कवि/निबन्धकार प्रकाश थाम्सुहाङको निबन्धसंग्रह ‘शब्दथुम’ लाई कवि विमल गुरुङ कृति पुरस्कार– २०८० प्रदान गरिएको छ । २०८० सालभित्र प्रकाशित स्वदेश–विदेशबाट प्राप्त नेपाली भाषाका पुस्तकमध्ये निर्णायक मण्डलले ‘शब्दथुम’ सो पुरस्कार प्रदान गरेको हो ।
विमल गुरुङको ५३ औं जन्मजयन्ती तथा ३३ औं राष्ट्रिय कविता महोत्सवको अवसरमा शनिबार धरानको पुस्तकालय भवनमा आयोजित पुरस्कार समर्पण समारोहमा नेपाल संस्कृत विश्वविद्यालयका निमित्त उपकुलपति भीम खतिवडा, अध्यक्ष पूर्णवहादुर गुरुङले थाम्सुहाङलाई तामत्रपत्र र दोसल्लासहित नगद दुई लाख रुपैयाँले सम्मान गरेका थिए । १८ वर्षअघि उनको ‘पालामको मुर्छना’ कवितासंग्रह प्रकाशित थियो । ‘शब्दथुम’ उनको दोश्रो किताब हो ।
कार्यक्रममा इटहरीका तरहराका युवा साहित्यकार तथा संचारकर्मी विवेक विवश रेग्मीलाई कवि विमल गुरुङ स्मृति पुस्तकालय युवा सम्मान प्रदान गरिएको थियो । सम्मानसहित उनलाई नगद राशि १० हजार रुपैयाँप्रदान गरिएको थियो ।
सिक्किमका लेखक टीबी चन्द्र सुब्बा, १०३ बर्षीया ज्येष्ठ नागरिक दिलमाया गुरुङ र विरेन गुरुङलाई पनि सम्मान गरिएको थियो । राष्ट्रिय कविता महोत्सवमा नवलपरासीका अन्जान प्रदीप (प्रदीप ढुंगाना) ‘सपना’ शीर्षकको कविता वाचन गर्दै प्रथम भए । ‘थेम्स नदीको किनारै किनार’ शीर्षक कविता वाचन गर्दै हाल बेलायत बस्दै आएकी कवि शान्ति खिम्दिङ लिम्बु द्वितीय भइन् । ‘फूल र म’ शीर्षकको कविता वाचन गर्दै मोरङकी समीक्षा छिलिङ राई तृतीय भइन् । विजयीहरूलाई क्रमशः नगद २१ हजार रुपैयाँ,१८ हजार रुपैयाँ,१७ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो ।
१९ वर्षको उमेरमै पत्रकारितासँगै सशक्त कविता लेखेर उदाइरहेका विमल गुरुङको ०४८, वैशाख २४ गते धादिङको जुकेपानीमा बस दुर्घटनामा परी निधन भएको थियो । त्यसपछि एक्लो छोराका नाममा ब्रिटिस लाहुरे बाबु पूर्णबहादुर गुरुङ परिवारले धरान १८ बुद्धचोकमा ‘कवि विमल स्मृति पुस्तकालय’ स्थापना गरेको छ ।