रहेछन् । म एक्लो त होइन रहेछु । रातभरि मैले यस स्थानमा प्रवेश गरेदेखि मानिस भएको आभास नै पाएकी थिइनँ, खाली न खाली, शून्य न शून्य अनौठो अप्रिय, कहालीलाग्दो उल्टी होलाजस्तो गन्धले मलाई समातेको थियो ।
मेरो टाउको माथिको स्थानबाट बुट लगाएको खुट्टा सग्बगाएको आवाज आयो । मेरा कान दगुरेर मान्छेको स्वर आएतिर पुग्यो ।
“ए ढोका खोलि दे । ट्वाइलेट जानुपर्यो रे । सुनेको हो ?
“ढोका खोल्दैछु ।”
ढोकाको ताल्चा खुल्यो । सेनाले भित्र पसेर सोध्यो – “ट्वाइलेट जाने को हो ?”
“म सर ।”
झिनो स्वर आएतिर सेनाको पाइला सर्दै गयो । मैले कान तीखो पारेँ ।
“लौ, उठ्नुस् ।”
“मलाई उठाइदिनुस् न । एक्लै म उठ्न सक्दिनँ ।”
आफै उठ्न नसक्ने बिरामी रहेछन् भन्ने मनमा लाग्यो । बिस्तारै पाइला घिसार्दै अगाडि जाँदै गरेको स्वर सुनेँ । ढोका खुल्यो फेरि थुनेर ताल्चा मार्यो ।
“सर मलाई पनि ट्वाइलेट जानुपर्यो ।”
“पर्खनुस् । अहिले गएकालाई फर्कन दिनुस् ।” माथिबाट आवाज आयो । सायद माथि वरन्डा थियो क्यारे ।
अहो ! यहाँ त फेरि अर्को मानिस पनि रहेछ । यहाँ कति जना राखेका होलान् ? मेरो उत्सुकता बढिहाल्यो । कोसित सोध्ने ? यहाँ कति जना छन् ? नकाब हटाएर हेर्ने तीव्र इच्छा जागृत भयो । मेरो हातमा हत्कडी त थिएन । मैले सजिलैसित नकाव खोल्न सक्थेँ । तर खोलिनँ । कारण म अनुशासनप्रिय मान्छे । यही अनुशासनको मजबुत हत्कडी त छँदै थियो मेरो हातमा । मानिसको जीवनमा अनुशासनको ठूलो मूल्य र मान्यता रहेको मैले सानैदेखि नै मानेर आइरहेकी छु । यसलाई मैले कसरी उल्लङ्घन गर्नसक्छु र ? यो पनि त ठूलै प्रश्न हो । तर मानव अधिकारको ठाडो उल्लङ्घनले स्थापित ठूलो दबाब अनुशासन शिरोपर गरी मौन बस्न पनि त मानव अधिकारको घोर अपमान गर्नु भएन र ? म आफै द्वन्द्वमा परेकी थिएँ । मैले मानेँ कि त्यसरी सेनाले जबरजस्ती लादेको अनुशासन मानेर बस्नु पनि मेरो कायरता हो । तर यसको विकल्प के त ? मैले सोच्दै गएँ । सोच्दै गएँ ।
ब्यारेकभित्रका बिहानी छिप्पिँदै आएकोले होला, त्यहाँ चिरबिर चिरबिर कराइरहेका चराहरुको स्वर लोप भइसकेको थियो । तेजिलो हुँदै आएको घामको बासना मेरो नाकसम्म आइपुगेको थियो । देवस्थलको घन्टी नबजेको पनि निकै बेर भइसकेको थियो । चियाको तलतलले मेरो घाँटी सुकेर आइरहेको थियो । पानी मात्र खान पाए पनि कति हुन्थ्यो ? कोसित माग्ने हो पानी ? मलाई थाहा भएन । पानी खाने आश पनि पलपलमा मर्दै गइरहेको थियो । घन्टीमा नौपल्ट हान्यो । बिहानको नौ बज्यो भनेर थाहा पाएँ । म बिस्तारै उठेर पलेटीमारी बसेँ । मेरो टाउकोले झूल उचालेकाले अलि छेउमा सरेर बसेँ । निस्पट्ट अन्धकारबाहेक अरु केही थिएन । चुट्कीभर उज्यालो चोर्नु पाएको भए कति हुन्थ्यो ।
ढोकाबाहिर सेनाहरुको पदचापका साथै तिनीहरुले आपसमा गरेका कुराकानी अस्पष्ट सुनेकी थिएँ मैले । ट्वाइलेट जाने इच्छा भएको भए यसो बाहिर त जान पाउने थिएँ । मेरो दैनिक नियमको गोलमाल सुरु भइसकेको थियो । मैले पानी समेत खान नपाएको १३ घन्टा भइसकेको थियो । कमसेकम मुख धुन नपाए पनि खाने मुख मात्र कुल्ला गर्न पाए पनि हुने हो । मैले आवाज दिएँ –
