फूलकोअस्मिता र रङको वर्चस्व
हाम्रा उजुरी र गुनासाहरू घुम्छन्
भित्ते घडीसँग लगातार
तैपनि जिन्दगी घिस्रिन्छ
कर्तव्यनिष्ठ इमानदार
आकाङ्क्षाका ध्वनिहरू
अनन्त यात्रामा
एक साँझदेखि अर्को साँझसम्म निरन्तर
निस्तब्ध हुन्छ सडक एक दिन
फेरि चहलपहल छ अर्को दिन
शिशिरका रुखहरू झैँ पात झरेर नाङ्गिएका
सुकुम्बासी हामी
बन्दुको आवाज र धूवाँको गन्धले
पोतिएको आकाशमा
छत छाउने आकाङ्क्षा बोकेर
धरतीमा एक मुठी माटोसम्म नभएर
छतबिना जाडोले कठाङ्ग्रिएर
दुर्दशाको पराकाष्ठा खपेर काँपिरहेका
स्वदेशी शरणार्थी हामी
ओइलिएर झरेका पूmलहरूलाई
आफ्नै बालबच्चा बनी सुमसुम्याउँदै
भोलिको सुनौलो बिहानी
र कोपिलालाई सम्झनै
आँसुले दैलो पोते पनि सधैँ आशावादी हामी
बाँच्नलाई मरिरहेका हामी
मर्नलाई बाँचिरहेका हामी
बाटो कुर्नु बाटो काट्नु, बाटो नाघ्नु
बाटो मोड्नु, यस्तै नियतिको नवीकरण हामी
बसिला, चाँदे, सावेल र कोदालो
टोकरी, खर्पन, डोको र नाम्लो
भेला गर्दै
अनि आजित भएर
आखिर अर्कै बाटो बनाउन थाल्नु
सबलाई सजिलो हिँड्न दिनु छ भन्दै
एक दिन त्यही बाटोले पुरिएर
मर्नुको खबर अखबारमा पढेको हेर्नु
चाल्दा थाकेर पनि नथाक्ने हूलका हूल गोडाहरू
छन्द र सङ्गीत नमिलेको हाम्रा हिँडाइहरू
ध्वनिहरूको घर्षणबाट
जन्मन्छ केवल अस्पष्ट भयङ्कर
अर्को प्रतिध्वनि मात्र
त्यसैले रङहरूले
आआफ्नै वर्चस्वको रङमा नै झुण्डझुण्ड रम्नुपर्छ
फूलहरूले आआफ्नै अस्मितामा एउटै बगैँचामा सजिनुपर्छ