१. परिचय र विषयप्रवेश :
नेपाली साहित्यको यस पछिल्लो चरणमा मोफसलबाट उदाएर राष्ट्रिय साहित्यिक यात्राको पहिचान बनाउने कपिल अज्ञात सर्जक र समालोचक हुन् । साहित्यसिर्जनामा धेरै पहिलेदेखि लागे पनि २०४७ देखि पुस्तकाकार कृति लिएर देखापरेका अज्ञातले हालसम्म झ्न्डै पौनेदर्जन कृतिको सिर्जना गरेका छन् । विधागत रूपमा हेर्दा कविता/गजल/मुक्तक, निबन्ध/पत्रसाहित्य, समीक्षा/समालोचना आदिमा उनको कलम दौडेको छ । निर्भिक र स्पष्ट वक्ताका रूपमा आफूलाई प्रस्तुत गरेर लेखनमा उतार्ने कपिल अज्ञातले साहित्य र ज्योतिषशास्त्रको अन्तर्सम्बन्धका बारेमा पनि प्रायोगिक अध्ययन गरेर लेखेका छन् । आत्मपरक शैलीका समालोचना लेखनमा समेत यिनको आफ्नै भिन्नै शैली देखिन्छ । २०४७ देखि २०५५ सम्ममा तीनवटा पुस्तक प्रकाशित गरेका अज्ञातका २०६४ मा एकैचोटि पाँचवटा पुस्तक प्रकाशित भएका छन् । अज्ञातका कविता (कवितासङ्ग्रह, २०४७), साहित्य सिर्जन प्रक्रिया (समालोचना, २०५५), समालोचनाको सन्दर्भ (समालोचना, २०५५), पत्रसन्देश (एकपत्रसङ्ग्रह, २०६४), अनुभूतिका उमङ्ग (मुक्तकसङ्ग्रह, २०६४), समयसमयका स्वरहरू (गजलसङ्ग्रह, २०६४), भूलहरूका विरुद्ध (निबन्धसङ्ग्रह, २०६४) र समीक्षा सन्धान (समीक्षासङ्ग्रह २०६४) उनका पुस्तकाकार कृति हुन् । यिनका अतिरिक्त प्रशस्त फुटकर रचनाहरू पनि प्रकाशित देखिन्छन् ।
कृष्णकुमारी गुरुङ स्मृति पुरस्कार, पल्लव सम्मान, सगर सम्मान, कालीगण्डकी साहित्य पुरस्कार, चिसाप प्रतिभा पुरस्कार, ज्योतिष दिवाकर, ज्योतिष मार्तण्ड आदि विविध सम्मान/पुरस्कारहरूबाट सम्मानित कपिल अज्ञातका सिर्जनाहरू मूलत: सङ्गतिहीनताका विरुद्धमा युगीन यथार्थको प्रतिध्वनि बोल्छन् भने उनका समीक्षा समालोचनामा रागात्मक नैबन्धिक गुणहरूले समेत प्रविष्टि पाएका हुन्छन् । सिर्जना र समालोचना दुबैमा आनुप्रासिक भाषिक संयोजन उनको महत्वपूर्ण विशेषता हो । यसले गर्दा उनका समीक्षा समालोचनाको भाषा पनि आलङ्कारिक बनेको देखिन्छ ।
२. समालोचना कृतिहरूको स्वरूप र आयाम :
कपिल अज्ञातका करीब पौने दर्जन कृतिहरूमध्ये चौथाइ दर्जन अर्थात् तीनवटा कृतिहरू समालोचनात्मक छन् । २०५५ मा उनका साहित्य सिर्जन प्रक्रिया र समालोचनाको सन्दर्भ गरी दुई कृतिहरू प्रकाशित छन् भने २०६४ मा समीक्षा सन्धान प्रकाशित भएको छ । सुरुका दुई कृतिहरूमा उनका प्रारम्भिक समालोचना भएकाले ती प्रभाववादी र आत्मगत हुँदाहुँदै पनि वस्तुनिष्ठतातिर अभिमुख छन् । साहित्य सिर्जन प्रक्रिया सैद्धान्तिक बढी र प्रायोगिक कम भएका कृतिका रूपमा देखिन्छन् भने समीक्षा सन्धान विविध किसिमका समीक्षा र विचारहरूको सङ्ग्रह हो । भाषिक स्पष्टता, प्रस्तुतिगत परिपक्वता र स्वविवेकी निर्णयात्मक मूल्याङ्कनका दृष्टिले तेस्रो कृति नवीन र भिन्नै पहिचान राख्ने खालको देखिन्छ । यी तीनवटै कृतिहरूको विवेचनात्मक आँकलनलाई तल प्रस्तुत गरिन्छ –