“ए भाइ । मलाई मुख धुनुपर्यो । ए भाइ ।”
एकै छिनमा ढोकाको ताल्चा खुल्यो । सेनाले भित्र प्रवेश गरी मतिर बढ्दै आएका बुटको आवाज सुनेँ । बाक्लो प्लास्टिकको जस्तो पर्दा हटाएर भने –
“दिदी ! तपाईं मुख धुन जानुहुन्छ । आउनुस् । मैले झूल पन्छाइ जुत्ता लगाई दायाँ हात अगाडि तन्काइदिएँ । उनको फलामजस्तो पञ्जाले मेरो हात समातेर बिस्तारै मलाई उठाए ।
“पर्खनुस् है । तपाईंले हतार नमान्नुस् । मैले बिस्तारै लैजाँदै छु । लौ, अब बिस्तारै तपाईंले पाइला सार्दै जानुस् । डराउनु पर्दैन । पाइला सार्दै जानुस् । मैले तपाईंलाई डोर्याइरहेको छु ।”
दुई वटा ढोका नाघेर बाहिर पुगेपछि स्वच्छ हावाले मलाई स्पर्श गरिहाल्यो । मेरो शरीरमा अचानक घाम खनिएको मैले चाल पाएँ । मेरो रोमरोम फररर फुलेर आएको आनन्दको आभासले एकैछिन त्यही रोकूँ रोकूँजस्तो लागेको थियो मलाई । बिहानको मीठो घामसित ओसको सङ्गमले मेरो शरीरलाई बिस्तारै सुम्सुम्याउन थालेको थियो ।
“ए राम्रोसित समात । दिदी लड्नुहोला ।”
त्यही टोली प्रमुखको चीरपरिचित स्वर । त्यहीनिर बसेर घाम ताप्दै गफ गरिरहेका अरु मानिसको पनि स्वर सुनेँ । दोस्रो ढोकासँगै नै ट्वाइलेट जाने साँघुरो बाटो थियो । त्यसबाट त्यस्तै १४/१५ पाइला गएपछि अगाडि नै ढोका थियो ट्वाइलेटको । त्यो बाटो आधा गइसकेपछि, सेनाले मेरो नकाब खुकुलो पारी माथि निधारसम्म सारिदिएपछि जेठ १८ गते शनिबार बिहानको स्वर्णिम उज्यालोको मैले दर्शन पाएँ । आँखा तिर्मिराएकाले राम्रोसित आँखा खोल्न मैले सकिनँ । बिस्तारै ट्वाइलेटभित्र पसी ढोका लगाएँ मैले । त्यसमा लगाउने चुकुल भाँचिएको थियो । त्यहाँ धारा खोजेँ । धारा पाइनँ । त्यस्तै ४ फिट चौडा, ८/९ फिट लम्बाई थियो ट्वाइलेटको । एउटै मात्र पाइन थियो, पिसाबले जीर्ण । त्यसको प्वालमा दिसा टन्न थियो । त्यसको दायाँपट्टि त्यस्तै पाँच इन्च अग्लोमा पुरानो खिया परेको धारा देखेँ । पाइननिर पुगेर मात्र धारालाई छुन सकिने भएकाले त्यहाँसम्म जाने मैले साहस नै गर्न सकिनँ । त्यसको २ फिट जति यता ४ पाथी जाने तेल हो वा घिउको टिनमा अलिकति धमिलो पानी थियो । म त एकदम अल्मलिएर एकैछिन उभिइरहेँ । खुट्टा र जुत्ता हेरेँ । हिजो रातिको हिलो कट्कटिएको देखेँ त्यसमा । अनि त्यो धमिलो पानीले खुट्टा र जुत्ता पखाली ढोकामा मात्र पुगेकी थिएँ सेनाले नकाब तलसम्म सारी मलाई अन्धकारमा डुबाइदिई हाल्यो । उनले मेरो हात समात्दै बिस्तारै डोर्याउँदै ल्याई त्यही अन्धकार ओसिलो कुनामा थन्क्याइ दिए ।
म उत्तानो पल्टिने बित्तिकै, ट्वाइलेटको ढोकाबाट देखेकी बाहिरको एक झलक मेरो स्मृतिमा दोहोरिइहाल्यो । स्वच्छ नीलो आकाशमा कतै बादल देखिनँ मैले । सुन जत्तिकै चम्किरहेको घाम थियो । अगाडि नजिकमा कतै घर देखिनँ । खुला थियो । वरिपरि ठूलाठूला रुखहरु थिए । त्यसमा बसेर कागहरु कराइरहेको सुनेँ – मैले । अनि सानासाना त्रिपालहरु ठड्याइराखेको देखेँ मैले ।
