मान्छेले आफैंलाई बुझ्दैन। आफू उभिएको धरातल चिन्दैन । आफूले पचाउन नसक्ने विषय अरुलाई पनि पच्दैन भनेर थाहा पाउन्न । उसकाे मूल्यांकन आफू उभिएको ठाउँबाट गर्छ यही नै मान्छेले गरेकोे सबभन्दा ठुलाे भुल हाे । उसकाे मूल्यांकन ऊ उभिएको ठाउँबाट गर्न सक्दैन । यही हाे कमजोर मान्छेकाे अमानवीय परिचय र भ्रमित मनाेविज्ञान ?
हाे नि विचार गर्नु त आधुनिक हुँ , आधुनिक हुन्छु ,नवीनता मेरो परिचय हाे भनेर गफ दिन्छ, दिनुसम्म दिन्छ मान्छे तर व्यवहार हेर्ने हाे भने अठारौं शताब्दी उछिन्न सकेको हुँदैन ! रमाइलो कहाँ छ भने कागती राेपेर स्याउ फलाउन खाेज्छ । आफ्नो व्यवहार कस्तो छ, अघिल्लो पुस्तालाई मैले के दिएँ ? पछिल्लो पुस्ताले के सिक्दै छ मबाट ? हेक्का राखेको पाइँदैन ।
अचेल त कुरा र छुरा चल्छन् । असल व्यवहार कस्तो हुन्छ देख्न र अनुभूत गर्न पाइँदैन । हिजोले तानिल्याएकाे सद्भाव आज एकादेशकाे कथा भइदिएको छ । बाह्यावरण मात्र छ मान्छे । परिवारभित्रै छ नपुरिएकाे खाल्डो । समाज परिवर्तनका कुरा गर्छ व्यवहार सहन सक्दैन । मान्छेले उस्तै हिजाे जस्तै निम्छरो चिन्तनमा चाउरिएर मपाईंत्व हुर्काइरहेकाे छ आज पनि।
मान्छे उछिट्टिएर यति पर पुगेको छ कि फर्केर आउन चाहँदैन र कसैले प्रयत्न गरे पनि फर्काउन सक्दैन । सहिष्णु सद्भाव ,शालीनताका सन्दर्भ असह्य बने । काम गरेर पदीय दायित्व निभाउने, सहयोग गरेर मानवीय चरित्र बचाउने त साेच नै छैन । पाइलैपिच्छे अरुलाई दाेषी देखाएर पानी माथि ओभानु छु भन्ने भ्रमकाे खेतीमा व्यस्त छ मान्छे, अस्तव्यस्त छ आवरणकाे मान्छे !
याे बेथितिकाे चुनौतीले सृष्टि सौर्न्दर्य खाइदिने छ । मान्छे हराएको छ भेटिने सम्भावना देखिँदैन । विभिन्न बहाना झिकेर आफ्नै डम्फुसँग रत्यौली खेल्छ । मेरा वरिपरि अरु पनि छन् म सामूहिक प्राणी हुँ भन्ने चेतनामा हाेला कतै तर अचेलनले क्वापकुप खाइदिएकाे छ । यसलाई बचाउन नसक्दा मान्छे दुर्घटित जीवन बाँच्न बाध्य छ ।
सामन्त लखेटेर जीवन जस्तो जीवन बाँच्ने विचार बाेकेकाे छ तर उत्साह देखाएर साथी बटुल्न भ्याएकाे छैन, मान्छे बासी कुरामा रमेकाे छ। सतर्क मान्छे जुटेर राँकाे बाल्नेहरू बाहिर आउन ढिला नगरे हुनेथियाे । पन्छीहरू भने चिरबिराएर विगुल पर्खिरहेछन् । मान्छे अझै दाेबाटे बनेर धुवाँ खेती गर्न खाेज्छ तर उज्यालो भविष्य नजिक नजिक देेखेर उत्साह मारेको छैन ।