२.१ साहित्य सिर्जन प्रक्रिया : सिर्जनाको सैद्धान्तिक चिन्तन :
कपिल अज्ञातको पहिलो समालोचना कृति साहित्य सिर्जन प्रक्रिया पूर्णतया सिर्जनाको सैद्धान्तिक निरूपण भएको पुस्तक हो र यसमा साहित्य सिर्जन प्रक्रियाका समग्र सन्दर्भहरूलाई तीनवटा परिच्छेदहरूमा निरूपण गरिएको छ । पहिलो परिच्छेदमा सिर्जनात्मक लेखनको परिचय र स्वरूपसँग सम्बन्धित स्रोर्हवटा शीर्षकहरू रहेका छन् । यिनमा सिर्जनात्मक लेखनको परिचय, प्रयोजन, महत्व, हेतु, विधिपक्ष, सामान्य र सिर्जनात्मक लेखनमा अन्तर, विधागत अन्तर, अनुकृति लेखन आदि विविध पक्षका बारेमा निरूपण गरिएको छ । दोस्रो परिच्छेदमा विधागत सिर्जना प्रक्रिया, प्रतिवेदन लेखन र पत्रलेखनका प्रक्रियाहरू देखाइ कवितालेखन, नाटकलेखन, निबन्ध लेखन, प्रतिवेदनलेखन र पत्रलेखन एवं आख्यान लेखनका प्रक्रिया, पद्धति तथा विधिपक्षका बारेमा विवेचना गरिएको छ । यसरी विधागत लेखनका सन्दर्भमा सिद्धान्तीकरणलाई बढी जोड दिइएको पाइन्छ । यस किसिमको विधागत लेखनको सिद्धान्तीकरणले नियमीकरणको सिर्जना गर्छ र त्यसले गर्दा सिर्जना अराजक हुनबाट जोगिन्छ ।
साहित्य सिर्जन प्रक्रियाको तेस्रो परिच्छेदमा पाँचओटा शीर्षकहरू रहेका छन् । क्षेमेन्द्र विरचित कविण्ठाभरण एक परिचयमा संस्कृतका कवि क्षेमेन्द्रले लेखेको कविकण्ठाभरण कृतिको साहित्य सिर्जन प्रक्रियासँग सम्बद्ध पक्षको विवेचना गरिएको छ भने कवि काव्यनिर्देशन एक विवेचनामा काव्य सिर्जनाका निमित्त उन्नतीसवटा सूत्रहरू सुझई तिनको व्याख्या पनि गरिएको छ । काव्यहरण : एक चर्चा छोटो भए पनि उपयोगी छ । अनुवाद : एक परिचयमा अनुवादको परिचय, वर्गीकरण, अनुवादका प्रकारहरूमा भिन्नता आदि विविध विषयमा सङ्क्षिप्त चर्चा गरिएको छ । शब्दको प्रयोग र महत्वमा सिर्जनाका सन्दर्भमा शब्दको प्रयोगमा सचेतता अपनाउनुपर्ने कुरालाई पूर्वीय साहित्यका केन्द्रीयतामा प्रस्ट्याइएको छ । परिशिष्टका रूपमा अन्तिम खण्डमा मेरो सिर्जनात्मक अनुभवमा आफ्ना सिर्जनात्मक अनुभूतिलाई प्रस्तुत गरिएको छ भने व्यक्तित्व विकासका आधारभूत सामग्रीको प्रयोगमा व्यक्तित्व विकासका लागि आधारभूत सूत्रहरू सुझइएको छ ।