घन्टीमा बिहानको दश हान्यो । ढोकाको ताल्चा खुल्यो । ढोका उघार्ने बित्तिकै नमीठो गन्धले प्रवेश गरिहाल्यो । चारपाँच जना मान्छेहरु एकैपल्ट भित्र आएको जस्तो लाग्यो– मलाई के भयो ? किन यत्तिका मान्छेहरु भित्रिए ? म त छक्क परेकी थिएँ । थालहरु घिसारेको स्वर पनि सुनेँ मैले । गरुङ्गो बुट लगाएकाहरु पनि भित्रिन थाले । गुनगुन कुरा पनि सुन्न थालेँ । तैपनि म उत्तानो पल्टिनै रहेकी थिएँ ।
“दिदी उठ्नुस् । भात खानुस् । भात यही झूल बाहिर छ ।”
म बिस्तारै उठेर बसेँ । एउटा सेना आई मेरो नकाब खुकुलो पार्दै भने – “दिदी ! यो झूलभित्र बस्न हजुरले नकाब नलाउनु भए पनि हुन्छ । यसो आँखा छोपेको जस्तो गरी बस्ने गर्नुस् । लौ खाना खानुस् ।”
बल्ल मैले म बसेका स्थान देखेँ । म त ठूलो गोदामजस्तो अग्लो टहरामा थिएँ । दक्षिण–पश्चिमको कुनामा फोमको ओछ्यानमाथि, नाइलनको जालिदार झुलभित्र थिएँ म । बाहिरबाट नदेखिने गरी, पुरानो रबरजस्तो कपडाको रेनकोटको पर्दा राखिएको थियो । कट्टु र कमिज लगाएको एउटा केटा हस्याङ्गफस्याङ्ग गर्दै आई मसित हतारले दबेको सानो स्वरले सोध्यो –“दिदी ! तपाईं शान्ति श्रेष्ठ हो ?”
“होइन, म शान्ता श्रेष्ठ हुँ ।”
“पुरानो बानेश्वरबाट हिजो ल्याएको हो ।”
“हो ।”
त्यो केटा खुरुरुरु बाहिर गई हाल्यो को होला यो केटो ? मैले झ्वास्स सम्झिहालेँ मनुले भनेका कुरा“दिदी ! त्यहाँ एउटा केटा छ । एउटा नयाँ मान्छे ल्याएको देख्यो कि मुसाजस्तो गुरुरुरु दगुरेर आएर आज फलाना ठाउँको फलानालाई ल्यायो भन्न आउने । मैले कति पल्ट सम्झाइसकेँ । यसरी भन्न नआऊ । थाहा पायो भने, तिम्रो छाला टाँगिनेछ । मान्दैन । भन्न आइहाल्छ ।” न त्यही केटा पो हो कि यो ?
मैले झूल बाहिर मेरै जुत्तानिर भात भएको खण्डे थाल देखेँ बिस्तारै झूलभित्र ल्याएँ थाल । चार खण्डे स्टिलको थालमा बीचमा ठूलो खण्डमा भात, त्यसको दायाँबायाँको अलि सानो खण्डहरुमा बाक्लो क्वाँटी थियो । हात ओल्टाईपुल्टाई हेरेँ । धुनुपर्ने आवश्यकताले मलाई समाती हाल्यो ।
“हात धुनुस् दिदी ।”
ट्वाइलेटमा राखेको ४ पाथी जाने टिनभन्दा पनि थोत्रो त्यत्तिकै ठूलो त्यसको माथि काटेर बिर्कोजस्तो उठाएकोमा धारैधार र चिप्लो मैलो फोहोर जमेको देखेर हात धुन पनि मन लागेन ।
“भैगो । यस्तोमा के धुनु हात । पानी त्यत्तिकै धमिलो छ ।”
सलले हात पुछेर बिस्तारै पाँचै औंला भातको बीचमा पुर्याएर मुछ्न थालेँ । भातमाथि मासको दालको पानी अलिकति पनि थियो । भातबाट नमिठो हरक आइरहेको थियो । तैपनि एक गाँस मुखमा राखेँ । के हो के ? मैले भात निल्न सकिनँ । गेडागुडी त मलाई मनपर्ने भएकाले बाक्लो क्वाँटीमा चना र केराउ छानेर खान थालेँ । त्यसमा यस्तो नुन चर्को कि त्यो पनि मैले खान सकिनँ । एउटा सेनाले मैले भात खान नसकेको हेरिरहेका थिए ।
“दिदी ! तपाईंले भातै खान सक्नुभएन । तरकारी मीठो लागेन तपाईंलाई ?”
“असाध्य नै नुन चर्को छ । मैले खानै सकिनँ ।”
“दिदी ! त्यसमा अलिकति पानी हालेर भए पनि खानुस् न । भरे पाँच नबजी खानेकुरा दिंदैन । फेरि तपाईं भोकै पर्नुहोला ।”
“खोइ ? यहाँ त खानेपानी पनि छैन । बिहानै पानी खान मन लागेको थियो । घरमा त बिहान उठ्ने बित्तिकै एक लिटर पानी खाने गरेको थिएँ ।”
“पानी तपाईंले देख्नुभएन । हेर्नुस् त पानीको भाँडो ऊ त्यहाँ छ ।”
झूलबाहिरको कुनामा मिनरल वाटरको कन्टेनर देखेँ मैले । क्वाँटीमा अलिकति पानी हालेर त्यसमा गेडागुडी छान्न थालेँ । तर क्वाँटी धेरै गलेकोले केही गेडामात्र भेट्टाएँ । त्यसैले अलिकति भात मुछेर बल्ल २/३ गाँस खाई थाल झूलबाहिर राखिदिएँ मैले । अलिकति पानीले हात धोएर पेटिकोटले पुछेँ । पानी खान भाँडो उठाएँ । भाँडोमा आधाभन्दा बढी पानी देखेर मनमा कुरा खेलिहाल्यो । म यहाँ आउनुभन्दा पहिले यो फोममा को बसेको थियो होला ? विचराले पूरा पानी पनि खान पाएनन् । जरुर यसमा आइमाई नै थिइन् होला । किनभने बाहिरबाट नदेखिने गरी रेनकोटहरु गाँसेर पर्दा हालेको छ । मलाई यहाँ राख्न उनलाई कहाँ लगे होलान् ?
यो थियो मैले छाउनी ब्यारेकमा खाएको पहिलो भात । (नून)
मैले एक घुट्को मात्र पानी खाएँ । पानी सफा थिएन । पर्दा अलि सारेकोले सोझै अगाडि मेरो आँखा पुगिहाल्यो । मेरो अगाडिको कालो नकाब लगाएका पाँच जना मात्र देखेँ मैले । तिनीहरुमा कोही चिनेका छन् कि भनेर मैले नियालेर हेरेँ । तर नकाबले आधाभन्दा बढी अनुहार छोपेकाले मैले ठम्याउन सकिनँ । तर जीउडाल र छालाको रङ्ग र पहिरन हेर्दा त सबैजना गतिला नै पाएँ । तिनीहरुले पाइन्ट, कमिज, जाकेट, मोजा र जुत्ता लगाएका थिए । भात खान पनि जुत्ता फुकालेका थिएनन् । जुठो थाल उठाएर लगिसकेका थिए । सेनाहरुले धमाधम हत्कडी र डोरीले हात बाँधेको देखेर म झसङ्ग झस्केँ । मेरा हात मात्र किन स्वतन्त्र छोडिदिएका होलान् ? तिनीहरु सबैलाई त खस्रो–नाङ्गो प्लास्टरमाथि बस्न लगाएको देखेर मेरो मनमा नराम्रो छाँटले बिझ्न थाल्यो । मेरा दायापट्टिका पूर्व र दक्षिणको लङ्गमा कतिलाई राखिएको छ ? मैले देख्न सकिनँ । त्यही बाक्लो रबरजस्तो रेनकोटको पर्दाले टम्म छेकेको थियो । तर सेनाहरुले त्यतापट्टि गएर हतकडी लगाउँदा भुनभुन कुरा गरेका स्वरबाट मलाई स्पष्ट भयो कि त्यतातिर पनि मानिसहरु राखिएका थिए ।
म चित पल्टेँ । चिसो भात खाएकोले होला भित्रैदेखि चिसो भएर आएकोले सलले गोडादेखि घाँटीसम्म टम्म पारेर छोपेँ । त्यो ठूलो सल नल्याएको भए म त जाडोले जम्थेँ हुँला । अनायास मेरा आँखा मेरा टाउकोमाथि पुगे । अग्लो गोदामजस्तो टहरामा जोडिएका पश्चिमपट्टिको टहराजस्तो पक्की घरमा दुईतलामाथि बरन्डाजस्तो छोपेको कौसीजस्तो लामो स्थानमा गनधारी सेनाहरुको तैनाथ देखेँ । तिनीहरुका अनुहार हामीलाई राखेको गोदामतिर फर्केका थिए । मेरो आँखामा नकाब नभएकोले माथिबाट कराएर भने –