साहित्यसिर्जन प्रक्रियाभित्र विषयसूचीमा उपर्युक्त किसिमले परिच्छेद विभाजन गरिएको देखिए पनि कृतिभित्र भने कुनै परिच्छेद विभाजन गरिएको छैन । यसरी विषयसूची र भित्री संरचनाको व्यवस्थापनको भिन्नताले पाठक अलमलिने स्थिति देखिन्छ । यो कृति साहित्य सिर्जन प्रक्रियासँग सम्बद्ध सैद्धान्तिक कृति हो । सिद्धान्तलाई पनि उदाहरणहरूद्वारा प्रमाणिकरण गरिएकाले ती कुराहरू विश्वसनीय बनेका छन् । सैद्धान्तिक सन्दर्भका कुराहरूमा पनि आफ्ना निजी धारणाहरू प्रस्तुत गरेर कपिल अज्ञातले केही नवीन दृष्टिकोण पनि दिन खोजेका छन् । सिर्जन प्रक्रियासँग सम्बन्धित धेरै कुराहरू पूर्वीय साहित्यशास्त्रबाट बढी अनुप्राणित देखिन्छन् र पाश्चात्य सन्दर्भका कुराहरूको न्यूनता देखिए पनि त्यसले अपूर्णताको आभास भने हुँदैन । आत्मगतभित्रै पनि तथ्यगत सन्दर्भको प्रविष्टि र तथ्यगत सन्दर्भमा पनि आत्मगत अभिव्यक्ति पाइनु कपिल अज्ञातको यस कृतिभित्र पाइने समालोचकीय कौशल हो । यस कृतिका आधारमा उनका समालोचकीय प्रवृत्तिगत विशेषताहरू यस प्रकार देखिन्छन् :
१. विषयवस्तुगत स्पष्टता र तिनको प्रस्तुतिमा सरलता,
२. उदाहरण, दृष्टान्त, तथ्यहरूद्वारा सिद्धान्तलाई प्रमाणिकरण गर्ने प्रवृत्ति,
३. टिप्पणी (पादटिप्पणी, पेटेटिप्पणी) र सन्दर्भहरूको समुचित प्रयोग,
४. तथ्यको खोजी र आत्मगत अभिव्यक्ति आदि ।
२.२. समालोचनाको सन्दर्भ : वैविध्यमय विवेचना र देवकोटाको परिवृत्त :
कपिल अज्ञातको समालोचनाको सन्दर्भ (२०५५) दुई कम एकसय पृष्ठमा विस्तारित कृति हो । दुई खण्डमा विभाजित यस कृतिमा जम्मा १६ वटा समालोचनात्मक लेखहरू रहेका छन् । पहिलो खण्डलाई विविधतामय विवेचनाका रूपमा लिन सकिन्छ । यसमा बालसाहित्य र भाषा, चितवनको साहित्यिक विकास, गजल : एक परिचय, मुक्तक एक परिचय, स्वरूप र परम्परा, शकुन्तला गीतिनाटकमा पाइने मानवतावादी स्वर, हारजीत कथा : एक विवेचना, हास्यव्यङ्ग्यकार भैरव अर्यालका प्रवृत्तिगत विशेषता र समालोचनाको सन्दर्भ गरी आठवटा शीर्षकका लेखहरू रहेका छन् । विविध विषयमा केन्द्रित खण्ड भएकाले यसलाई वैविध्यमय विवेचना खण्डका रूपमा समेत लिन सकिन्छ ।