“दिदी ! नकाब लगाउनुस् । छिटो लगाउनुस् । यसरी आँखा खुला राख्न हुँदैन ।”
मैले नकाब लगाएँ । दिदी, झूलभित्र बस्न नकाब नलगाउनु भए पनि हुन्छ भनेको सैनिकको स्वर मेरो मनमा प्रतिध्वनित भयो । यस्तो सानो कुरामा पनि सेनाहरुका भिन्न विचारले म दु:खी भएँ । झूलको भित्री पनि जालीकै भएकोले मैले जे गरे पनि माथिबाट देखिने भएकाले मलाई सारै अप्ठ्यारो लागेको थियो । रुमाल मात्र भइदिएको भए, झूलमाथि यसो मेरो टाउको नदेखिने गरी राख्नुहुन्थ्यो । के गरुँ । ब्यागमा नै छुट्यो । केही समयपछि नकाब अलिमाथि सारी मैले यताउता देख्न सक्ने गरी मिलाएँ । गोदाम घरमा आँखा घुमाएँ । ठाउँ ठूलो थियो । उचाइ त्यस्तै २८ फिट जति थियो होला । चौडाइ २० फिट जति र लम्बाइ पनि ३५/४० फिटको थियो होला । त्यसको छाना भने टिनको थियो । जस्तापाताको छानाको एक फिटजति मुनि क्रस भेन्टिलेटरको रुपमा ६/८ जतिको सानो झ्याल, आमने–सामने उत्तर र दक्षिण फर्केका १० वटा थिए । ती झ्यालहरुमा जाली हालेको थियो । भित्तामा भने प्लास्टरमाथि सेतो रङ्ग लगाएको तर मैलिइसकेको थियो । त्यसमाथि बुट्टा जत्तिकै कालो सानासाना दागहरु बसिसकेका थिए । कहिल्यै घाम छिर्न नसक्ने गहिरो इनारजस्तो ठाउँभित्र जेठ महिनाको १८ गते भइसक्दा पनि माघ महिनाको बिहानजस्तो चिसोले मेरा हात गोडा ठिहिराएका थिए । फलामको २ वटा सिङ्गल खाट ठड्याई, त्यसका खुट्टामा बालुवा र गिट्टीको बोराले थिची सानो कोठाजस्तो बनाई मलाई राखेको थियो ।
घन्टीमा १२ हानेको सुनेँ । फेरि चियाको तलतल लाग्यो । तातो पानी मात्र खान पाए पनि कति हुन्थ्यो ।
“ए सर । मलाई पानीको प्यास लाग्यो, पानी खान दिनुस् न । ए सर ।”
ढोकाको ताल्चा खुल्यो । सेना प्रवेश गर्यो । पानी भएको त्यही मैलो ठूलो जर्किन उचालेर उनी पूर्वतिर बढ्दै गयो । “खोइ ? आँ गर्नुस् त, म पानी हालिदिन्छु ।”
पानी खाएको अप्रिय आवाजले मेरो कान नै समातेको थियो । कत्रो तिर्खा मेटियो होला उनको ? निकास थुनेको पाइपमा पानी हाली खोल्दा आउने आवाजजस्तो घ्वार्रघ्वार्र सुनेँ मैले ।
“पुग्यो ? अरु खानुहुन्छ कि ?”
“भो, पुग्यो ।”
त्यो सेना बाहिर नपुग्दै अर्को सेना मतिर आएको जस्तो लागेकाले मैले हतार मानी नकाब तलसम्म सारेँ ।
“दिदी ! तपाईं उठ्नुस् त । एकछिन बाहिर जानुपर्यो ।”
म उठेँ । हात झूलबाहिर निकालेँ । सेनाले मेरो हात समातेर मलाई उठाएर जुत्ता लगाउन दिए । बिस्तारै डोर्याउँदै ढोकाबाहिर पुर्याएँ ।
“तपाईं यहीँ उभिनुस् ।”
म जहाँ भन्यो, त्यही उभिइरहेँ । तीन चारजनाले गुनगुन गरेको सुनेँ ।
“ठीक भयो ? नकाब खोलिदिऊँ ?”
“हुन्छ । खोलिदेऊ ।”
मेरो अनुहारको नकाब खोलेर सेनाले लियो । मैले झ्वाट्ट आँखा खोल्न सकिनँ । म दक्षिणतर्फ फर्केकोले घामको तेजिलो टकले मेरो आँखा नै समातेको थियो । एकै छिनपछि बिस्तारै मैले आँखा खोलेँ । मेरो अगाडि नै कट्टु र गञ्जी लगाएका दुई जना मान्छे देखेँ । अरु चार जना गनधारी सेना पनि थिए । के गर्न लागेका हुन् मैले बुझ्न सकिनँ । म शून्य भएर उभिइ नै रहेँ ।
“दिदी ! एकै छिन ओढ्नी फुकाल्नुहुन्छ कि ? तपाईंको फोटो खिच्नुपर्यो ।
फोटो ? एकाएक मेरो मन सिरिङ्ग भयो । मेरो फोटो खिच्ने ? के म अपराधी हुँ र ? मनमा असन्तोषको आँधी उठिहाल्यो । तैपनि म मौन नै थिएँ ।
“ए ओढ्नी फुकाली दे ।” सेनाले अह्रायो ।
“पर्दैन ! ओढ्नी ओढेरै खिच्नु हुँदैन र ?”
“नहुने त होइन अलि राम्रो आउँदैन कि ?”
कट्टु र गञ्जी लगाएको मान्छले क्यामारा फिट गरेर हेर्दै भने –“लौ ठीक छ । ओढ्नी नफुकाले पनि हुन्छ ।”
अर्को मान्छेले मेरो घाँटीमा नेमप्लेट झुन्ड्याउने बित्तिकै म त सन्न भइहालेँ । डी.एस.पी. कार्यालयको कौसीमा खिचेको प्लेट झुन्डिएको अपराधीहरुको फोटो नेपाल टेलिभिजनमा देखाएको दृश्यले मेरो मुटु बेस्करी समातिहाल्यो । मुटु ढुक्क फुलिहाल्यो । एकैपल्ट आँखा तिर्मिरी हाले ।
“यो नेमप्लेट घाँटीमा झुन्ड्याउनै पर्ने ?”
“के गरुँ दिदी ? अर्डर त्यस्तै छ । हजुरको नाम र ठेगाना ठीक छ ? शान्ता श्रेष्ठ, पुरानो बानेश्वर ।”
घाँटीमा नेमप्लेट झन्ड्याएर फोटो खिचाउन म डी.एस.पी. कार्यालय हनुमान ढोकाको कौसीमा उभिइरहेको जस्तो लागेको थियो मलाई । मेरा पैतालामुनिको जमिन नै भाँसिएको जस्तै मलाई उभिन गाह्रो भएको थियो । यो दिन पनि मैले भोग्नु पर्यो भनेर मलाई सारै नै दु:ख लागेको थियो । फटाफट दुई वटा फोटो खिचिसकेपछि मेरो अनुहारमा ख्वाप्प नकाब लगाउन दिइयो । मलाई अन्धकारले फेरि छोपिहाल्यो ।
“भयो दिदी । अब जाऊँ भित्र ।”
ताल्चा खोल्यो मलाई डोर्याउँदै भित्र लगी म बस्ने फोमको ओछ्यानसम्म पुर्याइदिए सेनाले । केही समय म शून्यले पलेटीमारी बसिरहेकी थिएँ । सारै नै बिग्रेर आएको मनलाई मलाई जस्तै समातेर ल्याएका हजारौँ निर्दोषहरुले पाएका निर्मम यातना र ज्यानै लिएका हृदयविदारक दृश्यहरुले मलाई सम्हालेका थिए । चिसो भएर आएका गोडालाई तताउन मैले ओढ्नी फुकाली गोडामा बेरेकी मात्र थिएँ फेरि ढोकाको ताल्चा खुल्यो । सेना मतिर आएको पदचाप सुनेँ । पर्दा हटाई भने – दिदी ! हजुरलाई बाहिर बोलायो । उठ्नुस् ।
मैले सल ओढेँ । हात झूल बाहिर पुर्याएँ । सेनाले मलाई उठाएर बिस्तारै दुई वटा दैलो पार गराई बाहिर पुर्याएर एउटा कुर्सीमा बसाइदिए । जाडो महिनामा नुहाइसकेपछि घाममा बसेको जत्तिकै मेरो शरीर तातेर आएको थियो । आनन्दले आँखा लोलाउँदै आएका थिए ।
३/४ जना मान्छेहरु कुरा गर्दै मतिर आइरहेको मैले चाल पाएँ ।
“लौ दिदी त आइसक्नुभएको रहेछ । शान्ता दिदी ! तपाईंलाई ठीक छ ? राती सुत्न सक्नुभो त ?
“कहाँ सुत्न सक्नु ?”
“खाना त खानु भो होइन ?”