बालसाहित्य र भाषामा बालसाहित्य सिर्जनामा प्रयोग हुने वा हुनुपर्ने भाषाका बारेमा विश्लेषण गरिएको छ । गजल एक परिचय गजलसम्बन्धी सैद्धान्तिक निरूपण भएको लेख हो भने मुक्तक : परिचय स्वरूप र परम्परा पनि मूलत: सैद्धान्तिक लेख हो । तापनि यसमा मुक्तकको सैद्धान्तिक निरूपणका साथै विकासक्रमको नेपाली सन्दर्भको संक्षिप्त रूपरेखा पनि प्रस्तुत गरिएको छ । पाँचौं र छैटौं शीर्षक कृतिपरक छन् । शकुन्तला गीतिनाटकमा पाइने मानवतावादी स्वर शीर्षकको लेखमा माधव घिमिरेको शकुन्तला गीतिनाटकमा अभिव्यक्त मानवतावादी चिन्तनका बारेमा विवेचना गरिएको छ । हारजीत कथा एक विवेचना भवानी भिक्षुको हारजीत कथाको सामान्य समीक्षा हो । हास्यव्यङ्ग्यकार भैरव अर्यालका प्रवृत्तिगत विशेषता प्रवृत्तिपरक समालोचना हो । पुस्तकको शीर्षकसमेत रहेको समालोचनाको सन्दर्भ शीर्षकको लेखमा सिर्जना र समालोचनाका बीचको विभेद देखाई समालोचनाको सैद्धान्तिक चर्चा गरिएको छ ।
समालोचनाको सन्दर्भ कृतिको दोस्रो खण्ड पूरै देवकोटामा केन्द्रित रहेको छ । यस खण्डमा पनि देवकोटा विषयक आठओटा समालोचनात्मक लेखहरू रहेका छन् । देवकोटाको अनौठो स्वभाव : एक परिवृत्तमा देवकोटाका केही अनौठा आनीबानी र स्वभावका बारेमा चर्चा गरिएको छ । देवकोटाको आन्तरिक व्यक्तित्व बुझन यो लेख उपयोगी छ । देवकोटामा तार्किकतामा देवकोटाका केही काव्य कविताका अंशहरूको तथ्याङ्क दिएर उनमा रहेको तर्कशक्तिलाई विवेचनात्मक दृष्टिले स्पष्ट पारिएको छ भने देवकोटाका रचनामा गीतादर्शनको प्रभावमा देवकोटाका कवितामा पाइने आध्यात्मिक मानवतावादको चर्चा गरिएको छ । त्यस्तै देवकोटाको सिर्जनात्मक वैशिष्ट्यमा देवकोटाका रचनामा पाइने केही प्रवृत्तिगत विशेषताहरूको निरूपण गरिएको छ । देवकोटाप्रतिको आत्मपरक आलेख हो भने देवकोटाको दार्शनिक अन्तद्र्वन्द्व चाहिँ उनीभित्रको दुई वा सोभन्दा बढी विचारहरूको तार्किक बाझबाझ्को समीक्षात्मक आलेख हो । देवकोटाको समष्टि व्यक्तित्व : एक सङ्क्षिप्त झ्लकमा बुँदागत रूपमा महाकवि देवकोटाका समग्र व्यक्तित्वलाई सङ्क्षेपमा भए पनि चिनाउन खोजिएको छ । मुनामदनको काव्यात्मक स्वरूप र यसको सर्वमान्य प्रभाव यस कृतिको अन्तिम आलेख हो र यसमा देवकोटाका काव्यात्मक स्वरूप र विशिष्टतालाई स्पष्ट पारिएको छ ।
कपिल अज्ञातको समालोचनाको सन्दर्भमा सङ्गृहीत दुईतीनवटा लेखबाहेक अरु सबै खोजमूलक छन् । सामान्य समीक्षाभन्दा भिन्न कुरा, प्रविधि र पद्धतिको प्रयोग यसमा देख्न सकिन्छ । अझ् त्यसमा पनि प्रत्येक लेखका अन्त्यमा दिइएका पादटिप्पणी, सन्दर्भसूची र केही ठाउँमा दिइएका पेटे टिप्पणी आदिले कृतिमा प्रस्तुत गरिएका तथ्यहरूलाई प्रामाणिक, आधिकारीक र विश्वसनीय बनाएका छन् । भाषाशैली र प्रस्तुतीकरणमा कतिपय प्रसङ्गहरूमा आत्मगतता देखिए पनि तिनले समालोचनालाई पनि सिर्जनात्मक बान्की दिएका छन् र ती सरल, आकर्षक र कलात्मक समेत बनेका छन् । यस कृतिभित्रका समालोचनामा पाइने प्रमुख प्रवृत्तिगत विशेषतालाई यसप्रकार देखाइन्छ :