चुपचाप म मुस्काएँ मात्र । केही जवाफ दिइनँ । मेरो घाँटीमा अहिले पनि नेमप्लेट झुन्डिरहेकै छजस्तो लागेर घाँटी छामेर हेरेँ मैले ।
“दिदी ! अब हामी कामको कुरा गरौं । पहिलो कुरा त तपाईंलाई यहाँ लामो समयसम्म राख्ने हाम्रो विचार छैन । यो कुरा तपाईंले बुझिदिनुपर्यो । भोलि आइतबार नै तपाईंलाई ससम्मान तपाईंको घरमा पुर्याउने विचार हाम्रो छ । तर यो हाम्रो विचारलाई सफल पार्न तपाईंको सहयोगको नितान्त जरुरत छ । मतलब तपाईंले हामीलाई सहयोग गर्न तयार हुनुपर्यो ।”
“भन्नुस् ! तपाईंहरुलाई मैले कस्तो सहयोग गर्नुपर्यो ?”
“तपाईंले राम्ररी थाहा पाउनुभएको छ, हामीलाई कस्तो सहयोग चाहिएको छ ? हिजो राती नै तपाईंले हाम्रो प्रश्नको उत्तर नढाँटिकन दिनुभएको भए तपाईंलाई यहाँसम्म ल्याउनु पर्ने नै थिएन । तपाईंले ढाँट्नुभयो । अनि के गर्ने ? बाध्य भई तपाईंलाई यहाँ ल्याउनु पर्यो ।”
“मैले के ढाटेँ ? मैले ढाट्नु पर्ने नै किन ?”
“हेर्नुस् दिदी तपाईंले हामीलाई ढाँट्नुभएकै हो । तपाईंले मनु हुमागाईंलाई राम्ररी चिन्नुभएको छ । उसलाई तपाईंले भाडा लिएर बकायदासाथ तीन महिना राख्नुभएकै हो ।”
“तपाईंहरुको यही निर्णय छ भने, मसित किन सोधिरहनुभएको ? त्यही अनुसारको ममाथि कारवाही गर्नुस् ।”
“कस्तो कुरा गर्नुभएको दिदीले ? तपाईंले सकार्नु पर्यो नि ।”
“होइन, मैले कसरी सकार्ने ? जसलाई मैले चिनेकै छैन त्यसलाई तीन–तीन महिना भाडामा राखेकी हुँ भनेर । गजब छ बा ।”
“हेर्नुस् । हाम्रो पूरा तीन महिनाको अनुसन्धानले फेल खानै सक्दैन ।”
“खानु फेल खाइसक्यो । तैपनि फेल खान सक्दैन भन्नुहुन्छ । त्यही अनुसन्धानको आधारमा तपाईंहरुले रेडहान्ड समात्न मध्यरातमा मेरो घरमा छापा मार्नुभयो । खोइ त ? केही पाउनुभयो त ? अनि फेल खाएन त तपाईंहरुको अनुसन्धानले ? आफ्नो हार स्वीकार नगरी, मध्यरातमा पक्रेर ल्याएर मलाई यो गतिले राख्न के म अपराधी हुँ ? मैले के अपराध गरेकी छु ?”
“दिदी ! तपाईं रिसाउनुभयो ।”
“रिस उठ्ने कुरा गर्नुभएपछि रिस उठ्दैन त ? मलाई यो उमेरमा यत्रो सजाय, मेरो इतिहास पल्टाएर हेर्नुस् त ?”
“हेर्नुस् तपाईं रिसाएर यहाँ केही पनि हुँदैन । यसबाट त झन् तपाईंलाई नै नराम्रो हुनेछ । तपाईंलाई ल्याएर यहाँ त्यसै राखेका होइनौँ । यो कुरा तपाईंले राम्ररी बुझ्नुपर्यो । तपाईंले यत्तिकै जिद्दी गर्नुहुन्छ भने, तपाईं यहाँ लामो समयसम्म बस्नुपर्ने हुन्छ । विचार गर्नुस् तपाईं आफैले ।”
“ठीक छ । मलाई यहाँ लामो समयसम्म राख्ने तपाईंहरुको निर्णय छ भने छोटो समय बस्ने त सम्भबै भएन । सत्यमा आधारित नभएको निर्णय पनि, अकाट्य हुने, मैले सोचेकी थिइनँ । जे जति मेरो भन्नु थियो र छ, त्यो हिजो राती नै मैले भनिसकेकी छु । अब मलाई केही पनि भन्नु छैन । तपाईंहरुले जे सजाय दिनुछ ? दिनुस् । अरु मलाई भन्नु छैन ।”
“हेर्नुस् तपाईं त्यत्रो अनुभवी, उच्च शिक्षा पाएकी व्यक्तिले यसरी ढाँट्न शोभा दिँदैन । मनु हुमागाईंलाई तपाईंले राम्ररी चिन्नुभएको छ र उसलाई तीन महिना तपाईंले आफ्नो घरमा राख्नुभएकै हो । अहिले ऊ कहाँ छ ? त्यति तपाईंले भनिदिनुपर्यो । तपाईंलाई भोलि नै छाड्ने व्यवस्था गर्नेछौं । नत्र …”
“गजब छ बा ! तपाईं मेरो स्थानमा बसेर हेर्नुस् त अनि तपाईंलाई थाहा हुनेछ कि, तपाईंले गरिरहनुभएको प्रश्न, प्रश्न नभई मानसिक यातना दिने कडी हो ।”
करिब एक घन्टा जति एउटै प्रश्नले मेरो दिमाग चाट्नुसम्म चाटेका थिए । मैले मनु हुमागाईंलाई चिनेको छु भनेर सकार्ने कसरी ? जब कि सुरुमा नै चिन्दिनँ भनिसकेकी थिएँ । म त्यसैमा अडिग रहेकीले उनी (प्रश्नकर्ता) कायल भई मलाई भित्र गोदाममा लाने आदेश दिएका थिए ।
गोदामभित्रको शून्य, खाली, पुरानो ओस मिश्रित विरक्तिलो गन्धमाथि, चिसो ओढेर मनमा मनु हुमागाईं राखेर अशान्तिले म मौन छटपटिइरहेकी थिएँ । उनलाई कसरी बचाउने ? यिनीहरुले भेट्टाए भने छाला टाँग्नेछन् । उनैले भनेका कुरा मेरा कानमा प्रतिध्वनित भयो –“दिदी ! हेर्नुस् त । सेनाले मलाई कतिको ठूलो नेता बनाइ दिएका ? मेरो घरमा दुई पटक छापा मारिसके थाहापाउनु भो ? १८ जना त सेना थिए रे । त्यसमा दुई जना आइमाईहरु थिए रे । घरका मान्छेहरुलाई धम्काउनसम्म धम्काएर फर्केका थिए रे । मेरो ९ वर्षको छोरालाई पेस्तोल देखाएर केरकार गरेका थिए रे ।”
मनुकै बारेमा मैले सोच्दै गएँ । मलाई उनको सारै माया लाग्यो । दुई वटा छोरा र छोरीकी आमा, आफैले दु:ख गरी परिवारमा आर्थिक टेवा दिएर आएको छ – महिना भइसक्यो, भूमिगत जीवन बिताइरहेकी कसरी बाँच्न सक्लिन् उनी ? सेनाले भएभरको साधन, स्रोत र शक्ति लगाएर धुइँधुइँती खोजी गरिरहेका छन् । उनको आर्थिक कारोबार सबै बन्द भएको छ । उनको कारण, उनको परिवारमा कत्रो आपत आइलागेको होला ।
“ए, सर ! पानी खाऊँ । सर मलाई पानी खानुपर्यो ।” को आवाजले मेरो तन्द्रा टुटिहाल्यो । ताल्चा खोलेर सेनाले प्रवेश गरी पानी पिलाएको स्वर सुनेँ मैले । बाहिर गई ताल्चा लगाएको मात्र थियो, फेरि ताल्चा खोलेर सेनाको साथमा अर्को पाइला घिसार्दै आएको पदचाप पनि सुनेँ मैले ।
“अहिलेलाई तपाईं यही बस्नू” भनेर सेना बाहिर गयो । ताल्चा लगाउने बित्तिकै रेनकोटको पर्दा अलिकति हटाई मैले गोदाममा चियाएर हेरेँ । एउटा नयाँ मानिस ल्याएको थियो । मेरो मनभित्रदेखि अप्ठ्यारो भएर आएको थियो । नाङ्गो भुइँमा पलेटी मारेर बसेका नौलो मानिसले सेतो कमिज, खैरो पाइन्ट, सेतो मोजा र खैरो रङ्गको जुत्ता लगाएका थिए । उनको अनुहार पनि कालो नकाबले छोपेको थियो । हातपछाडि लगेर नयाँ सेतो खस्रो मोटो डोरीले बाँधेको थियो । सुक्सुकाउँदो हात, जीउ–डाल र पहिरन हेर्दा त निकै गतिलो मानिस जस्तो लाग्यो मलाई त । अहिले ल्याएको समेत गरी मेरा आँखाले भेट्टाउन सकेका आठ जना भए । अरु पूर्व र दक्षिणपट्टिको लङ्गमा कति थिए, मैले देख्न सकिनँ । पर्दाले छेकेको थियो ।
अन्यौल मनले म फेरि पल्टेँ । चियाको सारै तलतल लागिरहेको थियो मलाई । चियाको तलतलमा समय पलपल हुँदै बितिरहेको थियो । कति दिन यसरी कालो थुप्रो भई अन्धकारमै बाँच्नुपर्ने हो ? प्रश्नमाथि प्रश्न थपिँदै गयो तर प्रश्न खालि प्रश्न मात्र भयो उत्तर भएन ।