१. आत्मगत र वस्तुगत प्रविधिको अन्तर्मिश्रणमा अन्तर्वस्तुको कथ्य एवम् तथ्यपरक विवेचनात्मक प्रस्तुति,
२. प्रभाववादी समीक्षा समालोचनातिरको झ्ुकाउ र स्पष्ट अभिव्यक्ति,
३. व्याख्याविश्लेषणभन्दा कथ्य र तथ्यलाई प्रस्तुत गर्ने प्रवृत्ति,
४. नैबन्धिक स्वरूपका समालोचनाको नवीन बान्की,
५. भाषिक स्पष्टता र समालोचनामा पनि आलङ्कारिक भाषाको प्रयोग आदि ।
२.३. समीक्षा सन्धान : विविधताको मौजीमसला :
कपिल अज्ञातका २०६४ मा प्रकाशित पाँचवटा कृतिहरूमध्ये समीक्षात्मक कृतिका रूपमा समीक्षा सन्धान देखापरेको छ । एकसय तीस पृष्ठको आयाममा विस्तारित यस कृतिमा विविध प्रकृतिका पन्ध्र किसिमका बत्तीसओटा लेखहरू सङ्गृहीत छन् । यस कृतिलाई कोण प्रतिकोण पनि भनिएको छ र यसमा अभिव्यक्त विभिन्न विचार र दृष्टिकोणहरूलाई हेर्दा यो नाम सार्थक पनि देखिन्छ । नैबन्धिक समीक्षा भित्रका मोतीराम भट्ट र उनको साहित्यिक नेतृत्व र प्रशंसाको मेला लेखकले भनेझ्ैं नैबन्धिक समीक्षा नै हुन् । दृष्टिसमीक्षाभित्रका मूल्याङ्कन र पुरस्कारले आजका सन्दर्भमा साहित्यकारको मूल्याङ्कनका लागि आधार दिएको छ भने यसमा पुरस्कारको औचित्यलाई पनि देखाइएको छ । कृतिमूल्याङ्कनका आधार बढी सैद्धान्तिक निरूपण भएको लेख हो । संस्मरण समीक्षाभित्रका दुई लेखहरू गोपालसिंह नेपालीसँग सम्बद्ध छन् र भारतको बेतियामा प्रवासी नेपाली कवि गोपालसिंह नेपालीको उच्च सम्मान देख्दा गौरवको अनुभूति भएको भाव छ । व्यङ्ग्यसमीक्षा अन्तर्गत हाकिमको खप्पर पढ्दा आरसी रिजालको हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह कृति हाकिमको खप्परमाथि हास्यव्यङ्ग्यात्मक शैलीमा नै आफ्नो दृष्टिकोण प्रस्तुत गरिएको छ भने राजनीति व्यवसाय भएपछि राजनीतिक सङ्गतिहीनताप्रतिको तीव्र व्यङ्ग्य हो ।
यस कृतिमा विविधताका अभिव्यञ्जक धेरै लेखहरू छन् । चर्चा–परिचर्चा अन्तर्गतको पहिलो लेख बढी सैद्धान्तिक र यसमा गजललाई कविताकै उपविधा मानिएको छ । दोस्रोचाहिँ चितवनको साहित्यिक सन्दर्भसँग सम्बन्धित छ । टीकाटिप्पणीभित्रका चरावटा लेखमध्ये टिप्पणीको सन्दर्भमा सिर्जनात्मक भाषाको सन्दर्भ, संरक्षण कविता आन्दोलन : एक स्थूल पर्यवेक्षणमा संरक्षण कविता आन्दोलनप्रतिको निजी दृष्टिकोण, भाषिक योजना एक टिप्पणीमा वर्णविन्यासलाई रूपात्मक, प्राविधिक, आर्थिक, उच्चार्यआदि दृष्टिले हेरेर सुधार्नुपर्ने कुरा सुझइएको छ । निर्मोही नामाकरण सन्दर्भ साहित्यकार निर्मोही व्यासको निर्मोही नामाकरणको सन्दर्भलाई साहित्यिक उपनामहरूका केन्द्रीयतामा देखाइएको छ । अनुभव प्रतिक्रियाभित्रका तीनवटा लेखहरूमध्ये पहिलोमा कविताको महत्व, दोस्रोमा स्तरीय रचनाको अपेक्षा र त्यसका लागि सुझउ एवं तेस्रोमा आलोचनालाई बौद्धिक तथा तार्किक युद्धका रूपमा प्रस्तुत गरिएको छ ।
यस कृतिको विचार विमर्शभित्रको समीक्षामा शुद्धताको आग्रहमा स्वस्थ समालोचनाको अपेक्षा, लेखक र लेखनप्रक्रियामा लेखकीयताको यथार्थ सन्दर्भ र आलोचनात्मक प्रवृत्तिमा प्रचारमुखी साहित्यप्रतिको विमतिको भावलाई अन्तर्वस्तु बनाइएको छ । धारणा अवधारणाभित्र साहित्यकार कालीप्रसाद रिजालसँगको साहित्यिक भेट, पुस्तान्तरणको समस्या र निराकरण जस्ता अन्तर्वस्तुले स्थान पाएका छन् भने विचार विवेचनाभित्र पुस्तकलाई बालबालिकाको असलमित्रका रूपमा प्रस्तुत गरिएको भाव, नारीका समस्या र त्यसको समाधान एवं छोरीलाई अंशजस्ता विषयवस्तुले स्थान पाएका छन् । कृतिसमीक्षाभित्र विश्वेश्वरप्रसाद कोइरालाको जेलजर्नल र गजलकार शीतल कादम्बिनीको सुगन्धयात्रा गजलकृतिको विवेचना प्रस्तुत गरिएको छ । पत्रसमीक्षाभित्र साहित्यकार देवीप्रसाद वनबासी र चूडामणि रेग्मीलाई लेखेका पत्रहरूलाई जस्ताको तस्तै राखिएको छ । गन्थनमन्थनभित्रको भुलैया म र मेरो दृष्टिमा एकजना स्रष्टाका निबन्ध पढेपछिको हार्दिक प्रतिक्रियात्मक अनुभूति छ । व्यक्तित्व समीक्षाभित्र साहित्यकार मोहन दुवालका अनवरत साहित्यसिर्जनाको प्रशंसा गरिएको छ भने विचारमन्तव्यमा पल्लव साहित्य प्रतिष्ठानद्वारा आफू सम्मानित हुँदाको अनुभूति छ ।
यसप्रकार समीक्षा सन्धान र कृतिभित्रका उपर्युक्त अन्तर्वस्तुले यस कृतिलाई विविधतामय बनाएका छन् । यस आधारमा यो कृति महाकवि लक्ष्मीप्रसाद देवकोटाका शब्दहरू सापटी लिएर भन्नुपर्दा विविधताको मौजी मसला हो ।
१. विषवस्तुको वैविध्यमय प्रस्तुति र तिनलाई पनि निजात्मक जलप लगाएर देखाउने प्रवृत्ति ।
२. अनुभूति, दृष्टिकोण, विचार, समीक्षा आदिका बीचको परस्पर अन्तर्मिश्रण र यसबाट विद्यामिश्रण एवम् अन्तर्विद्यात्मक प्रभाव ।
३. विषयवस्तुअनुरूपको शैलीको प्रयोग र विषयवस्तुलाई पनि रहस्यात्मक बनाएर प्रस्तुत गर्ने प्रवृत्ति ।
४. अन्तर्वस्तु जेजस्तो भए पनि त्यसलाई अत्यन्त कलात्मक बान्की र आलङ्कारिक एवम् स्पष्ट भाषामा अभिव्यक्त गर्ने प्रवृत्ति ।
५. भाषाशैली र प्रस्तुतिमा निजी पहिचान र नवीनता आदि ।
३. निबन्धात्मक समीक्षा कि समीक्षात्मक निबन्ध ?
सामान्यतया निबन्धको भाषा आत्मगत/आत्मपरक हुन्छ भने समालोचनाको भाषा वस्तुगत/वस्तुपरक हुन्छ । त्यति मात्र होइन, निबन्ध निजात्मक हुन्छ तर समीक्षा/समालोचना वस्तुतथ्यात्मक हुन्छ । कपिल अज्ञातका उपर्युक्त तीनवटै कृतिहरू समीक्षा/समालोचनाका रूपमा देखिन्छन् तर तिनको भाषा पूरै निजात्मक, आत्मपरक वा आत्मगत छ । सैद्धान्तिक स्वरूपका केही लेखमा वस्तुगतता केही बढी भए पनि साहित्य सिर्जन प्रक्रिया र समालोचनाको सन्दर्भमा समालोचनात्मकता बढी र निबन्धात्मकता कम देखिन्छ भने समीक्षा सन्धान लगभग पूरै आत्मपरक/निजात्मक शैलीमा लेखिएको छ । त्यसकारण समीक्षा सन्धान निबन्ध कृति नभएर नैबन्धिक कृति हो । निजात्मक शैलीमा समालोचना लेख्ने पाश्चात्य शैलीलाई केही भिन्नै किसिमले कपिल अज्ञातले पनि आत्मसात गर्न खोजेको देखिन्छ । यस्तो शैलीबाट पाठक चाँडै प्रभावित हुन्छ । अझ् त्यसमा पनि आलङ्कारिक आनुप्रासिक भाषाशैलीले पाठकलाई बढी आकर्षित गर्छ । समीक्षात्मक कृतिमा पनि यस किसिमको भाषाशैलीको प्रयोग गरेर निबन्ध वा कुराकानीको स्वाद दिलाउनु कपिल अज्ञातको विशेषता हो ।
४. समापन :
कपिल अज्ञात स्रष्टा हुन् र द्रष्टा पनि हुन् । उनी मूलत: स्रष्टा हुन् र त्यसपछि उनको द्रष्टाव्यक्तित्व अगाडि आउँछ । ज्योतिषशास्त्रीय आधारमा भने उनी साँच्चै द्रष्टा हुन् उनका समीक्षा समालोचनामा पनि स्रष्टा व्यक्तित्वको प्रचूर प्रभाव परेको कुरा उनका समीक्षा समालोचनामा प्रयुक्त भाषाशैलीले स्पष्ट पार्छ । अज्ञातका तीनवटै समालोचना/समीक्षाका कृतिहरू विषयवस्तुको प्रस्तुतिका दृष्टिले नवीन छन् । कहीँ अत्यन्त तीव्र व्यङ्ग्य र कहीँ हास्यव्यङ्ग्यात्मकताको प्रभावले समीक्षा सन्धान पृथक पहिचानका साथ देखापरेको छ । अभिव्यक्तिमा निर्भिकता, प्रस्तुतिमा स्पष्टता, विवेचनामा दृष्टिकेन्द्रितता भइकन पनि कहीँ कहीँ सङ्क्षिप्त शैलीको प्रभावपूर्ण प्रयोगले उनका समालोचना/समीक्षाका यी कृतिहरू पृथक पहिचान राख्दछन् । अझ् त्यसमा पनि साहित्य र ज्योतिषशास्त्रका बीचको अन्तर्सम्बन्धको अध्ययन र साहित्यकारका जीवनवृत्तमा ज्योतिषशास्त्रीय प्रभाव तथा ज्योतिर्विज्ञानका कोणबाट साहित्यको/साहित्यिक व्यक्तित्वको अध्ययन र निरूपण उनका विशिष्ट प्राप्ति हुने देखिन्छन् ।